२०८१ चैत्र २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद


वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी प्रजनन रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपीक सर्जन पनि हुन् । नेपाल सरकारको ११ औं तहका सरकारी अधिकारी उनी दुई वर्षदेखि मुलुककै सबैभन्दा पूरानो स्त्री तथा प्रसूति रोग अस्पतालको नेतृत्व गरिरहेका छन् । वि.सं. २०१६ सालमा स्थापना भएको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अधिकारी अस्पतालको सेवा विस्तार र व्यवस्थापनमा आफ्नो उर्जाशील समय खर्चिरहेका छन् ।

झण्डै ८ सय कर्मचारीको नेतृत्व, व्यवस्थापकीय र प्रशासनिक कामसँगै डा. अधिकारी बिरामीको उपचारमा पनि तल्लीन छन् । सामान्तयाः अस्पतालमा दैनिक ७०—८० डेलिभरी हुन्छन् भने ७ सयदेखि १००० जनासम्म बिरामी ओपीडीमा स्वास्थ्य सेवा लिन्छन् । यो सबैलाई व्यवस्थापन गर्दै डा. अधिकारीले पछिल्ला दुई वर्षमा आईभीएफ सेवा सञ्चालन, निःसन्तानपन सम्बन्धि विभिन्न अस्पतालहरुलाई तालिम, ल्याप्रोस्कोपीक सर्जरी सेवालाई व्यवस्थित, कुपण्डोलस्थित भवनमा सेवा विस्तार र नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाजस्ता कामहरु फत्ते गरेका छन् ।

सेवालाई चुस्तदुरुस्त राखेर मात्रै सरकारी अस्पतालको गुणस्तर सुधार गर्न सकिन्छ भन्ने मान्यता राख्ने उनी अस्पतालको क्षमता विस्तार, कर्मचारी व्यवस्थापन, अस्पतालको डिजिटलाइजेसनजस्ता कामहरुमा सक्रिय छन् । त्यसबाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई मुलुककै ठूला र जटिल केसहरु गर्ने रेफरल सेन्टरका रुपमा विकास गर्नुपर्ने लक्ष्यमा समेत डा. अधिकारीले काम गरिरहेका छन् । भन्छन्, ‘अहिले नर्मल डेलिभरी जिल्ला अस्पतालहरुले नै गरिरहेका छन्, उनीहरुले नसकेका केसहरु गर्ने सेन्टर बनाउने लक्ष्य हो । नर्मल डेलिभरी केसहरु धेरै गर्न थाल्यौं भने जटिल केसहरुलाई ध्यान दिन सक्दैनौं ।’

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई मुलुकलाई रेफरल सेन्टर बनाउने सपना देखेका डा. अधिकारीको जन्म वि.सं. २०३१ सालमा सिन्धुपाल्चोकको विकट क्षेत्र थानपालकोटमा भएको हो । लेकाली वस्ती थानपालकोट पुग्न मेलम्चीबाट झण्डै एक दिन हिड्नुपर्छ । बुवा रोहिणीप्रसाद अधिकारी र आमा गंगादेवी अधिकारीमा पाँच सन्तानमध्ये उनी एक हुन् । उनी जन्मदा परिवार पूर्णरुपमा कृषिमा निर्भर थियो । पशुपालन र कृषि कर्ममै रहेकाले उनका बुवाले १७ वर्षसम्म पढ्न पाएनन् । उनका ठूला बुवा मामाघरमा पढेर पण्डित भएर फर्किएपछि उनका बुवालाई पनि नपढेर बर्बाद भएछ भन्ने अनुभव भयो । त्यसपछि उनका बुवा भारत गए । केही वर्ष भारतमा बसेर फर्केपछि उनका बुवाले परिवारलाई तराई बसाइँ सर्न राजी गराए ।

वि.सं. २०२३—२४ सालतिर राजा महेन्द्रले चितवनमा भर्खरै जंगल फडारी गरेर वस्तीहरु बसाल्दैं थिए । उनको परिवार पनि जग्गा किनेर त्यही बसाइँ सरे । डा. अधिकारीका बुवा रोहिणीप्रसाद आफू पढ्न नसकेको थकथकी चितवनमा झरेपछि पूरा गर्न थाले । दिनभर खेतीपाती, अर्मपर्मका कामहरुमा सक्रिय रहन्थे भने साँझपख नारायणी माविको रात्री स्कुलमा पढाइको भोक मेटाउँथे । १७ वर्षपछि क, ख, रा चिनेका रोहिणीप्रसादले रात्री स्कुलमै पढेर एसएलसी पास गरे । त्यसपछि सरकारी सेवामा प्रवेश गरे । वैदार, सुब्बा हुँदैं विभिन्न तहमा रहेर उनले लामो समय सरकारी सेवामा बिताए ।

पढाइको महत्व बुझेकाले रोहिणीप्रसादले आफ्ना सन्तानहरुको शिक्षादीक्षामा विशेष ध्यान राखे । छोरा श्रीप्रसादलाई प्रेमवस्ती स्कुलमा भर्ना गरे । त्यहीबाट डा. अधिकारीको प्रारम्भिक शिक्षादीक्षा अगाडि बढ्यो । ‘निकै गर्मी ठाउँ, झुप्राहरुमा पढ्नका लागि निकै असहज हुन्थ्यो,’ डा. अधिकारी आफ्नो बाल्यकालको स्मृति पल्टाउँछन् ‘म स्कुलबाट फर्केपछि रुखको छहारीमा पढ्थे ।’ उनले हलो जोत्नेबाहेक गोठालो जाने, घाँसपात काट्नेलगायतका सबैजसो काम गरेर हुर्किए ।

स्कुल जीवनमा डा. अधिकारीलाई गणित र विज्ञान सबैभन्दा मनपर्ने विषय थिए । पढाइबाहेक उनको रुचि खेलकूदमा पनि थियो । फुटबल उनलाई सबैभन्दा मनपर्ने खेल थियो । तर, घरबाट पढाइबाहेक खेलकूदमा सहभागी हुन रोक थियो । उनी भागेर खेल्न जाँदा कति पटक पिटाइ पनि खाएका छन् । ‘पढाइ बिग्रेला भन्ने चिन्ता परिवारलाई हुन्थ्यो,’ उनले सुनाए । प्रेमबस्तीबाटै उनले वि.सं. २०४७ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसी उत्तीर्ण गरेपछि उनी आईएस्सी पढ्नका लागि काठमाडौंको अस्कल क्याम्पस आए ।

वि.सं. २०५० सालमा छात्रवृत्तिमा उनले अस्कलबाट आईएस्सीको अध्ययन पूरा गरे । डा. अधिकारी स्कुल जीवनदेखि नै डाक्टर बन्न चाहन्थे । त्यही कारण उनी आईएस्सी पढ्न काठमाडौं आएका थिए । त्यतिबेला आईएस्सी गरेकालाई महाराजगंज मेडिकल क्याम्पसमा एमबीबीएस २० सिट थियो भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्खर मात्र एमबीबीएस अध्यापन हुन थालेको थियो । उनले महाराजगंज मेडिकल क्याम्पसमा एमबीबीएसका लागि इन्ट्रान्स दिए । तर, नभएपछि उनले अन्य ठाउँमा अवसरहरु खोज्न लागे ।

त्यतिबेला एमबीबीएस पढ्नका लागि भारत, बंगलादेश, पाकिस्तान, रसियालगायतका जाने चलन थियो । फिलिपिन्समा कृषि र वन पढ्न जान्थे, मेडिसिन पढ्न त्यति जाने चलन थिएन । डा. अधिकारीले त्यही पिएचडी पढिरहेका आफ्ना एक जना साथीका अंकलबाट एमबीबीएसका लागि फिलिपिन्स राम्रो भएको थाहा पाए । ‘त्यहाँ डोनेसन तिर्नु पर्दैन्थ्यो । ट्युसन शुल्क र खान बस्नका लागि मात्रै पैसा आवश्यक पर्दोरहेछ,’ उनी भन्छन्, ‘त्यहाँको चुनिएकाका केही युनिभर्सिटीमा इन्ट्रान्स दिए ।’ शिबुसिटीस्थित साउथ वेस्टर्न युनिभर्सिटीमा नाम निस्किएपछि सन् १९९६ मा एमबीबीएस अध्ययनका लागि फिलिपिन्स गए । यो बीचमा उनले बीएस्सीको पढाइ पनि जारी राखेका थिए । ‘लगभग बीएस्सी सकिन लागिसकेको थियो,’ उनले भने, ‘बीएस्सी पढ्दा पनि मेडिसिन पढ्ने भूतले छोडेको थिएन, बीएस्सी दोस्रो वर्षमा पढिरहेका बेला म फिलिपिन्स गए ।’

छोरालाई डाक्टरी पढाउनका लागि उनका बुवाले चितवनको केही कठ्ठा जग्गा बेचेर पैसाको जोहो गरे । साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस पढ्दा अलि संघर्ष गर्नुपरेको अनुभव डा. अधिकारीको छ । ‘त्यो बेला त्यति धेरै नेपाली थिएनन्, कडा युनिभर्सिटी भएकाले ब्याक लागेपछि एक वर्ष कुर्नुपथ्र्यो,’ उनले स्मरण सुनाए, ‘त्यही कारण मलाई बढी प्रेसर भयो । फेल भए एक वर्ष कुर्नुपर्दा पढाइ र खाने बस्ने खर्च कसरी जुटाउने चिन्ताले सताउँथ्यो ।’ एमबीबीएसको पढाइका क्रममा हाइ भोल्यूम प्रेसर परेका कारण उनी त्यसपछि हरेक परीक्षामा पूर्व तयारीमा विशेष ध्यान दिन्छन् । ‘विहानै चार बजे उठेर पढ्न थाल्छु, निन्द्रा कम लाग्छ,’ उनले भने । पछि करिअरमा पनि उनको त्यही बानीले सफल बनाएको अनुभव उनको छ ।

वि.सं. २०६० सालमा साउथ वेस्टर्न युनिभर्सिटीबाट एमबीबीएस सकेर उनी नेपाल फर्किए । नेपाल आएर इन्टर्नसीप गरे । इन्टर्नसीप सकिएको तीन महिनामै लोक सेवा खुल्यो । ‘त्यतिबेला म नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास भएको थिएँ तर लाइसेन्स आइसकेको थिएन्,’ उनले भने, ‘मेडिकल काउन्सिलबाट लाइसेन्स परीक्षा पास गरेको पत्र लिएर लोक सेवाको आवेदन दिए ।’ ३५ जना सातौं तहको मेडिकल अधिकृतका मागेकामा झण्डै ५ सय जनाले आवेदन दिएका थिए । तर, डा. अधिकारीले वि.सं. २०६१ सालमा पहिलो प्रयासमै सरकारी जागिरमा नाम निकाले ।

पहिलो प्रयासमै लोक सेवा पास गरेपछि युवा चिकित्सक डा. अधिकारीले दुर्गम रोजे । गाउँ पनि देख्नुपर्छ भन्ने सोचले उनलाई कर्णालीको हुम्ला पु¥यायो । वि.सं. २०६१ साल माघमा हुम्ला जिल्ला अस्पतालमा पुग्दा उनीसँग सिंगो जिल्लाको स्वास्थ्य सेवाको नेतृत्व गर्नुपर्ने मात्रै चुनौती थिएन्, जिल्ला स्वास्थ्यको व्यवस्थापकीय कमाण्ड पनि सम्हाल्नुपर्ने थियो । त्यतिबेला माओवादी जनयुद्ध उत्कर्षमा भएकाले काम गर्न पनि उत्तिकै जटिल थियो । ‘झण्डै ७०—८० जना स्वास्थ्यकर्मी र कर्मचारीको कमाण्ड गर्नुपर्ने थियो । म पढाइ सकेर भर्खर गएको विद्यार्थी भएकाले सुरुमा सबैको अगाडि बोल्न पनि सकिनँ,’ उनले हुम्ला डायरी खोले, ‘जिल्लामा बस्नलाई माओवादी द्वन्द्वका कारण गाह्रो थियो ।’ अछाम र जुम्लापछि हुम्ला आक्रमण हुन्छ भन्ने भय थियो ।

तर, डा. अधिकारीले हुम्लाको स्वास्थ्यको कमाण्ड कुशलतापूर्वक गरे । ग्रामीण क्षेत्रहरुमा भ्याक्सेटोमी र मिनिल्यापका शिविरहरु चलाए । दुई वर्ष त्यहाँ बसेपछि वि.सं. २०६३ सालमा उनले पिजीका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा इन्ट्रान्स दिए । पहिलो प्रंयासमै पिजीमा नाम निस्किएपछि उनी विशेषज्ञता अध्ययनका लागि काठमाडौं आए । आईओएममा उनले स्त्री तथा प्रसूति रोगमा विशेषज्ञताको अध्ययन सुरु गरे । किन स्त्री तथा प्रसूति रोग ? भन्छन्, ‘म पहिले मुटु रोग विशेषज्ञ बन्न चाहन्थे । तर, हुम्लामा काम गर्दा पेटमा बच्चा डेथ भएको तीन चार दिनको बिरामीको बच्चाको टाउको भित्रै र खुट्टा बाहिर झुण्डिएको अवस्थामा अस्पताल ल्याइएको थियो । ब्रीज डेलिभरी भएकी ती महिलामा एकदमै जटिल अवस्थामा बच्चाको हात र पार्टहरु काट्दैं शल्यक्रिया गरे, त्यो एकदमै जटिल शल्यक्रिया थियो ।’ त्यही घटनाले उनको फिजिसियन वा मुटु रोग विशेषज्ञ बन्ने लक्ष्य परिवर्तन गरिदियो ।

आईओएममा पढ्दा—पढ्दैं सरकारको नीतिगत परिवर्तनअनुसार उनी स्वतः आठौं तहका मेडिकल अधिकृत भए । तीन वर्षमा आईओएमबाट स्त्री तथा प्रसूति रोगमा एमडी सकेपछि उनी वि.सं. २०६७ सालमा भरतपुर अस्पताल गए । केही वर्ष भरतपुरमा काम गरेपछि उनको सरुवा नवलपरासीको बुलिङटार स्वास्थ्य केन्द्रमा भयो । वि.सं. २०७२ मा बुलिङटारमा रहँदा उनले लोक सेवाको खुल्ला प्रतिस्पर्धामार्फत नवौं तहमा नाम निकाले । एक वर्ष बुलिङटार बसेपछि पुनः भरतपुर अस्पतालमा फर्किए । टर्सरी केयर सेन्टर भएकाले भरतपुरमा उनले धेरै कुरा सिक्ने अवसर पाए । ‘त्यहाँ डा. जागेश्वर (गौतम) हुनुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘उहाँ मेरो मेन्टर, काममा एकदमै डेडिकेटेड मान्छे उहाँसँग मेलै धेरै कुरा सिके ।’ डा. अधिकारीकाअनुसार डा. जागेश्वरबाटै उनले सरकारी अस्पताल बिरामीलाई पहिलो प्रांथमिकतामा राखेर सेवा दिनुपर्छ भनेर सिकेका हुन् ।

‘त्यो बेला धेरैजसो डाक्टरहरु सरकारी अस्पतालमा ठिक्क काम गर्ने बाहिर बढी फोकस गर्ने गर्थे,’ डा. अधिकारी भन्छन्, ‘डा. जागेश्वरको फरक थियो । भरतपुर अस्पतालमा शल्यक्रियाको लाइन हुन्थ्यो । उहाँ एकै दिन ७—८ वटा पाठेघरको शल्यक्रिया गर्नुहुन्थ्यो । डा. जागेश्वर दिन होस् वा रात केही जटिलता हुने बितिकै जहाँबाट पनि अस्पताल पुगिहाल्नुहुन्थ्यो ।’

‘सर बिल्डिङ भयो मैले सकिनँ भन्ने बितिकै क्लिनिक वा आवास जहाँ भएपनि दौडेर आउनुहुन्थ्यो, त्यो म्यानेज गरेर मात्रै फर्किनुहुन्थ्यो,’ डा. अधिकारी स्मरण गर्छन्, ‘जुनियरले सिनियरबाटै सिक्ने हो । मैले उहाँबाट सरकारी अस्पतालमा डेडिकेटेड भएर सेवा दिनुपर्छ भनेर सिके ।’ डा. जागेश्वरसहित डा. केशवराज भुर्तेल, डा. किरण रेग्मीलगायतको उत्कृष्ट टिम भरतपुरमा थियो । त्यही टिमसँगको सिकाइकै कारण अहिले प्रसूति गृहमा केही पर्ने बितिकै डा. अधिकारी दिन रात नभनी अस्पताल पुगिहाल्छन् ।

भरतपुर अस्पतालमै रहँदा वि.सं. २०७५ सालमा उनले खुल्लामै दशौं तहमा नाम निकाले । लगतै ११ औं तहमा खुल्यो । उनले ११ औं तहमा पनि खुला प्रतिस्पर्धामै नाम निकाले । ११ औं तहमा नाम निकालेपछि एक वर्ष उनले भरतपुर अस्पतालमै विभागीय प्रमुख भएर काम गरे । भरतपुर अस्पतालमा उनले लामो समय सेवा गरे । वि.सं. २०७६ सालमा डा. अधिकारीको समायोजन परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालमा भयो । त्यसपछि उनी काठमाडौं आए ।

६ वर्षयता उनी परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सेवारत छन् । कोभिड—१९ का बेला डा.अ अधिकारी परोपकार प्रसूति अस्पतालको सेवामा डटेर लागे । ‘त्यो बेलाको निर्देशक डा. संगीता मिश्रा नयाँ आउनुभएको थियो,’ उनले भने, ‘उहाँलाई हाम्रो सपोर्ट चाहिने थियो । हामीले त्यसमा दत्तचित्त भएर सहयोग गर्‍यौं ।’ अन्यतिरका साना अस्पतालहरु बन्द भएका कारण पनि प्रसूति अस्पतालमा बिरामीको चाप झण्डै दोब्बर बढ्यो । त्यहीबेलाका स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बजेट हालिदिएपछि कुपण्डोलमा ५० शैय्याको एचडियु विस्तार गरियो । त्यो बेला प्रसूतिले कोभिड—१९ पोजेटिभ बिरामीलाई कुपण्डोलमा र अन्य बिरामीलाई थापाथलीमा व्यवस्थापन गर्‍यो ।

तर, कोभिड—१९ का कारण सुरुवाती समयमा चिकित्सकहरुलाई खटाउन पनि समस्या अनुभव डा. अधिकारीको छ । भन्छन्, ‘कोभिड—१९ सुरु भएपछिको पहिलो सिजेरियन सेक्सन मैले र डा. सन्देश पौडेलले पारी कुपण्डोल गएर ग¥यौं । डरैडरमा हामीले सिएस सकेका थियौं ।’ डा.अधिकारी त्यो बेला डेपुटी डाइरेक्टर भएकाले अरुलाई प्रोत्साहन गर्नका लागि आफै शल्यक्रिया गरेका थिए । त्यही बेला उनले अस्पतालका सबै कर्मचारीहरुसँग चिनजान र सम्बन्ध विस्तार गर्न अवसर पाए । डेपुटी डाइरेक्टरका रुपमा दुई वर्ष काम गर्दा उनले सबैलाई व्यक्तिगत रुपमै चिने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०७९ जेठमा डा. अधिकारीलाई स्त्री तथा प्रसूति रोग अस्पतालको निर्देशकका नियुक्त गर्‍यो । अकस्मात निर्देशकका जिम्मेवारी आएपछि सुरुमा उनलाई व्यवस्थापकीय जिम्मेवारीको भारी थपिएको महसुस भयो । तर, कोभिड—१९ को समयमा डेपुटी निर्देशकका रुपमा काम गरेको अनुभव र भरतपुरमा विकास गरेको क्षमताका कारण विस्तारैं उनले अस्पतालको व्यवस्थापकीय र प्रशासनिक नेतृत्वमा सहजता साथ पूरा गर्दै गए । ‘क्लिनिकल र म्यानेजेरियल पोष्ट फरक कुरा रहेछ । व्यवस्थापनमा हुँदा धैर्यता चाहिन्छ, विभिन्न समस्याहरु आउँछन् । पानी, बत्ती, बिरामी मृत्युलगायतका अनेकन समस्या क्लिनिसियन हुँदा हेर्नु पर्थेन्,’ उनले भने, ‘बिरामी हेर्दा पुग्थ्यो तर अब प्रशासनिक भार थपियो ।’

डा. अधिकारीले प्रशासनिक कामसँगै आफ्नो क्लिनिकल काम पनि छोडेका छैनन् । निर्देशक भएलगतै उनले बन्द रहेको इनर्भिटोफर्टिलाइजेसन (आईभीएफ)लाई सेवा सुरु गरे । त्यसअघि समयसम्म सरकारी अस्पतालको एकमात्र आईभीएफ रहेको प्रसूति गृहको आईभीएफ बन्द थियो । ‘टर्सरी अस्पतालमा रहेको देशकै एउटा आईभीएफ सेन्टरलाई लिएर प्रश्न पनि उठिरहेका हुन्थे,’ उनले भने, ‘न आईभीएफ, न फेलोसिप खोलेको छ, कसरी विकास गर्ने भनेर साथीहरुले पनि भनिरहेका कारण त्यो सुरु गर्नुपर्ने चुनौती थियो ।’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत एक वर्षे फेलोसीप सञ्चालनमा ल्याए भने आईभीएफ सेवा पनि सुचारु गरे । आईभीएफ सञ्चालनमा सुरुवाती दिनहरु संघर्ष गर्नुपर्ने थियो किनभने त्यो बेला भारतीय चिकित्सकको सहयोग लिनु पथ्र्यो ।

अहिले परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालको आईभीएफ टिम सशक्त छ । डा. श्रीसहित चार जना फेलोसीप गरेका प्रजनन रोग विशेषज्ञहरु छन् । डा. बिनिता, डा. निशुमा र डा. ज्वालाले राम्रो ठाउँमा फेलोसीप गरेका छन् भने नर्सहरुको अनुभवी टिम छ । उपकरणलाई अत्याधुनिकीकरण गर्दै लगिएको छ भने प्रयोगशाला नयाँ बनाएर व्यवस्थित गरिएको छ । ‘अस्पतालको आईभीएफ अब सिष्टममा चल्न थालेको छ,’ उनले भने ।

अस्पतालले राजधानी बाहिरका संघीय अस्पतालहरुमा आईभीएफ सम्बन्धि तालिम पनि दिइरहेको छ । ‘ हामीले ५—६ वटा अस्पतालमा निःसन्तान सम्बन्धि तालिम पनि दिइसकेका छौं,’ उनले भने, ‘हुम्लाको मान्छेलाई काठमाडौंमा उपचार गर्नुभन्दा सुर्खेतमा गर्न कम खर्च हुन्छ । त्यही कारण हामी प्रत्येक प्रदेशमा एउटा सेन्टर सञ्चालन गर्ने उद्देश्यका साथ तालिम दिइरहेका छौं ।’ जसमध्ये लुम्बिनी र कोशीमा आईभीएफ सेवा सञ्चालनमा आइसकेको छ । काठमाडौं आएर निःसन्तानपनको उपचार गर्न दुर्गमका र टाढाका नागरिकलाई बढी खर्च लाग्ने भएकाले ठाउँ—ठाउँमा सेन्टरहरु स्थापना गर्न सरकारले पहल लिनुपर्ने मत डा. अधिकारीको छ । ‘प्रदेशमा कम्तिमा एउटा आईभीएफ सेन्टर चाहिँदो रहेछ,’ उनले कारण खोले, ‘काठमाडौंमा आईभीएफ सेन्टर धेरै भयो तर पेरीफेरीमा भएन । ड्रिष्टीब्युसन नेपाल सरकारले मिलाइदिनुपर्छ ।’

डा. अधिकारी आफैले आईभीएफ र ल्याप्रोस्कोपीक सर्जरी फेलोसीप गरेरका छन् । अहिले परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीको पनि सशक्त टिम छ । ‘पहिला स—साना सिष्टहरु निकालेर ल्याप्रोस्कोपी सर्जरी गर्दै हाम्रो टिम सिक्दैं अगाडि बढ्यो,’ उनले भने, ‘अहिले त ठूला—ठूला ट्युमर निकाल्ने सशक्त टिम छ ।’ ल्याप्रोस्कोपीक सर्जरीमा पनि प्रसूति गृहले फड्को मारेको उनले सुनाए । नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा पनि प्रसूति गृहमा उनकै नेतृत्वमा सुरु भएको छ । अस्पतालले कुपण्डोलस्थित भवनमा सेवा विस्तार गरेको छ भने निकट भविष्यमै गाइनो सम्बन्धि सबै सेवाहरु कुपण्डोल सार्ने योजना छ । त्यसबाहेक अस्पतालको सरसफाइ, टिकट काउण्टर विस्तार, अनलाइन टिकेटिङलगायतका क्षेत्रमा उनले प्रशस्त कामहरु गरेका छन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको सरकारी स्थायी जनशक्तिको दरबन्दी एकदमै न्यून छ । जसका कारण सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर तत्कालै जनशक्ति पदपूर्ति गर्नुपर्नेछ । अहिले करारमा रहेको ठूलो जनशक्तिलाई पनि व्यवस्थापन गर्नुपर्ने चुनौती छ । ‘अस्पताल अहिले करार र ठेक्काका कर्मचारीबाट चलाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘सरकारी दरबन्दी र विकास समितितर्फको स्थायी कर्मचारी निकै कम छन् ।’ जसका कारण अस्पताल अलि अनस्टेबल बन्न पुगेको उनको बुझाइ छ ।

अस्पतालको भौतिक पूर्वाधार व्यवस्थित गर्नका लागि माष्टरप्लान पनि बनिसकेको छ । त्यो माष्टरप्लानअनुसार भौतिक पूर्वाधार र ओएनएममार्फत जनशक्ति व्यवस्थापन गरेमा प्रसूति अस्पतालको मुहार फरिनेछ । कुपण्डोलमा रहेको भौतिक पूर्वाधारमा सम्पूर्ण गाइनो सेवा, प्रजनन सम्बन्धी सबै सेवा, पिसाब चुहिने, सबै डाइग्नोसिस सेवा व्यवस्थापन गर्ने योजनामा निर्देशक डा. अधिकारीले काम गरिरहेका छन् । ‘यो ठाउँबाट डेलिभरी सेवामात्रै दिने र अन्य अस्पतालहरुले नसकेका बिरामीमात्र आउने हायर रिफरल अस्पतालका रुपमा विकास गर्ने सोच छ । नर्मल डेलिभरी सकेसम्म कम गर्ने योजना छ,’ उनले भावि योजना सुनाए, ‘नर्मल डेलिभरी धेरै गर्‍यौं भने सिरियस बिरामी हेर्न सक्दैनौं ।’ त्यसबाहेक अस्पतालको समग्र सेवालाई डिजिटलाइजेसन गर्नमा पनि काम गरिरहेको छ । ‘पेपरलेस अस्पताल बनाउने मेरो योजना छ,’ उनले भने । केएफडब्ल्यूले अहिले प्रसूति गृहका २५—२५ शय्याका दुई वटा सेटेलाइट अस्पताल चन्द्रागिरी र महालक्ष्मीमा बनाउँदैंछ ।

डा. अधिकारी आफूलाई त्रिवि शिक्षण अस्पतालको तालिमले बिरामीसँग भावनात्मक रुपमा जोडिन सिकाएको बताउँछन् । डा. जागेश्वरका कारण ड्युटी आवरमा सरकारी अस्पतालमा डट्न प्रेरित गरेको उनको भनाइ छ । ‘फिलिपिन्सको कडा एमबीबीएसको पढाइ, आईओएमको तालिम र डा. जागेश्वरजस्ता सिनियर व्यक्तिसँगको सिकाइले मेरो क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्यो,’ उनी भन्छन्, ‘भरतपुर अस्पतालजस्तो ठूलो रेफरल सेन्टरको उत्कृष्ट टिमसँगको सिकाइ गज्जब रह्यो ।’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पनि काम गर्ने वातावरण उत्कृष्ट रहेको अनुभव उनको छ । ‘डाक्टर र कर्मचारीहरु अनुशासित छन्, आ—आफ्नो काम गर्छन्,’ उनी भन्छन्, ‘अन्य सरकारी अस्पतालजस्तो यहाँ राजनीति छैन ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ