त्रिशुली अस्पतालमा बायोग्यास प्लान्ट सञ्चालनमा, फोहरलाई मोहरमा परिणत गर्दै

त्रिशुली—सरकारी अस्पतालको सबैभन्दा ठूलो चुनौती अस्पतालजन्य फोहर व्यवस्थापनलाई मानिन्छ । अव्यवस्थित विसर्जन गरिएका फोहरबाट आउने दुर्गन्धले बिरामी एकातिर हैरान भएका हुन्छन् भने अस्पतालबाट नै रोगको महामारी फैलिन सक्ने जोखिम हुन्छ।
तर, नुवाकोटको त्रिशुलीस्थित त्रिशुली अस्पतालले जिल्ला तहमा पहिलो पटक ‘बायोग्यास प्लान्ट’ राखेर फोहरको उचित व्यवस्थापन गर्ने उपाय निकालेको छ । यसबाट फोहर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा पनि प्राप्त भएको छ ।
गर्भवती महिलाहरूलाई सुत्केरी गराउँदा निकस्ने प्लासेन्टा, अन्य मानव अंग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्याँस प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको हो ।
त्रिशुली अस्पतालमा वार्षिक औसत १६०० जना महिलाहरूले सुत्केरी सेवा लिदै आएका छन् । बायोग्याँस प्लान्टमा सुत्केरी गराउँदाका सालनाल, विभिन्न मानवजन्य अंगहरू, मासुका टुक्राहरू, अन्य सड्ने फोहरहरू सबै प्लान्ट भित्र राखिने छ ।
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको अस्पताल सुदृढ़ीकरण कार्यक्रमको करिब ९ लाख रुपैयाँको लागतमा त्रिशुली अस्पतालले बायोग्यास प्लान्ट निर्माण गरेको हो। ४० घनमिटरको सो प्लान्टबाट दैनिक ७० जना व्यक्तिलाई विहान बेलुका खाना बनाएर खुवाउन सकिन्छ। यो प्लान्टमा निस्किएको ग्याँस अस्पतालको चिकित्सकहरूको मेसमा तथा बिरामीहरूलाई निःशुल्क खाना बनाउने प्रयोजनको लागि प्रयोग गरिने अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए ।
अस्पतालले मासिक १० हजार बराबरको एलपी ग्याँस बिरामीलाई निःशुल्क खाना खुवाउनको लागि खर्च गर्दै आएको छ । अस्पतालले नकुहिने फोहोरमैला पनि मासिक ३ हजारमा बेच्न थालेको छ। ‘बायोग्याँसबाट सड्ने गल्ने फोहरको दीर्घकालीन व्यवस्थापन हुनेछ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले भने, ‘फोहरले अस्पतालमा दुर्गन्ध फैलिन पाउने छैन भने फोहरबाट मोहर पनि कमाउन सकिन्छ ।’
अस्पतालकी मेट्रोन देवकी खतिवडाका अनुसार अस्पतालबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेपछि फोहोरबाटै सर्ने विभिन्न संक्रमणजन्य रोगको जोखिमसमेत न्यूनीकरण हुनेछ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ३ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
तपाईको प्रतिक्रिया दिनुहोस