बुटवल—युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवाका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थीहरु सरकारले तोकेको भन्दा बढी लिएको रकम फिर्ता गर्नुपर्ने, युसीएमएसको प्रशासनिक सुधारलगायतका मागहरुसहित आन्दोलनमा उत्रिएका हुन् ।
बिहिवारबाट चरणवद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले शुक्रबार ज्ञापनपत्र बुझाउन जाँदा विद्यार्थीमाथि हस्तक्षेपसमेत भएको विद्यार्थीहरुले आरोप लगाएका छन् । सरकारले एमबीबीएस पढ्नको लागि ४२ लाख ५० हजार शुल्क तोकेको भएपनि कलेजले विभिन्न बहानामा १५ लाख बढी शुल्क लिने गरेको आरोप विद्यार्थीहरुको छ । उनीहरुले बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित धर्ना, कोणसभा तथा ज्ञापन पत्र बुझाउने लगाएका विरोधका कार्यक्रम गरेका छन् ।
युसीएमएसका विद्यार्थीहरुले अवैधानिक रुपमा कलेजले लिएको शुल्क फिर्ता गर्न माग गर्दे केही दिनअघि निवेदन दिएका थिए । अवैधानिक शुल्क फिर्ता गराइदिन सहयोग माग गर्दै युनिभर्सलका विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए ।
विद्यार्थीहरुले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी लिएको पैसा फिर्ता गराउन सहयोग गर्ने आश्वासन दिएका थिए । सरकारले तोकेभन्दा १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरूको आरोप छ ।
विद्यार्थीहरुको आन्दोलनका विषयमा कलेजका सूचना अधिकारी सुशील गुरुङले कलेजबाट हुन सक्ने समाधानका प्रयासहरु हुने बताए । ‘विद्यार्थीहरु छलफलमा आउनु प¥यो । हामी सम्भव हुनेसम्मको सहमतिका लागि तयारै छौ,’ उनले भने, ‘अनावश्यक हुलहुज्जत हुनु राम्रो पक्ष होइन । अस्पतालमा रहेका बिरामीहरुको विषयमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।’ कलेजभन्दा बाहिरका विद्यार्थी आएर आन्दोलन गरेका कारण होस्टल जान रोक लगाएको गुरुङको भनाइ छ । यता विद्यार्थीहरुले भने आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।