२०८१ माघ १४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलमहिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल

महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल

यसरी हुँदैछन् सुधारका प्रयास


विराटनगर–पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल हो— विराटनगरस्थित कोशी । यो अस्पतालमा कोशी प्रदेशका मात्रै नभएर मधेश र छिमेकी मुलुक भारतसम्मका बिरामी उपचारका लागि आउने गरेका छन् । दैनिक ७ सयदेखि एक हजार बढी बिरामी ओपीडीमा सेवा लिन आउने भएकोले निकै व्यस्त अस्पतालको रुपमा कोशी चिनिने गरेको छ ।

दैनिक एक हजार बढीलाई उपचार सेवा दिने र सयौं नयाँ जीवनहरु जन्मिने अस्पतालको नेतृत्व सम्हालेकी छिन्—महिला चिकित्सक डा. रुणा झाले । उनी कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट भएर आएको करिब तीन महिना पूरा भएको छ । उनी आएदेखि नै नीतिगत सुधारदेखि बिरामीलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न तल्लीन छिन् ।

बिरामी सेवालाई आफ्नो पहिलो कर्तव्य ठानेर सक्रिय रहने डा. रुणा जिन्दगीमा सधैं खुसी हुनुपर्ने मान्यता राख्छिन् । साढे ३ सय शैय्याको अस्पतालको नेतृत्व सम्हालेकी रुणासँगैको सहकर्मी टिममा पनि महिला छन् । संयोग नै मान्नुपर्छ अहिले अस्पतालको प्रशासनतर्फ पाँच जना महिला रहेका छन् । लेखा प्रमुख कौशिला दाहाल, प्रशासन प्रमुख रिता खतिवडा, नर्सिङ प्रशासक मन्जु यादव, मेडिकल र फार्मेशी स्टोर प्रमुखमा रन्जना साह रहेका छन् ।

डा. झा आफूसहित प्रशासनमा महिलाहरु विभागीय प्रमुख रहँदा काम गर्न धेरै सहज हुने गरेको अनुभव सुनाउँछिन् । मेसुको जिम्मेवारी सम्हालेको तीन महिनाकोे अवधिमा उनले बिरामी र प्रशासनिक कामसँगै थुप्रै सुधारका कामहरु अगाडि बढाएकी छन् । सदैव केही नयाँ गर्ने हुटहुटी बोक्ने डा. रुणा आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुगोस् भन्नेमा सदा चनाखो रहन्छिन् ।

त्यसका लागि उनले बिरामीको सुविधालाई केन्द्रमा राखेर केही नवीन प्रयासहरु गरिरहेका छन् । त्यसको केन्द्रमा छ—आम मानिसको स्वास्थ्य सेवासँग सहज पहुँच । त्यही सहज पहुँचलाई ध्यान दिदैं उनले कोशी अस्पताल थप स्तरोन्नती गरेकी छन् । पूर्वी नेपालका पहाडी जिल्ला, तराई र भारतका धेरै बिरामी उपचारको लागि कोशीमा आउने गरेका छन् । आर्थिक विपन्न बिरामीको लागि भरोसाको केन्द्र बनेको अस्पतालले सेवा चुस्तदुरुस्त बनाउने पहल पनि निरन्तर जारी छ ।

डा. झाको जन्म धनुषामा भएको हो । बुवा धन्नजय र आमा चन्द्रिका झाकी छोरी हुन् । उनको परिवारमा चार जना डाक्टर र एक जना वकिल छन् । श्रीमान रक्त तथा क्यानर रोग विशेषज्ञ हुन् । डा. रुणाले एमबीबीएस पाकिस्तानबाट गरेकी हुन् । उनले प्याथोलोजीमा विशेषज्ञता हासिल गरेकी छन् ।

वि.सं. २०७२ सालबाट सरकारी सेवामा प्रवेश गरेकी डा. रुणाले ११ औं तहबाट सेवामा प्रवेश गरेकी थिइन् । उनको पहिलो पोष्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो । प्रयोगशालापछि ९ महिना उनले प्रसूति गृहमा काम गरिन् । त्यसपछि राष्ट्रिय प्रयोगशालामा चार वर्ष निर्देशकको जिम्मेवारी सम्हालेपछि कोशी अस्पताल आएकी हुन् ।

यस्ता छन् सुधारका प्रयास

कोशी अस्पतालको मेसुको जिम्मेवारी सम्हालेको तीन महिनामा डा. रुणाले नीतिगत सुधार गर्न खोजेकी छिन् । स्वास्थ्य उपचारमा बिरामीहरुलाई सहजता प्रदान गर्ने काम भएको उनले सुनाइन् । ‘अहिले तत्काल रिजल्ट देखिने खालको त छैन । तर, पछि देखिने दीर्घकालीन कामहरुको सुरुवात भएको छ । यसअघि औषधि खरिदको प्रक्रिया ढिलो हुने गरेको थियो । दुई वर्ष अगाडि टेन्डर आव्हान गरिएको औषधि अहिलेसम्म बिरामीलाई बिक्री वितरण भइरहेको थियो,’ उनले भनिन्, ‘म आएपछि समयमै औषधि खरिद् प्रक्रिया अगाडि बढेको छ ।’

खरिद प्रक्रिया समयमै अगाडि बढाएर गुणस्तरीय र सस्तो मुल्यमा औषधि खरिद गरिएको उनले बताइन् । ‘हामीले सस्तोमा खरिद ग¥यौं भने बिरामीले पनि सस्तोमा औषधि पाउने हो,’ उनले थपिन् । त्यसैगरी, अस्पताल भित्रका विभिन्न सुधारका कामहरु पनि उनको नेतृत्वमा अघि बढेका छन् । डा. झाले विभागीय प्रमुखहरुसँग समन्वय र सहकार्य गरेर अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरीयतामा विशेष ध्यान दिइरहेकी छन् ।

सामाजिक इकाईको बैठक राखेर कति बिरामीले उपचार सेवा लिएदेखि छुट कतिले लिए त्यसको पनि अभिलेख गर्ने कामहरु भइरहेको उनले सुनाइन् । त्यसैगरी, पहुँचवाहरुले अस्पतालको ल्याब र फार्मेसीमा बिल नगरी स्याम्पल दिने र रिपोर्ट लिने गरेको गुनासोहरु आउने गरेको थियो । आफू आएपछि यसलाई व्यवस्थित गर्ने काम भएको उनको भनाइ छ । ‘अहिले ल्याबलाई जिम्मेवार बनाउने काम भएको छ । हामीले अडिट गर्न थालेका छौं,’ उनले भनिन्, ‘बिल नकाटी परीक्षण गरेको फेला पारे ल्याबका कर्मचारीको तलब र भत्ताबाट कटाउने भनेर निर्देशन दिएपछि अहिले सजग भएका छन् ।’

बिरामीको गुनासो सुन्नको लागि अस्पतालभित्र क्यूआर कोर्ड राखिएको छ । क्यूआर कोर्ड स्क्यान गरेपछि अनलाइनमा आफ्नो गुनासो राख्न पाइन्छ । गनुासोलाई अस्पताल प्रशासनले सुधार गर्ने प्रयत्न भइरहेको उनले बताइन् ।

अहिले कोशीको आकस्मिक कक्षमा आउने सबै बिरामीहरुलाई विशेषज्ञ चिकित्सकको सिफारिस बेगर रेफर गर्न नपाउने व्यवस्था मिलाइएको छ । यसअघि ड्युटीमा खटिएका मेडिकल अधिकृतले रेफर गर्थे । ‘अहिले त्यो पूर्ण रुपमा बन्द गरिएको छ । आकिस्मक कक्षमा बिरामी पुगेर चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामी हेरेपछि विशेषज्ञ चिकित्सकलाई फोन जाने गर्दछ । त्यसपछि ड्युटीमा खटिनुभएको चिकित्सक आउनुहुन्छ,’ मेसु डा. झाले भनिन् । विशेषज्ञ चिकित्सकले हरेपछिमात्रै कोशी अस्पतालमा उपचार हुन नसक्ने अवस्थामा मात्रै रेफर गर्ने सिस्टमको विकास गरिएको धारणा उनको छ । रेफर गर्दा पनि स्वास्थ्य बीमाबाट उपचार हुने ठाउँमा रेफर गर्न निर्देशन दिइएको छ । त्यसबाहेक बिरामी रेफर प्रणालीलाई व्यवस्थित गर्नका लागि बिरामीसँगै एक जना स्वास्थ्यकर्मी पनि पठाउने गरिएको छ । अस्पतालले बिरामीको सहजतालाई केन्द्रमा राखेर छुट्टै रेफर युनिट पनि खडा गर्ने तयारी पनि अघि बढाएको छ ।

ओपीडी सेवा दुई सिफ्टमा

कोशी अस्पतालको भौतिक संरचना पर्याप्त नहुँदा ओपीडीमा समस्या हुने गरेको छ । अहिले अस्पतालको भौतिक संरचनाहरु निर्माण भइरहेको छ । पुरानो संरचनामा पर्याप्त ठाउँ नहुँदा ओपीडीमा बिरामीको भिड देखिएको हो ।

त्यो भिडलाई व्यवस्थित गर्न अस्पतालले टोकन सिस्टम लागु गरेको छ । तर, पनि भिडभाड देखिन्छ । संरचना अभावका कारणले यस्तो भएको डा. झाको भनाइ छ । ‘चिकित्सक दुई बजेपछि नभेटिने भन्ने गुनासो छ । अहिले सरकारको नीति दुई सिफ्टमा ओपीडी संचालन गर्ने भन्ने छ,’ उनी भन्छिन्, ‘हामीले विहान १० देखि १ बजेसम्म र १ बजेपछि ३ बजेसम्म ओपीडी सेवा दिन्छौं । अहिले तीन बजेसम्म ओपीडीमा चिकित्सक बस्ने नै गर्नुभएको छ ।’

अस्पतालमा एक बजेसम्म बिरामी जाँच हुने गरेको र त्यसपछि रिपोर्ट हेर्ने गरिएको छ । कोशी अस्पतालले आएका बिरामीलाई नफर्काउने किसिमले काम गर्ने तयारी पनि गरेको छ ।

रेडियोलोजी विभाग २४ सै घण्टा संचालन गर्ने तयारी

अस्पतालको रेडियोलोजी विभाग जनशक्ति अभावको कारणले गर्दा अहिले दुई बजेसम्म खुल्ला हुने गरेको छ । दुई सिफ्टमा रेडियोलोजी विभाग संचालन गर्ने भनेर अस्पतालले रेडियोलोजी चिकित्सकको माग गरेको छ । जुन अहिले नियुक्तिको प्रक्रियामा छ । अहिले पनि दैनिक एक जना चिकित्सकले ४० देखि ५० जना बिरामीको भिडियो एक्सरे गर्ने गरेका छन् । ‘अब नयाँ चिकित्सक नियुक्त भएपछि २ बजेपछि पनि रेडियोलोजी विभाग चलाउने योजना छ,’ डा. झा भन्छिन् ।

मेसुको जिम्मेवारी सम्हालेपछि लोकसेवाले बनाएको मापदण्ड अपनाएर खुल्ला प्रतिस्पर्धाबाट चिकित्सक र नर्स नियुक्ति गर्ने तयारीका साथ सूचना आव्हान गरिएको उनले सुनाइन् । विगतमा जस्तो आफू खुसी चिकित्सक नियुक्ति गर्ने परिपाटीको अन्त्य भएको उनको मत छ । कोशी अस्पतालमा अब खुल्ला प्रतिस्पर्धाबाट योग्य र दक्ष चिकित्सक नियुक्ति हुनेछन् ।

आईसीयुको शैय्या बढाउँदै, एचडियु चाँडै संचालन हुने

जनशक्ति अभावको कारणले अहिले कोशीमा ८ शैय्याको आईसीयु छ । आईसीयुमा नर्सिङ स्टाफको संख्या एकदमै न्यून छ । त्यही कारण अस्पतालले नर्सिङ जनशक्ति पदपूर्ति गर्न सूचना आव्हान गरेको छ । थप नर्स नियुक्त गरेपछि अस्पतालको आईसीयुमा शैय्या बढाउने र बन्द भएको एचडियु सेवा पनि सुरु गर्ने योजना बनाएको छ । पाँच बेडको एचडियु चाँडै सञ्चालनमा ल्याउने तयारी छ ।

त्यसपछि बिरामीको स्वास्थ्य उपचारमा थप सहजता हुने विश्वास अस्पतालको छ । त्यसैगरी, एनआईसीयु सेवा पनि चाँडै सुरु गर्ने डा. झाले जानकारी दिइन् । कोशीले बाँझोपनको उपचार सेवा पनि सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. अन्जु देवको टिमले सेवा दिनेछ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ