२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम

भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम

तेस्रो सन्तान जन्माएमा नगरपालिकाले १० हजार रुपैयाँ दिने


चरिकोट—जन्मदर वृद्धिको लागि दोलखाको भीमेश्वर नगरपालिकाले सन्तान वृद्धि कार्यक्रम ल्याएको छ । उपप्रमुख कमला बस्नेतले आर्थिक वर्ष २०८१/८२ को यो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै सन्तान वृद्धि प्रोत्साहन कार्यक्रमबारे जानकारी दिएकी हुन् ।

नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रमअनुसार तीन सन्तान जन्माए तेस्रो सन्तानले १० हजार रुपैयाँ पाउनेछन् । नगरपालिकाले जन्म वृद्धिदरलाई सहयोग पुग्ने गरी ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान–उज्यालो भविष्य’ कार्यक्रम ल्याएको उपप्रमुख बस्नेतले जानकारी दिएकी हुन् ।

गाउँ वस्तीमा पुग्दा युवाहरु विदेशिएका, घर ज्येष्ठ नागरिकहरु मात्र बसेका र विद्यालयमा समेत विद्यार्थी घट्दै गएकाले नगरपालिकाले सन्तान वृद्धिदर बढाउन नीति तथा कार्यक्रमनै ल्याएको हो ।

पछिल्लो समय मान्छेहरुले सन्तान कम जन्माउने भएकाले विद्यालयमा भर्ना दर पनि त्यही अनुपातमा घट्दै गएको उपप्रमुख बस्नेतले बताइन् । वि.सं. २०७२ सालको भूकम्पपछि गाउँ—गाउँमा राम्रा विद्यालय भवन निर्माण गरेका छन् । तर, विद्यार्थी संख्यामा कमी आएकोले पनि यस खालको कार्यक्रम ल्याउन बाध्य रहेको उपप्रमुख बस्नेतको भनाइ छ ।

भीमेश्वर नगरपालिकामा जनसंख्या बढाउन र वस्ती जोगाउनको लागि उक्त कार्यक्रम ल्याएको बताइन् । यस खालको कार्यक्रमले सन्तान जन्माउन प्रोत्साहन मिल्ने भीमेश्वर नगरपालिकाको विश्वास छ ।

साथै, विद्यालयमा विद्यार्थी खाली भएजस्तै जग्गा जमिन पनि खाली हुन थालेको छ । खेती गर्नलाई जनशक्ति नपाएको कारण पनि सन्तान वृद्धिमा ध्यान दिन आवश्यक रहेको नगर प्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिए । राष्ट्रिय जनगणना २०७८ अनुसार दोलखामा प्रतिपरिवार औसत ३.४९ मात्रै संख्या देखिन्छ । अर्थात् परिवारको आकार सानो हुँदै जाँदा त्यसले समग्र जिल्लाकै जनसांख्यिकी वितरणमा पनि असर पारेको देखिन्छ ।

वि.सं. २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार दोलखाको जनसंख्या १ लाख ८६ हजार ५५७ जना थियो । तर २०७८ सालको जनगणना अनुसार १ लाख ७२ हजार ७६७ जनामा सिमित भएको छ । राष्ट्रिय तथ्याङ्कअनुसार अहिले दोलखाको जनसंख्या १० वर्षमा ०.७४ प्रतिशतले घटेको देखिन्छ । त्यस्तै, वि.सं. २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार भीमेश्वर नगरपालिकामा ३२ हजार ४८६ जनसंख्या थियो भने वि.सं. २०७८ सालमा बढेर ३४ हजार ७१२ जना पुगेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ