चिकित्सा शिक्षाको पोष्ट ग्राजुयसन (पिजी)अन्तर्गत एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले बुधबार राति प्रकाशित गरेको नतिजाअनुसार पिजीअन्तर्गत एमडी/एमएस/एनबीएमएस इन्ट्रान्स बाराका २९ वर्षीय डा. मनिष तिमल्सिनाले टप गरेका छन् । २ हजार ६ सय ६४ जना उत्तीर्ण विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेका सरकारी स्कुलका उत्पादन डा. मनिषको यो सफलता लोभलाग्दो छ । उनले आयोगको एकीकृत प्रवेश परीक्षामा २०० पूर्णांकमा १६४ स्कोर ल्याएर टप गरेका हुन् । उनले एमबीबीएस पनि पूर्ण छात्रवृत्तिमै पढेका हुन् ।
बुधबार राति ९—१० बजेतिर डा. मनिष सिनेमा हेरिरहेका थिए । उनका साथी डा. विपिन सापकोटाले फोन गरे । फोन उठाए, उताबाट आवाज आयो, ‘माने (मनिषलाई उनका साथीले बोलाउने नाम) बधाई छ, इन्ट्रान्स टप गरिछस् ।’ उनलाई पत्यार लागेन, पत्यार लागोस पनि कसरी उनको टपरले गर्नेजस्तो तयारी नै थिएन् । जवाफ फर्काए, ‘मैले होइन् होला ?’ डा. विपिनले विश्वस्त तुल्याउँदैं जवाफ फर्काए, ‘अरे यार, मैले भनेपछि विश्वास गर न ।’
तर, डा. मनिषलाई अझै विश्वास लागेन् । हतपत्त मोबाइलमा रिजल्ट चेक गर्न थाले । नाम उनकै थियो । कन्फर्म गर्न रोल नं. चेक गरे । त्यो पनि मिलेपछि बल्ल कन्फर्म भए । इन्ट्रान्स टपर भएको कन्फर्म भएपछि उनलाई के गरौं—गरौं भयो । बुवाआमा अमेरिका थिए, सानी दिदीलाई फोन गरेर सुनाए । त्यसपछि बुवाआमालाई फोन गरे । ‘आमा नाच्न थाल्नुभयो, बुवा नम्बर सोधेर खुुसी हुनुभयो,’ उनले भने, ‘ठूली दिदीलाई सुनाएको उहाँ त रुन थाल्नुभयो । त्यसपछि केही एचिभमेन्ट भयो जस्तो लाग्यो ।’
मध्यवर्गीय परिवारका यी इन्ट्रान्स टपरको जन्म वि.सं. २०५१ सालमा बाराको औराहमा मध्यमवर्गीय परिवारमा भएको हो । बुवा डिल्लीराम तिमल्सिना र आमा होमदेवीका तीन सन्तानमध्ये उनी कान्छा हुन् । उनको जन्म त्यस्तो उतार—चढावपूर्ण समयमा भएको थियो, जतिबेला गाउँ—गाउँमा माओवादी सशस्त्र द्वन्द्वका झिल्का फैलिएरहेका थिए । त्यही कारण एभरेष्ट होटलमा कुक रहेका उनका बुवाले उनलाई काठमाडौं ल्याए ।
ललितपुरको ग्वार्कोमा उनी बुवाआमा र दिदीहरुसँग बस्न थाले । ट्यागलको प्रभात उच्च माविबाट उनको प्रारम्भिक शिक्षा अगाडि बढ्यो । त्यहाँ कक्षा १ को पहिलो त्रैमासिक टप गरेपछि उनको कक्षा दुईमा बढुवा भयो । ‘पहिलो त्रैमासिकमै राम्रो अंक ल्याएपछि कक्षा दुईमा बढुवा भए,’ उनले सुनाए । साथीभाइसँग खेल्ने, पढ्ने गर्दै स्कुल जीवन बितेको उनी सुनाउँछन् । सानैदेखि पढाइमा अब्बल डा. मनिषलाई विज्ञान सबैभन्दा मनपर्ने विषय थियो । पढाइबाहेक उनी टिटी र भलिबल खेल्न खुबै रुचाउँथे । त्यसबाहेक उनी बाल क्लब, जुनियर रेडक्रस, इको क्लबमा पनि सक्रिय थिए ।
डा. मनिषले प्रभात उच्च माविबाटैं वि.सं. २०६७ सालमा डिस्टिङसनमा एलएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनी थप उच्च शिक्षाका लागि ललितपुरस्थित मुनलाइन एकेडेमी (मोलिस)मा भर्ना । त्यहाँ बायोलोजी लिएर प्लस टु अध्ययन गर्न थाले । ‘सरकारी स्कुलबाट प्राइभेट गएकाले सुरुका दिनहरुमा अलि गाह्रो थियो,’ उनले प्लस टुका सुरुवाती दिनहरु सम्झे, ‘त्यसकारण पढाइमा अलि बढी केन्द्रीत हुनुपर्ने भयो । अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाइएन् ।’
मोलिसमै विज्ञान पढ्न कक्षाकोठा छिरेको पहिलो दिन नै आफ्नो भविष्यको लक्ष्य भेट्टाइसकेका थिए । ‘पहिलो दिनमा कलेजमा जुलोजी पढाउने सरले एमबीबीएस अध्ययनका बारेमा धेरै कुरा भन्नुभएको थियो,’ डा. मनिष स्मरण गर्छन्, ‘डा. उपेन्द्र देवकोटाको उदाहरण दिएर डाक्टर बनेपछिको नाम र दामका विषयमा पनि सुनाउनुभएको थियो । त्यही कारण मैले डाक्टर बन्ने लक्ष्य बनाए ।’
प्लस टुका ती जुलोजीका गुरुले एमबीबीएस छात्रवृत्ति र पेइङमा लाग्ने शुल्कहरुमा विषयमा पनि पहिलो क्लासमै स्पष्ट पारेका थिए । त्यही कारण उनले प्लस टु पढ्दैं गर्दा नै एमबीबीएस छात्रवृत्तिमा नाम निकाल्ने गरी तयारी सुरु गरिसकेका थिए । वि.सं. २०६९ मा उनले प्लस टु उत्तीर्ण गरे । आफ्नो एमबीबीएस तयारीलाई थप सुदृढ गर्नतिर लागे । त्यही क्रममा केही दिन भाइब्रेन्टमा गएर कक्षा लिए । ‘१०—१५ दिन त्यहाँ पढेपछि घरमै बसेर फुलटाइम तयारीमा लागे,’ उनले भने, ‘शनिबार हुने तयारी परीक्षाहरु भने दिन जान्थे ।’ त्यो बेला डा. मनिषले इन्ट्रान्सको तयारीमा दैनिक १० घण्टासम्म खर्चेका थिए ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा उनले एमबीबीएसका लागि इन्ट्रान्स दिए । त्यहाँ उनी केही नम्बरले मात्रै छात्रवृत्तिबाट चुके । त्यसपछि उनले शिक्षा मन्त्रालयअन्तर्गको छात्रवृत्तिका लागि परीक्षा दिए । एमबीबीएस पढ्नका लागि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनको नाम निस्कियो । त्यसपछि उनले एमबीबीएस पढ्नका लागि पहिलो रोजाइमा नेपाल मेडिकल कलेज अत्तरखेल र दोस्रो रोजाइमा मणिपाल शिक्षण अस्पताल पोखरा पाएका थिए ।
डा. मनिष एमबीबीएस पढ्नका लागि सन् २०१४ मा मणिपाल गए । मणिपालले उनलाई एमबीबीएस पढेर डाक्टरको सर्टिफिकेटमात्रै दिएन, उनको बलियो क्लिनिकल धरातल पनि खडा गरिदियो । भन्छन्, ‘मणिपाल धेरै कुराले उत्कृष्ट थियो । विदेशी विद्यार्थीसँग अनुभव आदान—प्रदान गर्ने अवसर, क्याम्पसको उत्कृष्ट वातावरणसँगै राम्रो क्लिनिकल अभ्यास गराइन्थ्यो ।’ त्यसबाहेक त्यहाँ गुरुहरुले पनि आफूहरुलाई उत्कृष्ट शिक्षा दिएको अनुभव उनी बाँड्छन् । मेडिसिन पढाउने डा. अभिषेक मास्केलाई त उनी अहिले पनि उतिकै मिस गर्छन् ।
सन् २०२० मा उनको डाक्टरी सपना पूरा भयो । उनले एमबीबीएस पास गरेर मणिपालबाटै इन्टर्न सके । त्यसपछि सरकारसँगको छात्रवृत्ति करारअनुसार उनको पोष्टिङ झापाको सुरुङ्गा प्राथमिक स्वास्थ्य चौकी (हाल कन्काई नगर हस्पिटल)मा भयो । दुई वर्ष उनले त्यही काम गरे । हमेशा नयाँ कुरा सिक्न रुचाउने डा. मनिषले सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहँदा धेरै कुरा सिके ।
तीन महिनापछि उनले सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख भएर काम गर्ने अवसर पाए । त्यसपछि उनलाई सरकारी स्वास्थ्य प्रणाली, वातावरण, सेवा सुविधा, कर्मचारीतन्त्रलगायतका विषयमा पनि जान्ने मौका मिल्यो । स्वास्थ्य चौकीमा दैनिक ४—५ सय बिरामी हुन्थे । डा. मनिष एक्लैले प्रशासनिक कामका अलावा दैनिक ७०—८० जना बिरामी हेर्नुपर्थ्यो । ‘त्यसले झन काम गर्न उत्साहित पार्थ्यो,’ उनले भने, ‘सुरुङ्गा स्वास्थ्य चौकीका कर्मचारीको टिम उत्कृष्ट थियो ।’
चिकित्सा शिक्षा आयोगको वि.सं. २०७९ को पिजीको एकीकृत प्रवेश परीक्षामा उनी सहभागी हुन पाएनन् । कारण, केही दिनले मात्रै उनको दुई वर्षे छात्रवृत्ति करारको समायावधि सकिएको थिएन् । त्यसकारण झापाको छात्रवृत्ति करारको अवधि सकिएपछि उनी काठमाडौं फर्किए । डा. मनिष करार सेवामा दोलखाको तामाकोशीमा काम गर्न गए । त्यहाँ ६ महिना काम गरे, उनले पिजीको इन्ट्रान्सका लागि तयारी गर्दै थिए ।
यहीबेला डा. मनिषले एमबीबीएस पढेको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिटको घटना सार्वजनिक भयो । डा. मनिषलाई यो घटनाले हतोत्साहित बनायो । नेपालमै बसेर बिरामीको सेवा गर्ने सोच बनाएका उनी डाक्टरको सुरक्षा, अस्पतालमा स्वास्थ्यकर्मीमाथि हुने हिंसा, सबैतिर भइरहेको चरम राजनीतिकरणजस्ता कुराहरुले चिन्तित बने । त्यसपछि उनले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेस (युएसएमएलई)को तयारी थाले ।
डा. मनिषका युएसएमएलईको स्टेप वान तयारी गरिरहेका थिए । यही बेला युएसएमएलईको नेपालबाट हुने परीक्षाका कार्यक्रम रद्ध भए । उनले बंगलादेशबाट परीक्षाका लागि समय पाए । ३० जनवरी २०२४ मा उनी बंगलादेश पुगेर युएसएमएलईको परीक्षा दिए । २ फ्रेब्रुअरीमा नेपाल फर्के । ‘इमीग्रेसनमा यति लामो लाइन थियो,’ उनले भने, ‘ढाकामा कति व्यवस्थित तर हाम्रो एयरपोर्टका यति लामो लाइन एक पटक त निकै नरमाइलो महसुस भयो ।’ एयरपोर्टबाट फर्केर थकालीमा पुगेर खाना खाएर घर फर्केर सुते । भोलिपल्ट हुने चिकित्सा शिक्षा आयोगको परीक्षाको उनलाई मतलब थिएन् ।
युएसएमएलईको तयारी गरिरहेका डा. मनिषका भोलिपल्ट चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा दिन गए । परीक्षा दिएर फर्के । तर, बुधबार राति प्रकाशित रिजल्टमा बिना तयारी नै उनले आयोगको एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा टप गरे । त्यसो भए टप गर्ने फर्मुला के हो त ? ‘मेहनत गर्नुपर्छ, कन्सेप्ट वाइज पढ्नुपर्छ र बुझेर पढ्दा राम्रो नतिजा ल्याउन सकिन्छ,’ डा. मनिष आफ्नो पढाइको फर्मुला सुनाउँछन्, ‘मलाई युएसएमएलईको फष्ट एड पढेका कारण पनि निकै सहयोग भयो ।’ त्यसबाहेक एमबीबीएसमा मणिपालले दिएको उत्कृष्ट शिक्षा र त्यहाँ १५—१५ दिनमा लिइने परीक्षाले पनि यो उत्कृष्टताका लागि आफूलाई तयार पारेको उनी बताउँछन् ।
डा. मनिष अब मेडिसिनमा एमडी गर्ने तयारीमा छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) उनको रोजाइ हो । ‘मेडिसिन पढ्ने रहछ छ, यो विषयमा पढेमा बिरामीसँग प्रत्यक्ष जोडिन पाइन्छ,’ उनी मेडिसिन रोज्नुको कारण खोल्छन्, ‘नेपालमा अहिले रेडियोलोजीमा सजिलो, बढी कमाइ हुने र सेफ मानिन्छ । तर, रेडियोलोजी पढ्दा बिरामीसँग प्रत्यक्ष जोडिन पाइदैंन् ।’ उनका लागि गुरु डा. अभिषेक रोलमोडल हुन्, त्यही कारण पनि आफूले मेडिसिन पढ्न चाहेको उनले सुनाए ।