१० हजार बढी शल्यक्रिया । एक हजार बढी स्वदेशी तथा विदेशी विद्यार्थीलाई ज्ञान र सीप हस्तान्तरण । अनुसन्धान, एटीएलएस, दूरबीन प्रविधिले सानो पॉल पारेर टाऊको र स्पाइनको सर्जरी, रोबटिक सर्जरीलगायतका नवीनत चिकित्सा पद्धतिहरुको प्रयोग । वरिष्ठ न्यूरो सर्जन प्रा. डा. अमित थापाको २२ वर्षे प्रायाक्टिसका झलकहरु हुन् । अझ उनले उपचार गरेका बिरामीको संख्या त हजारौं छ ।
नवीन इन्भेन्सन र अनुसन्धान रुचि राख्ने प्रा.डा. थापा अहिले पनि बिरामीलाई वेष्ट सर्विस दिन तल्लीन रहन्छन् । विद्यार्थीहरुलाई आफूले आर्जन गरेको ज्ञान र सीप बाँड्न रमाउँछन् । अध्ययन, अनुसन्धानप्रतिको उनमा उल्कै मोह छ । लाजिम्पाटस्थित अनमीव अस्पताल बिरामीलाई सेवा दिइरहेका उनी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अध्यापनसँगै बिरामी हेर्ने गर्छन् ।
१५ वर्षदेखि नेपाली न्यूरो सर्जरीका क्षेत्रमा अनवरत सेवा दिइहेका डा. थापाको जन्म रुपन्देहीको भैरहवामा वि.सं २०३५ सालमा भएको हो । बुवा गजेन्द्रसिंह थापा र आमा राधा थापाका दुई सन्तानमध्ये उनी जेठा हुन् । उनका बुवा भारतीय सरकारका जागिरे थिए । त्यही कारण उनका भाइ सुमित र उनको पढाइ भारतको फैजाबादमा भएको हो ।
नेपालमा भइरहेको राजनीतिक उथलपुथलका कारण पनि उनका बुवाले दुवै सन्तानलाई शिक्षादीक्षाका लागि भारत लगेका थिए । भारतको सानो सहर फैजावादको जिंगलबेल एकेडेमीबाट डा. थापाको शिक्षादीक्षा अगाडि बढेको हो । उनका बुवाको विभिन्न ठाउँमा पोष्टिङ हुन्थ्यो । तर, उनले छोराहरुको पढाइ बिग्रन्छ भनेर एकै ठाउँमा पढाइलाई निरन्तरता दिने वातावरण मिलाएका थिए । डा. थापा र उनका भाइमात्रै त्यो स्कुलका नेपाली विद्यार्थी थिए ।
‘हिन्दी त म एकदमैं राम्रो बोल्थे,’ डा. थापाले भारतीय स्कुले जीवन सम्झिए, ‘त्यो स्कुलमा हाम्रो ब्याचसँगै कक्षाहरु पनि बढ्दै गएका थिए । त्यही कारण हामी सबैभन्दा सिनियर विद्यार्थी भयौं ।’ उनी स्कुलमा क्याप्टेन थिए, त्यसले उनलाई राम्रो एक्स्पोजर पनि दियो । स्कुलले अरुभन्दा भिन्न शैलीबाट शिक्षा दिन्थ्यो । सन् १९९३ तिरैबाट काउन्सिलरलाई ल्याएर कक्षा लिन लगाइन्थ्यो ।
म्याथम्याटिक्स ओलम्पियाडमा भाग लिएका उनको मनपर्ने विषय पनि गणित थियो । गणित स्ट्रक्चरल भएका कारण उनी आफूलाई मन परेको उनी बताउँछन् । डा. थापा पढाइबाहेक खेलकूद, अन्तक्रियालगायतका अतिरिक्त क्रियाकलाप रुचाउँथे । त्यही कारण उनी आफ्नो बहुआयामिक व्यक्तित्व विकास भएको बताउँछन् ।
करिअर काउन्सिलिङका क्रममा उनलाई म्यानेजिरियल, साइन्स-अनुसन्धान र विजनेश तीन वटा फिल्डमा लाग्न सुझाइएको थियो । घरपरिवारका सदस्यहरु बिरामी परेको देखेका उनलाई भने यी ती फिल्डभन्दा पर डाक्टरी पढ्न मन थियो । ‘बुवाआमाको चाहना पनि घरमा डाक्टर भइदिएहुन्थ्यो भन्ने थियो,’ उनी सम्झन्छन्, ‘किनभने, हाम्रो पूरै परिवारमा कोही पनि डाक्टर थिएन ।’ त्यही कारण उनलाई परिवारबाट पनि डाक्टरी पढ्न प्रेरणा प्राप्त भइरहेको थियो ।
प्लस टु सकेपछि सन् १९९७ मा उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि इन्ट्रान्स दिए । एमबीबीएसका लागि छात्रवृत्ति पाए । त्यहीबेला एम्सको छात्रवृत्तिमा पनि उनले नाम निकालेका थिए । ‘एम्सका पढाइ सुरु भएको एक महिना भइसकेको थियो,’ उनले सुनाए, ‘र, विपीमा त्यो बेला ५० भन्दा बढी भारतीय प्राध्यापकहरु हुनुहुन्थ्यो ।’ उनका सिनियरहरुले पनि एम्सभन्दा विपीमै पढ्न सल्लाह दिए ।
डा. थापाकाअनुसार त्यो बेला विपीमा ‘प्रब्लम बेस लर्निङ (पिबीएल)’ एक्स्पीरिमेन्ट भइरहेको थियो, जुन अहिले संसारभर मान्यता प्राप्त सिकाइ पद्धति मानिन्छ । ‘एम्सपछि यो सिकाइ पद्धति लागु गर्ने विपी दक्षिण एशियाकै दोस्रो शैक्षिक संस्था थियो,’ उनले भने, ‘त्यसमा एमबीबीएस पहिलो वर्षदेखि नै क्लिनिकल कण्डिसन दिएर बिरामीको रोगबारे पढ्नका लागि प्रेरित गरिन्थ्यो ।’ यसले डा. थापाका ब्याचीहरुको पहिलो वर्षदेखि नै बिरामीहरुसँग अन्तक्रिया सुरु भयो ।
उनी एमबीबीएस दोस्रो वर्षमा पढ्दैं थिए । उनका मिल्ने कजनको एक्सिडेन्टमा परेर हेड इन्जुरी भएको रहेछ, अस्पतालले केही छैन भनेर पठाइदियो । तर, मान्छे घरमा पुगेर सुतेपछि उठ्दै उठेन् । पछि पोष्टमार्टमबाट टाउकोमा रक्तस्राव भएको पत्ता लाग्यो । ‘त्यतिबेला मलाई एउटा झट्का लाग्यो,’ डा. थापाले सर्जरीप्रति रुचि जाग्नुको कारण सुनाउँदैं भने, ‘त्यही बेला मैले न्यूरो सर्जरी पढ्ने निश्चय गरे ।’ न्यूरो पढ्नका लागि सर्जरीमा एमएस गर्नुपथ्र्यो ।
सन् २००२ मा उनले एमबीबीएसको पढाइ सकेर इन्टर्नसीप सुरु गरे । सन् २००३ मा इन्टर्नसीप नसकिदैं उनका प्राध्यापकहरुले सेन्ट्रल इन्स्टिच्युटमा एमएस गर्न सुझाए । ‘एमएस गरेपछि न्यूरोमा एमसीएच गर्न पाइहाल्छौं भनेर प्रोफेसरले गाइड गर्नुभयो,’ उनले भने । डा. थापाले पिजीआई चण्ढीगढमा माष्टर इन सर्जरी (एमएस) गर्नका लागि इन्ट्रान्स दिए । सन् २००३ मा उनी एमएस गर्न पिजीआई चण्ढीगढ गए । एमएस दोस्रो वर्षमा पढ्दा ट्रान्सप्लान्ट पोष्टिङ भएर पढ्न पाए, उनले त्यसलाई नेपालमा लिएर आउने सोच बनाए । तर, सर्जरीभन्दा बढी औषधिको खर्च देखे । किनभने जीवनभर ‘इम्युनो सप्रेसन’ खानुपथ्र्यो । नेपालमा गाह्रो देखेर उनले त्यो ड्रप गरिदिए । त्यसपछि उनी न्यूरो सर्जरीमा पोष्टिङ भएर काम गर्न पाए ।
सन् २००६ मा उनी पिजी सकेर नेपाल फर्किए । ‘पिजी सकेपछि पनि केही समय एक्सपिरियन्स लिनुपर्छ भनेर विपी गए,’ डा. थापा भन्छन्, ‘लेक्चररका रुपमा विपीमा तीन महिना काम गरे ।’ त्यही काम गर्दागर्दै उनले एम्समा न्यूरो सर्जरीमा एमसीएच गर्ने अवसर पाए । सन् २००६ देखि सन् २००९ सम्म डा. थापाले एम्समा न्यूरो सर्जरीमा एमसीएच पढे । एम्समा चिफ सिनियर रेजिडेन्ट (एसआर)का रुपमा काम गरिरहेकै बेला डा. थापाका प्रोफेसरलाई डा. उपेन्द्र देवकोटाले म्यासेज पठाए ।
‘एम्सका प्रोफेसरहरुसँग डा. देवकोटाको राम्रो सम्बन्ध थियो,’ उनी थप्छन् । विभागीय प्रमुखले डा. थापालाई बोलाएर भने, ‘अमित तिम्रो लागि नेपालबाट एउटा जब अफर आएको छ, आर यु इन्ट्रेष्टेड ?’ उनका लागि भारतकै विभिन्न अस्पतालहरुले जब अफर गरिरहेका थिए । तर, डा. थापाको इच्छा नेपाल नै फर्केर काम गर्ने थियो । त्यही कारण उनले उत्तर फर्काए, ‘हुन्छ । म जान्छु ।’ पारिवारिक, विवाहलगायतका कारण उनको वर्किङ समयसीमा एक महिना लम्बिएका कारण सन् २०१० को सुरुमै उनी नेपाल फर्किए ।
डा. देवकोटाले नेपाल बोलाएको भएपनि उनको इच्छा अझ सरकारी अस्पतालमै काम गर्ने थियो । त्यही कारण उनी वीर अस्पताल गए । डा. पवन सुल्तानिया वीर अस्पतालमा थिए । उनले अहिलेसम्म दरबन्दी नै नखुलेको जवाफ दिए । ‘अनररी काम गर्न उहाँले आग्रह गर्नुभयो । तर, मैले १० रुपैयाँ भएपनि काम गर्थे, अनररी काम गर्न मनले मानेन भनेर जवाफ फर्काए,’ डा. थापा सुनाउँछन्, ‘निःशुल्क काम गर्नु त सिकारुजस्तो अनुभूति हुन्थ्यो ।’
त्यसपछि उनी त्रिवि शिक्षण अस्पताल गए । त्यहाँ डा. सुशील शिल्पकार थिए । न्यूरो सर्जरीको शैय्या पर्याप्त नभएकाले शैय्या बढेपछि खबर गर्ने सुनाए । डा. अमित त्यसपछि डा. देवकोटालाई भेटन बाँसवारीस्थित नेसनल इन्स्टिच्युट अफ न्यरोलोजिकल तथा एलाइड साइन्स (न्यूरो अस्पताल) गए । विहानै पुगेका उनी डा. देवकोटालाई भेटेपछि उनले त्यही दिनबाटैं जागिर सुरु गर्न लगाइहाले । ‘विहान भेट्न बोलाउनु भएको म त काम गरेर नियुक्तिसमेत लिएर साँझ फर्किएँ,’ उनले भने ।
त्यो बेला न्यूरो अस्पतालले काठमाडौं विश्वविद्यालयको न्यूरोको एमसीएच कार्यक्रम पनि सुरु गर्नुपर्ने थियो । डा. देवकोटाले भने, ‘अमित, मलाई एउटा योङ ब्लड चाहिएको छ, जो काम र पढाइ दुवै गर्ने होस् ।’ डा. अमित अस्पतालकै कम्पाउण्डमा डाक्टरहरु बस्नका लागि बनेको बंगलामा बसेर त्यही काम गर्न थाले । डा. देवकोटासँग काम गर्दा डा. अमित अनुसन्धानमा पनि सक्रिय रहे । उनले एउटा रिसर्च गरेका थिए—जसमा हेड इन्जुरीका बिरामी ३६—४८ घण्टापछि टर्सरी अस्पतालमा पुग्ने, उनीहरुले चोट लाग्ने बितिकै पाउनुपर्ने प्राइमरी केयर शुन्यको अवस्था पाइयो । ‘बिरामी भगवान भरोसाका अवस्था थियो,’ उनले भने, ‘बिरामीको धेरै ड्यामेज त बाटोमै भइहाल्थ्यो ।’
डा. थापा एडभान्स ट्रमा लाइफ सपोर्ट (एटीएलएस) (जसले ट्रमा बिरामीको प्राइमरी केयर कसरी गर्ने भन्ने सिकाउँछ)का इंटरनेशनल फ्याकल्टी पनि हुन् । त्यही कारण उनले यो भयावह अवस्था अवस्थाको तोड के त ? भन्ने विषयमा चिन्तन गर्न थाले । त्यही क्रममा उनले मेडिकल कलेजका विद्यार्थीहरुलाई एमबीबीएसदेखि पढाउन थालियो भने यसमा राम्रो रिजल्ट आउने देखे । त्यहीबेला काठमाडौं मेडिकल कलेज (केएमसी)लाई न्यूरो सर्जरी विभाग स्थापना गर्नु परेको थियो । डा. थापा मेडिकल कलेजमा पढाउन चाहिरहेका थिए । यहीनेर डा. थापा र केएमसीको इन्ट्रेष्ट म्याच भयो ।
उनी सन् २०१२ मा काठमाडौं मेडिकल कलेज गए । असिस्टेन्ट प्रोफेसरका रुपमा केएमसी गएका उनले जनरल सर्जरीका विभागीय प्रमुख डा. सुनिल शर्मा मातहत रहेर न्यूरो युनिट सुरु गरे । ‘उहाँ एकदमै सहयोगी हुनुहुन्थ्यो,’ उनले सम्झिए । युनिटमा एक जना थपिए । दैनिक ३० जना बढी न्यूरोका बिरामी हुन थाले । सन् २०१४ मा डा. थापालाई काठमाडौं युनिभर्सिटीले उप-प्राध्यापकमा बदुवा गरेसँगै केएमसीमा न्यूरो सर्जरी विभागलाई मान्यता दियो । सन् २०१९ मा उनी प्राध्यापक पनि भए ।
एक दशक केमएसीको न्यूरो सर्जरी विभाग हाँकेपछि पछिल्लो एक वर्षदेखि उनी प्राध्यापकमा रुपमा सक्रिय छन् । आफ्नै विद्यार्थी डा. विदुर केसीलाई उनले विभागीय प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका छन् । केएमसीमा इन्टर्नहरुका लागि डा. थापाले दुई हप्ताको ‘स्ट्रक्चरल कोर्स’ नै बनाइदिएका छन् । ‘जसमा बिरामी हेर्नेदेखि प्रिजेन्टेसन गर्नेसम्मका कामहरु गर्नुपर्छ,’ उनले भने, ‘अनुसन्धान पेपर लेख्छ भने त्यो पनि लेख्न पाइन्छ ।’ कतिपय विद्यार्थीलाई अनुसन्धान पेपर लेख्न पनि उनले लगाइरहेका हुन्छन् ।
डा. थापाको अर्को महत्वपूर्ण योगदान इमर्जेन्सीमा अल्ट्रासाउण्डको प्रयोग हो । ‘अल्ट्रासाउण्ड प्रयोग गरेर इमर्जेन्सीमा कसरी डाइग्नोसिस क्वीक गर्ने र ट्रिटमेन्ट सुरु गर्ने त्यसलाई काठमाडौं मेडिकल कलेजमा अल्ट्रासाउण्ड लाइफ सपोर्ट ‘केयुएलटीएस’ प्रोग्राम भनेर राख्यौं,’ उनले बुझाए, ‘सन् २०१२ मा हामीले सुरु गर्ने बेलामा यो एकदमै नयाँ कन्सेप्ट थियो ।’ आजको दिनमा उनी नेपालका सबै अस्पतालका इमर्जेन्सीहरुमा अल्ट्रासाउण्डको प्रयोग भएकोमा सुखानुभूति गर्छन् । यसले इमर्जेन्सीका बिरामीहरु रेडियोलोजिष्टका लागि पर्खिनु नपर्ने अवस्था सिर्जना गरेको उनको अनुभव छ । अल्ट्रासाउण्डले रेडियोलोजीमाजस्तो डिटेल प्रश्नको उत्तर नदिएपनि छात्तीमा हावा वा रगत छ कि छैन ? पेटमा चोट लागेको छ कि छैन ? टाउकोको प्रेसर बढेको छ कि छैन ? जस्ता प्रश्नको उत्तर दिन्छ ।
संसारमा प्रविधी विकास निकै माथि पुगिसकेकाले नेपालमा अझै धेरै काम गर्न बाँकी रहेको उनी बताउँछन् । १५ वर्षअघि डा. थापा नेपाल फर्केर सेवा सुरु गर्दा र अहिलेको अवस्थामा थुप्रै एडभान्समेन्ट आइसकेका छन् । उनकै अगुवाईमा काठमाडौं मेडिकल कलेजमा रोबटिक सर्जरी सुरु भयो भने ९ वर्षदेखि उनी दूरबिनबाट ढाडभित्रको शल्यक्रिया गरिरहेका छन् । ‘यो सर्जरी साउथ इष्ट एसियामा धेरै ठाउँ छैन्,’ उनले भने । यो अवधिमा उनले इपीलेप्सी (छारे रोग)को सर्जरीदेखि बिग्रिएको नसा रिपेयर गर्न गरिने सर्जरीसम्मका १ सयभन्दा गोष्ठीहरु संचालन गरिसकेका छन् भने स्वदेशी तथा विदेशी गरी एक हजार बढी विद्यार्थीलाई आफूले सिकेको ज्ञान, सीप हस्तान्तरण गरिसकेका छन् ।
यो १५ वर्षको अवधिमा उनले हजारौ सर्जरी गरिसकेका छन् । जसमा भर्खरै जन्मिएको बच्चादेखि १०८ वर्षीया जापानी महिलाको शल्यक्रिया पर्छन् । उनी नेपालमा फ्लुरोसेन्स गाइडेड माइक्रोस्कोपीक सर्जरी, पेरिफेरियल एण्ड ब्राचीएल प्लेक्स रिपेयर एण्ड इण्डोस्कोपीक स्कलबेस र स्पाइन सर्जरीमा संलग्न छन् । ‘आजसम्म मेरो अप्रेशन टेबलमा कुनै पनि बिरामीको ज्यान गएको छैन्,’ डा. थापा विश्वासी सुनिए, ‘नट एभन अ वान । तर, अप्रेशनमात्रै सबै कुरा होइन्, अप्रेशनपछि बिरामीको शरीरमा धेरै कुरा चलिरहेका हुन्छन् ।’ कतिपय बिरामीहरुको राम्रो शल्यक्रिया गरेर, ट्युमर पूर्णतयाः निकालेर फालिसकेपछि पनि सातौं र आठौं दिनमा कहिले छाती त कहिले मुटुको समस्याले मृत्यु हुने कुराले उनलाई दुःखी बनाउँछ । ‘त्यही कारण हामी आईसीयु केयरमा विशेष ध्यान दिन खोजिरहेका छौं,’ उनी भन्छन्, ‘आईसीयु केयर, फिजियोथेरापी धेरै चाहिने कुरा हुन् । सर्जनले राम्रो शल्यक्रिया गरेपछि यी कुराहरु चाहिन्छन् ।’ डा. थापा आफ्नो फोन कहिल्यै अफ गर्दैनन्, चाहिएका बेला बिरामीका लागि उपलब्ध हुन्छन् ।
यी सर्जनलाई के कुराले खुसी दिन्छ ? ‘बिरामी जब आफ्नो खुट्टामा उभिएर काम गर्न थाल्छ र आफ्नो परिवार सम्हाल्छ,’ उनी कारण खोल्छन्, ‘आफ्नो सोसाइटीलाई केही दिन थाल्छ, त्यो कुराले मलाई निकै खुसी बनाउँछ ।’ उनका बिरामीहरु शिक्षकदेखि पाइलटसम्म मन्त्रीदेखि कलाकारसम्म छन् । ‘ती धेरैले सोसाइटीमा फर्केर योगदान गर्न पाएका छन्,’ उनी थप्छन्, ‘त्यो मलाई सबैभन्दा वेष्ट लाग्छ । किनभने, उनीहरुलाई बचाउन मात्रै सकेनौ, भ्यालुएबल म्याम्बर अफ पब्लिक पनि बनाउन सक्यौं ।’ उनको अर्को गर्वका कारण उनका विद्यार्थीहरु हुन्, जो सर्जनदेखि प्राध्यापक भइसकेका छन् ।
डा. थापा द वर्ल्ड फेडरेसन अफ न्युरोलोजिकल सोसाइटी पेरिफेरल सेक्सनको ईसी सदस्य छन् । राष्ट्रियस्तरमा उनी नेपाल जर्नल अफ न्यूरो साइन्स प्रधान सम्पादक भए । प्रधानसम्पादक रहँदा उनले जर्नल नेपाली अनुसन्धानकर्ताका लेखहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भूमिका खेले । नेपाल सोसाइटी अफ न्यूरो सर्जन (नेसोन)को स्पाइन चैप्टरको अध्यक्ष रहँदा उनले नेपालमा स्पाइन केयरको पब्लिक हेल्थ कार्यक्रमका लागि वर्ल्ड स्पाइन केयरसँग सहकार्य गरेका थिए । हाल उक्त कार्यक्रममा स्वास्थ्य सेवा विभागले विशेष चासो देखाएको छ । डा. थापाले नेसोनको उपाध्यक्ष र महासचिवका रुपमा काम गरे । अहिले डा. थापा नेपाल एपिलेप्सी सोसाइटीको उपाध्यक्षका रुपमा सक्रिय छन् । जसका माध्यमबाट उनी नेपालमा इपिलेप्सीको शल्यक्रिया र उनीहरुको हेरचाहका क्षेत्रमा सक्रिय भूमिका खेलिरहेका छन् ।