चरिकोट—दोलखामा विद्यालयमा अध्ययनरत ६ हजारभन्दा बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सम्बन्धि जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममार्फत जिल्लामा ६ हजार ५ सय २० जना विद्यार्थीलाई खोप लगाउने तयारी भएको जानकारी गराइएको हो ।
जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालकाअनुसार दोलखामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाइने छ । जिल्लामा माघ २२ गतेदेखि १ सय ५९ वटा विद्यालय र ७० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सुरु हुने प्रमुख खनालले जानकारी दिए ।
विद्यालय बाहिर रहेका, खोप अभियानमा खोप लगाउन छुटेका छात्रालाई खोप अभियानको अन्तिम दिन ७० वटा स्वास्थ्य संस्थाबाट खोप लगाइनेछ । उक्त खोप अभियान दोलखामा २२ देखि २८ माघसम्म सञ्चालन हुनेछ ।
भीमेश्वर नगरपालिका १ हजार ४ सय ८१, जिरी नगरपालिका ५ सय ११, कालिञ्चोक गाउँपालिका ८ सय ७३, गौरीशंकर गाउँपालिका ५ सय २६, तामाकोशी ५ सय ६५, वैतेश्वर ५ सय ८३, मेलुङ ५ सय ९७, विगु ७ सय १४ र शैलुङ गाउँपालिकामा ५ सय ८६ जना कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई खोप लगाइनेछ ।
खोपका अभियानमा २ सय २९ जना स्वासथ्यकर्मी र ४ सय ५८ जना स्वयंसेविका परिचालन गरिने प्रमुख खनालले जानकारी दिए ।