५ फागुनमा चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको पिजीको एमडी/एमएस/एनबीएमएसको ‘कमन इन्ट्रान्स रिजल्ट’मा पहिलो र्यांकमा—रोल नं. ‘१३४७७’ । त्यो रोल नम्बर भएका एमडी/एमएसको इन्ट्रान्स टपर हुन्—पोखरा नदीपुरका २८ वर्षीया डा. जायज अधिकारी । २ हजार ८ सय ४ जनाले पास गरेको कमन इन्ट्रान्समा डा. जायजले २०० पूर्णांकमा १६५.२५ प्रतिशत अंक ल्याएका छन् ।
‘डर पनि लाग्छ रमाइलो पनि लागिरहेको छ,’ इन्ट्रान्स टप गरेको ४ दिनपछि हेल्थआवाजसँगको कुराकानीमा उनले अनुभव सुनाए, ‘नयाँ अनुभव भइरहेको छ ।’ ‘स्ट्याण्डर्ड टेक्स्ट बुक’ पढेकाले आफूलाई इन्ट्रान्स टप गर्न सहज भएको उनले बताए । ‘मैले विदेशी लेखकका स्ट्याण्डर्ड टेक्स्ट बुक नै पढे,’ उनले भने, ‘त्यसैले मलाई इन्ट्रान्स टप गर्न सहयोग पुग्यो ।’ छात्रवृत्ति करारका चिकित्सक डा. जायजकाअनुसार ड्युटी पनि गाह्रो नभएकाले र साथीहरु मिल्ने भएकाले तयारीका लागि सहज भएको बताए । उनकाअनुसार एमबीबीएसमै पढेका धेरै प्रश्नहरु भएकाले पनि उनलाई सबै प्रश्नको उत्तर मिलेकोजस्तो लागेको थियो । रिजल्ट पनि त्यस्तै आयो ।
डा. जायज काठमाडौं विश्वविद्यालय (केयु)को एमबीबीएसको सन् २०१५ को ब्याचका पनि टपर हुन् । त्यतिबेला उनले ८२.१२ प्रतिशत अंक ल्याएर केयुको आफ्नो ब्याच टप गरेका थिए । ब्याच टप गरेपछि मणिपाल मेडिकल कलेजका विद्यार्थी उनले ‘भाइस चान्सलर स्वर्णपदक’ हात पारेका थिए ।

पोखरा नदीपुरमा वि.सं. २०५३ सालमा जन्मिएका हुन्, जायज । उनका बुवा हरिप्रसाद अधिकारी वकिल हुन् भने आमा रमा अधिकारीका शिक्षिका । वकिल बुवा र शिक्षिका आमाका दुई सन्तानमध्ये जायज जेठा हुन् । शिक्षित परिवारमा जन्मेकाले उनको प्रारम्भिक शिक्षामा अभिभावकले विशेष ध्यान रह्यो ।
जायजको प्रारम्भिक शिक्षा स्थानीय प्रतिभा स्कुल नदीपुरबाट अगाडि बढेको हो । उनले केजीसम्म प्रतिभा स्कुलमा पढें । कक्षा १ देखि ४ सम्मको अध्ययन ताराकुञ्ज स्कुलबाट पूरा गरे । त्यसपछि गण्डकी बोर्डिङ स्कुल गए । स्कुल जीवनमा उनलाई विज्ञान विषय बढी मनपथ्र्यो । अझ विज्ञानका प्रयोगात्मक कक्षाहरुमा उनको अभिरुचि थियो । ‘सरहरु एक्पीरिमेन्टहरु गर्नुहुन्थ्यो, मलाई त्यसले झन लोभ्याउँथ्यो,’ उनले भने । त्यसबाहेक उनी खेलकुदमा सक्रिय रहन्थे । ‘फुटबल र टेबल टेनिसहरु खेल्न मन पर्छ,’ उनी भन्छन् ।
डा. जायजले गण्डकी बोर्डिङ स्कुलबाटै वि.सं. २०६८ सालमा डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरे । थप उच्च शिक्षा पनि गण्डकी बोर्डिङ स्कुलबाटै अगाडि बढाए । वि.सं. २०७१ सालमा उनले विज्ञानमा विशिष्ट श्रेणीमै कक्षा १२ उत्तीर्ण गरे । ‘कक्षा ११ मा पुगेपछि बायोलोजी पढ्ने कि फिजिक्स पढ्ने भन्ने कुरामा म निकै दोधारमा थिए,’ उनले सुनाए, ‘एक आफन्त डाक्टरलाई देख्दा यो इज्जतिलो र समाजसेवामा लाग्ने पेशा पनि हो रहेछ भन्ने देखे ।’ त्यसपछि यस विषयमा उनले परिवारसँग सल्लाह पनि गरे । परिवारको सल्लाह र सपोर्टमै उनले डाक्टर बन्ने उद्देश्यका साथ प्लस टुमा बायोलोजी लिएका हुन् ।
वि.सं. २०७१ सालमा प्लस टु सकेपछि उनी काठमाडौं आए । ६ महिनाजति एमबीबीएस इन्ट्रासको तयारी गरे । सुरुमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को प्रवेश परीक्षा भयो । तर, त्यही बेला ज्वरोले च्यापेपछि उनले परीक्षा राम्रो गर्न सकेनन् । ‘२ अंकले मेरो आईओएममा नाम निस्किएन्,’ उनले भने ।

त्यसपछि उनी शिक्षा मन्त्रालयले एमबीबीएसका लागि दिने छात्रवृत्तिमा छनोट भए । शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि छनोट भएपछि उनी सन् २०१५ मा एमबीबीएस अध्ययनका लागि मणिपाल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल पोखरा गए । त्यहीबाट डा. जायजले एमबीबीएस उत्तीर्ण गरे । एमबीबीएसको पढाइ कस्तो रह्यो त ? भन्छन्, ‘एमबीबीएस पढाइ थोरै शब्दमा बयान नै गर्न सकिदैन् । त्यहाँ रमाइलो, दुःख, डर, सफलता सबै छन् ।’
छात्रवृत्ति करारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. जायजलाई गण्डकी प्रदेशमा पठाइदियो । त्यहाँ उनको पोष्टिङ मातृशिशु मितेरी अस्पताल बाटुलेचौरीमा भयो । ‘बाटुलेचौरमा १६ महिना जति काम गरे,’ उनले भने, ‘त्यहाँबाट कृष्टी नाच्ने चौरको प्राथमिक स्वास्थ्य केन्द्रमा भयो ।’ त्यहाँ उनले ८ महिना काम गरे । कामकै क्रममा उनले पिजी इन्ट्रान्सको तयारी गरेका हुन् । ‘काम गर्दै तयारी पनि गरे,’ उनले भने । यहीबीच उनले युएसएमएलईको फेज वान र फेज टु सर्टिफाइट पनि गरे । तर, विवाद निस्किएपछि बीचमै छाडिदिए ।
एमडी/एमएस/एनबीएमएसको ‘कमन इन्ट्रान्स टपर डा. जायज के पढ्ने योजनामा छन् त ? भन्छन्, ‘म आईओएममा रेडियोलोजी पढ्छु । पछि इन्टरभेनसनल रेडियोलोजीमा फेलोसीप गर्छु । मलाई इन्टरभेनसनल रेडियोलोजीमा इन्ट्रेस्ट छ ।’ इन्टरभेनसनल रेडियोलोजिष्ट बन्न रहर भएका डा. जायज नयाँ र बुझ्नुपर्ने कुरा धेरै भएकोले यो विषय आफ्नो रोजाइमा परेको बताउँछन् ।
एमबीबीएस टपर डा. जायज उत्कृष्ट हुनका लागि धेरै कुराहरु मिल्नुपर्ने बताउँछन् । ‘टप गर्न एकआपसमा धेरै कुरा मिलेर आउनुपर्ने रहेछ,’ उनले आफ्नो अनुभव बाँडे, ‘भित्रबाटै केही गर्न सक्छु भन्ने इच्छाशक्ति, पढाइप्रति लगाव, मेहनत, पारिवारिक वातावरण, साथीभाई र शिक्षकको सपोर्ट चाहिन्छ ।’ उनी टप गर्ने पढाइ अलि फरक हुनुपर्ने मत राख्छन् । ‘एकपटक शिक्षकबाट सुन्नेको कुरा आफै खोज्ने, हेर्ने र त्यो कुरा पटक—पटक पढ्ने गर्दा स्मरण रहिरहने हुन्छ,’ उनले थपे, ‘बुझेर पढ्ने तर केही कुराहरु कण्ठ पनि गर्नुपर्नेहुन्छ ।’ डा. जायजकाअनुसार असम्भव र गर्ने नसकिने केही पनि छैन । तर, एमबीबीएस भास्ट भएको हुँदा सुरुबाट नै विस्तारै तयारी गर्दै जानुपर्ने उनले बताए ।