२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनापीमा फाइल रोकिएपछि निर्माणाधीन अस्पताल ३ वर्षदेखि अलपत्र

नापीमा फाइल रोकिएपछि निर्माणाधीन अस्पताल ३ वर्षदेखि अलपत्र


चरिकोट–दोलखाको मेलुुङ गाउँपालिका भेड्पूमा निर्माणाधीन अस्पताल अलपत्र परेको छ । तीन वर्षअघि निर्माण कार्य सुरू भएको अस्पताल नापी कार्यालयमा फाइल रोकिएपछि अस्पताल निर्माण कार्य रोकिएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला देशभर एकैचोटी ३ सय ९ वटा अस्पताल शिलान्यास भएको थियो । बिरामी उपचारको लागि निर्माण थालिएको अस्पताल अहिले आफै बिरामी परेको छ ।

वि.सं. २०७७ सालमा शिलान्यास भएको अस्पताल डिपीसीमै थन्किएको छ । देशभर ५, १० र १५ शैय्यासम्मको अस्पतालको एकैसाथ शिलान्यास भएको थियो । भेड्पूमा निर्माणधीन अस्पताल पाँच शैय्याको हो ।

स्वास्थ्य मन्त्रलायबाट प्राप्त ७० लाख बजेटमा टेण्डर गर्दा ४० लाखमै काम गर्ने निर्माण व्यवसायीद्धारा निर्माण कार्य थालिएको थियो । ६ रोपनी जग्गामा निर्माण कार्य थालिएको उक्त अस्पताल दोस्रो किस्ताको लागि बजेट माग गर्न जाँदा लालपूर्जा या जग्गा भाडाको पत्र पेश गर्नुुपर्ने अवस्थाले निर्माण कार्य रोकिनुुपरेको मेलुुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले बताए । मेलुुङ गाउँपालिका-४ भेड्पूको जग्गा हालसम्म लालपूर्जाबिहिन रहेको छ ।

मन्त्रालयबाट पहिलो किस्ता बजेट प्राप्त भएकाले तुुरुन्तै टेण्डर आव्हान गरी अस्पताल निर्माण कार्य थालेको र निर्माण कम्पनीलाई दोस्रो किस्ता रकम दिनको लागि बजेट माग गर्दा कागजात मागेको हुँदा काम रोकिनुुपर्ने बाध्यता भएको प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले बताए । आवश्यक कागजातको लागि गाउँपालिकाले नापी कार्यालय दोलखामा निवेदन पेश गरेको र हालसम्म कुनै पत्र प्राप्त नभएकाले निर्माण कार्य रोकिनु परेको हो ।

अस्पताल समयमा निर्माण हुन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ । हाल अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई बाध्यताले अन्य अस्पतालमा रेफर गर्नुु परेको मेलुुङ गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक हरिराम चापागाईंले जानकारी दिए । यस पालिका र नजिक पायक पर्ने कुनै पनि अस्पताल नभएकै कारण हालसम्म स्वास्थ्य चौकीमा आएका बिरामीलाई सदरमुुकाम चरिकोटमा रेफर गर्दै आएको स्वास्थ्य संयोजक चापागाईले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ