२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगंज मेडिकल कलेजमा नयाँ शैक्षिक कार्यक्रमसँगै थप विशेषज्ञ सेवा संचालनमा ल्याउँछौं : प्रा.डा. राना

नेपालगंज मेडिकल कलेजमा नयाँ शैक्षिक कार्यक्रमसँगै थप विशेषज्ञ सेवा संचालनमा ल्याउँछौं : प्रा.डा. राना


सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको रिफरल अस्पतालको रुपमा रहेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले नयाँ शैक्षिक कार्यक्रमसँगै क्रिटिकल विशेषज्ञ सेवा संचालनमा ल्याउने भएको छ । मेडिकल कलेजको ४१ प्रतिशत सेयर लिएर ब्यवस्थापन गर्दै आएको मेडिकल ब्यवसायी खुमा अर्याल भित्रिएका छन् । उनी गत बैशाखमा नेपालगंज मेडिकल कलेजको अध्यक्षमा सर्वसम्मत भएका थिए ।

नयाँ व्यवस्थापनसँगै पश्चिम नेपालको ठूलो स्वास्थ्य संस्थाको रुपमा रहेको नेपालगञ्ज मेडिकल कलेजको अबको योजनाको विषयमा हेल्थआवाजका लागि पदमराज भट्टले निर्देशक प्रा.डा. रेशमबहादुर रानासँग गरेको कुराकानी :

नयाँ व्यवस्थापनसँगै नेपालगंज मेडिकल कलेजको अबको योजना के छ ?
केही महिना अघिमात्रै खुमा अर्यालको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति बनिसकेको छ । हालैको पहिलो बोर्ड बैठकबाट नयाँ शैक्षिक कार्यक्रमहरु थप गर्ने योजना भइरहेको छ । पहिलो नम्बरमा बिडिएस डेन्टल कलेज सुरु गर्ने योजना छ, जसका लागि प्राथमिक निरीक्षण भइसकेको छ । थप दुई वटा स्नातक तहको कार्यक्रम बीएमएलटी र बीएमआईटी सुरु गर्ने तयारी भइरहेको छ ।

नयाँ व्यवस्थापनअनुसार विद्यमान स्वास्थ्य कार्यक्रमहरुमा सक्रियता बढाइएको र काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालसँग सहकार्य गरी न्यूरो सर्जरी सेवा संचालनमा रहेको छ । यूरो सर्जरीको सेवामा निरन्तरता भइरहेको छ ।

१ साउनबाट स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने सम्झौता भइसकेको छ । सोही कार्यक्रमको अभिमुखीकरणको लागि धनगढी आइपुगेका छौं । स्वास्थ्य बीमामा रेफर सम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सोही विषयमा रेफर हुने अस्पतालसँग अभिमुखीकरण गर्दै आएका छौं । स्वास्थ्य बीमामा रेफर सम्बन्धी प्रक्रिया पूरा नहुँदा बिरामीले सेवा नपाएको र सेवा पाएपनि सेवा प्रदायक संस्थाले स्वास्थ्य बीमाको रकम क्लेम गर्न नपाइरहेको यो अभिमुखीकरणमा लागि रहेका छौं ।

मेडिकल कलेजले पहिले र अहिलेको तुलनामा सेवा तथा शैक्षिक कार्यक्रमहरु थप गर्ने योजना के छ ?
नयाँ थप शैक्षिक कार्यक्रमहरु मैले उल्लेख गरिसकेको छु । पूराना शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिएका छौं । एमबीबीएसको १ सय सिट र पिजी कार्यक्रमको लागि ३६ जना विद्यार्थी आइसकेका छन् । अहिलेको निरीक्षणमा उक्त सिट संख्या बढ्ने सम्भावना छ किनभने अहिले फ्याकल्टीहरुको वृद्धि विकास भइसकेको छ ।

हामी सुपरस्पेसियालिटी शैक्षिक कार्यक्रम डिएम न्युनोनेटल विषय पाइरहेको अवस्थामा डिएम क्रिटिकल केयरमा पनि हाम्रो योग्यता पुगिसकेको छ । त्यसका लागि अनुरोध गरिसकेका छौं ।

समयसापेक्ष नयाँ प्रविधी विस्तारको योजना के छ ?
नयाँ प्रविधीको हकमा अहिले हामी कहाँ कार्डियोलोजीमा फेलोसीप गरेर आउनुभएको छ, जसमा इकोकार्डियोग्राफी, टिएमटी सेवाहरु निरन्तर दिइरहेका छौं । आइसीयु भेन्टिलेटर एचडियु सेवाहरु पनि निरन्तर भइरहेको छ । थप सेवामा कार्डियो सम्बन्धी क्रिटिकल केयरमा सीसीयु सेवा पनि संचालन भइसकेको छ ।

मेडिकल कलेजमा सामाजिक सुरक्षाका कार्यक्रमहरु कुन—कुन लागु भएका छन् ?
नेपालगंज मेडिकल कलेजमा आधारभूत खोप कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, हेमोडाइलासीस कार्यक्रम र सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गरिब अपांगताका साथै ज्येष्ठ नागरिकले पाउने सेवाहरु नेपाल सरकारको नियमअनुसार पाइरहेका छन् ।

निजी स्वास्थ्य संस्थामा विशेषज्ञ सेवासँगै लगानी पनि बढ्दो छ । जनताले सेवा पाउने गरेर कुन विशेषज्ञ सेवा विस्तारको योजना छ ?
नेपालगंज मेडिकल कलेजले प्रदान गर्दै आएका विद्यमान सेवाहरुलाई विस्तारै थप गर्ने योजना रहेको छ । क्याथ ल्याब नथपी नहुने अवस्था छ । अर्को, एमआरआई थप्नुपर्ने छ । अहिले सरकारले स्वीकृती दिएको तीन सय शैय्याको क्षमतालाई पाँच सय पुर्‍याउने र इन्डोर बिरामीलाई दिने सेवा बढाउने योजाना रहेको छ ।

हाल हामीसँग ८० वटा क्रिटिकल केयर बेडहरु छन् । जुन पश्चिम नेपालमा कतै पनि छैन । नेपाल सरकारले क्रिटिकल केयर सम्बन्धी तालिम दिनका लागि सूचीकृत संस्था पनि हो । हामीले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरुलाई क्रिटिकल केयर सम्बन्धी तालिम प्रदान गरिसकेका छौं । म आफै पनि क्रिटिकल केयरको स्पेशलिष्ट भएकाले योसँगै अरु सेवा पनि गुणस्तर सुधार गर्ने योजना रहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ