२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसयौं निःसन्तान दम्पत्तिलाई सन्तान सुख दिलाएकी डा. नेहा

सयौं निःसन्तान दम्पत्तिलाई सन्तान सुख दिलाएकी डा. नेहा


डा. नेहा हुमागाई नेपाली समाजमा परिचित प्रजनन विशेषज्ञ हुन् । सयौं निःसन्तान दम्पत्तिको उपचार गरेर सन्तान सुख दिलाइसकेकी उनी मल्टीनेशनल ब्राण्ड इन्दिराको नेपालस्थित इन्दिरा आईभीएफ सेन्टरकी प्रमुख हुन् । पटक—पटक आईभीएफ असफल भइसकेका दम्पत्तिलाई पनि सन्तान सुख दिइसकेकी सफल उनी झण्डै ८ वर्षदेखि स्त्री तथा प्रसूति रोग विशेषज्ञ र पछिल्ला ४ वर्षदेखि प्रजनन विशेषज्ञका रुपमा सक्रिय छन् ।

‘नेपालमा महिलासँगसँगै पुरुष पनि इनफर्टिलिटी समस्या कारण उत्तिकै पीडित छन्,’ ४१ वर्षीया यी प्रजनन विशेषज्ञ अनुभव सुनाउँछिन्, ‘वैदेशिक रोजगारीका कारण वीर्य नराम्रो हुने समस्या पुरुषमा देखिएको छ । महिलाहरुमा अण्डा चाँडैं सिद्धिनेलगायतका समस्या छन् ।’

बच्चा नपाएको पीडा लिएर आउने दम्पत्तिलाई बच्चा दिन पाउँदाको अनुभव बयान गर्न उनका लागि शब्दहरु अर्पाप्त छन् । ‘प्रेगेन्नेसी टेष्ट पोजेटिभ आउँदा र पहिलो पटक बच्चाको हर्ट बिट सुन्दा निकै खुसी लाग्छ,’ उनले सबैभन्दा खुसीको क्षणबारे भनिन्, ‘६ हप्तामा जब बच्चाको मुटुको धड्कन सुनिन्छ, त्यसले सबैभन्दा खुसी बनाउँछ ।’ त्यही कारण त उनका लागि सबै केसहरु विशेष छन् ।

भन्छिन्, ‘त्यो पहिलो पटक प्रेग्नेन्सी हुन आएको होस् वा धेरै पटक प्रेग्नेन्ट भएको होस् सबै केसहरु विशेष हुन्छन् । तर, मल्टीपल फेलियर भएर विश्वास लिएर म कहाँ पुगेका केसहरु जब सफल हुन्छन्, ती सबैभन्दा विशेष हुन्छन् ।’

डा. नेहाको जन्म वि.सं. २०४० सालमा मोरङको विराटनगरमा भएको हो । पिता जयन्द्र हुमागाई र माता दुर्गा हुमागाईका तीन सन्तानमध्ये उनी जेठी हुन् । उनका बुवा व्यापारमा संलग्न थिए । व्यापारिक परिवारमा जन्मिएकाले उनको शिक्षादीक्षा काठमाडौंबाट अगाडि बढेको हो । ललितपुरस्थित जेम्स स्कुलबाट उनको औपचारिक शिक्षाको आरम्भ भयो । काका—काकीसँग बसेर उनले नर्सरीदेखि कक्षा ८ सम्म जेम्समा पढिन् ।

‘जेम्स स्कुल निकै राम्रो थियो,’ उनले भनिन्, ‘पढाइसँगसँगै विद्यार्थीको व्यक्तित्व विकासमा पनि विशेष जोड हुन्थ्यो ।’ त्यसपछि कक्षा ९ पढ्नका लागि भने उनी विराटनगर फर्किइन् । विराटनगरको देवकोटा मेमोरियल स्कुलमा भर्ना भइन् । स्कुल जीवनमा उनलाई सबैभन्दा मनपर्ने विषय विज्ञान थियो । पढाइ सँगसँगै सिनेमा हेर्न र खाना बनाउनमा उनको विशेष लगाव थियो ।

उनले वि.सं. २०५५ सालमा देवकोटा मेमोरियल स्कुलबाटै उनले एलएसली प्रथम श्रेणीमा उतीर्ण गरिन् । त्यो बेला पूर्वी नेपालमा सबैभन्दा राम्रो स्कुलका रुपमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको दिल्ली पब्लिक स्कुल चिनिन्थ्यो । नेहाका अभिभावकहरुले पनि उनलाई त्यही स्कुलमा भर्ना गरिदिए । ‘त्यो जमानामा मेडिकल कलेजभित्रको स्कुल भएकाले त्यहाँबाट प्लस टु गर्दा एमबीबीएस पढ््न सजिलो हुन्छ भन्ने भनाइ थियो,’ उनले भनिन्, ‘सिबीएसई बोर्डको भएकाले पढाइ पनि राम्रै थियो ।’

सुरुवाती केही समयमा त उनलाई सिबीएसई बोर्डको कोर्स गाह्रो पनि लागेको थियो । स्कुल जाँदा आउँदा विराटनगरबाट दुई घण्टाको दैनिक ट्राभल गर्नुपथ्र्यो । ‘जान आउन नै दुई घण्टा लाग्थ्यो,’ उनले सुनाइन्, ‘स्कुल सम्झनासँगै बाटोका सम्झना पनि अनगिन्ती छन् ।’ वि.सं. २०५७ सालमा उनले सिबीएसई बोर्डबाट प्लस टुको अध्ययन सकिन् ।

त्यसपछि उनी एमबीबीएसको इन्ट्रान्सको तयारीका लागि काठमाडौं आइन् । एमबीबीएसको इन्ट्रान्समा नाम निस्किएपछि उनी डाक्टरी अध्ययनका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भइन् । हुनत विज्ञान मन पराउने नेहालाई डाक्टर नै बन्छु भन्ने हुटहुटी थिएन । तर, उनका आमाबुवाको सपना भने छोरीलाई डाक्टर पढाउने थियो । ‘सुरुको बुवाआमाको सपनापछि आफ्नै भयो,’ उनले एमबीबीएस अध्ययनबारेको किस्सा खोलिन्, ‘त्यही कारण अलि मेरो र धेरै बुवाआमाको सपनाले एमबीबीएस पढें ।’

गाह्रो मानिने एमबीबीएसको अध्ययन गर्दा डा. नेहाको अनुभूति कस्तो रहयो त ? भन्छिन्, ‘एमबीबीएसमा केही कुरा सम्झिन्नँ, खाली पढेको मात्रै सम्झन्छु ।’ उनकाअनुसार एमबीबीएसको पढाइ गाह्रो हुने भएकाले एकदमै धेरै मेहनत आवश्यक पर्छ । ‘निरन्तर दिनमा १८ घण्टा पढेको बाहेक मलाई केही याद छैन्,’ उनले थपिन् । सन् २००८ मा उनको मेहनत फल देखियो । डा. नेहाले एमबीबीएस उत्तीर्ण गरिन् ।

एमबीबीएस सकेपछि उनी गृहनगर विराटनगर फर्किइन् । नोबेल मेडिकल कलेजको पेडियाट्रिक विभागमा काम गरिन् । त्यहीबीच झापाका चिकित्सक डा. निराजन मैनालीसँग उनको विवाह भयो । विवाह र पहिलो सन्तानको हुर्काइ सकिएपछि डा. नेहाले विशेषज्ञता हासिल गर्ने योजना बनाइन् । उनले पोष्टग्राजुयसन (पिजी)का लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्समा नाम निस्किएपछि उनले सन् २०१४ मा नोबेलमै स्त्री तथा प्रसूति रोगमा पिजीका अध्ययन सुरु गरिन् । ‘महिला सम्बन्धी विषय भएकाले मैले गाइनेमा विशेषज्ञता हासिल गर्ने निर्णय गरे,’ उनले भनिन्, ‘यही फिल्ड मलाई कम्फटेबल फिल भयो ।’ नोबेलमा पेडियाट्रिक विभागमा काम गर्दाखेरी नै डा. नेहाले गाइनेमा स्पेशलाइजेसन गर्ने निर्णय गरिसकेकी थिइन् । सन् २०१६ मा उनले स्त्री तथा प्रसूति रोगमा विशेषज्ञता हासिल गरिन् ।

विशेषज्ञता हासिल गरेपछि केही समय डा. नेहाले लेक्चररका रुपमा नोबेल मेडिकल कलेजमा अध्यापन गराइन् । त्यहीबीच उनले चेन्नईमा एक वर्षे फेलोसीप गर्ने मौका पाइन् । सन् २०१९ मा उनी फेलोसीपका लागि चेन्नई गइन् । सन् २०२० मा फेलोसीप सकेर पुनः नेपाल फर्किइन् । काठमाडौंको इशान अस्पताल र अल्का अस्पतालमा बिरामी हेरिन् ।

त्यहीबीच उनलाई भारतका मल्टीनेशनल कम्पनी इन्दिरा आईभीएफमा जागिरको अफर आयो । डा. नेहाले इन्दिराबाट जागिर सँगसँगै एक वर्षे फेलोसीपको अवसर पाइन् । सन् २०२२ मा उनी एक वर्षे फेलोसीप गर्न भारत गइन् । ‘छर छिमेकका वरपर पनि इनफर्टिलिटीका धेरै केसहरु देखेकी थिएँ,’ डा. नेहा प्रजनन विशेषज्ञ बन्नुको कारण खोल्छिन्, ‘त्यसले निःसन्तान दम्पत्तिहरुलाई दिने पीडाको मलम लगाउने उद्देश्यका साथ यो फिल्ड रोजे ।’

उनले एमडीपछि सुरुमा त अंकोलोजी पढ्ने सोचेकी थिइन्, त्यसका लागि संसारकै प्रतिष्ठित मेमोरियल सोलोन केटरिङ क्यान्सर सेन्टर न्यूयोर्कमा छात्रवृत्ति पनिपाइन् । ‘त्यसका लागि केही समय अमेरिका गएँ पनि,’ उनले सुनाइन्, ‘तर, मलाई अंकोलोजीमा खासै रुचि लागेन ।’ त्यहाँ बरु उनको आकर्षण क्यान्सर भएका युवा महिलाहरुलाई फर्टिलिटीका लागि एग फ्रिजिङ गर्नेलगायतका कुराहरुले आकर्षित गर्‍यो ।

त्यही कारण उनी प्रजनन रोगप्रति आकर्षित भइन् । र, पछिल्ला ४ वर्षदेखि इनफर्र्टिलिटी स्पेशलिष्टका रुपमा सक्रिय छन् । अहिले पनि धेरै दम्पत्तिहरु सन्तान नभएको पीडामा पिल्सिइरहेका छन् । डा. नेहा अहिले विज्ञान प्रविधीमा धेरै प्रगति भइसकेकाले सबै किसिमका समस्या खोज्न सकिने बताउँछिन् । ‘जुनसुकै समस्याको पनि समाधान छ,’ उनी त्यस्ता दम्पत्तिलाई सुझाव दिन्छिन्, ‘त्यही कारण सबैभन्दा पहिलो चेकअप गर्नुहोस् । विश्वास लिएर आउनुहोस् विज्ञानले हरेक समस्याको समाधान निकालेको छ ।’

अहिलेकी व्यस्त प्रजनन रोग विशेषज्ञ डा. नेहा फुर्सदको समय आफ्ना दुई बच्चा र परिवारसँग बिताउँछिन् । ‘एउटाको एसईई आउन लागेको छ, अर्को ५ कक्षामा पढ्छ,’ उनले भनिन्, ‘उनीहरुसँगै धेरै समय बित्छ ।’ उनी आफ्नो पेशाबाहेक सिनेमा, ट्राभलिङ मन पराउँछिन्, त्यसबाहेक उनलाई विभिन्न देशहरुका नयाँ—नयाँ परिकार बनाउन पनि जागर चल्छ । उनी आफूलाई भने सबैभन्दा मनपर्ने खाना आमाले बनाएको दाल, भात, तरकारी र आलु भुटेको हो ।

कुनै समयकी सिनेमा लभर उनको एमबीबीएसपछि भने सिनेमा हेर्न कम भएको छ । उनलाई सबैभन्दा मन परेको सिनेमा भने ‘कभी खुसी कभी गम’ हो । डा. नेहालाई इलाम सबैभन्दा मन पर्ने ठाउँ हो । साधारण पहिरन मन पराउने उनी प्रायः कुर्ता सुरुवालमा कम्फर्ट फिल गर्छिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ