उमेर मात्रै २६ वर्ष । भर्खरै एमबीबीएस पास आउट । ११० भन्दा बढी ख्यातिप्राप्त जर्नलमा प्रकाशित अनुसन्धान । कमै उमेरमा अनुसन्धानमा हासिल गरेको यो उपलब्धि जो कोहीलाई बिरलै प्राप्त हुने गर्छ । त्यही उपलब्धिका कारण डा. संगम साहले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को हालै सम्पन्न राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलनमा ‘योङ हेल्थ रिसर्च अवार्ड’ पाए ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसबाट भर्खरै मात्रै एमबीबीएस पास गरेका डा. संगमका ११० वटा अनुसन्धानले ‘योङ हेल्थ रिसर्च अवार्ड’ जिताउन सफल बनाएका हुन् । डा. साहका कोभिड—१९ भ्याक्सिनको प्रभावकारिता, रक्त रोग, कार्डियोभास्कुलर, सरुवा रोग, न्युरोलोजिकल कन्डिसन, क्यान्सरलगायतका विभिन्न विषयमाथि केन्द्रीत अनुसन्धान विश्वका ख्यातिप्राप्त राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।
‘प्रमिट इन्डेक्स’ सूचीकृत अनुसन्धानले मात्रै मान्यता पाउने एनएचआरसीको मापदण्डभित्रका ११० वटा विभिन्न जर्नलमा प्रकाशित अनुसन्धानले पुरस्कार जिताएपछि डा. संगमले हेल्थआवाजसँग खुसी साटे । ‘हाम्रो नेपालमा एप्रिसियट गर्ने चलन एकदमै कम छ । तर, काम गरेपछि एटलिष्ट रिक्गनाइज हुँदोरहेछ । पुरस्कार पाउँदा निकै खुसी लाग्यो,’ गतहप्तामात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबाट ‘योङ रिसर्च हेल्थ अवार्ड’ थापेका डा. साहले भने ।

एनएचआरसीको एउटा क्राइटेरियामा फष्ट अथर, सेकेण्ड अथर र क्रसपोन्डिङ अथरको बढी भ्यालु थियो । ‘लाष्ट अथर सुपरभाइजर हुन्छ, त्यो हाम्रो लेभलले मिल्दैन्,’ उनले अवार्ड पाउनुको कारणबारे आफ्नो विचार राखे, ‘फष्ट अथर, सेकेण्ड अथर र क्रसपोन्डिङ अथर भएका कारणले मेरो बढी नम्बर आएको हुनुपर्छजस्तो लाग्छ । सायद त्यही कारण मैले यो एवार्ड पाए ।’
यी युवा अनुसन्धानकर्ताका लागि अनुसन्धान नै सबै कुरा हो । ‘रिसर्च मेरा लागि सबै कुरा हो,’ उनले भने, ‘अरुले पढेर पनि केही ज्ञान प्राप्त गर्छन्, साइटेसन गर्छन्, भोलि म रहुँला नरहुँला तर कृति भने सधैं रहिरहन्छ ।’ अहिलेसम्म उनका अनुसन्धानहरु ५०० सय बढी साइटेसन भइसकेका छन् ।
इन्टरनल मेडिसिनमा माष्टर्स गरेर एकेडेमिसियन बनेर एनआईएचको आईजेवान ग्रान्ट प्राप्त गर्ने लक्ष्य बोकेका डा. साहको जन्म सर्लाहीको ब्रहमपुरी गाउँपालिकाको भेलीमा वि.सं. २०५६ सालमा भएको हो । बुवा राधेश्याम साह र आमा सुनितादेवी साहका तीन सन्तानमध्ये उनी उनी जेठा हुन् । स्थानीय स्कुलबाटै उनको शिक्षादीक्षा सुरु भएको हो । कक्षा पाँच पछि भने उनको शिक्षादीक्षा काठमाडौंबाट भएको हो ।

इमाडोलस्थित गणेश मेमोरियल स्कुलबाट उनले कक्षा ६ उत्तीर्ण गरे । त्यसपछि उनी ७ देखि १० कक्षासम्म नाइटिङगेल स्कुल पढे । उनलाई स्कुल जीवनमा गणित र विज्ञान मनपर्ने विषय थिए । ‘मलाई स्कुल जीवनमा गणित विज्ञान मनपथ्र्यो,’ उनले भने, ‘अझ मलाई गणितप्रति विशेष रुचि थियो ।’ पढाइमा अब्बल डा. साहले वि.सं. २०७० सालमा ९० प्रतिशत अंकसहित एसएलसी उत्तीर्ण गरे ।
उनका बुवाको सपना छोरालाई डाक्टर बनाउने थियो । ‘बुवालाई आफू डाक्टर बन्न मन थियो । आईएस्सी पढेर फस्र्ट डिभिजन ल्याउनुभएको थियो,’ डा. संगमले डाक्टरी सपनाको पाना पल्टाए, ‘तर, त्यतिबेलाको परिस्थितीले बुवा डाक्टर बन्न पाउनुभएन ।’ संगमका बुवाले आफ्नो त्यही सपना छोराबाट पूरा गराउन चाहे । त्यहीअनुरुप डा. संगमलाई स्कुलदेखि नै ‘ग्रुमअप’ गरे ।
एसएलसीपछि डा. संगम विज्ञान पढनका लागि युनिग्लोब कलेजमा भर्ना भए । वि.सं. २०७३ सालमा उनले युनिग्लोबबाट प्लस टु पूरा गरे । त्यसपछि उनी बुवाको सपनाको रंगमा आफ्नो सपनाको रंग मिसाउँदैं एमबीबीएसको इन्ट्रान्स तयारीमा जुटे । पहिलो प्रयासमा इन्ट्रान्समा नाम निस्किएन । दोस्रो प्रयासमा वि.सं. २०७४ सालमा उनले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गत महाराजगंज मेडिकल क्याम्पसमा एमबीबीएस अध्ययन गर्ने अवसर पाए ।

वि.सं. २०७४ सालमा उनी एमबीबीएस अध्ययनका लागि महाराजगंज मेडिकल क्याम्पस गए । एमबीबीएस तेस्रो वर्षमा अध्ययन गर्दा डा. संगमले गुरु डा. राजीव ओझाको सहयोगमा पहिलोपल्ट रिसर्चमा हात हालेका हुन् । त्यसको तीन—चार महिनापछि एक केस रिपोर्टमा उनको अनुसन्धान अगाडि बढ्यो । अन्तर्राष्ट्रिय जर्नलमा पहिलो पटक उनको केस रिपोर्ट छापिएको थियो । ‘ट्युबरकुलोमा इन प्यासेन्ट वीथ ट्रेटालोजी अफ फ्लोटः अ केस रिपोर्ट’ शीर्षकको उक्त केस रिपोर्ट सन् २०२१ मा क्लिनिकल केस रिपोर्टमा छापिएको डा. संगम बताउँछन् । त्यही उनको प्रकाशित पहिलो अनुसन्धान बन्न पुग्यो ।
कोभिड—१९ कै बेला त्रिवि शिक्षण अस्पतालमा हेमाटोलोजी सेवा सुरु भयो । डा. अन्जन श्रेष्ठले ‘इसेन्सीयल थ्रोम्बोसाइटेमिया’को अवस्थामा बारेमा अध्ययन गर्ने प्रस्ताव राखे । डा. संगमले त्यसको इथिकल एप्रुभलका लागि एनएचआरसीलाई पर्पोजल लेखे । पर्पोजल एप्रुभ भएपछि उनी डा. श्रेष्ठको ओपीडीका दिन अनुसन्धानकै लागि इमाडोलबाट त्रिवि शिक्षण अस्पताल पुग्थे । त्यहाँ डाटा संकलन गर्थे । त्यो अनुसन्धान ‘जर्नल अफ नेपाल मेडिकल एशोसिएसन’मा अनुसन्धान प्रकाशित भयो ।
वि.सं. २०८१ मा एमबीबीएस सकेका डा. संगमका हालसम्म १०० भन्दा बढी अनुसन्धान प्रकाशित भइसकेका छन् । कडा परिश्रम गर्नुपर्ने एमबीबीएसको अध्ययनसँगै यति धेरै अनुसन्धान गर्न कसरी सम्भव भयो ? भन्छन्, ‘कोभिड—१९ लकडाउनका एकदमै धेरै सहयोगी बन्यो । दोस्रो वर्ष सकिएर तेस्रो वर्षको पढाइ सुरु भएको १५ दिन नबित्दै लकडाउन भयो । हामीले डेढ वर्षजति समय घरमै बितायौं । अनलाइन क्लास हुन्थ्यो, बाँकी समय पूरै खाली ।’

डा. संगमले सुरुवाती दुई—तीन महिना वेव सिरिज हेदैं बिताए । तीन महिनापछि उनलाई वेव सिरिजभन्दा केही ‘फ्रुटफूल’ काम गरौं भन्ने लाग्यो । ‘त्यसपछि सिक्दैं अनुसन्धानका कामहरु गर्न थाले । त्यो डेढ वर्षको समय मैले युटिलाइज गरे, त्यो बेलाकै आउटफल पछिसम्म प्राप्त गर्दै गए,’ उनले थपे । ११० भन्दा बढी अनुसन्धान गरिसकेका डा. संगम आफैलाई मन परेको अनुसन्धान भने तीन महिना फ्लोअप गरेर तयार पारिएको ‘पोष्ट कोभिड सिन्ड्रोम’ हो । जसमा डा. संगमको टोलीले तीन महिनासम्म बिरामीलाई फ्लोअप गरेर अनुसन्धान गरेको थियो । उनलाई खुसी लाग्ने यो अनुसन्धान ‘प्लस वान’ जर्नलमा प्रकाशित छ ।
हुनत उनको यो आर्टिकल जर्नलमा प्रकाशित हुँदासम्म पोष्ट कोभिड सिन्ड्रोमकै परिभाषा बदलिइसकेको थियो । ‘हामीले सुरु गर्दाखेरी डेफिनेसन थिएन,’ उनले भने, ‘पछि ६ महिनापछि आउने लक्षणलाई मात्रै पोष्ट कोभिड सिन्ड्रोम भनियो । हामीले अनुसन्धान गर्दा तीन महिनामात्रै गरेका थियौं । तर, त्यो पछि परिभाषित भएको हुँदा रिभ्युहरुले एप्रुभ ग¥यो ।’ त्यसबाहेक उनले कोभिड—१९ विरुद्धका कोभिशिल्ड र भेरोसेलको भ्याक्सिनको इफिकेसीलगायतका अनुसन्धान पनि गरेका छन् । ‘आईओएमका सरहरुले धेरै सहयोग गर्नुभएको छ,’ उनले सुनाए, ‘गुरुहरु र साथीभाइकै सहयोगमा म यहाँसम्म आइपुगेको हुँ ।’
डा. संगमलाई अनुसन्धानप्रति आकर्षण गर्ने कारणमध्ये मुख्य कारण नेपालमा बिरामी हेर्दा पढेको आधारमा हेरिनु हो । ‘अमेरिकन, अष्ट्रेलियनहरुले बनाइदिएको गाइडलाइन हामीले फ्लो गर्दै आइरहेका छौं,’ उनी भन्छन्, ‘त्यो परिपाटी विस्तारैं तोड्दैं जानुपर्छ ।’ डा. संगम नेपालका बिरामीहरुको उपचार गर्ने हो भने नेपालकै उपचार गाइडलाइन बनाउनुपर्नेमा जोड दिन्छन् ।