चरिकोट—दोलखाको विगु गाउँपालिका गाउँ कार्यपालिकाको नियमित बैठक बस्न नसक्दा दीर्घ रोगका बिरामी तथा विपन्न समुदायका बिरामीहरुलाई औषधि वितरणमा समस्या परेको छ । गाउँपालिकाको आन्तरिक द्वन्द्वले कार्यपालिका बैठक बस्न नसकेको हो ।
पालिकामा प्रमुख प्रशासकीय अधिकृत समेत लामो समयदेखि नभएकाले नियमित बैठक बस्न नसकेको पालिकाले जनाएको छ । विगु गाँउपालिकाका वडाअध्यक्षहरु र बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा जिल्लाको उत्तरी केन्द्र सिंगटीमा पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य एवं प्रवक्ता लोकबहादुर नेपालीले २०८१/०८२ को गाँउसभा सकिए यता गाउँ कार्यपालिकाको नियमित बैठक बस्न नसकेको बताए ।
साथै, नियमित बैठक बस्न नसकेकै कारण दीर्घ रोगका बिरामीहरुले नियमित सेवन गर्ने औषधि खरिदमा समेत झन् समस्या आएको प्रवक्ता नेपालीले बताए । दीर्घ रोगका बिरामीहरुलाई औषधि वितरणमा समस्या देखिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले तत्काल समाधान खोज्न पालिकासँग माग गरेका छन् ।
विगु गाउँपालिकामा नियमित औषधि सेवन गर्ने दीर्घ रोगका बिरामी दुई सय ७० जना छन् । उनीहरुलाई उपलब्ध गराउनुपर्ने ६० प्रतिशत औषधि अभाव रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख रत्नबहादुर थामीले बताए । बजेट अभावकै कारण औषधि उपचार बापत १० देखि २५ हजार रुपैयाँसम्म उपलब्ध गराउनुपर्ने २३ जना विपन्न बिरामीलाई समेत आर्थिक सहयोग उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए ।
मासिक ५ हजार उपलब्ध गराउनुपर्ने किड्नी ट्रान्सप्लान्ट गरेका, डाइलासिस गराइरहेका, स्पाइनल इन्जुरी भएका र क्यान्सरका बिरामी गरी ४५ जनालाई पनि आर्थिक सहयोग गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले जानकारी दिए ।
समयमा मर्मत सम्भार तथा पर्याप्त इन्धन खरिद गर्न नसक्दा यस गाउँपालिकामा सञ्चालित सुविधासम्पन्न एम्बुलेन्ससमेत बेला—बेलामा थन्किने गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सहयोगमा प्राप्त एम्बुलेन्स पर्याप्त मात्रमा इन्धन प्राप्त नहुँदा थन्किने गरेको स्वास्थ्य शाखा प्रमुख थामीले बताए ।
पत्रकार सम्मेलनमा उपस्थित कार्यपालिकाका सदस्यहरुले आगामी २४ पुसभित्र कार्यपालिकाको बैठक बोलाएर पुस मसान्तसम्म हिउँदे गाउँ अधिवेशन सम्पन्न गरी पालिकामा देखिएका समस्याहरु समाधानमा पहल गर्न आग्रह गरेका छन् । समस्या समाधानमा पालिकाले चासो नदिए १ माघबाट आठ वटै वडाध्यक्षहरुले वडा कार्यालयबाट दिदै आएको सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
विगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली विभिन्न कारणले गाउँपालिका अहिले समस्यामा रहेको स्वीकार गर्दै त्यसको लागि राजनीतिक दल, संघीय सरकार लगायत सबैनै जिम्मेवार रहेको बताए । गाउँ कार्यपालिका बैठक लामो समयदेखि नभएको तर त्यसको लागि आफू जिम्मेवार नरहेको पालिका अध्यक्ष ओलीको भनाइ छ ।