डा. मनिषा आचार्य इन्दिरा आईभीएफ सेन्टर नेपालकी प्रजनन विशेषज्ञ हुन् । ६ वर्ष स्त्री तथा प्रसूति रोग विशेषज्ञ र एक वर्षदेखि प्रजनन विशेषज्ञका रुपमा उनी बिरामी सेवामा तल्लीन छन् । यो अवधिमा उनले सयौं बिरामीहरुको उपचार गरिसकेकी छन् । जसमध्ये केही दर्जन त निःसन्तानको समस्याबाट पीडित बिरामी पनि छन् ।
डा. नेहा हुमागाईसँगै डा. मनिषाले अहिले मल्टीनेशनल चेन इन्दिराको नेपाल सेन्टरमा निःसन्तान बिरामीहरुको उपचार गरिरहेका छन् । डा. मनिषाकाअनुसार ८०—८५ प्रतिशत बिरामीहरुको उनीहरुले सफल उपचार गरिरहेका छन् । इन्दिरा आईभीएफ सेन्टर नेपाल क्वालिटी एक्रिडिटेसन इन्स्टिच्युट (क्युएआई) भएको उनले बताइन् ।
‘हामीले भित्र्याएको क्लोज वर्किङ च्याम्बर कुनै पनि आईभीएफ सेन्टरसँग छैन्,’ उनले भनिन्, ‘लेटेष्ट टेक्नोलोजीबाट स्वदेशमै उपचार हुन्छ ।’ यही कारण भारत जानुपर्ने बाध्यता अब हटेको उनको दावी छ । भारत जानुपर्ने बिरामीलाई नेपालमै उपचार दिन सक्दा आफूहरुलाई गौरवको महसुस भएको उनले बताइन् । डा. मनिषाकाअनुसार इन्दिरा आईभीएफ उपचारसँगै सचेतना फैलाउने कार्यमा पनि सक्रिय छ ।
‘अहिले पनि मान्छेलाई थाहा छैन्, निःसन्तानको समस्या भएपछि धामीझाक्री कहाँ जानुहुन्छ,’ उनले थपिन्, ‘डाक्टरको पालो त अन्तिममा आउँछ ।’ प्रजनन विशेषज्ञ कहाँ जानुपर्ने समय, कुन समयमा जाँदा राम्रो हुन्छ, आईभीएफ के हो, कुन समयमा गर्नुपर्छ लगायतका यावत ज्ञानको नेपाली दम्पत्तिहरुमा अझै अभाव रहेको अनुभव उनले गरेकी छन् । त्यही कारण इन्दिराले देशका १५ वटा ठाउँमा सचेतना कक्षाहरु संचालन गरिसकेको छ ।
प्रजनन विशेषज्ञका रुपमा निःसन्तान दम्पत्तिहरुको सन्तान प्राप्तिमा सहयोगी भूमिका खेलिरहेकी डा. मनिषाको जन्म वि.सं. २०४२ सालमा ललितपुरका झम्सिखेलमा भएको हो । बुवा अच्युतराज शर्मा र मीना शर्माका दुई जना सन्तानमध्ये उनी कान्छी हुन् । झम्सिखेलमा जन्मिएकी उनको बाल्यकाल त्यही बित्यो ।
डा. मनिषाका बुवा र आमा दुवै जना सरकारी जागिरे थिए । आमा त्रिविमा जागिरे थिइन् भने र बुवा निजामती कर्मचारी थिए । त्यही कारण उनीहरुले दुवै जना छोरीहरुको उत्कृष्ट शिक्षादीक्षा दिए । डा. मनिषाको शिक्षादीक्षा घर नजिकैको ज्ञानोदय स्कुलबाट अगाडि बढेको हो । घर नजिकैको स्कुल भएकाले पनि स्कुलको वातावरण उनका लागि औधि रमाइलो रह्यो । उनले ज्ञानोदयबाटै नर्सरीदेखि कक्षा १० सम्म अध्ययन पूरा गरिन् । ‘शिक्षक एकदमै सहयोगी हुनुहुन्थ्यो । हामीलाई एसेम्बलीमा ५—५ हजार मान्छेको अगाडि बोल्न लगाइन्थ्यो,’ उनले स्कुलका स्मरण सुनाइन्, ‘म आज जे छु मेरो स्कुलको ठूलो भूमिका छ ।’
मनिषालाई स्कुल जीवनमा अंग्रेजी सबैभन्दा मनपर्ने विषय थियो । पढाइबाहेक उनी स्केटिङ गर्न, स्वीमिङ खेल्न र नृत्य गर्न मन पराउँथिन् । सन् २००२ मा उनले फष्ट डिभिजनमा ज्ञानोदयबाटै एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि उनी थप उच्च शिक्षाका लागि लैनचौरस्थित निष्ट कलेज गइन् । निष्टमा उनले दुई वर्ष साइन्स पढिन् ।
उनका आमाबुवा उनलाई डाक्टर बनाउन चाहन्थे । उनका ठूला बुवा दुर्गानाथ शर्मा नेपाल टेलिभिजनका संस्थापक थिए, त्यही कारण मनिषा पत्रकार बन्न चाहन्थिन् । ‘हामी हुर्किदा उहाँको ठूलो प्रभाव थियो ममा,’ उनले सुनाइन्, ‘उहाँको विचार, प्रस्तुती र लेखहरुबाट निकै प्रभावित थिए ।’ त्यसबाहेक पत्रकार हुनका लागि उनका थप दुई गुण पनि राम्रा थिए—अंग्रेजी र नेपाली भाषामा दख्खल थियो भने बोल्न पनि राम्रो थिइन् । त्यही कारण उनी पत्रकार बन्न चाहन्थिन् ।
तर, उनका बुवालाई छोरीका लागि पत्रकारिता सुरक्षित पेशा होइन् भन्ने लाग्थ्इो । त्यही कारण उनी प्लस टु सकेपछि बुवाको इच्छाअनुसार नै डाक्टरी पढ्न चीन गइन् । सन् २००५ चीनको तियानजिङ मेडिकल कलेजमा उनको एमबीबीएस अध्ययन सुरु भयो । सन् २०१० मा उनले एमबीबीएसको अध्ययन सकिन् । एमबीबीएसको अध्ययन सकेपछि उनले दुई वर्ष धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्न गरिन् ।
त्यसपछि उनले विशेषज्ञा हासिल गर्ने योजना बनाइन् । नोबेल मेडिकल कलेजमा सन् २०१४ मा उनले स्त्री तथा प्रसूति रोगमा विशेषज्ञता अध्ययन सुरु गरिन् । सन् २०१७ मा एमडी सकिएपछि डा. मनिषाले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजमा ६ वर्ष काम गरिन् । त्यहाँ उनले बिरामी सेवा गर्नुका साथै दुई वर्ष लेक्चरर र चार वर्ष असिस्टेन्ट प्रोफेसरका रुपमा बिताइन् । डा. मनिषाका श्रीमान नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अपार पोखरेल पनि त्यही सेवारत थिए । त्यही कारण पनि उनले ६ वर्ष कलेज अफ मेडिकल साइन्सेजमा बिताइन् ।
कलेज अफ मेडिकल साइन्सेजमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा आउँदा उनले धेरै दम्पत्तिहरु निःसन्तानको समस्या लिएर आएको देखिन् । निःसन्तानको समस्याप्रति उनको गहिरो ज्ञान थिएन् । एग फ्रिजिङलगायतका नवीनतम कुराहरुमा उनको चासो बढिरहेको थियो । त्यही कारण उनी प्रजननसँग सम्बन्धित विषयमा पढाइ गर्न चाहन्थिन् । ‘अल्पज्ञान भएकाले प्रजनन स्वास्थ्यमा पढ्न चाहन्थे,’ उनले सुनाइन्, ‘त्यहीबेला फेलोसीप पाए ।’
सन् २०२२ को अन्त्यतिर डा. मनिषा प्रतिस्पर्धामार्फत भारतकै ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफमा फेलोसीपका लागि छनोट भइन् । नेपालमा सेन्टर विस्तार गरिरहेको मल्टीनेशनल आईभीएफ चेन इन्दिरामै जागिर गर्ने गरी उनले फेलोसीप पाएकी थिइन् । ‘एक वर्ष म इन्दिरा आईभीएफ दिल्लीमा फेलोसीप गर्न गए,’ उनले भनिन्, ‘सन् २०२३ को अन्तिममा एक वर्षे फेलोसीप कसेर फर्किए ।’ नेपालमै सेन्टर खोल्नका लागि इन्दिराले डा. मनिषालाई विशेषज्ञ डाक्टरकै रुपमा हायर गरेर फेलोसीपका लागि लगेको थियो । ‘क्लोज वर्किङ च्याम्बर होस्, वा आर्टिफिसियल इन्टिलिजेन्स होस्, वा यो मनिटरिङ सिष्टम र आईभीएफको धेरै पद्धतिको बारेमा मलाई नै जानकारी थिएन,’ डा. मनिषा भन्छिन्, ‘फेलोसीप गरिसकेपछि सबै कुरा सिके ।’
यी युवा चिकित्सक भविष्यमा नेपाललाई निःसन्तान मुक्त गर्ने काममा भूमिका खेल्न चाहन्छिन् । ‘जुन दम्पत्तिको घर अध्यारो छ, त्यो घरमा बत्ती बाल्न सकौं,’ डा. मनिषा भन्छिन्, ‘यो पैसाले दिनसक्ने खुसी भन्दा बेग्लै छ । यो त तपाईंले कसैलाई जीवन दिइरहनु भएको छ ।’ उनी नेपाल निःसन्तानमुक्त भएको हेर्न चाहन्छिन् । २० औं वर्षसम्म सन्तानको प्रतीक्षा गरिरहेका दम्पत्तिहरुले जब सन्तान प्राप्त गर्छन्, उनलाई त्यो कुराले सबैभन्दा बढी खुसी बनाउँछ । ती बिरामीहरुले दिने आर्शिवादले उनलाई पुलकित बनाउँछ । भन्छिन्, ‘सबैलाई यस्तै खुसी दिन पाउँ जस्तो लाग्छ ।’