‘हस्पिटल फर अल’ भन्ने मान्यताका साथ सुरु भएको स्वयम्भुस्थित ३०० शैय्याको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल दुई वर्षअघि आफै बिरामी अवस्थामा थियो । बिरामीहरुको ‘ट्रष्ट’ र ‘भोल्युम’ राम्रो हुँदाहुँदैं पनि म्यानेजमेन्ट उत्कृष्ट नहुँदा संस्था अगाडि बढ्न सकेको थिएन । तर, दुई वर्षयता अस्पताल व्यवस्थापनको नेतृत्व डा. एन शर्माको टिमले लिएपछि अहिले अस्पतालले विस्तारै काँचुली फेर्न थालेको छ । अस्पतालमा अहिले फूलटाइम र पार्टटाइम गरी ५०० जना कर्मचारी छन् भने दैनिक ओपीडीमा आउने बिरामीकै संख्या औसतमा ७-८ सय छ ।
‘बिरामी संख्या त्यो बेला पनि थियो । विश्वास जितेको संस्था हो,’ अस्पतालका चिफ एक्जुकेटिभ डाइरेक्टर डा. शर्माले हालैको एक मध्यान्ह हेल्थआवाजसँग भने, ‘तर, व्यवस्थापनमा लुप होलहरु थिए । आम्दानी हुन्छ तर आम्दानी कहाँ खर्च हुन्छ भन्ने कसैलाई थाहा थिएन् । हिसाब—किताब मिलाउनका लागिमात्रै हुन्थ्यो ।’ डा. शर्मा संस्थाको रेस्क्यु गर्ने च्यालेन्ज लिएर मनमोहन आएका थिए, त्यही कारण उनका लागि चुनौती पनि उत्तिकै थियो ।
तर, अनुभवले खारिएका उनले मनमोहन मेमोरियल अस्पतालको व्यवस्थापनमा रहेका लुप होलहरु पहिलो पटक नै खुट्याए र व्यवस्थापनका वैज्ञानिक टुल्सहरुमार्फत त्यसलाई टाँलिदिए । आफूपछिको ९ जनाको व्यवस्थापन टिममा मजबुत काँध भएका दरिला युवाहरुलाई ल्याए । ६४ वर्षको उकालो हिडिरहेका उनी २०—२५ वर्षे युवाको सोच भएका छन् । त्यही कारण काम लिन फेक्जिबल र काम बिगार्दा कठोर हुनु उनको विशेषता हो । व्यवस्थापन प्रिन्सिपलअनुसार संस्थाको व्यवस्थापन मिलाउनुपर्ने तर्क गर्ने उनी आर्थिक अनुशासनमा पनि उतिकै सचेत रहन्छन् ।
‘तपाईंसँग पैसा छैन भने मान्छे राख्नु भएन । यदि सर्विस राम्रो दिने मान्छे छ भने त्यसलाई बराबर पैसा दिन हिच्किचाउनु भएन्,’ उनी भन्छन् । त्यही कारण मनमोहन अहिले ड्राम्याटिक वयमै रेक्स्यु भएको छ । उत्कृष्ट सेवा, मोटिभेटेट स्टाफ, मोटिभेटेट डाक्टर, मोटिभेटेट नर्स र काम गर्ने इन्भयारोमेन्ट बनाउँदैं वरीपरीको समुदायलाई सहयोग गर्ने कुरा मिलाउनमै यी दुई वर्ष उनले खर्च गरिसकेका छन् । भौतिक संरचना पूरा गर्ने काम अझै बाँकी नै छ । ‘अर्को, ३ देखि ४ वर्षभित्र यसलाई जे प्रपोजको लागि बनाएको हो त्यो प्रपोजमा लैजाने हो,’ उनले भने । विहान ९ बजे कार्यलय पुगिसक्ने उनी साँझ ७ बजेसम्मै बस्छन् । उनले कर्मचारीलाई पनि कामअनुसार मामको व्यवस्था गरिदिएका छन् ।
डा. एन शर्माको जन्म वि.सं. २०१७ सालमा धादिङ धुनीबेसी नगरपालिका कुखेरचौरमा भएको हो । बुवा नेत्रप्रसाद सिलवाल र आमा होमकुमारी सिलवालका पाँच भाइबहिनीमध्ये उनी जेठा हुन् । उनीभन्दा अगाडि जन्मिएका तीन जना दाइहरु बितेपछि आमाबुवालाई उनलाई जीवित राख्न अनेकन उपाय लगाउनु परेको उनी सुनाउँछन् । गाउँका जान्ने—मान्ने मान्छेको सल्लाहमा उनलाई जन्मिने बित्तिकै गाउँकै ‘लामा आमा’को जिम्मा दिइयो । ‘म जन्मनेबितिकै आमाले मुख पनि नहेरी उहाँलाई दिनुभएछ,’ उनले भने, ‘त्यसपछि मलाई उहाँहरुले छोरी बनाएर नाक छेडेर पालेको रे ।’ तीन वटा छोरा मरिसकेपछि बचाउनकै लागि भनेर उनलाई छोरी बनाइएको थियो ।
डा. शर्मा जन्मेको एक महिनापछि मात्रै उनलाई आफ्नो घर फर्काइएको थियो । अहिले पनि उनी गाउँ फर्कदा लामा परिवारले आफ्नो सन्तान भनेर उनीमाथि हक खोजिरहेको हुन्छ । ‘मैले केही लग्दिनँ भने झगडा गर्न आउँछन्,’ उनले रमाइलो प्रसंग कोट्याए, ‘तँ बाँचेको मेरो आमाले गर्दा हो भनेर अझै पनि त्यस्तै छ ।’
शिक्षादीक्षामा पनि त्यो समयमा उस्तै कठिनाइ थियो । अहिलेजस्तो पढ्नका लागि स्कुलहरुको विकास भएको थिएन । ‘त्यो बेलामा ७–८ वर्ष पढिएन्,’ उनले भने, ‘त्यसपछि पढाउनुपर्छ भन्ने चेतना आएपछि पुजारीहरुसँग रुखमुनि बसेर पढेको हो । कालो ढुङ्गामा चकले लेखेर पढेको हो ।’ उनका काका नेपाल प्रहरीमा थिए । त्यही कारण कखरा चिन्ने भएपछि पढाएमा गरिखान्छ भनेर काकाले उनलाई आफैसँग लगेर कञ्चनपुर गए ।
औपचारिक शिक्षाको पाइला उनले कञ्चनपुरको भृकुटी प्राइमरी स्कुलबाट चालेका हुन् । कक्षा एक टप गरेपछि उनले तीन कक्षामा फड्को मारे । कक्षा ५ सम्म उनी त्यही स्कुलमा पढे । त्यसपछि उनी वैद्यनाथ हाइस्कुलमा गए । त्यहीबाट वि.सं. २०३३ सालमा उनले सेकेण्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरे । जतिबेला उनले एसएलसी पास गरेका थिए, ठीक त्यही बेला कञ्चनपुरमा सिद्धनाथ साइन्स क्याम्पस खुल्यो, त्यो नेपालकै तेस्रो साइन्स क्याम्पस थियो । हरिदत्त लेखक क्याम्पस चिफ भएर गएका थिए । उनले वैद्यनाथका हेडसर उत्तम भट्टलाई राम्रो अंक ल्याएर पास गर्ने विद्यार्थीहरुको लिष्ट मागे । डा. शर्माको त्यो लिष्टमा नाम नजाने कुरै थिएन् । ‘यसलाई काठमाडौं पठाउने होइन्, यही राख्नुपर्छ भनेर मलाई जर्बजस्ती त्यही राख्नुभयो,’ उनले भने ।
सिद्धनाथ साइन्स क्याम्पसको पहिलो ब्याचका विद्यार्थीका रुपमा उनले आईस्सीको अध्ययन अगाडि बढ्यो । सरकारी स्कुलबाट आएका उनका लागि अंग्रेजी निकै गाह्रो थियो । त्यसबाहेक बाहिरबाट पढेर आएका विद्यार्थीहरुको अंग्रेजी अझ राम्रो थियो । ‘अंग्रेजी बोल्नेहरुसँग साइन्समा मैले कम्पिटीसन गर्नुपर्ने भयो,’ उनले सुनाए, ‘म अलि रमाइलो गर्न खोज्ने मान्छे यो कहाँ फसियो जस्तो भयो ।’ एसएलसीमा राम्रै अंक ल्याएका उनलाई फेल हुने डर हुन थाल्यो । त्यसपछि उनी थप मेहनेत गरेर पढ्न थाले । ‘अरुले इङलिसमा सोधे इङलिसमै उत्तर दिन्थे । म हेरेको हेर्यै । मैले बेस्सरी घोक्न थाले,’ उनले थपे, ‘पछि त कक्षा टप नै भए ।’ टप गरेपछि छात्रवृत्ति पनि पाइन्थ्यो, सात महिनाकै छात्रवृत्ति ७ सय रुपैयाँ पाए ।
डा. शर्मा त्यो बेला बिहान चार बजे उठेर बाहिर निस्केर पढथे । ‘चार बजेदेखि नौं बजेसम्म अहिले पनि म हिडेर पढछु, यो मेरो बानी हो,’ उनले भने । सामान्य घरमा टुकी बालेर पढेका उनको मेहनतको वास्तविक चित्र वि.संं. २०३५ सालमा देखियो, उनी आईएस्सीमा नेपालकै तेस्रो भए । उनले वि.सं. २०३५ सालमा सुदूरपश्चिमका बसाइँ टुंग्याए । ‘अहिले पनि धेरै साथीहरुले मलाई सुदूरपश्चिमको भन्छन्,’ उनले भने, ‘किनभने, मलाई सुदूरपश्चिमले बढी चिन्छ ।’
आईएस्सीमा नेपालकै तेस्रो पोजिशन ल्याएका डा. शर्मा डाक्टरी पढ्नका लागि शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि इन्ट्रान्स दिए । अन्तर्वार्ता राम्रो भयो तर नाम निस्केन् । अनुहार कालो भएकै कारण र कन्चनपुर भन्ने बितिकै भारत सम्झिएर त्यो बेलाका शिक्षाका अधिकारीहरुले केही प्रतिशत कम अंक दिएपछि उनी छात्रवृत्तिबाट बञ्चित भएका थिए । ‘कञ्चनपुरलाई काठमाडौंको शिक्षा मन्त्रालयका पदाधिकारीले इन्डिया सम्झे, डिस्क्रिमिनेशन थियो । त्यो मैले भोगेको छु । त्यही कारण म विद्रोही भएँ,’ उनले भने ।
नेपालकै साइन्सको तेस्रो भएर पनि नाम नस्किएका उनलाई पदम ठकुराठीले तत्कालीन शिक्षा सचिव कहाँ लिएर गए । अहिले उनी नाम सम्झँदैंनन् तर प्रसाई थरका ती सचिवले उनको पुनः अन्तर्वार्ता लिए । अंग्रेजीमा अन्तर्वार्ता लिए, उनले प्रफुल्लतापूर्वक अन्तर्वार्ता दिए । पछि शिक्षाका केही अधिकारीहरुले आफ्नो मान्छे राख्नका लागि उनलाई अंग्रेजी र नेपाली नआउने हिन्दीमात्रै आउने भनेर ब्रिफिङ गरेको पत्ता लाग्यो । शिक्षा सचिवले छात्रवृत्ति छनोट समितिको सह—सचिवलाई सोधपुछ गरे । त्यसपछि उनको नाम ८ सिट रहेको छात्रवृत्तिमा ८ औं नम्बरमै राखे ।
वि.सं. २०३६ सालमा उनको डाक्टरी यात्रा प्रारम्भ बंगलादेशबाट सुरु भयो । डा. शर्माले ढाका युनिभर्सिटीमा एमबीबीएस अध्ययन सुरु गरे । सैनिक शासन लागु भएको र राजनीतिक अस्थिरताका कारण पाँच वर्षमा सकिनुपर्ने एमबीबीएसको अध्ययन सक्न ७ वर्ष लाग्यो । सन् १९८६ मा उनले ढाका युनिभर्सिटीको थर्ड विद्यार्थीका रुपमा एमबीबीएस सके ।
बंगलादेशबाट फर्किएपछि डा. शर्माले दुई वर्ष परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काम गरे । त्यसपछि वि.सं. २०४३ तिर मेडिकल अधिकृतमा लोकसेवा पास गरेर टेकु अस्पतालमा काम गरे । त्यो बेला चिकित्सकहरु सेनामा जान मान्दैन्थे । त्यही कारण रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई शारीरिक रुपमा फिट, युवा चिकित्सकहरुलाई पठाइदिन आग्रह गर्यो । मन्त्रालयले युवा र अग्ला कदका डा. शर्मासहित तीन जनालाई नेपाली सेनामा आग्रहअनुसार पठाइदियो ।
उनले नेपाली सेनामा झण्डै पाँच वर्ष काम गरे । त्यो बेला उनले छाउनी, रसुवा, मुस्ताङलगायतका कठिन ठाउँहरुमा बसेर बिरामीलाई सेवा दिए । त्यही क्रममा उनले बेलायतबाट पोष्ट ग्राजुयसनका लागि छात्रवृत्ति पाए । लिड्स युनिभर्सिटीबाट पब्लिक हेल्थमा माष्टर्स सके लगतै उनले त्यहीबाट गाइनेमा डिआरसिओजे सके । त्यसपछि डा. शर्मा स्वदेश फर्किए । वि.सं. २०४७/०४८ सालतिर सरकारी जागिर छोडेर उनी ओखलढुंगाको मिसन अस्पतालका जागिरे भए । त्यसपछि उनी तानसेनस्थित मिसन अस्पतालमा काम गरे । ‘म मिसन अस्पतालको निर्देशक हुने पहिलो नेपाली पनि हुँ,’ उनले भने ।
वि.सं. २०५६/५७ तिर उनले मिसन अस्पताललाई पनि वाइवाइ गरे । त्यसपछि उनी धुलिखेल अस्पताल सेवा जागिर गर्न थाले । डा. शर्माले धुलिखेल अस्पतालमा जागिर गर्दा अस्पताल १५ शैय्याको मात्रै थियो । डा. रामकण्ठ माकाजुसँग उनको त्यही सहकार्य सुरु भयो । डा. रामकण्ठले पैसा ल्याउँथे भने त्यसको व्यवस्थापन गर्ने काम डा. शर्माकै हुन्थ्यो । ‘म पनि धुलिखेल अस्पतालको एक पायोनियर नै हुँ,’ उनले भने । डा. शर्मा र डा. माकाजु सक्रिय भएपछि धुलिखेल क्रमसः २५ हुँदैं ५० शैय्याको अस्पताल बन्यो ।
डा. शर्माकै अग्रसरतामा काठमाडौं विश्वविद्यालय (केयु)का संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालगायत केयुको टोलीसँग कुराकानी अगाडि बढ्यो । त्यहीबाट केयु र धुलिखेल अस्पतालबीच सहकार्यको यात्रा अगाडि बढेको हो । ‘धुलिखेल अस्पतालको म चिफ एक्जुकेटीभ अफिसर थिए डा. मकाजु मेडिकल निर्देशक हुनुहुन्थ्यो । तर, जति पटक विज्ञापन गर्दा पनि एउटा पनि दरखास्त नपर्ने, एचएको पनि नपर्ने,’ उनले भने, ‘यो झन्झटभन्दा विश्वविद्यालयसँग मिलेर कोर्स नै चलाउँदा के हो ?’ यो आइडियामा डा. सुरेशराज शर्मा पनि सहमत भएपछि नर्सिङ, एचए, ल्याब, फिजियोलगायतका कोर्सहरु सुरु ग¥यो । यो बीचमा केयु र धुलिखेलबीच ५० वर्ष लामो सहकार्य सम्झौता पनि भयो ।
तर, कानुनी प्रक्रिया ख्याल नगरी कार्यक्रम चलाएपछि मन्त्रालयले प्रश्न उठाइहाल्यो । उनी डराउँदैं उपकुलपति डा. सुरेशराज कहाँ पुगे । उनले नडराउन आग्रह गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)सँग कुरा गरेर यो समस्याको गाँठो फुकाइदिए । त्यो कोर्स राम्रो मात्रै चलेन भने केयुको शिक्षण अस्पतालका रुपमा धुलिखेलको जग बलियो बनायो । धुलिखेलले पछि झण्डै ७० जना चिकित्सकलाई मणिपालमा पढ्न पठायो । अहिले त्यही टिमले धुलिखेल अस्पताल हाँकिरहेको डा. शर्मा बताउँछन् ।
डा. नस्तुप्रसादले सन् २००७ सम्म धुलिखेल अस्पतालमा रहेर व्यवस्थापन र प्राध्यापन गराए । ‘म त्यहाँ प्रोफेसर थिए । त्यही सिलसिलामा मैले क्लिनिकल ट्रोपिकल मेडिसिनमा थाइल्याण्डको महिडोल विश्वविद्यालयबाट पिएचडी गरे,’ उनले भने । नेपालका धेरैजसो सरकारी र व्यवस्थापनमा रहेकाहरुले यहीबाट एमपीएच गरेका थिए ।
धुलिखेल विश्व बैंक, विश्व स्वास्थ्य संगठनजस्ता संस्थाका पदाधिकारीहरु आइरहन्थे । उनीहरुले त्यहाँ डा. शर्माको क्षमतालाई परख गरेका थिए । त्यो बेला विश्व बैंकको नेपाल निर्देशक एक जना जापनिज थिए । ‘ठीक छ, तिमीले एउटा संस्था त बनायौं, नेपाल नै बनाउन सक्छौं,’ बेलुकापख खाना खाइरहेका बेला एकदिन ती जापनिजले भने । डा. शर्माले जवाफ फर्काए, ‘तपाईंले विश्वास गर्नुहुन्छ भने म तयार छु ।’
ती जापनिजले थपे, ‘हाम्रो नेपालको हेल्थ एडभाइजरको कार्यकाल सकिदैंछ । तिमी अप्लाई गर । तर, म ग्यारेण्टी भने दिन सक्दिनँ । कम्पिटीसन गरेर आऊ, हामीलाई चाहिएको तिमीजस्तै हो ।’ डा. शर्माले त्यो पोष्टका लागि आवेदन दिए । तर, आशा भने उनलाई थिएन् । परीक्षा दिए, सर्टलिष्टमा पनि नाम आयो । अन्तर्वार्ताको दिन थियो । अन्तर्वार्ताका लागि नेपाल सरकारका अवकासप्राप्त सचिव, सहसचिव, डाक्टर र प्रोफेसरहरु थिए । यो सबै देख्दा उनलाई बेकारमा नचाहिँदो ठाउँमा आवेदन दिएकोजस्तो लाग्यो । रोचक त के भने डा. शर्मासहित तीन जना फाइनल अन्तर्वार्ताका लागि छनोट भए । विश्व बैंकको हेल्थ एडभाइजरमा डा. शर्मा नै छनोट भए ।
सन् २००७ देखि सन् २०११ सम्म उनले ५ वर्ष विश्व बैंकको नेपालको हेल्थ एडभाइजरका रुपमा काम गरे । ‘अहिले मानिसहरु भन्छन् जब चाहि सेकियोर हुनुपर्छ । मलाई लाग्छ—तिमीले डेलिभर ग¥यौ भने डिमान्डिङ मान्छे हुनुपर्छ । पैसाको पछि तपाईं लाग्ने होइन्, पैसा तपाईको पछि लागोस् भन्ने मेरो मान्यता छ ।’ डा. शर्माकाअनुसार सीप र क्षमता भएमा मान्छेलाई १० ठाउँमा धाइरहनै पर्दैन्, खोजेरै मान्छेहरु स्वयंम तपाई कहाँ पुगिहाल्छन् । त्यसपछि उनी असएडमा गए । त्यहाँ केही समय काम गरेपछि पुनः युएनमा जागिर खान थाले ।
युएनको जागिर छोडेर २ वर्षअघि मात्रै उनी मनमोहन मेमोरियल शिक्षण अस्पतालको व्यवस्थापन टिमको नेतृत्व गर्न पुगेका छन् । मनमोहन आउने संयोग कसरी जुर्यो त ? भन्छन्, ‘रोचक छ केयु हुँदा नै राजेन्द्र पाण्डेले काभ्रेमा तपाईले त्यत्रो संस्था बनाउनुभयो । तपाईको गाउँ मेरो निर्वाचन क्षेत्र मनमोहनलाई तपाईंले किन सपोर्ट नगरेको ?’ तर, त्यो बेला उनी मनमोहन आउने साइत जुरेन । डा. शर्मा विश्व बैंक जानुपूर्व पनि पाण्डेले उनलाई व्यवस्था हेरिदिन आग्रह गरेका थिए । तर, दोस्रो पटक पाण्डेले डा. शर्मालाई युनिभर्सिटी बनाउने योजनामा साथ मागेपछि उनी त्यो प्रस्तावका लागि राजी भएका हुन् । सबै कुरा मिलेपछि मनमोहन अस्पतालको व्यवस्थापनको नेतृत्व लिएर दुई वर्षदेखि डा. शर्मा काम गरिरहेका छन् ।
पाण्डेसँग उनले भनेका छन्, ‘सम्हालिदिन्छु तर मेरो आइडिया र योजनाअनुसार, मलाई इन्टरफेरेन्स गर्नु भएन । बिग्रियो भने म तुरुन्तै छाड्छु सपारे भने सप्रियो तुरुन्तै आएर फेरि गर्छु भन्नुभएन ।’ त्यसमा पाण्डे सहमत भएपछि उनी व्यवस्थापन सम्हाल्न पुगेका हुन् । त्यसका लागि आवश्यक कानुन विद्, सिए, विज्ञहरुको परामर्शपछि कानुनी प्रक्रियाहरु पूरा गरेपछि मात्रै आफूहरुले व्यवस्थापन लिएको डा. शर्मा बताउँछन् ।
अहिले डा. शर्माको व्यवस्थापनको कुशलता पनि अस्पतालमा झल्किइरहेको छ । कारण प्रतिफल पनि अस्पतालले त्यहीअनुसार दिइरहेको छ । गत वर्ष १ लाख ६१ हजारलाई सेवा दिएको अस्पतालले सुपरस्पेशलाइज्ड सेवा मात्रै २६ हजारलाई दिएको छ । अस्पतालमा न्यूरो सर्जरी, न्यूरो मेडिसिन, हेमाटोलोजी, इन्डोक्राइन, स्पाइनल सर्जरीलगायतका सुपरस्पेशलाइज्ड सर्विस उपलब्ध छन् । आगामी दिनमा अस्पतालको बाँकी पूर्वाधार पूरा गर्ने, बीमा कार्यक्रम संचालन गर्ने, डे केयर सेवा उपलब्ध गराउनेलगायतका योजनामा उनी काम गरिरहेका छन् ।