धुलिखेल—काभ्रेको भकुण्डेबेसीस्थित मेथिनकोट अस्पतालमा वि.सं. २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको हो । वि.सं. २०६६ सालमा यो प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भयो । वि.सं. २०७८ सालमा प्रादेशिक अस्पतालमा भएको मेथिनकोट अस्पतालका लागि स्वास्थ्य सेवाका झण्डै दुई दशक प्रगतिका हिसाबले कतै देखिएनन् । बरु, छात्रवृत्ति करारका ‘सोर्सफोर्सवाला’हरु थुप्रिने अस्पतालको रुपमा मेथिनकोटलाई चिनिन थाल्यो । कारण, अस्पतालकै नेतृत्व पनि अस्पतालप्रति जिम्मेवारी भएन्, केही ‘टुरिष्ट मेसु’लाई पनि यो अस्पतालले ब्यहो¥यो ।
दुई दशकपछि अहिले मेथिनकोट अस्पतालमा सब ठीक चलिरहेको छ । विशेषज्ञ सेवा नियमित बनेपछि बिरामी संख्या उलेख्य वृद्धि भएको छ । एक वर्षअघिसम्म महिनामा एउटा डेलिभरी हुने अस्पतालले अहिले दैनिक एक जनाको डेलिभरी गराइरहेको छ । केही अघिदेखि ५० शैय्यामा स्तरोन्नती भएर मेथिनकोट प्रादेशिक अस्पताल भएको छ । पाँच जना विशेषज्ञ चिकित्सकको टिम बिरामी सेवामा तल्लीन छ । भौतिक पूर्वाधार, उपकरण व्यवस्थापन र सेवा विस्तारमा अस्पतालको नयाँ नेतृत्व दिनरात खटिइरहेको छ ।
यो सब भएको छ त केवल पछिल्ला तीन महिनामा । धादिङ अस्पतालमा उल्लेख्य काम गरेर चर्चामा आएका डा. मधुकर दाहाल ३ बैशाखमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बनेर आएपछि मेथिनकोट अस्पताल सेवा, भौतिक पूर्वाधारमा फड्को मार्ने दिशामा छ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मधुकर गत बैशाख पहिलो साता सरुवा भएपछि जब पहिलो पटक मेथिनकोट अस्पताल छिरे । अस्पताल हाताभित्रै प्याज भुटिरहेको दृश्य उनको नजरमा प¥यो ।
त्यही दृश्यले डा. मधुकरलाई ‘अस्पताललाई अस्पतालजस्तो’ बनाउने हुटहुटी चल्यो । सेवा, पूर्वाधार, सरसफाइलगायतमा काममा जोड दिए । भद्रगोल रहेको व्यवस्थापनलाई एक—एक सुधार गर्दै गए । ‘म आउँदा सुरुमा ओपीडीमा दैनिक ५—६ जना बिरामी हुन्थे,’ उनले मेथिनकोट अस्पताल आइसकेपछिका सुरुवाती दिनहरु सम्झिएँ, ‘अस्पतालको अवस्था पनि भद्रगोल थियो । त्यही भद्रगोललाई हटाउँदैं काम अगाडि बढाए ।’
अहिले मेथिनकोट अस्पतालमा भौतिक पूर्वाधार, सेवा विस्तारलगायतका सुधारका कामहरु जारी छन् । भनिन्छ, ‘विहानीले दिनको संकेत गर्छ’ मेथिनकोट अस्पतालमा त्यही देखिन थालेको छ । अहिले दैनिक ओपीडीमा आउने बिरामीको संख्या औसतमा दैनिक ६५—७० जनासम्म पुगेको छ । छात्रवृत्ति करारमा ठूलाबडाका छोराछोरीहरु काठमाडौं बसेर मेथिनकोट अस्पतालमा काम गरेको देखाउनका लागि चर्चित बनेको यो अस्पतालमा अहिले फरक स्वरुपमा छ ।
अस्पतालमा छात्रवृत्ति करारसमेत गरी पाँच जना विशेषज्ञ चिकित्सकहरु दिनरात बिरामीलाई सेवा दिइरहेका छन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. दाहाल, मनोचिकित्सक डा. प्रतिष्ठा घिमिरे, अर्थोपेडिक सर्जन डा. आनन्दमणि उपाध्याय, प्रोस्थोडोन्टिस्ट डा. प्रतिष्ठा घिमिरे, एमडिजी डा. किपा सुर्यवंशीले बिरामीलाई मेथिनकोटबाट सेवा दिइरहेका छन् । अझै अस्पतालका लागि विशेषज्ञ चिकित्सक जनशक्ति अपुग छ । पेडियाट्रिक, अर्थोपेडिक्स र गाइनोकोलोजिष्ट, एमडिजीपी चिकित्सक अपुग रहेको मेसु डा. मधुकर बताउँछन् । ‘म्यानपावर पनि छैन, पेडियाट्रिक छैन । अर्थोपेडिक्स, गाइनोकोलोजिष्ट र सर्जन पनि अभाव छ,’ डा. मधुकर भन्छन्, ‘अस्पताल फुल फेजमा चलाउन यो जनशक्ति आवश्यक छ ।’
डा. मधुकर मेसु भएर आएपछि वार्डहरुमा रहेको भद्रगोललाई हटाए । ‘पहिले महिला, पुरुष, बालबालिका सबैका लागि वार्डहरु एकै ठाउँमा भद्रगोल अवस्थामा थिए,’ उनले भने, ‘अहिले महिला, पुरुष, बालबालिकाको छुट्टा—छुट्टै वार्डहरु बनाएका छौं ।’ मेथिनकोटमा ५ शैय्याको मिर्गौला डाइलाइसिस सेवा सुरु गर्ने तयारी भइरहेको छ भने शल्यक्रिया कक्ष (ओटी) सेटअप लगभग सकिइसकेको छ । डाइलाइसिसको ट्रेनिङ सेन्टरका रुपमा विकास गर्न सकिन्छ कि भनेर पनि काम भइरहेको उनले सुनाए । ट्रमा र प्रसुति सम्बन्धि केसहरुका ओटी सुरु गर्नका शल्यक्रिया कक्ष तयार भइसकेको छ । तर, एनेस्थेसिया सहायक पाएका छैनन् । तीन शैय्याको इमर्जेन्सी १० शैय्यामा विस्तार गरिएको छ भने एनआईसीयु र आईसीयु निर्माणका लागि उपकरणहरु झरिसकेका छन् ।
प्रयोगशालालाई फराकिलो ठाउँमा सेटअप गरिएको छ । ‘किलिया, अटो एनालाइजरलगायतका उपकरण थपेका छौं । अटो एनालाइजरले एक घण्टामा दुई सय वटासम्म टेष्ट गर्न सक्ने क्षमतामा छ,’ मेथिनकोट अस्पतालको प्रयोगशाला प्रमुख सुमित्रा घिमिरे भन्छिन्, ‘अहिले एडभान्स तरिकाले ठूलो ठाउँमा ल्याब सेटअप भएको छ । स्टाफ थपिएका छन् ।’ ल्याब टेक्नोलोजिष्ट समेत रहेकी सुमित्राअनुसार अहिले दैनिक ४०—५० जनासम्म स्याम्पल परीक्षण हुने गरेका छन् ।
नाममात्रैको फार्मेसीलाई पनि नयाँ ढंगबाट व्यवस्थित गरिएको फार्मेसी असिस्टेन्ट बिर्सना तामाङ बताउँछिन् । ‘अहिले ९८ वटा निःशुल्क पाउने औषधी फार्मेसीमै उपलब्ध गराउने व्यवस्था गरेका छौं । पहिले १०० हाराहारीमा औषधी थिए, अहिले ४०० औषधी फार्मेसीमा उपलब्ध छन्,’ उनी भन्छिन्, ‘पहिले विमाको औषधी पनि पूर्ण रुपमा दिन सकेका थिएनौं । अहिले पूर्ण रुपमा औषधीमा पनि बिमा लागु गरेका छौं ।’ उनले पहिलेको तुलनामा अर्थो, सर्जिकल आइटम, साइक्रयाटिक मेडिसिनहरु पनि फार्मेसीमा बढाइएको जानकारी दिइन् ।
रेडक्रससँगको सहकार्य ब्लड बैंक स्थापनाका लागि पहल अगाडि बढिसकेको छ । अब्स/गाइनो र ट्रमा केसहरुका लागि मेथिनकोटमा उच्च सम्भावना छ । डा. मधुकर आएपछि मात्रै ४०—५० वटा अब्स गाइने र १५—२० वटा ट्रमा केसहरु अन्यत्र रिफर भइसकेका छन् । ‘अब्स/गाइने, ट्रमा सेन्टर र डाइलाइसिसमा विशेष जोड दिएर लागिरहेको छु,’ उनले भने, ‘भौतिक संरचना पनि अहिले अस्पतालको जस्तो भएन । नयाँ भवन बनाउनका लागि पनि काम अगाडि बढाउने योजना छ ।’ यसअघि अस्पतालको भवन निर्माणका लागि बजेट आएपनि तत्कालीन अस्पतालको व्यवस्थापनले खर्च गर्न नसकेपछि उक्त रकम फ्रिज भएको उनले सुनाए ।
कर्मचारीहरु पावर लगाएर आउने, १ जनाले ७ दिन काम गर्ने र २१ दिने विदा बस्ने वातावरण अस्पतालमा थियो । मेसु नै अस्पतालमा आएर २४ सैं घण्टा बस्न थालेपछि यो प्रवृत्ति निरुत्साहित हुँदैं गएको उनले सुनाए । तीन महिनामा अस्पतालले न्यूनतम सेवा मापदण्डमा ७५ प्रतिशत पु¥याएको छ ।
रोशी, नमोवुद्ध, तिमाल, महाभारत, सिन्धुलीगढी, पाँचखाललगायतका स्थानीय तहलाई कभर गर्ने मेथिनकोट अस्पतालमा सिन्धुलीको झण्डै आधा जनसंख्या र रामेछापका बिरामीहरु पनि उपचारका लागि आउने गर्छन् । हाइवे भएकाले ट्रमाका बिरामीहरु पनि अस्पताल पुग्छन् ।
डा. मधुकरले गरिरहेको अस्पताल सुधारका कामलाई नमोवुद्धका मेयर कुन्साङमा लामाले पनि दिल खोलेर सहयोग गरिरहेका छन् । ‘मेरो प्रयास अहिले काठमाडौं रिफर गर्नु परेकामध्ये ७५ प्रतिशत बिरामीलाई यही सेवा दिने छ,’ उनले कुराको विटमार्नुअघि भने, ‘त्यसका लागि आवश्यक जनशक्ति र उपकरण सहयोग गर्ने निकायले उपलब्ध गराइदिनुपर्छ ।’ मेथिनकोटमा अस्पतालमा ५० जना कर्मचारी कार्यरत छन् ।