२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशआयुर्वेदका तीन कर्मचारी पुर्नबहालीको माग गर्दै अनसनमा

आयुर्वेदका तीन कर्मचारी पुर्नबहालीको माग गर्दै अनसनमा


चरिकोट–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकाका तीन जना कर्मचारीहरु पुर्नबहालीको माग गर्दै आइतबारदेखि रिले अनसनमा बसेका छन् । पुस १ गतेदेखि बिना सूचना हाजिर गर्न नदिएर करारमा रहेका दुई जना कार्यालय सहायक र एक जना कार्यालय सहयोगीलाई आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले निष्कासन गरेको थियो ।

१५ वर्षदेखि कार्यालय सहायकको रुपमा कार्यरत कर्मचारीहरुको करार म्याद मंसिर मसान्तदेखि सकिएको थियो । ११ जना कार्यरत कार्यालय सहायकहरुमध्ये ८ जनालाई भित्रभित्रै आयुर्वेद चिकित्सक र अन्य दुई जना कर्मचारीको मिलेमतोमा निवेदन दिन लगाई करार म्याद थप गरिएको आरोप निष्कासित कर्मचारीहरुको छ ।

करार अवधि सकेको जानकारी आफूहरुलाई नदिएको र राजनीतिक प्रतिशोधकै कारण निकालिएको १५ वर्षदेखि कार्यरत कार्यालय सहायक शिवबहादुर श्रेष्ठले बताए । ‘मंसिरमै सकेको करार म्याद किन माघ ५ गतेसम्म हाजिर गर्न दिएको त ?,’ श्रेष्ठको गुनासो छ । पुस महिनाभरि हाजिर गरेको तर माघमा तलब नपाउँदा किन तलब पाएन भनेर बुझ्न जाँदा केही जानकारीसमेत नदिएको गुनासो उनले गरे ।

अहिलेसम्म किन हाजिर गर्न नदिएको भन्ने जानकारीनै कोहीबाट नपाएको निष्कासित तीनै जनाको भनाइ छ । हिजोसम्म नियमित कार्यालयको काम गरेको तर आजदेखि बाध्यताबस रिले अनसन बस्नुपरेको निष्कासितमध्येका कार्यालय सहायक वेदप्रसाद सापकोटाको छ । निष्कासित हुनेहरुमध्ये ७ वर्षदेखिका कार्यालय सहायक वेदप्रसाद सापकोटा र ५ वर्षदेखि कार्यरत कार्यालय सहयोगी मिश्रा श्रेष्ठ हुन् । उनीहरुले यसअघि माघ ८ गते विभिन्न कर्मचारी संघ संगठनहरुलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । हालसम्म कहीकतैबाट आफ्ना माग सुनुवाइ नभएपछि बाध्य भएर रिले अनसनमा बस्नु परेको गुनासो गरे ।

उता आयुर्वेद चिकित्सक डाक्टर पुनम नेपालले भने तीन जनाले निवेदन नदिएकै कारण बाध्यताबस निष्कासनमा परेको बताइन् । ‘११ जनामध्ये ८ जनाले मात्र निवेदन दिएको हुँदा उहाँहरु निस्कासनमा परेको हो,’ उनले भनिन्, ‘पुस ६ गतेसम्म पर्खिदा पनि तीन जनामध्ये कुनैले निवेदन नदिएको हुँदा निष्कासनमा पर्नुभएको हो ।’ साथै, निस्कासित तीन जनाको मासिक रिपोर्टमा व्यवहार नराम्रो भएकै कारण पनि करार म्याद थप नगर्ने निर्णय गरिएको उनको भनाइ थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ