२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ अपडेट : निको हुने संक्रमितको दर बढे पनि जोखिम उस्तै

प्रदेश ५ अपडेट : निको हुने संक्रमितको दर बढे पनि जोखिम उस्तै


बुटवल – प्रदेश ५ मा कोरोना संक्रमण निको हुने दर उच्च देखिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा कोरोना जित्नेहरु झन्डै ७७ प्रतिशत रहेका छन् । बाँकी ३३ प्रतिशत भने उपचारकै क्रममा छन् ।

प्रदेश ५ को पछिल्लो तथ्यांक अनुसार कुल संक्रमितको संख्या १० हजार ४ सय २२ छ । जसमध्ये ७ हजार ९ सय ७५ जना संक्रमित निको भएर घर फर्किएका हुन् । प्रदेशका विभिन्न जिल्लामा गरी २ हजार २ सय ८५ जना सक्रिय संक्रमितहरु उपचारका क्रममा छन् ।

मन्त्रालयलका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार पछिल्लो समय भेन्टिलेटरमा उपचार गर्नेहरुको संख्यामा पनि कमी आएको छ । हाल प्रदेशमा जम्मा दुई जनाको मात्र उपचार भैरहेको उनले बताए ।

निजी अस्पतालमा उपचार गर्नेहरु बढे 

प्रदेश ५ मा कोरोना संक्रमण भएर लक्षण देखिएका विरामीहरु निजी अस्पतालहरुमा समेत बढ्न थालेका छन् । पछिल्लो समय निजी अस्पतालहरुले पनि उपचार गर्न पाउने गरी मापदण्ड तयार भए पछि निजी क्षेत्रमा पनि कोभिड-१९ का विरामी बढ्न थालेका हुन् । हाल प्रदेशका ६ वटा निजी अस्पतालहरुले उपचार सेवा दिइरहेका छन् । प्रदेशमा पछिल्लो तथ्यांक अनुसार १ सय ७७ जना कोभिड-१९ का विरामीले निजी अस्पतालमा उपचार गराइरहेका छन् । डा. पौडेलका अनुसार कृमशन अस्पताल तिलोत्तमा, युनिर्भसल मेडिकल कलेज भैरहवा, देवदह मेडिकल कलेज देवदह, लुम्बिनी मेडिकल कलेज पाल्पा, युनाइटेड मीसन पाल्पा, एनजीएमसी कोहलपुरमा कोभिड १९ का विरामीहरुको उपचार भैरहेको छ ।

जोखिम भने कम भएको छैन्  

स्वाथ्य मन्त्रालयको मापदण्ड अनुसार स्वाव परीक्षण गर्ने हुँदा समेत संख्यामा कमी देखिएको हुन सक्ने आकलन गरिएको छ । स्वास्थ्य कार्यालयलाई स्वास्थ्य मन्त्रालयले लक्षण देखिएकोलाई मात्र पिसीआर स्वाब परिक्षण गर्न परिपत्र गरेको छ । परीक्षणको दरमा कमी आउँदा संक्रमितको संख्यामा समेत प्रभाव परेको हुन सक्ने विज्ञहरु बताउँछन् ।

सार्वजनिक यातयात, पसलहरु संचालनमा आउँदा समेत संक्रमणको दर नबढ्नु सुखद पक्ष भएको स्वास्थय क्षेत्रका जानकारहरुको भनाइ छ । ‘बजार खुलेका छन् । मानिसहरुको चहलपलह पनि बढेको छ । संक्रमणको दर स्थिर छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर सचेतता भने निकै आवश्यक छ ।, ‘डा. सन्तोष भूषालले भने, ‘मास्क लगाउने, सावुन पानीले हात धुने जस्ता क्रियाकलाप नियमित रुपमा सावधानीपूर्वक गर्नुपर्छ ।’

कोरोना संक्रमण भएका र लक्षण नदेखिएकाहरु होम आइसोलेशनमा रहेकाले उनीहरुले कडाइका साथ सावधानी अपनाउनु पर्नेमा डा. भूषाल जोड दिन्छन् ।भिडभाडमा जाँदा नागरिक स्वयम सचेत हुनुपर्ने चिकित्सकहरुले सुझाव दिइरहेका छन् । अस्पतालमा रहेका संक्रमितहरु सुरक्षित भए पनि होम आइसोलेशनमा रहेर हेलचेक्राइ गर्ने र लक्षण नदेखिएकाहरुबाट जोखिम हुन सक्ने तर्फ चिकित्सकहरु सचेत बनाउँछन् ।

सो प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ