२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २किशोर–किशोरी मैत्री सेवा प्रदेशभरी लागु गर्छौं : स्वास्थ्यमन्त्री यादव

किशोर–किशोरी मैत्री सेवा प्रदेशभरी लागु गर्छौं : स्वास्थ्यमन्त्री यादव

प्रथम नगरस्तरीय किशोर–किशोरी सम्मेलन १५ बुँदे क्षीरेश्वरनाथ घोषणापत्र जारी गर्दै सम्पन्न


जनकपुरधाम–स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले किशोर—किशोरीमैत्री सेवा प्रदेशभरी लागु गर्ने वताएका छन् । बुधबार आयोजित एक कार्यक्रममा उनले प्रदेश सरकार र स्थानीय सरकार मातहतमा रहेको स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदानप्रति सरकार गम्भीर रहेको बताए ।

मन्त्री सिंहले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि कार्ययोजना तयार गरी कार्य गरिरहेको बताए ।

युएएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले ‘किशोर—किशोरीमैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको सुरुवात’ भन्ने मूलनाराका साथ आयोजना गरेको प्रथम नगरस्तरीय किशोर—किशोरी सम्मेलनको प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले भने, ‘स्वास्थ्य क्षेत्र अतिसंवेदनशील क्षेत्र हो । किशोर—किशोरी देशको मेरुदण्डको रुपमा रहेकोले उनीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु र पाउनु मौलिक अधिकार हो ।’ समयमा उचित सेवा तथा गोपनीयता रहने गरी स्वास्थ्यकर्मी तथा स्थानीय सरकारलाई निर्देशन समेत दिए ।

मन्त्री सिंहले स्थानीय सरकारलाई नीति तथा कार्यक्रममा किशोर—किशोरीहरुलाई सहज रुपमा सहभागिता गराउनुपर्ने बताए । ‘सम्मेलनमा सहभागी किशोर—किशोरीहरुको सहभागिताले पनि देखाएको छ कि युवाहरु सचेत भएको र आफनो अधिकार खोज्न थालेको देखिन्छ,’ उनले भने, ‘तसर्थ, अबका दिनमा स्थानीय सरकार र प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा किशोर—किशोरीलाई सेवासँग योजना प्रक्रियामा समेत सहभागिता बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

किशोरी—किशोरी मैत्री नगर बनाउनका लागि १५ वुँदे क्षीरेश्वरनाथ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले १५ बुँदे घोषणा पत्र जारी गरेको छ ।

सम्मेलनमा विशिष्ट अतिथिको समेत रहेका नगर उप–प्रमुख रचना माथेमाले किशोर—किशोरी मैत्री नगर बनाउनका लागि तत्पर रहेको बताए ।

सम्मेलनमा युएएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाका मधेश प्रदेश संयोजक विजय झाले स्वास्थ्यको क्षेत्रमा किशोर—किशोरीमा देखिएका समस्या दिनानुदिन बढ्दै गइरहेकोले यसलाई न्यूनीकरण गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

‘परियोजनाले मधेशको ६ वटा जिल्लामा संचालन गरेको कार्यक्रमले मात्र समस्याको समाधान हुन नसक्ने हुदाँ सरकारले यसलाई अपनत्व लिई स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा सबैलाई लाग्न अपिल गर्छु,’ उनले भने, ‘समाजमा देखिएका समस्या न्यूनीकरण गर्नका लागि सामाजिक व्यवहार परिवर्तन उतिनै आवश्यक रहेको छ ।’ व्यवहार परिवर्तन भए धेरै स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरु समाधान हुने र समाजमा देखिएका वेमेल तथा सामाजिक विकृतीहरु समेत न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नगरभरीका करिब १ सय ५० जना किशोर—किशोरी, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ