नेपालगन्ज – क्यान्सरका बिरामीको सहज उपचारका लागि बाकेको खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबीच सहकार्य गर्ने सहमति भएको छ । मेडिकल कलेजमा अध्ययनरत एमडिएमएसका चिकित्सकहरुलाई आवश्यकता अनुसार क्यान्सर अस्पताल खजुरामा पठाएर बिरामीहरुको उपचार सेवामा परिचालन सहमति भएको हो ।
अस्पतालहरुबीच सहमति र सहकार्य गरेर नेपालगन्ज क्षेत्रका अस्पतालमा उपचारका लागि आएका धेरैभन्दा धेरै बिरामीहरुलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने उद्देश्यले क्यान्सर अस्पतालसँग सहकार्य गर्ने सहमति भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले बताए ।
क्यान्सर अस्पताल खजुरामा इएनटी, गाइने र सर्जरी गर्ने पर्याप्त चिकित्सक नभएका कारण क्यान्सर रोग पहिचान भएपनि शल्यक्रिया सहितको उपचार सेवा पाउनका लागि भरतपुर, काठमाडौँ तथा भारतका विभिन्न शहरमा जानु पर्ने बाध्यता छ ।
मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा इएनटी, गाइने र सर्जरी गर्ने दक्ष चिकित्सक छन । तर, दुबै अस्पतालबीच सहकार्य नहुँदा बिरामीहरुले नेपालगन्ज क्षेत्रमै दक्ष चिकित्सक र आवश्यक पर्ने साधन स्रोत हुँदा हुँदै पनि उपचार सेवा पाउन नसक्ने अबस्था थियो ।
तर, अब भने क्यान्सरका धेरै बिरामीहरुले नेपालगन्ज क्षेत्रका अस्पतालहरुबाटै सहज रुपमा उपचार सेवा पाउन सक्ने क्यान्सर अस्पतालका निर्देशक डा कृष्ण आर्चायले बताए ।
सहमति अनुसार शल्यक्रिया गर्नुपर्ने बिरामीलाई क्यान्सर अस्पताल र मेडिकल कलेजका चिकित्सकहरुको सहकार्यबाट क्यान्सर अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया गरि उपचार सेवा प्रदान गरिने छ ।
त्यसैगरी, नेपालगन्ज मेडिकलको शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षणका क्रममा क्यान्सर रोग पहिचान भएका बिरामीलाई थप उपचारका लागि रेडियो थेरापी, किमो थेरापी लगायक क्यान्सरको उपचारका लागि शिक्षण अस्पतालले क्यान्सर अस्पताल खजुरामा रिफर गर्ने सहमति भएको छ ।
क्यान्सर अस्पताल , मेडिकल कलेजका शिक्षण अस्पताल भेरी अस्पताल सहित नेपालगन्जमा क्षेत्रमा रहेका बिभिन्न अस्पतालहरुबाट हरेक महिना ५० देखि ६० जना क्यान्सरका नयाँ बिरामी पहिचान हुने गरेको अनुमान छ ।
पहिचान भई शल्यक्रिया गरेर उपचार गर्नु पर्ने बिरामीमध्ये हाल करिब १० प्रतिशतको मात्रै शल्यक्रिया सहितको उपचार हुने गरेको छ ।
दुईवटा अस्पतालहरुबीच सहमतीले क्यान्सरका बिरामीहरुको सहज उपचारका सहज भई बिरामीहरुलाई चितवन , काठमान्डौ र भारतका अस्पताल जानु पर्ने बाध्यता केहि हद सम्म भए पनि घटने छ ।