चरिकोट—आर्थिक वर्ष ०८१/८२ मा उल्लेख गरेको वार्षिक कार्यक्रमअनुसार वडाअध्यक्ष सुत्केरी भेटघाट कार्यक्रममा व्यस्त छन् । दोलखा भीमेश्वर नगरपालिका–५ का वडाअध्यक्ष वासु श्रेष्ठ सुत्केरी भएको थाहा पाउने बित्तिकै अण्डा, सुत्केरी महिलालाई कपडा, बच्चालाई बेरिदिने न्यानो कपडा, सावुनलगायत सामग्री बोकेर पुग्छन् ।
उनी मात्र होइन, उनको साथमा स्वास्थ्यकर्मी पनि सँगै सुत्केरी घरमा पुगेका हुन्छन् । सुत्केरी भेटघाट कार्यक्रमअन्तर्गत वडाका स्वास्थ्यकर्मीहरु, सुत्केरी आमा र बच्चाको स्वास्थ्य जाँच गरी आमा र बच्चालाई पोषणयुक्त खानेकुरा र सरसफाइ सामाग्री हस्तान्तरण गर्न थालेका छन् ।
हालै मात्र सुत्केरी भएका सोही वडाका लाई पनि पोषणयुक्त खाने कुरा र सरसफाई सामाग्री दिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘सुत्केरी महिला शारीरिक मानसिक रुपमा थलिएको हुन्छ र बच्चाको पनि स्वास्थ्य अवस्था बुझ्नका लागि यो कार्यक्रम तय गरिएको हो,’ वडाध्यक्ष श्रेष्ठ भने । उनकाअनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था बेलामा थाहा पाएमा पछि थप रोग लाग्नबाट बचाउन सकिन्छ ।
वडा कार्यालयले गर्भवती भएपछि र सुत्केरी हुने बित्तिकै घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेको श्रेष्ठले जानकारी दिए । कतिपयको घरमा सुत्केरी हुँदा स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने र सुत्केरी महिलाले आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान नदिने खालका हुने भएकाले यस किसिमको कार्यक्रम ल्याएका हुन् । यस वडामा वार्षिक ३० जनाभन्दा बढी गर्भवती सुत्केरी हुने गर्छन् ।
साउन महिनाबाट कार्यक्रम कार्यान्वयमा आएको हुनाले अहिलेसम्म ७ जनाभन्दा बढीले सेवा पाइसकेको माटी स्वास्थ्य चौकीका हेल्थ पोष्ट इन्चार्ज शारदा न्यौपानेले जानकारी दिइन् । उनका अनुसार गर्भवती भएपछि सुत्केरी नहुन्जेलसम्म गर्भवती महिलाले ८ पटक गर्भ जाँच गर्नुपर्छ । यदि ८ पटक तोकिएको समयमा गर्भ जाँच गरेमा नेपाल सरकारले तोकिएको सुत्केरी भत्ता बापत तीन हजार ९ सय रुपैयाँ पाउनेछन् ।
‘सुत्केरी भेटघाट कार्यक्रमले सुनौलो हजार दिनलाई समेत टेवा पुगेको छ,’ हेल्थ पोष्ट इन्चार्ज न्यौपानेले भनिन्, ‘यस खालको कार्यक्रम जिल्लामै नयाँ र पहिलो हो ।’