डा. महेश ढकाल अष्ट्रेलियाको तास्मानियाको प्रतिष्ठित लन्चेस्टन जनरल हस्पिटलका स्थायी स्टाफ स्पेशलिष्ट फिजिसियन हुन् । जहाँ उनी सन् २०१९ देखि जनरल र स्ट्रोक मेडिसिन प्रायक्टिस गर्छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को एमडी जनरल मेडिसिनका गोल्डमेडलिष्ट हुन्, उनी । अष्ट्रेलियाजस्तो विकसित मुलुकमा गएर स्ट्रोक मेडिसिनको पहुँच विस्तारमा सक्रिय डा. ढकाल युनिभर्सिटी अफ तास्मानियाका सिनियर क्लिनिकल लेक्चरर पनि हुन् ।
बेलायतबाट एफआरसीपी, अष्ट्रेलियाबाट एफआरएसीपी—एडल्ट मेडिसिन फेलोसीप उनले गरेका छन् । यस्तै, क्वीन स्क्वायर लण्डनबाट डिप्लोमा क्लिनिकल न्यूरोलोजी पनि गरेका छन् । त्यसबाहेक उनी एएमसीका डब्लूबीए एक्जामिनर र आरएसीपी तास्मानिया रिजनल कमिटीका कार्यकारी सदस्य पनि छन् । गत नोभेम्बरबाट डा. महेश अष्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरुलाई जोड्ने अभिभारासहित अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसन (एन्म्डा)को अध्यक्ष छन् ।
अष्ट्रेलिया र बेलायतजस्ता पहिलो विश्वका विकसित देशमा रहेर झण्डै दुई दशक बिरामी उपचारमा संलग्न डा. महेश थुप्रै अनुसन्धानमा पनि सक्रिय छन् । डा. ढकालको जन्म काठमाडौंको चाबहिलमा भएको हो । बुवा दामोदर ढकाल र आमा गुहेश्वरी ढकालका चार सन्तानमध्ये उनी जेठा छोरा हुन् । एक दिदी, एक भाई र एक बहिनीसहित उनको बाल्यकालको अधिकांश समय पूरानो बानेश्वरमै बितेको हो ।
बुवा दामोदर सरकारी जागिरका शिलशिलामा देशका विभिन्न ठाउँमा पुगिरहेका हुन्थे । त्यही कारण डा. ढकालको प्रारम्भिक शिक्षादीक्षा पनि विभिन्न ठाउँका स्कुलहरुमा भएको हो । ‘बुवाको विभिन्न ठाउँमा पोष्टिङ हुन्थ्यो, त्यही कारण नेपालका विभिन्न जिल्ला गएर पढे,’ उनले भने । उनका धेरै स्कुल परिवर्तन भए, सल्यान, कन्चनपुर, सुर्खेतका स्कुलमा पढेको अनुभव पनि उनले संगालेका छन् ।
त्यही कारण उनको स्कुल जीवनको अनुभव पनि मिश्रित छ । ‘जे भएपनि बाल्यकाल सम्झँदा रमाइलो लाग्छ,’ उनी स्मरण गर्छन्, ‘आफ्ना भाइबहिनीहरुसँग रमाइलो गरिन्थ्यो । मेहनत पनि गरिन्थ्यो ।’ उनलाई स्कुल जीवनमा सबैभन्दा मनपर्ने विषय भने गणित र विज्ञान थिए । पढाइबाहेक उनी चेस र ब्याडमिन्टन पनि खेल्थे ।
डा. ढकालले एसएलसी पास भने वि.सं. २०४४ सालमा बानेश्वरको अमर आदर्श माध्यमिक विद्यालयबाट गरेका हुन् । पढाइमा तीक्ष्ण डा. ढकाल एसएलसी बोर्डमा पाँचौ भएका थिए । एलएलसीपछि उनी साइन्स पढ्न अस्कल गए । बायोलोजी विषय लिएर आईएस्सी अध्ययन थालेका उनले पहिलो वर्ष टप गरे । अस्कलबाट उनले आईएस्सीको अध्ययन पूरा गरे ।
त्यसपछि उनको डाक्टरी यात्रा प्रारम्भ भयो । छात्रवृत्ति पाएपछि उनी एमबीबीएस पढ्न भारतको कलकत्ता गए । कलकत्ता युनिभर्सिटीको आरजीकर मेडिकल कलेजबाट उनले एमबीबीएस सके । त्यसपछि डा. ढकाल नेपाल फर्किए । नेपाल फर्केपछि उनले विशेषज्ञताका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा इन्ट्रान्स दिए । ‘त्यो बेला इन्टर्न सके लगतै एमडीका लागि इन्ट्रान्स दिन पाइन्थ्यो,’ उनी भन्छन्, ‘अहिले एमडी ज्वाइन गर्नका लागि दुई वर्ष काम गर्नुपर्छ ।’ त्यो इन्ट्रान्स पनि डा. ढकालले टप गरे । त्यसपछि उनले त्रिवि शिक्षण अस्पतालमा इन्टरनल मेडिसिनमा एमडीको अध्ययन सुरु गरे ।
पढाइमा अब्बल उनले त्रिवि टप गरेर एमडीमा गोल्डमेडल ल्याए । विशेषज्ञता हासिल गरेपछि त्रिवि शिक्षण अस्पतालमै डेढ वर्ष लेक्चरर तथा कन्सल्ट्यान्टका रुपमा काम गरे । त्यसपछि डा. ढकाल काठमाडौं मेडिकल कलेज गए । ‘डा. डिबी कार्कीले केएमसीमा काम गर्न अफर गर्नुभयो,’ उनले भने, ‘उहाँ एमडीमा पढ्दाको गुरु पनि हुनुहुन्थ्यो । त्यहाँ गएर डेढ वर्ष इन्टरनल मेडिसिनको लेक्चरर र कन्सल्ट्यान्टका रुपमा काम गरे ।’
सधैं नवीनतम खोजलाई पछ्याइरहने स्वभावका डा. ढकाललाई विकसित देशहरुको मेडिसिन र उपचारबारे पनि एक्स्पोलर गर्नु थियो । ‘मलाई वेस्टर्न मेडिसिन हेर्न मन लाग्यो,’ उनले भने । युवास्थामै एमडी सकिसकेका कारण उनका लागि प्रशस्त समय पनि थियो । त्यही कारण उनले बेलायतको एमआरसीपीको तयारी गरे । पहिलो प्रयासमै एमआरसीपी पास पनि भए । एमआरसीपी पास गरेर उनी सन् २००३ मा बेलायत गए ।
डा. ढकालले सुरुमा एमआरसीपी सक्काए । त्यसपछि उनले जनरल (एक्युट) मेडिसिन र स्ट्रोक मेडिसिनमा जनरल मेडिकल काउन्सिल युकेको सर्टिफिकेट अफ कम्प्लीसन अफ ट्रेनिङ (सीसीटी) पास गरे । त्यसपछि उनले डुराम हस्पिटलमा कन्सल्ट्यान्टको जागिरका लागि अफर पाए । ‘त्यो स्ट्रोक मेडिसिनका लागि बेलायतकै दोस्रो व्यस्त अस्पताल हो,’ उनी भन्छन्, ‘त्यो अस्पतालमा काम गर्ने अवसर मिल्यो ।’
सन् २००३ देखि २०१७ सम्मको उनको बेलायत बसाइँमा अध्ययन, अध्यापन तथा प्रयाक्टिसमा बित्यो । ‘त्यहाँ मैले धेरै तालिम र अध्ययन गरे,’ उनले भने, ‘कन्सल्ट्यान्ट भएर स्ट्रोक, एक्युट मेडिसिन र जनरल मेडिसिनका बिरामीको पनि सेवा गरे ।’ बेलायतमा स्ट्रोक मेडिसिन छुट्टै स्पेसियालिटी भएका कारण उनी यसमा बढी केन्द्रीत हुन पाए । डा. ढकाल नेप्लीज डाक्टर एशोसियसन युकेमा पनि सदस्यका रुपमा आवद्ध भएर युकेका नेपाली डाक्टरहरुसँगको नेटवर्कमा कायम नै राखे ।
‘बेलायतका कामको इन्टेन्सीटी पनि एकदम बढी, लर्निङ पनि उस्तै,’ उनी बेलायत अनुभूति साट्छन्, ‘त्यहाँको क्लिनिकल प्रयाक्टिस पनि मलाई एकदमै मन पथ्र्यो ।’ चिसो ठाउँ, धेरै नेपाली नबस्ने न्यूक्यासल क्षेत्रको बसाइँ, गेट टुगेदर पनि नहुनेजस्ता कारण उनलाई बेलायत बसाइँ अलि आइसोलेटेड लागिरहेको थियो । ‘मलाई त नेपाली बोल्नुपर्ने, नेपाली संस्कृति, फेस्टिबल मनपर्ने, वरिपरी नेपाली हुनुपर्ने,’ उनले सुनाए, ‘नर्थन इंग्ल्याण्डमा त्यति नेपाली छैनन्, अलि एक्लो अनुभूति हुने ।’
सन् २०१५ मा उनी परिवारसँग होलिडे मनाउन अष्ट्रेलिया गए । उनको परिवारले बेलायतभन्दा अष्ट्रेलिया मन परायो । उनकी श्रीमती र बालबच्चा सबैले अष्ट्रेलियामै बस्नुपर्छ भन्न थाले । ‘नेपालीहरु धेरै आएको देखेर मलाई पनि लोभ लाग्यो,’ उनले बेलायतबाट अष्ट्रेलिया सिफ्ट हुनुको कारण खुलाए, ‘बेलायत अलि आइसोलेटेड अनुभव हुन्थ्यो, यहाँ एकदमै खुल्ला पाए ।’
तास्मानियामा स्ट्रोक सेवा विस्तार नभएको थाहा पाए । त्यहीबाट उनलाई स्ट्रोक सर्विसमा काम गर्ने अफर पनि आयो । ‘यहाँ क्वालिफाइड पर्सन पनि थिएन, सिष्टम पनि थिएन,’ हालैको एक दिन हेल्थआवाजसँगको अनलाइन कुराकानीमा उनले भने, ‘आई क्यान विल्डअप सिष्टम भनेर यहाँ आउने योजना बनाए ।’ त्यही कारण सन् २०१७ मा डा. महेश स्ट्रोक मेडिसिन सेवा विकासका गर्ने उद्देश्यका साथ तास्मानिया आए । सुरुमा उनले २ वर्ष मर्सी कम्युनिटी हस्पिटलमा काम गरे । त्यसयता उनी लन्चेस्टन जनरल हस्पिटल कार्यरत छन् ।
डा. महेश अष्ट्रेलिया बसाइँ सरेपछि तास्मानियामा जागिर मात्रै खाएनन्, नर्थ र नर्थ वेष्टमा स्ट्रोक सेवा पनि सुरु गर्न भूमिका खेले । ‘म आएर पहिलेदेखि स्ट्रोकमा काम गरिरहेका मान्छेहरुलाई अगाडि बढाए । स्टेट वाइड कमिटी बनाए,’ उनले भने, ‘त्यसपछि हामीले लन्चेस्टन जनरल हस्पिटल, मर्सी कम्युनिटी हस्पिटल, वर्नी हस्पिटलमा स्ट्रोक सेवा सुरु गर्यौं ।’ हुनत उनलाई त्यहाँ बोलाइएको नै स्ट्रोक सेवा विस्तारका लागि थियो । आफूले काम फत्ते गरेपनि उनलाई अहिले आनन्दको महसुस भएको छ ।
अष्ट्रेलियामा उनका स्कुले साथी डा. अनुपम पोखरेलले अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसन (एन्म्डा)बारे जानकारी गराए । डा. अनुपम अष्ट्रेलियाकै मेलबर्नमा साइक्रयाटिक चिकित्सक हुन् । त्यतिबेला यो संगठनमा ९ जना नेपाली डाक्टरहरुमात्रै आवद्ध थिए । ‘अनुपम त्यसको प्रेसिडेन्ट रहेछ, मलाई पनि आवद्ध हुनुपर्यो भन्यो,’ उनले भने, ‘मलाई पनि राम्रो लाग्यो ।’ उनी त्यसमा आवद्ध भएर दुई वर्ष एन्म्डाको तास्मानिया कोर्डिनेटरका रुपमा सक्रिय रहे । गत नोभेम्बरदेखि उनले एन्म्डाको अध्यक्षका रुपमा दुई वर्षका लागि यसको पूर्ण नेतृत्व लिएका छन् ।
यो संस्थामार्फत डा. महेश अष्ट्रेलिया आउने नेपाली चिकित्सकहरुका असहजता सहजीकरण गर्ने, नेपाली चिकित्सकहरुका लागि सीएमईहरु आयोजना गरेर सीप र ज्ञान ट्रान्सफर गर्ने र अष्ट्रेलियामा रहेका नेपाली चिकित्सक जति सबैलाई यही नेटवर्कमा जोड्ने लक्ष्यमा काम गरिरहेका छन् । डा. ढकालकाअनुसार पीआरका लागि सहज हुने भएकाले अष्ट्रेलियाका कुना कन्दरामा नेपाली चिकित्सकहरु छरिएर रहेका छन्, तिनीहरुलाई नेटवर्किङ गरेर सबैलाई संस्थामा आवद्ध गराउनुपर्छ भन्ने उनको अठोट छ । एन्म्डामा अहिले लगभग ६० जनाभन्दा बढी डाक्टरहरु सदस्य छन् । ‘हामीसँग तथ्यांक छैन तर आँकलनअनुसार ४—५ सय नेपाली डाक्टर अष्ट्रेलियामा भएको अनुमान छ,’ उनी भन्छन्, ‘दुई वर्षको आफ्नो कार्यकालमा अष्ट्रेलियाका सबै नेपाली डाक्टरहरुसँग कुरा गरेर उनीहरुलाई संगठनमा आवद्ध गराउने सोच छ ।’