पूर्वी नेपालकै ठूलो विराटनगरस्थित कोशी अस्पताल निकै व्यस्तमध्ये एक विभागमा पर्छ—स्त्री तथा प्रसुति रोग विभाग । दैनिक सयौं बिरामीहरुले सेवा लिन्छन् । सयौं नयाँ जीवनहरु जन्मिन्छन् । डा. अन्जु देव त्यही व्यस्त विभागको विभागीय प्रमुखका रुपमा विगत तीन वर्षदेखि सक्रिय छन् ।
स्त्री तथा प्रसुति रोग विशेष डा. अन्जुले हजारौं महिलाको डेलिभरी गराइसकेकी छन् । २० हजारभन्दा बढी महिलाहरुको शल्यक्रिया नै गरिसकेकी छन् । ‘डेलिभरी त कति गराए, त्यसको तथ्यांक मसँग छैन,’ उनले भनिन् ।
प्रसव वेदनाबाट बच्चा जन्माएपछि जब आमाको अनुहारमा खुसी छचल्किन्छ । डा. अन्जुको जिन्दगीमा पनि ती खुसीका छालहरु लहराउँछन् । ‘बच्चालाई जन्म दिएपछि जब गर्भवती आमा खुसी हुन्छिन्, त्यो देख्दा सबैभन्दा बढी खुसी हुन्छु,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग डा. अन्जुले सुनिइन्, ‘त्यही भएर त मैले यो विषय रोजेको ।’ नयाँ जीवनलाई धर्तिमा पर्दापण गराउन सहयोगी भूमिका खेल्नु उनले हासिल गरेको सीप हो । बिरामीलाई संसार ठानेर सेवामा तल्लीन रहने डा. अन्जु जिन्दगीमा सधैं खुसी हुनुपर्ने मान्यता राख्छिन् ।
कोशी अस्पतालको ७० शैय्याको स्त्री तथा प्रसुती विभागका बिरामी उपचारसँगै जनशक्ति व्यवस्थापनलगायतका कामहरुमा उनको कुशलता झल्किन्छ । विभाग सम्हालेको तीन वर्षको अवधिमा उनले बिरामी र प्रशासनिक कामसँगै थुप्रै सुधारका कामहरु अगाडि बढाएकी छन् । सदैव केही नयाँ गर्ने हुटहुटी बोक्ने डा. अन्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुगोस भन्ने चाहन्छिन् । उनले त्यसका लागि बिरामीको सुविधालाई केन्द्रमा राखेर केही नवीन प्रयासहरु गरिरहेका छन् । त्यसको केन्द्रमा छ—आम मानिसको स्वास्थ्य सेवासँग सहज पहुँच । त्यही सहज पहुँचलाई ध्यान दिदैं उनले कोशीको गाइनो वार्डलाई थप स्तरोन्नती गरेकी छन् ।
पूर्वी नेपालका पहाडी जिल्ला, तराई र भारतका धेरै बिरामीको उपचार गरेर ख्याति कमाएकी उनी पूर्वी नेपालकै चर्चित स्त्री तथा प्रसुती रोग विशेषज्ञका रूपमा परिचित छन् । बिरामीसँगको डा. अन्जुको सामीप्यता अझ लोभ लाग्दो छ । हजारौं बिरामीलाई नयाँ जीवन दिएर उनले ती बिरामीका परिवारमा खुसीको प्रकाश छर्न सफलता हात पारेकी छन् ।
६ भदौं २०३३ मा काठमाडौंको वीर अस्पतालमा जन्मिएकी हुन्—डा. अन्जु । बुवा डा. योगेन्द्रप्रसाद देव र आमा उषा देवको तीन सन्तानमध्ये उनी जेठी हुन् । उनको परिवारका सबै चिकित्सक पेशामा आवद्ध छन् । बुवा डा. योगेन्द्र प्याथोलोजिष्ट हुन् । दाइ डा. आलोक देव न्यूरो सर्जन हुन्, जो अहिले काठमाडौंमा कार्यरत छन् । बहिनी डा. पुजा देव बालरोग विशेषज्ञ हुन् । डा. पुजा बेलायतमा छन् ।
बुवा चिकित्सक पेशामा भएपछि आफूलाई पनि डाक्टर बन्ने सानैदेखिको इच्छा रहेको स्मरण उनले सुनाइन् । ‘बुवाले बिरामीको सेवाबाट पाएको माया र सम्मानले मलाई पनि चिकित्सक बन्ने तीव्र इच्छा जागेको हो,’ डा. अन्जु भन्छिन् ।
उनको शिक्षादीक्षा पनि काठमाडौंमै अगाडि बढेको हो । सिद्धार्थ वनस्थलीबाट वि.सं. २०४८ सालमा प्रथम श्रेणीमा उनले एसएलसी उत्तीर्ण गरिन् । विज्ञानमा प्लस टूको अध्ययन काठमाडौं पूरा गरिन् । त्यसपछि एमबीबीएस पढन बंगलादेश गइन् । सन् २००१ म बंगलादेशबाट एमबीबीएस सकेर स्वदेश फर्किइन् । नेपाल आएपछि डा. अन्जुले काठमाडौंको वीर हस्पिटलमा इन्टर्न गरिन् । ‘वीर अस्पताल, कान्ति अस्पताल, क्षेत्रपाटीलगायतको हस्पिटलमा इन्टर्न गरे,’ उनले भनिन् ।
इन्टर्नसीपका बेला धेरै काम सिक्ने मौका पाएको उनको अनुभव छ । ‘एक दिन डेलीभरी लिनुपर्ने थियो । गर्भवतीको पानीको फोका फुट्यो । त्यो पानीले मेरो टाउँकोदेखि जिउसम्म भिज्यो,’ उनले प्रसुती गृहमा इन्टर्न गर्दाको एक घटना सम्झिइन्, ‘त्यो पानी घुटुक्क निले पनि । फुटेर निस्किएको पानी नुनिलो थियो । त्यसबेला एकदमै गाह्रो भएको थियो ।’ त्यही बेला उनले जिन्दगीमा अरु सबै विषय पढ्ने तर गाइनो नपढ्ने सोचेकी थिइन् ।
इन्टर्न सकिएपछि डा. अन्जुले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिइन् । सन् २००२ मा एनएमसीको लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि उनले वास्तविक डाक्टरी करिअर सुरु भयो ।
डा. अन्जुको पहिलो पोस्टिङ वीर अस्पतालमा भयो । त्यसबेला वीर हस्पिटलमा एकदमै चार्म थियो । एक वर्ष वीर अस्पतालको आकस्मिक कक्षमा काम गरिन् । ‘त्यहाँ एकदमै धेरै सिक्ने मौका मिल्यो,’ डा.अन्जु भन्छिन्, ‘वीरपछि जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजमा सेवा सुरु गरे ।’ घरबाट नजिक भएकाले उनी नेपाल मेडिकल कलेज गएकी थिइन् । नेपाल मेडिकल कलेजमा ऐनेस्थेसिया विभागमा ६ महिना काम गरिन् ।
विवाहपछि एमडी
सन् २००४ मा उनको विवाह विवाह भयो । उनको विवाहपछिको घर विराटनगर थियो । जसका कारण उनलाई काठमाडौं आउने जाने गरिरहन पर्न थाल्यो । त्यसपछि उनको छोरा जन्मियो । त्यहीबीच उनले एमडी गर्ने योजना बनाइन् ।
‘एमबीबीएस बंगलादेशबाट गरेकाले एमडी टिचिङमा गर्ने धोका थियो । बालबालिकाको डाक्टर एकदमै मन पथ्र्यो,’ डा. अन्जु भन्छिन्, ‘तर, टिचिङमा एकदमै गाह्रो थियो । सुरुमा ईएनटी (नाक, कान, घाँटी)मा नाम निस्कियो । ईएनटी पढ्दिन भनेर बसे ।’ त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पनि आवेदन दिइन् । त्यहाँ वेटिङ लिस्टमा नाम आयो । गाइनो पढन उनलाई एकदमै गाह्रो लागेको थियो ।
त्यसपछि पेडियाट्रिक र गाइनोमा दुवै पढने योजना बनाइन् । दुई वटा विषय रोज्न पाइन्थ्यो । तेस्रो पटकमा सन् २००८ मा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा नाम निस्कियो । सन् २०११ म आईओएमबाट गाइनोमा विशेषज्ञता हासिल गरिन् ।
एमडी गरेपछि विराटनगरस्थित नोबेल हस्पिटलमा बिरामीलाई सेवा दिन थालिन् । त्यहाँ ६ महिना काम गरेपछि डा. अन्जुले सरकारी हस्पिटलबाट बिरामीको सेवा गर्ने योजना बनाइन् । उनका बुवाको पनि सरकारी अस्पतालमा छोरीले सेवा गरेको हेर्ने धोको थियो ।
वि.सं. २०६८ मा उनी कोशी हस्पिटलमा आवद्ध भइन् । त्यसबेला कोशीको गाइनो विभागमा डा. योगेन्द्र मिश्र हेड आफ डिपार्टमेन्ट थिए । एक वर्ष कोशीमा काम गरेपछि फेरि उनी ६ महिना विराट नर्सिङ होममा गएर काम गरिन् । ‘त्यहाँ ६ महिना मात्र काम गरे,’ उनले भनिन्, ‘त्यसपछि फेरि कोशीमा आए । विकास समितिबाट करारमा नियुक्त भएँ ।’
लोकसेवाबाट स्थायी
कोशीमा एक वर्ष काम गरेपछि लेखा शाखामा पारिश्रमिक लिन गएकी थिइन् । त्यसबेला करारका चिकित्सकलाई हेर्ने दृष्टिकोण फरक पाइन् । ‘त्यही रिसका कारणले लोकसेवा भिड्ने निधो गरे,’ डा. अन्जुले लोसकेवा किस्सा खोलिन्, ‘वि.सं. २०७३ मा लोकसेवा दिए । ९ औं तहमा नाम पनि निस्कियो ।’ त्यसबेला उनलाई राजविराज वा मेची अस्पतालमध्ये एउटा रोज्नुपर्ने थियो । तर, उनले आफूले कोशीमा काम गर्दै आएको र दरबन्दी पनि खाली रहेकाले कोशी नै रोजिन् ।
उनले लोक सेवाबाट स्थायी भएर कोशीमा जागिर गर्न थालेको ९ वर्ष भइसकेको छ । अहिले उनी १० औं तहकी चिकित्सक हुन् । वि.सं. २०७७ देखि उनले कोशी अस्पतालको स्त्री तथा प्रसुती विभागको प्रमुख काम गर्दै आएकी छन् ।
डा. अन्जुले अहिलेसम्म हजारौं बिरामीको शल्यक्रिया गरिसकेकी छिन् । उनको आँकलनमा यो अवधिमा झण्डै २५ हजार बिरामीको सफल शल्यक्रिया गरिएको छ । कोशीमा क्यान्सर सर्जरीसम्म गरिएको उनले सुनाइन् । ‘क्यान्सर सर्जरीको लागि ट्रेनिङ नै लिनुपर्छ भन्ने छैन ।अनुभवले पनि धेरै कुरा थाहा हुन्छ । यहाँ सपोर्ट छ । काम गर्ने क्रममा सहयोग लिनुप¥यो भने म सर्जन डाक्टरलाई बोलाउँछु,’ उनी भन्छिन्, ‘काम गर्न कोशीमा धेरै सहज पनि छ । यहाँ एकदमै राम्रो उपचार पनि हुने गर्दछ । यहाँ जतिको उपचार अरु कतै हुँदैन् ।’ कोशीमा हुने राजनीति हस्तक्षेप भने उनलाई मन परेको छैन ।
अण्डासयको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरमा क्यान्सरको कोशीमा उपचार भइरहेको उनले बताइन् । ‘क्यान्सको चार वटा स्टेज हुन्छ । पहिलो र दोस्रोको अप्रेसन गर्न मिल्छ । रेडियो थेरापी त यहाँ छैन,’ डा. अन्जु भन्छिन्, ‘केमो थेरापी छ । यहाँका क्यान्सरका चिकित्सकसँग समन्वय र सहकार्य गरेर हामीले उपचार गर्दै आएका छौं ।’ क्यान्सर अस्पतालमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई मात्र आफूहरुले रेफर गर्ने गरेको उनले बताइन् ।