२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीको नीति तथा कार्यक्रममा स्वास्थ्यः दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवादेखि जेष्ठ नागरिकलाई निःशुल्क खोपसम्म

बागमतीको नीति तथा कार्यक्रममा स्वास्थ्यः दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवादेखि जेष्ठ नागरिकलाई निःशुल्क खोपसम्म


हेटौडा—बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्यलाई १७ बुँदामा समेटेको छ । सोमबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जनस्वास्थ्यका मापदण्ड सुनिश्चित गर्दै ‘सबै नीतिमा स्वास्थ्य नीति’ लागु गरिने बताए ।

यस्तै, प्रदेश स्वास्थ्य क्षेत्र रणनीति योजना तर्जुमा गर्ने, प्रदेश जनसंख्या नीति तर्जुमा गर्ने नीति तथा कार्यक्रममा छ । यसैगरी, ग्रामीण क्षेत्रमा अल्ट्रासाउण्ड सेवालाई विस्तार गर्दै लैजाने, वर्थिङ सेन्टरलाई सुदृढीकरण गर्ने, मानसिक स्वास्थ्य प्ररवर्द्धन र आत्महत्या न्यूनीकरण अभियान संचालन गर्ने बामगतीको नीति तथा कार्यक्रममा छ ।

महत्वपूर्ण मानिएको ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिदैं स्थानीय तहसँगको समन्वयमा विधालय नर्सले दिने सेवालाई समुदायस्तरमा विस्तार गर्ने महत्वकांक्षी लक्ष्य पनि बागमती सरकारले आफ्नो नीति तथा कार्यक्रममा अगाडि सारेको छ । यस्तै, महिलाको स्तन र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था मिलाउने साथै संघीय सरकारसँगको समन्वयमा किशोरीहरुलाई एचपीभी खोप दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार, वैकल्पिक चिकित्सा प्रणालीको प्रवर्द्धन र विस्तार, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई थप परिस्कृत गर्दै लैजाने, ७० वर्षभन्दा माथिका नागरिकलाई निःशुःल्क निमोनियाको खोप उपलब्ध गराउनेजस्ता लोकप्रिय कार्यक्रम पनि नीति तथा कार्यक्रममा छन् ।

प्रादेशिक स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि र एकीकृत रोग निगरानी प्रणाली विकास, पोषण उपचार तथा पुनस्थापना केन्द्र सुदृढीकरण र विस्तार, ‘भान्छा नै औषधालय हो, भान्सालाई विषमुक्त बनाऔं’ भन्ने सचेतनामूलक कार्यक्रम संचालन र प्रदेश सरकारले निःशुल्क बीमा गर्नुपर्ने क्षेत्र र जातिका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने, हरेक घरधुरीसम्म स्वास्थ्य बीमा विस्तार गर्ने नीति तथा कार्यक्रममा छ ।

दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा सेवा प्रदान गर्न अभिप्रेरित गर्ने, प्रदेशका सबै अस्पतालमा आँखा, नाक, कान, घाँटी, छाला तथा यौन रोग, जलन, मुख तथा दन्त सेवा र मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उल्लेख छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ