चरिकोट—बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्न आग्रह गरेका छन् । सोमबार पशुपति चौलागाई स्मृति अस्पतालले आयोजना गरेको अस्पतालको गुणस्तर सुधारका लागि समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
‘नेपाल सरकारका स्वास्थ्य नीति तथा कार्यक्रमअनुसार सबै नागरिकलाई अनिवार्य रुपमा स्वास्थ्य बीमा आवद्ध गराउन स्वास्थ्य संस्थाहरुलाई आग्रह गर्दछु,’ मन्त्री थापाले भने । उनले अस्पतालका व्यवस्थापन समिति र कर्मचारीहरुलाई उक्त निर्देशन दिएका हुन् ।
अस्पतालका मेसु डा. लक्ष्मण खड्काले प्रस्तुत गरेका विषयमा मन्त्री थापा मगरले अस्पतालको व्यवस्थापनको साथै नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा अस्पताल चुस्त दुरुस्त रहनको लागि पनि आग्रह गरे । अस्पतालमा देखिएका समस्या र अभाव रहेका उपकरणहरु उपलब्ध गराउन मन्त्रालयले सहयोग गर्ने उनको भनाइ थियो ।
अन्तरक्रियामा सरोकारवाला निकाय, पत्रकार र नागरिकहरुले अस्पतालको वर्तमान अवस्थाको बारेमा प्रश्न उठाएका थिए । सरकारी अस्पताल भएर पनि निजी अस्पताल सो सरह सेवा दिन नसकेको, भवन भएर पनि उपकरण नहुनु, भएका उपकरणहरु दक्ष जनशक्तिको अभाव देखाएर प्रयोगमा नल्याउनु, निजी अस्पतालको जसरी चर्को शुल्क लिनु, एम्बुलेन्सको मर्मत सम्भार गर्न नसक्नु, शूल्क तिरेर पनि गुणस्तरीय सेवा नपाउनुजस्ता कुराहरुमा नागरिकहरुको प्रश्न उठाएका थिए । निर्माण सम्पन्न भएको महिनौ बितिसक्दा पनि अस्पतालका कोठाहरु त्यसै खाली राखिएका छन् भने भएका उपकरणहरु पनि दक्ष जनशक्ति नहुँदा त्यसै थन्किएका छन् ।
अन्तरक्रिया कार्यक्रममै मेडिकल अधिकृत डा. रोशन आचार्यले अस्पतालमा अहिले पनि भौतिक पूर्वाधारको अभाव, डायलाइसिस मेसिन भएको तर केही उपकरणहरु नहुँदा सञ्चालनमा ल्याउन नसकेको, लिफ्टको अभाव, अधिकांश कर्मचारीहरु स्थायी नभई करारका, एक्स—रे मेसिन बेला—बेलामा बिग्रिनु, उपकरण र मेसिनअनुसारको कर्मचारी दरबन्दी नभएको, वर्षौदेखि अस्पतालको आफ्नै लेखापाल नहुनुजस्ता समस्या सुनाएका थिए ।
कार्यक्रम अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सुवास रिमालको अध्यक्षता र बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री थापा मगरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य भरतबहादुर केसी, मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङ र दोलखाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललगायतले आ—आफ्ना धारणा राखेका थिए ।