धनुषा-सिरहाको मिर्चैयाका एक व्यवसायीमाथि शनिबार बेलुका अज्ञात समूहले गोली चलाएको छ । मिर्चैया नगरपालिका-५ घर भएर मुख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरिरहेका ३९ वर्षीय रामसागर साफीमा पसलमै ४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका हुन् ।
साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्लम हेल्थकेयरमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाभन्दा लगभग ५० मिटरको दूरीमा रहेको पसलमा हिसाब मिलान गरिरहेको बेलामा बत्ती गएको मौका छोपी उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
सम्पतिको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइते साफीले प्रहरीसँग बताएका छन् । उनीमाथि यसअघि पनि आक्रमण भएको बताइएको छ ।
आक्रमणको घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरी कार्यालय नजिकै घटना हुँदा पनि प्रहरीले जानकारी नपाउनु दुखद् भएको स्थानीयको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीन जना युवाहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना प्रभावित हुने भन्दै उनीहरुको नाम बताउन चाहेनन् । अहिले पूर्वपश्चिम राजमार्ग र सहायक सडकहरुमा पनि चेक जाँच तीव्र बनाइएको छ