पशुपति चौलागाई अस्पताल चौथो वर्षमा

चरिकोट—दोलखा सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७८ सालमा चरिकोट अस्पतालको नामबाट पशुपति चौलागाई स्मृति अस्पतालमा परिणत भएको थियो ।
अस्पतालको नाम परिवर्तन हुनुको साथै प्रादेशिक अस्पतालको रुपमा सञ्चालनमा आएको तेस्रो वर्ष पूरा भएको हो । तेस्रो वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक कार्य गरेको पशुपति चौलागाई स्मृति अस्पतालका कार्यालय प्रमुख डा. लक्ष्मण खड्काले बताए । वार्षिकोत्सवकै अवसरमा गौरीशंकर बालगृहका १८ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
त्यस्तै, आवाज नेपालका बालबालिकाको पनि स्वास्थ्य परीक्षण गरिएको डा. खड्काले जानकारी दिए । जिल्लामा रगत अभाव हुन नदिनको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १६ जनाले रक्तदान गरेका छन् । अस्पतालको आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कर्मचारीहरुमा उत्साह थप्नको लागि वार्षिकोत्सवकै अवसरमा टेबलटेनिस, ब्याडमिन्टन र फुटसल प्रतियोगिताको आयोजना गरिएको डा. खड्काले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई बागमती प्रदेश सभाका सांसद भरतबहादुर केसीले प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरेका थिए ।
कार्यक्रम पशुपति चौलागाई स्मृति अस्पतालका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमालको अध्यक्षता र बागमती प्रदेशसभाका सांसद भरतबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आगामी दिनमा निम्न र विपन्न वर्गका स्वास्थ्य समस्यालाई ध्यानमा राखेर अस्पतालले सेवा प्रवाह गर्ने अध्यक्ष रिमालले प्रतिवद्धता जनाएका छन् । साथै स्थानीय तहहरुसँग समन्वय गरी गाउँ गाउँमा स्वास्थ्य चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उहाँले बताए । अस्पतालमा बिरामी भएर आएपछि सबैलाई निको र खुशी बनाएर घर फर्काउने अभियानमा रहेको अध्यक्ष रिमालले बताए ।
धेरै पढिएका
- १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !
- ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- ४ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी
- ७ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
तपाईको प्रतिक्रिया दिनुहोस