२० वर्षदेखि सरकारी स्वास्थ्य संस्थाहरुमा अनवरत रुपमा बिरामीको सेवा । भुँइमान्छेदेखि भिआईपी र भिभीआईपीसम्म हजारौं बिरामीको उपचार । १० हजार बढी सर्जरी । मूत्र प्रणाली सम्बन्धि रोगबारे निरन्तर जनचेतना र खबरदारी । बिरामीप्रतिको आत्मीयता । यिनै विशेषता कारण प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन प्राध्यापक डा. रविन बहादुर बस्नेतको चिकित्सक र बिरामीहरुमाझ अलग पहिचान छ ।
मुलुकको केन्द्रीय अस्पताल वीर अस्पतालको अत्यन्त व्यस्त युरोलोजी विभागका प्रमुख डा. रविन अधिकांश समय बिरामी सेवामा तल्लीन रहन्छन्, बाँकी समय आफूले सिकेको ज्ञान बाँड्छन् । चिकित्सकीय र प्राध्यापन कर्मबाट बचेखुचेको थोरै समय जनचेतना र सामाजिक कर्ममा पनि खर्चन्छन् । युरो सम्बन्धि रोगबारे लेख्छन्, बोल्छन्, अनुसन्धान गर्छन् । दैनिक ४०० सय बढी बिरामीलाई सेवा दिने वीरको युरोलोजी विभागको योजना निर्माण, कार्यन्वयन, दैनिक कार्यविभाजन, शल्यक्रिया र मिर्गौला प्रत्यारोपण उनकै रेखदेखमा हुन्छ ।
डा. रविन बस्नेतको जन्म सन् १९७९ मा काठमाडौंमा भएको हो । ध्रुबबहादुर बस्नेत र ज्योति बस्नेतका दुई सन्तानमध्ये उनी जेठा हुन् । बुवा सेवानिवृत्त सरकारी मेकानिकल इन्जिनियर हुन् भने आमा सेवानिवृत्त शिक्षिका । अहिले डा. रविनको घरमा सबैजना चिकित्सक नै छन् । श्रीमती डा. मीरा थापा स्त्री रोग तथा निःसन्तान विशेषज्ञ हुन् । भाइ डा. नवीन बस्नेत नेफ्रोलोजिष्ट छन् भने भाइ बुहारी डा. स्वस्ती थापा म्याक्सिलोफेसियल सर्जन ।
सरकारी जागिरे बुवा र शिक्षिका आमा भएकाले उनका दुवै दाजुभाइले उत्कृष्ट शिक्षा लिने मौका पाए । डा. रविनको शिक्षादीक्षा सेन्ट जेभियर्स स्कुलमा भएको हो । प्रारम्भिक शिक्षा उनले सेन्ट जेभियर्स गोदावरीबाट लिए र ७ देखि १० कक्षासम्मको पढाइ भने सेन्ट जेभियर्स जावलाखेलमा भएको हो । स्कुलमा उनी पढाइ र खेलकूद दुवैमा अब्बल थिए । स्कुल जीवनमा उनी अन्तरिक्ष यात्री बन्ने सपना देख्थे । अन्तरिक्ष यात्री नभए पाइलटसम्म बन्ने उनको सोच थियो । स्कुल पढ्दा मेडिकल साइन्समा परसम्मको पनि रुची उनमा थिएन् । लामो दूरीको दौडमा उनी सबैभन्दा अगाडि थिए । ‘लामो दूरीको दौडमा मेरो विशेष रुचि थियो,’ उनी स्कुल जीवन सम्झन्छन्, ‘स्कुलको म्याराथनमा पछिसम्म पनि रेकर्ड मेरै नाममा थियो ।’ त्यसबाहेक लङजम्प, फुटबल र भलिबलमा पनि उनी रुचि राख्थे । स्कुलमा हुँदा नेपाल स्काउटमा पनि संलग्न थिए । तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्रको हातबाट सबैभन्दा कान्छो उमेरमा स्काउटको सबैभन्दा उपल्लो दर्जा किंग स्काउटबाट १९९४ मा विभूषित भएका थिए ।

सन् १९९५ मा उनले सेन्ट जेभियर्स जावलाखेलबाट एसएलसी उत्तीर्ण गरे । एसएलसीमा उनले स्कुल टप गरे । सेन्ट जेभियर्स स्कुलका टपर उनी त्यसपछि थप उच्च शिक्षाका लागि सेन्ट जेभियर्स कलेज माइतीघर गए । ‘मैले त्यहाँ बायोलोजी लिएर पढे,’ उनले सुनाए, ‘बायोलोजी लिएर पढ्दा पाइलट, इन्जिनियरिङ र डाक्टरी सबैतिर जान पाइन्थ्यो ।’ सेन्ट जेभियर्स कलेज माइतीघरमा उनले १९९७ ब्याचको उत्कृष्ट विद्यार्थी एवार्ड पनि पाए ।
सन् १९९७ मा आईएस्सी सकेपछि बल्ल उनमा मेडिसिनप्रति रुचि जाग्न थाल्यो । आईएस्सी सकेपछि उनले एमबीबीएसका लागि शिक्षा मन्त्रालयको छात्रवृत्तिको परीक्षा दिए । छात्रवृत्तिमा पहिलो प्रयासमै नाम निस्कियो । त्यसपछि उनी एमबीबीएस पढ्नका लागि कलेज अफ मेडिकल साइसेन्ज भरतपुर गए ।
‘एमबीबीएस पढ्दा—पढ्दै मलाई सर्जरीप्रति एकदमै लगाव भयो,’ डा. रविन भन्छन्, ‘पछि गएर सर्जरी नै पढ्छु भन्ने निश्चिय गरे ।’ सर्जरीप्रति अनुराग बढ्नुको कारण के थियो त ? पढ्न रुचि लाग्ने, बुझ्न पनि सहज हुने, छिटो नतिजा देखिनु यसमा इन्ट्रेष्ट लाग्नुका कारण थिए । त्यही कारण एमबीबीएस थर्ड, फोर्थ इयरमा हुँदा उनलाई भित्रैबाट म सर्जरीकै लागि बनेको हुँ भन्ने लाग्न थाल्यो । सन् २००३ मा उनले एमबीबीएस सके । इन्टर्नसीपको क्रममा उनको सर्जरीप्रति रुचि झन प्रगाढ बन्यो । अरु विषयमा रोटेशन भइरहँदा पनि समय पाउने बितिकै उनी शल्यक्रिया कक्षमा छिरिहाल्थे र केहि नयाँ कुरा सिकिहाल्थे ।
उनका शिक्षकहरुले पनि डा. रविनलाई माया गरेर सर्जरी सिकाउँथे । ‘मेरो गुरुहरुले इन्टर्नसीपमा माया गरेर धेरै सर्जरीहरु गर्न मलाई सिकाउनुभयो,’ डा. रविन इन्टर्नसीप किस्सा खोल्छन्, ‘त्यसपछि झन इन्ट्रेष्ट बढ्यो ।’ वि.संं २०६१ सालमा उनले लोक सेवाको परीक्षा दिए र नाम निकाले । ‘मेडिकल कलेजमा काम गरौं कि सरकारी जागिर खाउ भनेर दोधारमा परेँ,’ डा. रविन भन्छन्, ‘काम कम हुन्छ, पढ्न धेरै पाइन्छ भन्ने लोभले म सरकारी जागिरमा छिरेको हुँ ।’ त्यही बेला उनलाई विदेश गएर पढ्न रहर लाग्न थाल्यो । सरकारी जागिरमा पर्याप्त समय पाइएपछि पढेर विदेश जाने योजनाका साथ आफू सरकारी जागिरे बनेको उनले भेद खोले ।

सरकारी जागिरका क्रममा उनको पहिलो पोष्टिङ हिमाली जिल्ला सोलुखुम्बुको सल्लेरी प्राथमिक स्वास्थ्य केन्द्रमा भयो । सल्लेरीमा उनी काम र पढाइ दुवैमा उतिकै खटिए । झण्डै दुई वर्ष सल्लेरी बसाइँको क्रममा धेरै समय उनी जिल्लाभरीका एक्ला डाक्टर थिए, त्यही कारण उनले धेरै काम गर्न पाए । उसो त त्यतिबेला अहिलेजस्तो बाटोघाटोको सुविधा थिएन र सड्क नभएकाले यातायात साधन भनेकै हवाईजहाजमात्रै थियो । बिरामीहरु इमर्जेन्सी पर्दा कि त्यही उपचार गर्नुपथ्र्यो कि त हवाईजहाज कुर्नुपर्थ्यो । काठमाडौंसम्म हिडेर आउन चार—पाँच दिन लाग्थ्यो । टेलिफोनको लागि समेत दुरसंचारको कार्यालयमा नाम टिपाउन पर्थ्यो । एउटै जिल्ला भएपनि काम विशेषले सोलुखुम्बुकै लुक्ला जान परेपनि फाप्लुबाट काठमाडौं हवाईजहाजमा आएर फेरि काठमाडौंबाट हवाईजहाजमा लुक्ला जान पर्थ्यो ।
डा. रविनलाई त्यहाँ बस्दा जे गर्नुपर्ने हो मैले नै गर्नुपर्छ भन्ने लाग्थ्यो । सर्जरी सिकेकाले त्यो एडभान्टेज उनलाई थियो । सल्लेरीबाट कहिलेकाहीँ डा. रविन फाप्लु जिल्ला अस्पताल गएर पनि बिरामी सेवा दिन्थे । फाप्लु अस्पतालको एउटा सर्जरी उनी सदैव सम्झिरहन्छन् । करिब १४ वर्षीय बालक पेट दुःखेर अस्पताल पुगेका रहेछन् । डा. रबिनलाई फाप्लु अस्पताल बोलाइयो । अस्पताल पुगेपछि डा. रविनले परीक्षण गरे । ती बालकलाई एपेन्डिसाइटिस भएको थियो । ती बालक यति पीडामा थिए, उनलाई तत्कालै शल्यक्रिया आवश्यक थियो । तर, फाप्लुमा शल्यक्रिया गर्ने चिकित्सक थिएनन् । काठमाडौं पठाउनुपर्ने भयो । काठमाडौं पठाउनका लागि हवाईजहाज कुर्नुपथ्र्यो । बाटोबाट उनलाई पठाउन सम्भव थिएन । तत्काललाई औषधि दिएर उनले काठमाडौं रेफर गर्ने कागज बनाए । तर, मौसम खराबीका कारण तीन दिनसम्म हवाईजहाज उडेन । डा. रविन शल्यक्रिया गर्न त सक्थे । तर, उनीसँग सर्जरी गर्ने डिग्री थिएन । सर्जरी सफल नभएमा दोष सबै उनीमाथि आउथ्यो । अर्कोतर्फ, तत्कालै शल्यक्रिया गर्नुपर्ने बालक तीन दिनदेखि छटपटाइरहेका थिए तर काठमाडौं पठाउन सकिएको थिएन ।
अब के गर्ने ? छलफलपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामीका परिवार र स्थानीयको सहमतिमा शल्यक्रिया गर्ने टुंगो लाग्यो । एनेस्थेसिया दिने चिकित्सक र स्वास्थ्यकर्मी पनि थिएनन् । डा. रविनले आफै एनेस्थेसिया दिए । सर्जरी गरेर एपेन्डिक्स फाले । उनको सर्जरी सफल भयो । निको भएपछि बालकले उनलाई अबोध आँखाले नमन गरे । यो घटनाबाट डा. रविन सर्जन बन्नका लागि अझै धेरै प्रेरित भए । सोलुखुम्बुमा बसेर उनले सामान्य खालका सर्जरी गरे, जसले उनलाई थप आत्मविश्वासी बनायो नै, स्थानीयसँग घुलमिल पनि बनायो । सँगसँगै उनले विदेश पढ्न जाने तयारी पनि जारी राखेका थिए । सोलुखुम्बुपछि करिब एक वर्ष ललितपुरको विकट भेगमा रहेर पनि स्वास्थ्य सेवा सर्वसाधारणलाई दिए ।
सन् २००६ मा जापानी राजदूतावासले छात्रवृत्ति खोल्यो । डा. रविनले परीक्षा दिए । पहिलो नम्बरमै नाम निस्कियो । जापान सरकारले छात्रवृत्ति दिने विषयहरुमा सर्जरी रहेनछ । डा. रविनमा त्यो बेलासम्म सर्जरीको अनौठो भोक जागिसकेको थियो । त्यही सर्जन बन्ने भोकले जापान सरकारको प्रतिष्ठित छात्रवृत्तिलाई पनि आँखा चिम्लिदिए । ‘जापानी दूतावासमा गएर मैले छात्रवृत्ति छोडेको जानकारी दिँदा उहाँहरुले मलाई मुर्ख नै भन्नुभएको थियो,’ उनले १९ वर्षअघिको त्यो घटना सम्झिए, ‘मानिसहरु जापान जान मरिहत्ते गर्छन्, तिमी एक नम्बरमा नाम निकालेर पनि नजाने भन्नुभयो ।’

डा. रविनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्ट्रान्स दिए । त्यहाँ टपटेनभित्र नाम निस्कियो । तर, उनले सर्जरी नपाएका कारण त्यो छात्रवृत्तिलाई पनि छाडिदिए । त्यसपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को इन्ट्रान्स दिए । त्यहाँ पनि टपटेनमै नाम निस्कियो । तर, नतिजा उही उनले चाहेको विषय पाएनन्, त्यो अवसरलाई पनि त्यागी दिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा इन्ट्रान्स दिए । सन् २००७ को न्याम्सको इन्ट्रान्समा एक नम्बरमै नाम निकाल्न सफल भए। बल्ल उनले खोजेकै विषय सर्जरी छान्न पाए ।
सन् २००७ बाट डा. रविनले न्याम्समा सर्जरी पढ्न थाले । पहिलेदेखि चाहिरहेको विषय पढ्न पाएपछि उनी खुसी भएर मेहनतका साथ सर्जरी पढे । तीन वर्षे पिजीको दोस्रो वर्षमा पुग्दा उनलाई सर्जरीमा पनि युरोलोजीमा इन्ट्रेष्ट लाग्न थाल्यो । सन् २०१० मा उनले न्याम्सबाट जनरल सर्जरीमा एमएस सके । पिजी सकिएपछि उनको पोष्टिङ पनि वीर अस्पतालमै भयो । उनले सन् २०१५ सम्म जनरल सर्जरीमै काम गरे । ‘तर, मलाई इन्ट्रेष्ट भने युरोलोजीमा थियो,’ उनले भने । यो अवधिमा उनी नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृत थिए । बढुवाका लागि पर्याप्त अवसरहरु आए । नवौं तहका पुगेपछि सर्जरीमै अडकिने देखिएपनि उनले त्यसका लागि आवेदन नै दिएनन् ।
सन् २०१५ मा उनले युरोलोजीमा न्याम्समै एमसीएच गर्ने अवसर पाए । ‘पहिले सर्जरीको भोक थियो, पछि युरोलोजीको झन धेरै भोक जाग्यो,’ यी सर्जन सुनिए, ‘सन् २०१८ मा एमसीएच युरोलोजी सके ।’ सन् २०२० मा लोक सेवा आयोगले एघारौं तहको आवेदन खोल्यो । आठौं तहमा लामो समयदेखि काम गरिरहेका डा. रविनले लोक सेवाले ११ औं तहका लागि खोलेको एक सिटका लागि आवेदन दिए । नभन्दै प्रमुख कन्सल्ट्यान्ट युरो सर्जनमा नाम निकाल्न सफल भए ।
पछिल्ला ७ वर्षदेखि डा. रविन मुलुककै सबैभन्दा ठूलो अस्पताल वीरको युरोलोजी विभागमा रहेर सेवा दिइरहेका छन् भने चार वर्षयता विभागीय प्रमुख छन् । डा. रविनले विकट सोलुको स्वास्थ्य केन्द्रबाट जागिर सुरु गरेर अहिले मुलुकको केन्द्रीय अस्पतालको सुपरस्पेशलाइज्ड विभागीय प्रमुखसम्मको जिम्मेवारी सम्हालिरहेका छन् । यो यात्रामा उनले ग्रामीण अस्पतालदेखि मुलुककै ठूलो अस्पतालसम्मको उपचार अनुभव संगालेका छन् । भन्छन्, ‘सोलुखुम्बुमा त्यो बेला बाटोघाटो थिएन, अस्पतालहरु साना थिए । डाक्टर थिएनन् । मानिसहरुको अन्तिम आश नै जिल्ला अस्पताल नै हुन्थ्यो । भौगोलिक विकटता र आर्थिक अभावजस्ता कारणले त्यहाँका डाक्टर अन्तिम आशा हुन्थे ।’
ललितपुरमा काम गर्दा भने उनले पृथक दृश्य देखे । स्वास्थ्य शिविरका क्रममा उनले कर्णालीको अनुभव पनि संगालेका छन् । भन्छन्, ‘तर कसैले नेपालको सबैभन्दा विकट ठाउँ कहाँ हो भनेर सोध्यो भने म कर्णाली भन्दिनँ, दक्षिण ललितपुर भन्छु ।’ किन ? प्रष्ट पार्दै उनले कारण खोले, ‘लेले र भट्टेडाँडामाथि पुगेपछि नेपालको सबैभन्दा विकट ठाउँ देख्न सकिन्छ । नेपालको सबैभन्दा विकट जिल्ला ललितपुर नै हो । बाटोघाटो, पानी, विजुली, स्वास्थ्य, सञ्चार त्यहाँ केही पनि छैन ।’
सर्जनले देखेको तेस्रो दृश्य—सेन्ट्रल वीर अस्पताल । ‘वीर अस्पतालमा हेल्थकेयरको सबैजसो सुविधा छ । तर, भिडभाड छ, भ्याइ नभ्याइ छ,’ उनी भन्छन्, ‘किनभने, देश संघीयतामा गएपनि हाम्रो मेन्टालिटी गएको छैन, अहिले पनि केन्द्रीकृत नै छ ।’ डा. बस्नेतका अनुसार सबैजसो प्रादेशिक अस्पतालमा नै वीर अस्पतालमा पाइने सेवासुविधा उपलब्ध छ । तर, मान्छेहरु त्यहाँ नगएर वीर अस्पताल आउने गरेको उनले बताए । ‘यसले वीर अस्पतालमा भिडभाड हुने तर प्रादेशिक अस्पतालमा काम कम हुने अवस्था छ,’ उनले थपे, ‘आफ्नो गाउँ ठाउँको विश्वास अझ पनि जागेको छैन । आफ्नै नजिकको अस्पतालमा पाइने सुविधा लिन काठमाडौं आउँदा महिनौ कुर्न पनि पर्ने, खर्च पनि बढ्ने।’
डा. रविनका अनुसार वीरमा मेडिसिनपछि युरोलोजीमा सबैभन्दा भिडभाड हुन्छ । युरोलोजीको एक ओपीडीमा दैनिक ४०० जनासम्म बिरामीले सेवा लिन्छन् । ४—५ वर्षयता वीरको सबैभन्दा बढी शल्यक्रिया गर्ने विभाग नै युरोलोजी हो । यति हुँदाहुँदै पनि युरोलोजीमा आउने सबै बिरामीलाई सेवा दिन नसकिएको थकथकी डा. रविनमा देखिन्छ । ‘सबै बिरामीलाई समयमै सेवा दिन नसक्दा युरो सर्जरीको ८—९ महिनाको वेटिङ लिष्ट छ,’ उनी भन्छन् ।
यति लामो वेटिङ लिष्ट बन्नुका पछाडि नजिकको अस्पतालमा नगएर केन्द्रीय अस्पतालमै आउने प्रवृत्ति, जनशक्ति अभाव, उपकरण र औजारहरु समयमा अपडेट र रिप्लेस नहुनुजस्ता प्रमुख कारण छन् । ‘६ जना कन्सल्टयान्टको टिमले ४०० जनालाई ओपीडी सेवा दिनुपर्छ । शल्यक्रिया गर्नुपर्छ । यही टिमले मिर्गौला प्रत्यारोपण पनि गर्नुपर्छ । हाम्रो विभागमा जनशक्ति एकदमै कम छ,’ डा. रविन कारण खोल्छन्, ‘हामी अहिले ८ वर्षअघिका औजारहरु प्रयोग गरिरहेका छौं । औजारहरु विकसित भइरहेका हुन्छन्, संसारमा नयाँ टेक्नोलोजी आइरहेको हुन्छ । त्यो अपडेट भएको छैन । बिग्रेर, खिइएर जाने कुराहरु पनि समयमा रिप्लेस नहुने समस्या छ ।’

वीरको युरोलोजीमा हप्ताको तीन दिन ओपीडी र चार दिन शल्यक्रिया हुन्छ । शल्यक्रिया गर्ने चार दिनमध्येमा तीन दिन जनरल युरोसर्जरी हुन्छ भने एक दिन मिर्गौला प्रत्यारोपण गरिन्छ । एक लिष्टमा २०—२५ वटा शल्यक्रिया हुने गर्छन् । ‘जनरल युरोलोजीमा हप्तामा ६०—७० वटा शल्यक्रिया गर्छौ,’ डा. रविनले भने, ‘त्यो बाहेक हरेक हप्तामा एक दिन मिर्गौला प्रत्यारोपण गर्छौ ।’
नेपालको प्रमुख केन्द्रीय अस्पतालमा रहेर सर्जन र चिकित्सकका रुपमा बिरामी सेवामा रहँदा डा. रविनलाई कस्तो अनुभव हुन्छ । ‘गरिबदेखि सम्पन्न, सामान्यदेखि भीआईपी र भीभीआईपीसम्मका बिरामी उपचार गर्न आउनुहुन्छ,’ उनले अनुभव साटे, ‘पूर्व राष्ट्रपतिदेखि मन्त्री र सचिवसम्मका बिरामी पनि छन् ।’ उनको विचारमा सबैजसो बिरामीलाई नेपालकै सस्तो र सबै सेवा दिने वीर अस्पताल गरिबहरुका लागि आशाको केन्द्र हो । प्रतिष्ठित र सम्पन्न मान्छेहरु वीर आउनुको कारणको यहाँका चिकित्सक र अस्पतालप्रतिको विश्वास भएको उनले बताए । ‘आशा र विश्वास दुवैको केन्द्रविन्दु वीर अस्पताल हो,’ उनले निचोड सुनाए ।
कहिलेकाहीँ वीरमा बिरामीले पैसा नभएर उपचार नपाएको भनेर समाचार आउने गर्छन् । तर, डा. बस्नेतको अनुभव फरक छ । उनले खल्तीमा १० रुपैयाँ पनि नभएर निजीमा लाखौं रुपैयाँ खर्च हुने शल्यक्रिया, आईसीयु, जनरल बेड, औषधिसमेत निःशुल्क लिएर बिरामी डिस्चार्ज गरेका अनगिन्ती घटनाहरु वीरमा देखेका छन् । यतिसम्म कि भने कति बिरामीहरुका लागि त चिकित्सकहरु आफैले खर्च उठाएर उपचार गर्दिन्छन् भने कतिको बाटो खर्च समेत चिकित्सकहरुको टिमले हालिदिएको र जुटाइदिएका हुन्छन् । वीर अस्पतालमा शैय्याहरु निःशुल्क छन् भने बिरामीलाई चार छाक निःशुल्क खाना दिइन्छ, जसमध्ये एक छाक त मासुभात दिइन्छ । ‘मासुभात खुवाएर उत्कृष्ठ उपचार गरेर जाने बेलामा पैसा नहुने मान्छेलाई बाटो खर्च पनि दिएर पठाउने अस्पताल हो—वीर,’ डा. रविनले भने ।
१९ वर्षदेखि वीर अस्पतालमै बिरामी सेवामा रमाइरहेका यी मनकारी सर्जनलाई के कुराले खुसी बनाउँछ ? ‘वीर अस्पतालमा टिकेर १८—१९ वर्ष काम गर्नु नै सबैभन्दा ठूलो धर्म र सेवा हो । यहाँ काम गरेपछि कुनै मन्दिर नै जानुपर्दैनजस्तो लाग्छ,’ यी सर्जन खुसीका कारण खोल्छन्, ‘बिरामीहरुको सेवा गर्न सकिएको छ, त्यसैमा सबैभन्दा खुसी छु ।’ यसो त नेपाल सरकारबाट वि. सं. २०७९ मा सुप्रबल जनसेवाश्रीबाट विभूषित हुँदा उनले फेसबुकमा स्टाटसनै लेखेका थिएँ, ‘आफ्नै सम्झेर सोलुको नुरु लामाले ल्याइदिने वारीको सागदेखि किबी, स्याउ र च्याउ होस् कि ईश्वर दाइको चियापत्ती र इन्द्र दाइको आलु र छुर्पी, प्युठानको डम्बर दाइको घारको मह, म्याग्दीको दिदीको दालदेखि डोल्पाको बाजेले खुसुक्क ल्याइदिएको ३ दाना यार्सागुम्बा, पाटनको अवाले दाइले आफ्नै हातले बनाएको ढलोटको मूर्ति, बाजुराको हर्कको घ्यु र यस्ता-यस्ता निकै धेरै चिनो र बिरामी र आफन्तले हृदयदेखि दिने आशिर्वादलाई सधैँ मैले तक्मा नै सोचें । बाटोको सानो पसलमा चिया र भुटेको मकै खाएपछि साउनीले ओहो डाक्टर साबसँग पैसो लिए पाप लाग्छ भनेर देखाएको सद्भावलाई मार्ग निर्देशक नै मानें । वर्षौदेखि छट्पटाएको बिरामी तंग्रेर फ्लोअपमा आउँदा आफ्नै चित्र कोरेर ल्याउँदा वा चमेली दिदीको सानो छोराले बनाएर ल्याएको कार्डलाई अनुहार हेर्ने ऐना नै सोचें … राष्ट्रले दिएको यो सम्मान आफ्नो कर्म गर्दागर्दैको एक आर्को फल र निष्ठाको मार्गचित्र मानेको छु ।’ भन्न मन लाग्यो—वा क्या बात ।
परिवारका साथ डा. रविन
खल्तीमा एक पैसा पनि नभएर आएका बिरामीलाई कहिलेकाहीँ चाहदा—चाहदैं पनि मद्दत गर्न नसक्दा, कतिपय बिरामी आफ्नो गाउँ ठाउँमा समयमै नदेखाएर केही गर्न नसकिने अन्तिम अवस्थामा आउँदा, कहिलेकाही राजनीतिक र प्रशासनिक दबाबका कारण गरिबको सिट सक्नेले खाइदिँदा डा. रविन दुःखी हुन्छन् । ‘जो साँच्चिकै गरिब र असहाय छ उ यहाँ आएर रुन्छ,’ उनले अनुभव साटे, ‘जो सक्ने छ उसले प्रेसर लगाएर आएर यहाँ धम्काउँछ ।’ चिकित्सकहरुको पनि बाध्यता छ—कहिलेकाही त्यस्ता दबाबलाई मान्नैपर्ने बाध्यता बनिदिन्छ । ‘यसले नसक्ने मान्छेको ठाउँ खाइदियो भन्ने कुराले निकै दुःखी बनाउँछ,’ उनले भने ।
नेपाल सरकारको ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट युरो सर्जन डा. रविन न्याम्सका प्राध्यापक पनि हुन् । भविष्यमा उनी युरोलोजी र रोगहरु सम्बन्धि विषयगत जनचेतना फैलाउने, प्रिभेन्टीभ कामहरुमा ध्यान दिने, नजिकको अस्पताल र चिकित्सकलाई विश्वास गर्ने वातावरण सिर्जना गर्न काम गर्ने योजनामा छन् । एमबीबीएस, एमएस र एमसीएच छात्रवृत्तिमै पढेका उनी २० वर्ष लामो आफ्नो सरकारी यात्रालाई कायम राख्दैं एमसीएचका रेजिडेन्टहरुलाई अनुभव र ज्ञान बाँडेर दक्ष बनाउन चाहन्छन् । रोबटिक सर्जरीसहित नयाँ टेक्नोलोजी वीर अस्पतालमा भित्र्याउने चाहना पनि उनको छ ।