नेपालकै पहिलो डिएम पेडियाट्रिक न्यूरोलोजिष्ट हुन्—डा. सन्तोष मिश्र । उनी प्रतिष्ठित पीजीआई चण्ढीगढको डिएमको इन्ट्रान्स टपर पनि हुन् । चण्ढीगढबाट न्यूरोलोजीमा डिएमको गरेर हालै स्वदेश फर्किएका उनी हाल महाराजगन्जस्थित नेशनल न्यूरो सेन्टरमा सेवा दिन्छन् । त्यसबाहेक निकट भविष्यमै उनी कुनै शिक्षण अस्पतालबाट आफूले हासिल गरेको ज्ञान र सीप विद्यार्थी र बिरामीमा लगाउने योजनामा छन् ।
नयाँ पुस्ताका ३६ वर्षीय युवा चिकित्सक डा. सन्तोष विदेशका आकर्षक अवसर लत्याउँदैं बालबालिका स्वास्थ्यमा अति संवेदनशील मानिएको पेडियाट्रिक न्यूरोलोजीमार्फत स्वदेशमै सेवा गर्ने उद्देश्यका साथ नेपाल फर्किएका हुन् । ‘पेडियाट्रिक न्यूरोलोजीका केसहरु अहिले पनि प्रशस्त छन्,’ उनी भन्छन्, ‘तर, ती विभिन्न एरियामा फैलिएका छन्, कही साइक्याट्रिकले हेरिरहेका छन्, कही पेडियाट्रिकले हेरिरहेका छन्, कही घरमै राखिरहेका छन् ।’ त्यही कारण पेडियाट्रिक न्यूरोलोजीबारे जनचेतना जरुरी रहेका उनी बताउँछन् ।
वि.सं. २०४४ सालमा जनकपुरको जिरोमाइलमा जन्मिएका हुन्, डा. सन्तोष । बुवा राजेन्द्र मिश्र र आमा रिता मिश्रका तीन सन्तानमध्ये उनी माइला हुन् । उनका बुवा नेपाल विद्युत प्राधिकरणमा सरकारी जागिरे थिए भने आमा गृहणी । मध्यवर्गीय परिवार जन्मिएकाले उनको बाल्यकाल सामान्य रुपमै बितेको हो ।
बुवाको सरकारी जागिरे भएकाले उनको पढाइ पनि कहिले हेटौडा कहिले बुटवल त कहिले जनकपुरमा भयो । उनले आफ्नो स्कुल जीवनको अधिकांश समय हेटौडा र जनकपुरमा बिताए । कक्षा ७ सम्मको पढाइ हेटौडाको तुलसी मेमोरियल स्कुलबाट पूरा गरे । ‘त्यो बेला हेटौडामा फुटबलको राम्रो क्रेज थियो,’ उनी स्कुल जीवन सम्झन्छन्, ‘त्यही कारण म पनि राम्रो फुटबल खेल्न थाले ।’
कक्षा ७ को पढाइ सकिएपछि उनका बुवाको जनकपुर सरुवा भयो । सन्तोष पनि जनकपुरको सिद्धार्थ शिशु सदनमा पढ्न थाले । जनकपुर फर्किएपछि उनको खेल प्रेम पनि परिवर्तन भयो । जनकपुरमा क्रिकेट लोकप्रिय थियो । डा. सन्तोषको पनि क्रिकेट रुचि बढ्यो । उनी अलराउण्डरक रुपमा क्रिकेट खेल्न थाले, त्यसमा पनि ओपनिङ फास्ट बलिङमा उनको रुचि थियो ।
उनले वि.सं. २०६० सिद्धार्थ शिशु सदनबाटै प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि थप उच्च शिक्षाका लागि उनी धरान गए । धरानको घोपा क्याम्पस्थित दिल्ली पब्लिक स्कुलमा विज्ञान विषय लिएर पढ्न थाले । भारतीय संस्कृतिको प्रभाव रहेको दिल्ली पब्लिक स्कुलमा होस्टेलमा बसेर पढ्दा अलि संघर्ष नै गर्नुपरेको अनुभव उनको छ । ‘परिवार र आमाबुवाभन्दा पर अलि गाह्रो नै थियो,’ उनी सम्झन्छन्, ‘सुरुको केही महिनाको संघर्षपछि विस्तारै बानी पर्यो ।’ त्यहाँ रहँदा उनले स्कुलको टिमबाट दिल्लीमा भएको क्रिकेट प्रतियोगितामा समेत सहभागिता जनाउने अवसर पाए । सन् २००५ उनले प्लस टुको पढाइ पूरा गरे ।
प्लस टु सकेलगतै उनी एमबीबीएस इन्ट्रान्सको तयारीका लागि काठमाडौं आए । सन्तोषलाई उनका बुवाले बाल्यकालदेखि नै डाक्टर बन्न प्रेरित गरिरहन्थे । छोरालाई डाक्टर बनाउने पिताको सपनालाई उनले पनि आफ्नो पढाइ र मेहनतमार्फत प्वाँख लगाउँदैं गए । ‘बुवाको सीमा क्षेत्रको गरिब परिवारमा जन्मनुभएको थियो,’ उनी आफ्नो डाक्टरी सपनाको कथा खोल्छन्, ‘उपचार नपाएर मेरो हजुरबुवा बित्नुभयो ।’ कतिसम्म भने उपचार नपाएर पिता बितेपछि इन्जिनियर बन्नका लागि फिजिक्स लिएर पढिरहेका उनका बुवा राजेन्द्र त्यो परिवर्तन गरेर बायोलोजी पढ्न खोजे पनि त्यो सम्भव भएन् । त्यही कारण उनले आफ्ना तीन वटै सन्तानलाई डाक्टर बनाउने अठोट लिए ।
‘सानैदेखि हामीलाई डाक्टर बन्ने एम्बीसनमा प्रेरित गरियो,’ डा. सन्तोष थप्छन्, ‘हामी तीन वटै भाइबहिनीलाई बच्चाबाट नै डाक्टर बन्ने लक्ष्यमा लगाइयो ।’ बुवाको त्यही प्रेरणालाई पछ्याउँदैं हिड्ेका सन्तोषले सन् २००६ मा काठमाडौंको विश्वविद्यालयको एमबीबीएसको इन्ट्रान्समा नाम निकाले । काठमाडौं मेडिकल कलेजमा उनले आफ्नो डाक्टरी पढाइ सुरु गरे । ‘होस्टेलको बसाइँ र एमबीबीएसको पढाइको सम्झना पनि निकै राम्रो रह्यो,’ उनले सुनाए । सन् २०११ मा एमबीबीएसको औपचारिक पढाइ सकेका उनले सन् २०१२ मा इन्टर्न सके ।
एमबीबीएस सकेपछि डा. सन्तोषले ६ महिनाजति बीएण्डबी अस्पतालको मेडिसिन विभागमा काम गरे । ‘डा. सन्जय लाखेको अण्डरमा काम गरे । उहाँबाटैं मैले डाक्टरको भूमिका के हो भन्ने सिके,’ उनले भने । केही समय काम गरेपछि उनी विशेषज्ञता अध्ययनको तयारीमा जुटे । सन् २०१४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को इन्ट्रान्स दिए । त्यसमा उनको नाम मात्रै निस्किएन, रुचिकै विषय अध्ययन गर्ने अवसर पाए । ‘पेडियाट्रिक मेरो रुचिको विषय त्यही पाए,’ उनले भने ।
तीन वर्ष उनले कान्ति बाल अस्पतालमा रेजिडेन्सी गरे । बालुवाटारमै घर भएकाले उनी हिडेरै कान्तिको रेजिडेन्सीका लागि आवत—जावत गर्थे । ‘१०—१२ वर्षको होस्टेल लाइफपछि घरबाटै पढ्न पाउँदा निकै आनन्द भयो,’ उनले सुनाए । अर्को, महत्वपूर्ण कुरा के भने कान्तिमा ७—८ सय बिरामीको भीडमा काम गर्न पाए । ‘त्यही बेला मैले नेपालको कुना काप्चाबाट आएका बिरामीको अवस्था बुझ्न पाए,’ डा. सन्तोष भन्छन्, ‘पेडियाट्रिक्समा आएर राम्रो गरे भन्ने अनुभूति भयो ।’ उनले त्यही बेला देशमा अझ धेरै पेडियाट्रिक चिकित्सक आवश्यकता महसुस गरे । किनभने, कान्तिमा थोरै जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपथ्र्यो ।
न्याम्सबाट विशेषज्ञता हासिल गरेपछि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चररका रुपमा काम गर्न थाले । पाटनमा काम गर्दाखेरी नै उनलाई पेडियाट्रिक न्यूरोलोजीमा रुचि जाग्यो । त्यो बेला हरेक शुक्रबार पाटनमा न्यूरोलोजीको ओपीडी हुन्थ्यो, त्यहाँ आउने बिरामी संख्यामा पनि उल्लेख्य थियो । तर, ती बिरामीहरुमध्ये केहीलाई अझै स्पेशलाइज्यड सेवाको आवश्यकता थियो । त्यही कारण डा. सन्तोषले पेडियाट्रिक न्यूरोलोजीमा डिएम गर्ने सोच बनाए ।
‘यही हो मेरो फ्युचर भनेर पाटनमै मैले पेडियाट्रिक न्यूरोलोजीमा डिएम गर्ने योजना बताए,’ उनले भने, ‘त्यसपछि म आफै एकलब्य शैलीमा सुपरस्पेशलाइज्यडका लागि इन्ट्रान्स तयारी गर्न थाले ।’ यहीबीच डा. सन्तोषले भारतको पुनेस्थित विद्यापीठ र गंगाराममा फेलोसीप पाए । तर, उनका कान्तिका मेन्टर प्रा.डा. अजित रायमाझीले तालिमभन्दा डिग्री नेपाललाई आवश्यक भएकाले डिग्री गर्न सुझाव दिएका थिए । त्यसैले डा. सन्तोषले डिएम नै गर्ने सोचका साथ ती दुवै अवसर लत्याइदिए ।
उनले यही क्रममा पिजीआई चण्ढीगढमा डिएम गर्नका लागि इन्ट्रान्स दिए । उनको पहिलो नम्बरमा नाम निस्कियो । सन् २०२१ को जुलाईमा डा. सन्तोषले पिजीआई चण्ढीगढमा आफ्नो रुचिकै विषय पेडियाट्रिक न्यूरोलोजीमा डिएम अध्ययन सुरु गरे । ‘पिजीआईको रेजिडेन्सी फौजको सिपाहीको जस्तै अनुभूति हुने हुन्छ,’ उनी भन्छन्, ‘जुनसुकै बेला तपाई उपलब्ध हुनुपर्छ ।’
सामान्यतयाः विहान ७ बजे ड्युटी सुरु हुन्थ्यो भने उनी होस्टेलमा फर्किदा राति ९—१० बजिसकेको हुन्थ्यो । त्यसपछि खाना खाएर पुनः अध्ययन सुरु गर्थे भने सुत्नका लागि बेडमा पुग्दा ३ बजिसकेको हुन्थ्यो । तीन वर्षको रेजिडेन्सीमा वीकेन्ड र छुट्टी लिएको उनलाई याद छैन । ‘त्यसले अल्टीमेट फाइदा मलाई नै भयो,’ उनले भने, ‘हामीले पेडियाट्रिक न्यूरोलोजीमै दुई जना रेजिडेन्टले दिनमा १५०—२०० बिरामी हेथ्र्यौ ।’
सन् २०२४ मा पेडियाट्रिक न्यूरोलोजीमा डिएम सकेपछि उनलाई त्यही काम गर्ने अवसर पनि आएका थिए । त्यहाँका केही निजी अस्पतालले पनि उनलाई अफर गरेका थिए । ‘तर, मेरो रुट रिजन नै नेपालमा आएर पेडियाट्रिक न्यूरोलोजीमा योगदान दिने थियो,’ उनले नेपाल फर्किनुको कारण खोले, ‘मेरो प्राध्यापक डा. नवीन सांख्यानले पनि नेपाल जाउ, नेपालमा तिम्रो जरुरी छ भनेर हौसला दिनुभयो ।’ प्रा.डा. नवीनले एक वर्ष छ महिना टाइम लागेपनि नेपालमा पेडियाट्रिक न्यूरोलोजीको आफ्नै टिम बनाएर काम गर्न सुझावसमेत दिए । यिनै कारणले डा. सन्तोषले कहिल्यै नेपाल बाहिर रहेर काम गर्ने सोच बनाएनन् । सन् २०२४ को जुलाई १५ मा उनी नेपाल फर्किएका हुन् ।
सुपरस्पेशलाइज्ड सेवा दिने सोचका साथ नेपाल फर्किएका डा. सन्ताेष मेडिकल कलेज शिक्षण अस्पतालमै सेवा दिने योजनामा छन् । ‘फुलटाइम शिक्षण अस्पतालमा बसेर मजस्तै अरु पनि बनाउनुपर्छ,’ उनले भने, ‘यो जापनिज कल्चर हो । जापनिज कल्चरमा के छ भने म, मेरो बच्चा बिरामी पर्यो भने कसले हेर्ने ? त्यही कारण जापनिजहरु आफूले सिकेको सिप अर्को पुस्तामा हस्तान्तरण गर्न हमेशा गर्छन् ।’ डा. सन्तोष आफूले सिकेको सीपलाई बढ्दो क्रममा राख्ने, बिरामीलाई सेवा दिने र नयाँ पुस्तालाई आफूले सिकेको सीप हतान्तरण गर्ने योजनामा छन् । त्यसबाहेकमा पेडियाट्रिक न्यूरोलोजी के हो, यसलाई कसरी अगाडि बढाउने भन्नेजस्ता विषयमा पनि उनी केन्द्रीत हुनेछन् ।