२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतराईका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दैं

तराईका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दैं


नेपालगन्ज—वर्षातको सुरुवातसँगै तराईका जिल्लाहरुमा सर्पदंशका घटनाहरु बढ्न थालेका छन । पछिल्ला दिनहरुमा सर्पदंशमा परेर बाँकेको शम्सेरगन्जस्थित उपचार केन्द्रमा दैनिक एक—दुई जना बिरामी उपचारका लागि पुग्न थालेका छन् ।

पानी परेसँगै सर्प सुख्खा ठाउँको खोजी गर्दै घर गोठमा पसेर मान्छेलाई टोक्ने जोखिम बढ्दै गएको छ । बाँके राष्ट्रिय निकुन्जको जंगलसँग जोडिएका बस्तीहरु सर्पदंशको उच्च जोखिममा छन् । विषालु सर्पले टोकेका बिरामीहरु गाउँबस्तीबाट अस्पताल पुर्‍याउँदा—पुर्‍याउँदै बाटैमा बेहोस हुने र मृत्यु हुने गरेको छ ।

सर्पले टोकेपछिको एक घण्टाभित्रै अस्पतालमा पुर्‍याउन सके बिरामीको उपचारपछि निको हुने सम्भावना धेरै हुन्छ । चिकित्सकहरुले सर्पले टोकेपछिको एक घण्टाको समयलाई गोल्डेन आवर पनि भन्छन् ।

सर्पदंशमा परेका बिरामीहरुको उपचारलाई प्रभाबकारी बनाउन बाँके राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएको नेपाली सेनाले बाँके जिल्लाको राप्ती सोनारी गाउपालिकाको शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र संचालनमा ल्याएको छ ।

केन्द्रमा बाँके, बर्दिया, दाङ र सुर्खेतका समेत बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन् । चालु आर्थिक वर्षमा शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका ५६ र विच्छीले टोकेका ४० जना गरी ९६ जनाको उपचार गरिएको छ । जसमध्ये विषालु सर्पले टोकेका बिरामीहरु १० जना थिए । उपचारका लागि केन्द्रमा आएका ९५ जना बिरामीलाई केन्द्रमा उपचार गरेर निको पारेर घर फर्काइएको थियो भने एक जना बिरामीलाई भेरी अस्पतामा रिफर गरिएको केन्द्रका अहेब नन्दलाल पाण्डेले बताए ।

तीमध्ये केन्द्रमा तालिम प्राप्त ४ जना स्वास्थ्यकर्मी भएपनि उपचारका लागि आबश्यक पर्ने उपकरण र भवनको अभाव छ । यसैबीच डिभिजन वन कार्यालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रममार्फत केन्द्रलाई मोनिटर हस्तान्तरण गरेको छ ।

सर्पदंशमा परेका बिरामीहरुको उपचारलाई प्रभाबकारी बनाउने उद्देश्ले डिभिजन वन कार्यालयले केन्द्रलाई करिब एक लाख मुल्य पर्ने मोनिटर उपलब्ध गराएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले बताए । योसँगै सर्पदंश उपचार केन्द्रमा दुईवटा मोनिटर भएका छन् । यसअघि बिरामीको चाप पर्दा मोनिटरको अभावमा उपचरसमेत प्रभावित हुने गरेको थियो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सर्पदंश उपचार केन्द्र संचालन भएपछि उपचारका लागि नेपालगन्जको भेरी अस्पताल पुर्‍याउँदा—पुर्‍याउँदै बाटैमा मृत्यु हुने क्रम रोकिएको छ । सर्पले टोक्नासाथ तत्कालै उपचारमा आएका अधिकांश बिरामीको केन्द्रमै उपचार हुने गरेको छ । सिकिस्त अवस्थामा रहेका बिरामीहरुलाई केन्द्रका स्वास्थ्यकर्मीको निगरानीमै भेरी अस्पतालमा पु¥याएर उपचार गर्ने ब्यवस्था मिलाइएको छ । गत वर्ष एक जना सिकिस्त बिरामीलाई एन्टी स्नेक भेनम चढाउँदैं भेरी अस्पतालमा पुराएर ज्यान जोगाएको केन्द्रका अहेब पाण्डेले बताए ।

केन्द्रले सर्पदंशमा परेका बिरामीहरुको उपचार निःशुल्क गर्दै आएको छ । केन्द्रका लागि आवश्यक पर्ने औषधीहरु राप्ती सोनारी गाउँपालिका, निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गणले उपलब्ध गराउँदैं आएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ