२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट

दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट


चरिकोट—दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित औषधि पसल (फार्मेसी)मा फार्मास्टि तथा फार्मेसी सहायकले सेतो एप्रोन लगाउन थालेका छन् । ४ पुसदेखि औषधि पसलमा बस्ने फार्मासिस्ट तथा फार्मेसी सहायकले तोकिएको ड्रेस कोड अनिवार्य गरिएपछि चरिकोटमा सञ्चालित फार्मेसीमा फर्मासिष्टहरुले सेतो एप्रोन लगाएर औषधि बेच्न थालेका हुन् ।

औषधि बेच्ने फर्मासिष्टले अनिवार्य रुपमा सेतो एप्रोन लगाउनुपर्ने फार्मेसी ऐन, २०७२ र नेपाल फार्मेसी परिषद्ले तोकेअनुरुप नै आफूले नियमलाई कार्यान्वयनमा ल्याएको चरिकोट सातदोबाटोमा सञ्चालित युगम मेडिकलका सञ्चालक भरत बस्नेतले जानकारी दिए ।

नेपाल फार्मेसी परिषद्ले तोकेअनुरुप नै आफूले नियम मानेर सेतो एप्रोन र सेतो एप्रोनको बायाँतर्फ माथिल्लो भागमा रहेको खल्तीमाथि निलो पृष्ठभूमीमा सेतो रङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग प्रयोगमा ल्याएको बस्नेतले बताए । ‘जहाँ औषधि, त्यहाँ फर्मासिष्ट’ भन्ने नारालाई साकार पार्नको लागि पनि आफूले परिषद्को नियमलाई पालना गरेको बस्नेतले जानकारी दिए ।

नेपाल फार्मेसी परिषद्ले ४ पुसदेखि फर्मासिष्ट र फार्मेसी सहायकले ड्रेस कोड अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गरेको थियो । परिषद्काअनुसार ड्रेस कोडमा फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँतर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमीमा सेतो रंङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नुपर्नेछ ।

यस्तै, फार्मेसी सहायकले सेतो एप्रोनको बायाँतर्फ माथिल्लो भागमा रहेको खल्तीमाथि निलो पृष्ठभूमीमा सेतो रङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ । कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले तोकिएको ड्रेस लगाउनु पर्नेछ ।

‘ड्रेस बिना औषधि पसलमा बसेर काम गरेको पाइए कानूनअनुसार कार्वाही गरिनेछ,’ परिषद्का रजिष्ट्रार सन्जीवकुमार पाण्डेले भने । औषधि पसलहरुमा फर्मासिस्ट र फार्मेसी सहायकहरुकै उपस्थिति होउन भनेर यस्तो व्यवस्था गरिएको उनले स्पष्ट पारे ।

हाल दोलखामा औषधि व्यवसायी संघ दोलखा रामेछाप संयुक्त जिल्ला शाखामा उल्लेख भएअनुसार २५ वटा औषधि पसल सञ्चालनमा छन् । भीमेश्वर नगरपालिकामा १६, जिरी नगरपालिकामा १, वैतेश्वर गाउँपालिकामा ३, मेलुङ गाउँपालिकामा १, कालिञ्चोक गाउँपालिकामा २ र विगु गाउँपालिकामा २ गरी २५ वटा औषधि पसल सञ्चालनमा छन् । जिल्ला सञ्चालित सबै औषधि पसलका फर्मासिष्ट तथा फार्मेसी सहायकहरुलाई परिपत्रलाई कार्यान्वयन गर्नको लागि आग्रह गरिएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख श्याम खड्काले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ