२०८१ मंसीर ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलएक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी

एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी

सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर निःसन्तानको उपचारका लागि पोखरामै पहिलो


पोखरा—समाजमा पहिले महिलामा मात्र बाँझोपन÷निःसन्तानको समस्या हुन्छ भन्ने धारणा थियो । विज्ञान तथा प्रविधीको विकाससँगै महिलामात्रै नभएर पुरुषमा पनि पुरुषमा त्यो समस्या भएको पत्ता लाग्यो । त्यही कारण स्त्री तथा प्रसुति रोग तथा प्रजनन विशेषज्ञ प्रा.डा. गिरधारी शर्मा पंगेनीले वि.सं. २०७१ सालमा निःसन्तान समस्या भएका दम्पत्तिका लागि पोखरामा नै अस्पताल स्थापना गर्ने योजना बनाए । पछिल्ला १० वर्षमा सहारा इन्टरनेसन फर्टिलिटी सेन्टरबाट करिब १५ हजार दम्पत्तीले सेवा लिएको प्रा.डा. पंगेनीको भनाइ छ ।

स्थानीयस्तरमै निःसन्तान सम्बन्धि स्वास्थ्य सेवा दिन जुर्मुराएका प्रा.डा. पंगेनीको जन्म स्याङ्जाको वालिङ नगरपालिका—८ मा भएको हो । प्रा.डा. पंंगेनीले पूर्णामृत भवानी मावि वालिङबाट विद्यालयस्तरको अध्ययन पूरा गरेका थिए । उनले चिकित्सा सम्बन्धी सम्पूर्ण अध्ययन त्रिविवि शिक्षण अस्पतालबाट पूरा गरेका हुन् । वि.सं. २०४१ सालमा बर्दियाको मगरागढी हेल्थपोस्टबाट स्थायी सेवा सुरु गरेका उनले वालिङको गह्रौंघ्याङरिङ हेल्थपोस्ट, मूलपानी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौं, प्रसूति गृह थापाथली, कान्ति बाल अस्पतालमा हजारौं बिरामीलाई सेवा दिए ।

सोलुखुम्बु जिल्ला अस्पतालमा स्वास्थ्य प्रमुख भएर कार्यरत भएकै अवस्थामा वि.सं. २०५७ सालमा प्रसूति तथा स्त्री रोगसम्बन्धी विशेषज्ञता हासिल गर्नका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए । तीन वर्षे एमडी पूरा गरी उनले एक वर्ष प्रसूति गृहमा सेवा गरे । लुम्बिनी अञ्चल अस्पतालमा साढे दुई वर्ष काम गरेका उनी वि.सं. २०६३ मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा गर्न गए ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ र निःसन्तान विशेषज्ञ प्रा.डा. गिरधारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत थिए । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २०६३ देखि २०७७ सालसम्म सेवा पु¥याए । उनका अग्रज प्राध्यापक थिए प्रा.डा. भोला रिजाल र डा. उमा श्रीवास्तव । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत रहँदा नै अस्पतालमा आउने दम्पत्तिमा निःसन्तानपनको समस्या पहिचान गरिरहेका थिए । ३० वर्षको स्वास्थ्य क्षेत्रको अनुभव त थियो नै । पोखरामा निःसन्तान उपचार अभाव पनि उनले उत्तिकै महसुुस गरेका थिए । ‘काठमाडौंमा पनि प्रा.डा. भोला रिजालको ओम अस्पताल र डा. उमा श्रीवास्तवको निःसन्तान उपचार केन्द्र मात्रै थिए तर पोखरामा थिएनन्,’ उनले सम्झिए ।

त्यही कारण वि.सं. २०७१ मा उनले इन्टरनेसनल फर्टिलिटी सेन्टर दिल्लीको प्राविधिक र विज्ञको सहयोग तथा पार्टनरसीपमा पोखरामा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर स्थापना गरे । उनलाई पोखरामा डा. राजेश अधिकारीले सघाए । त्यसयताका झण्डै १० वर्ष उनले पोखरामा रहेर निःसन्तान दम्पत्तिहरुलाई सन्तान सुख दिन काम गरिरहेका छन् । सेन्टरमा अहिले तीन जना डाक्टर, तीन जना नर्स, एक जना ल्याबटेक्निसियन गरी १४ जना कर्मचारी कार्यरत छन् । अस्पतालका लागि गुणस्तर वृद्धि नै अबको प्राथमिकता भएको संस्थापक प्रा.डा. गिरधारी बताउँछन् ।

लामो समय स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा काम गरेका उनी निःसन्तानलाई सन्तान दिलाउँदा दम्पत्तिहरुलाई धेरै खुसी दिन सकिएको अनुभव सुनाउँछन् । ‘स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा काम गर्दा भन्दा निःसन्तान विज्ञको रुपमा काम गर्दा तुलना नै गर्न नसकिने धेरै खुसी दिन सकिएको महसुस हुन्छ,’ उनले भने । पहिले महिलामा मात्र निःसन्तानपन÷बाँझोपन हुने भन्दै दोषारोपण र डोमिनेट हुने गरेको भएपनि अहिले पुरुषमा निःसन्तानपन बढी भएको उनको अनुभव छ । जीवनशैलीका कारण निःसन्तानपन डा. पंगेनी बताउँछन् ।

सन्तान जन्माउने इच्छाले निरन्तर एक वर्ष अस्थायी साधन प्रयोग नगरीकन सहवासमा रहेका दम्पत्तीमा गर्भाधान नभएमा निःसन्तानपन भएको भनिने प्रा.डा. पंगेनीले बताए । उनका अनुसार निःसन्तानलाई सन्तान दिन सहाराले तीन प्रक्रिया अपनाउने गर्छ । उनकाअनुसार सुरुमा औषधि दिएर÷लगाएर प्राकृतिक विधिबाट नै गर्भाधान गर्ने प्रयास हुन्छ । ३० वर्षमुनिका युवा दम्पत्तिका लागि अपनाइने यो प्रविधिमा औषधिको खर्च नै मुख्य खर्च हो । यो विधिमा १० देखि १२ प्रतिशत दम्पत्तिलाई सफलता मिल्ने गरेको अनुभव उनको छ ।

यो प्रयास असफल भए अर्काे विधि अपनाइन्छ । यसमा कुनै पुरुषमा कमजोरी छ भने उसैको वीर्यलाई सफा गरेर त्यसलाई सक्रिय बनाएर पाठेघरमा सुरक्षित रूपमा राख्ने कृत्रिम गर्भाधान (आईयुआई) प्रविधि अपनाइन्छ । अण्डा कमजोर भएका महिलाका लागि पनि यही प्रक्रियामार्फत गर्भाधान गराइन्छ । यो विधिबाट २० प्रतिशत दम्पत्तीलाई सफलता मिल्ने गरेको छ । तेस्रो, तरिका हो एड्भान्स प्रविधि आईभीएफ अर्थात् टेस्टट्युब बेवी प्रविधि । आईयुआई र आईभिएफ प्रविधि भने पहिलो तरिकाको तुलनामा महँगो हुन जान्छ । केही वर्ष अघिसम्म १० प्रतिशत इनफर्टिलिटी रहेकोमा अहिले १५ प्रतिशत पुगेको उनले सुनाए ।

किन बढ्दैंछ निःसन्तानपन ?

प्रा.डा. पंगेनी ढिलो विवाहका कारण निःसन्तानपन हुने बताउँछन् । ‘करिअर डेभलप गर्ने, जब सेक्योर गर्ने भन्दै पहिलो बच्चा २८-३० वर्षपछि जन्माउन चाहनेमा निःसन्तानपनको जोखिम हुन्छ भने वैदेशिक रोजगारमा गएका युवाहरुमा पनि निःसन्तानपन बढेको पाइएको छ,’ उनी भन्छन् ।

महिलाको तुलनामा पुरुषमा निःसन्तानपन देखिनु मुख्यगरी वैदेशिक रोजगारका सिलसिलामा खानपान, मेन्टल्ली स्ट्रेस, उच्च तापक्रम, एउटै कोठामा धेरै बस्नुपर्ने बाध्यता, रेडियसन, केमिकल हजार्डजस्ता कारण रहेको उनले बताए । सूर्तिजन्य वस्तु र अल्कोहलको प्रयोगले स्पमलाई असर गर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीमा जानेमा कुक, ड्राइभर, पेट्रोलियम सेन्टरजस्ता ठाउँमा काम गर्ने मजदुरलाई पनि शुक्रकीटमा असर गर्ने गरेको पाइएको छ ।

पाठेघरमा समस्या भएका महिला, किमोथेरापी गरेका, ३५ वर्ष कटेका महिलामा पनि निःसन्तानपनको जोखिम रहन्छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ