चरिकोट—दोलखाको चरिकोटमा हाडजोर्नी तथा नसा रोग सम्बन्धि ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शुक्रबारदेखि गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा सुरु गरिएको शिविर पुुस २२ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको आयोजना र सुःस्वास्थ्य हस्पिटल काठमाडौंको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सुरु भएको हो । फिजियोथेरापी, अकुंपञ्चर र प्राकृतिक चिकित्सा पद्धतिबाट कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, माइग्रेसन र पिनास, वाथ रोग र हड्डी खिइएको लगायतका रोगको उपचार हुने आयोजकले जनाएको छ ।

शिविरमा मुख्यतयाः हाडजोर्नी र नसा सम्बन्धि उपचार हुने भएकोले मौकाको फाइदा लिनु हुन सुस्वास्थ्य हस्पिटल काठमाडौंका अकु. सुदर्शन बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले शिविर उद्घाटन गरे ।
सुस्वास्थ्य हस्पिटलले हरेक वर्ष ३ पटक शिविर सञ्चालन गर्दै आएको छ । दोलखामा भने वर्षमा एक पटक शिविर गर्दै आएका छन् । दोलखामा हाडजोर्नी तथा नसा रोग सम्बन्धि शिविर गर्दै आइरहेको र ३ दिने शिविरमा करिव ४ सय जना बिरामीलाई सेवा दिने लक्ष्य लिएको अकु.डा. बस्नेतले बताए ।

३ दिने शिविरमा अकुं सुदर्शन बस्नेत, डा. आशा विके, डा. विशाल राई, भावना थापा, निरुता सिंह ठकुरी, संगीता कार्की, सौरभ खनाल र अनिता सिंहले उपचार गरिने छ ।
