नेपालगन्ज – मुगु जिल्लाको खत्याड गाउँकी सुत्केरी ब्यथाले छटपटाइ रहेकी २० वर्षिया धन लक्ष्मी रावललाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्दार गरी सकुशल सुर्खेतस्थित प्रादेशिक अस्पतालमा भर्ना पुर्याइएको छ ।
हेलिकोप्टरबाट उद्दार गरेर ल्याउने क्रममा सुत्केरी ब्यथाले च्यापेकी रावलले मंगलबार बिहान साढे ११ बजे हेलिकोप्टर मै छोरा जन्माएकी छिन् । बच्चा जन्माएको १० मिनेट मै हेलिकोप्टरबाट बच्चा र आमालाई नेपाली सेनाको टोलीले सुर्खेत स्थित प्रादेशिक अस्पतालमा पुर्याएको हो ।
‘उद्दार गरेर फर्किरहेका थियौं, दैलेखको आकाशमा आइरहेको बेला राबलले बच्चा जन्माउनुभयो उद्दार दलका पाइलट प्रमुख सेनानी श्रेष्ठले भने, ‘विरलै हुने यस्ता घटना आफैले उद्दार गरिरहेको बेला दोस्रो पटक भएको पाइलट श्रेष्ठले बताए । यसअघि केही वर्ष पहिले हुम्लाबाट सुत्केरी व्यथा लागेको समयमा उद्दार गर्दा यस्तै प्रकृतिको घटना भएको थियो ।’
पाइलट प्रमुख सेनानी श्रेष्ठ भन्छन्, ‘म बसेको ठिक पछाडी सुत्केरी ब्यथाले च्यापेकी महिला हुनुहुन्थ्यो, प्रसव पीडा बढ्दै जाँदा उहाँले मलाई तानिराख्नु भएको थियो । महिलासँगै उहाँको श्रीमान पनि हुनुहन्थ्यो । हेलिकोप्टर मै उडिरहेका बेला बच्चा जन्मिसकेको रहेछ ।’
विगतका दिनहरुमा उद्दारपछि सधै सुर्खेत विमानस्थलमा हेलिकोप्टर ल्यान्ड गरेर सुत्केरीहरुलाई एम्बुलेन्सबाट प्रदेश अस्पताल पठाउने गरिएको थियो । तर, यो पटक विमानस्थल पुगेको हेलिकोप्टर बच्चा जन्मिसकेपछि नाभि काट्नु पर्ने भएकाले हेलिकोप्टरलाई सिधै प्रदेश अस्पतालमै अवरतण गरिएको हो ।
‘विमानस्थलमा तयारी अवस्थामा एम्बुलेन्स पनि थियो,’ श्रेष्ठले भने, ‘तर आमा र शिशुको स्वास्थ्य अबस्थालाई ध्यान दिएर सिधै अस्पताल परिसर मै हेलिकोप्टर ल्यान्ड गरेर जति सक्यो छिटै अस्पताल लागिएको पाइलट श्रेष्ठले बताए ।
कर्णाली प्रदेश अस्पतालका नर्सिङ निरिक्षक कल्पना थापाकाअनुसार उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । २०७८ साउन देखि हालसम्म पश्चिम एयर वेशले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरर्गत दुर्गम क्षेत्रका ज्यान जोखिमका परेका ३५ बढी गर्भवति तथा सुत्केरीको हवाइ उद्दार गरिएको छ ।