नेपालगन्ज–स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसहित स्वास्थ्य मन्त्रालयको टोलीले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालले प्रदान गर्दै आएको उपचार सेवाका बारेमा जानकारी लिएको छ ।
अस्पतालको अनुगमनपछि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री खापुङले सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पश्चिम नेपालको सुविधासम्पन्न क्यान्सर अस्पतालको रुपमा विकसित गर्न दक्ष जनशक्ति र अत्यावश्यक उपकरणहरु थप गर्न पहल गर्ने बताए ।
राज्यमन्त्री खापुङले क्यान्सर अस्पताल खजुरामा रेडियसन थेरापी गर्नका लागि लिन्याक मेसिन जडान भएपछि बिरामीहरुलाई उपचारका लागि भक्तपुर र भरतपुरमा जानुपर्ने बाध्यता हट्ने जानकारी दिए ।
अनुगमन टोलीमा स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल सहभागी थिए । पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २२ जिल्लाका विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।
क्यान्सर अस्पतालमा एक वर्ष अघिसम्म सर्जरी र हिस्टोप्याथोलोजी सेवा समेत थिएन । क्यान्सर भए—नभएको एकिन गर्ने हिस्टोप्याथोलोजी सेवा नहुँदा विरामी चितवन, काठमाण्डौं र भारतका विभिन्न सहरमा पुग्नुपर्ने बाध्यता थियो ।
क्यान्सर अस्पताले शल्यक्रिया सेवा सुरु गरेपछि स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामीहरु लाभान्वित भएका छन् ।
एक सय बेडको स्वीकृती पाएको अस्पतालले हाल ६० बेड संचालन हुँदै आएको छ । सरकारीस्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पताललगायत काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।