बदलिंदो खानपान र विलासी जीवनशैलीका कारण सुरुमा मानिसहरुमा सुगर, प्रेसर र बाथ रोग सम्बन्धी समस्या देखिन्छन् । ती समस्याहरुको समयमै प्रभावकारी रुपमा उपचार हुन नसक्दा समस्या बढ्दै गएर मिर्गाैलामा समस्या हुन्छ । मिर्गौला रोग सम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्दै गएपनि बिरामीको उपचार गर्ने विशेषज्ञ चिकित्सकहरुको संख्या भने नेपालमै निक्कै कम छ । देशभरमा करिब ८० जना मात्रै मिर्गौला रोग विशेषज्ञ छन् । ती चिकित्सकमध्ये पनि ९० प्रतिशत चिकित्सक काठमाडौंमै छन् ।
बुटवलभन्दा पश्चिम क्षेत्रमा २५ वटा जिल्लामा हालसम्म पनि एक जना पनि मिर्गौला रोग विशेषज्ञ चिकित्सक थिएनन् । विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरुले अनेकौ सास्ती खेप्दै आइरहेका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिम क्षेत्रमा रहेका सात वटा जिल्लाका बिरामीहरु मिर्गौला सम्बन्धी उपचारकै लागि भारतको लखनउ, नयाँदिल्लीदेखि काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता थियो ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्जबाट डिएम नेफ्रोलोजी गरेका डा. सौरभ सिंह हमालले गत सातादेखि नेपालगन्जको भेरी अस्पताल ज्वाइन गरेर उपचार सेवा सुरु गरेपछि पश्चिम नेपालका मिर्गौलाका बिरामीहरुले नेपालगन्जमै गुणस्तरीय उपचार सेवा पाउन थालेका छन् ।
नेपालगन्ज नै घर भएका डा. हमालले नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस र नेपाल मेडिकल कलेज अत्तरखेलबाट मेडिसिनमा एमडी गरेका हुन् । उनले आईओएमबाट मिर्गौला रोगमा डिएम गरेका छन् । डा. हमाल मिर्गौला रोग विशेषज्ञको रुपमा भेरी अस्पताल सेवा दिन सुरु गर्ने पहिलो चिकित्सक हुन् ।
आफ्नै गृह सहरमा फर्किएर यस क्षेत्रका मिर्गौला रोगका बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले भेरी अस्पताल सेवा दिन थालेको डा. हमालले बताए । भेरी अस्पतालको समयपछि नेपालगन्जकै वेष्टर्न अस्पतालमा पनि डा. हमालले बिरामीलाई उपचार सेवा दिनेछन् ।
मानिस शरीरको महत्वपूर्ण अंगको रुपमा रहेको मिर्गौलाको मुख्य काम रगत छान्ने र अनावश्यक तथा दूषित तरल पदार्थ शरीरबाट निष्कासन गरेर पिसाबमार्फत विसर्जन गर्नु हो । मिर्गौलाले एसिडहरु र रसायनहरुलाई पनि सफा गर्नुका साथै शरीरमा नयाँ रगत बन्नका लागि र हड्डी बलियो बनाउन पनि मद्धत गर्दछ । त्यसैले मानव शरीरमा मिर्गौलाको महत्व अत्यन्तै धेरै रहेको छ ।
मिर्गौला फेल भएपछि रगतलाई छान्ने शरीरमा थुप्रिने फोहोरलाई बाहिर निष्कासन गर्ने प्रक्रिया रोकिन्छ । बिरामी सिकिस्त हुँदै जान्छ । बिरामीको अबस्था हेरेर हप्तामा २ देखि पटकसम्म ३ देखि ४ घन्टा सम्म डायलाइसिस गराउनुपर्छ ।
मिर्गौला रोगको उपचार मिर्गौलाका विशेषज्ञ चिकित्सक नेफ्रोलोजिष्टबाट गराउनुपर्छ । तर, नेफ्रोलोजिष्ट चिकित्सक भएका स्वास्थ्य संस्थामा जनरल फिजिसियन र मेडिकल अधिकृतले केही समयको तालिम लिएर प्रारम्भिक अवस्थाका बिरामीलाई उपचार सेवा दिन सक्छन् ।
मिर्गौला रोगका लक्षण
मिर्गौला सम्बन्धी समस्याको समयमै उपचार हुन नसक्दा मिर्गौलाले काम गर्न छाड्दैं जान्छ । मिर्गौलामा कुनै समस्या देखिनासाथ डायलाइसिस गर्नुपर्ने अवस्था हुँदैन् । त्यसका पनि स्टेजहरु छन्, स्टेप एकबाट पाँचौंसम्म पुग्नका लागि करिब दुई वर्षसम्म लाग्न सक्छ । त्यो दुई वर्षलाई २० वर्ष बनाउन नियमित रुपमा ब्यायाम, नुन र प्रोटिनजन्य खानेकुरामा कन्ट्रोल, चेकजाँच र औषधी सेवन गर्नु पर्छ । मिर्गौला कामै गर्न छाडेका बिरामीलाई डायलाइसिस गर्नुपर्ने हुन्छ भने अन्तिम विकल्प भनेको मिर्गौला प्रत्यारोण नै हो ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा हरेक १० लाख जनसंख्यामा करिब १ सय जनामा मिर्गौला रोग सम्बन्धी समस्या देखिने गरेको अनुमान छ । तीमध्ये करिब २० प्रतिशतलाई डायलाइसिस गरेर उपचारलाई निरन्तरता दिनुपर्ने हुन्छ । तर, विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामीहरुले समयमै गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।
पछिल्ला दिनहरुमा मिर्गौला रोग सम्बन्धी समस्या भएका बिरामीहरुको संख्या बढ्दै गएको छ । समयमै रोगको पहिचान गरी उपचार गर्न नसक्दा मिर्गौला फेल भएर देशभरमा करिब ५ हजार ५ सय बिरामीहरुले नियमित रुपमा डायलाइसिस गराइरहेका छन् । चिकित्सकहरुले मिर्गौला फेल भएका बिरामीहरुले सकेसम्म छिटो मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिने गरेका छन् । तर, नेपालमा मिर्गौला प्रत्यारोपण त्यति सहज र सबैको पहुँचमा छैन । त्यसैले अधिकांश बिरामीहरुले नियमित रुपमा डायलाइसिस गराएर जीवनलाई लम्बाइ रहेका छन् ।
डायलाइसिस मिर्गौला रोगको अन्तिम उपचार होइन । अझै पनि कैयौ बिरामीहरु डायलाइसिससमेत गराउन नसकेर ज्यान गुमाउन बाध्य छन् ।
मिर्गौला रोगका लाग्दा खानामा रुचि कम हुने, शरीर सुन्निने, श्वास फेर्न गाह्रो हुने, थकाइ लाग्ने निन्द्रा नलाग्ने, जीउ चिलाउने र अस्वस्थ महसुस गर्नेजस्ता लक्षण देखिन्छ । ३५ वर्ष उमेर पुगेको ब्यक्तिले एउटा मात्रै लक्षण देखिएपनि मिर्गौला खराब भएर हो कि भन्ने आशंका गरेर चिकित्सकसँग परामर्श गर्नुपर्छ । एउटा मात्रै त लक्षण त हो नि भनेर हेलचेक्र्याइ गर्दा मिर्गौला ड्यामेज नै हुने जोखिम धेरै हुन्छ ।
मिर्गौलालाई स्वस्थ राख्ने अर्को उपाय भनेको मिर्गौला फेलिएर हुने कारणहरुबाट सतर्क हुनु नै हो । मिर्गौला फेल हुने सबभन्दा मुख्य कारण डाइबिटिज (सुगर) हो । यदि सुगरलाई नियन्त्रणमा राख्न सक्यो भने त्यसबाट पनि अप्रत्यक्ष रुपमा मिर्गौलालाई सहयोग नै पुगिराखेको हुन्छ । त्यसपछि प्रेसरलाई पनि नियन्त्रणमा राख्न जरुरी छ ।
कहिलेकाही विषजन्य पदार्थहरु जस्तो बारुला, सर्पको टोकाइ, पेनकिलर तथा बढी मात्रामा औषधी सेवनले पनि मिर्गौला फेल हुने जोखिम हुन्छ । हामीले खाएको कुराहरु अन्तमा फिल्टर गर्ने भनेको मिर्गौलाले नै हो र मिर्गौलाले पनि निश्चित क्षमता हुन्छ । यदि क्षमताभन्दा बढी हुन गयो भने फिल्टर गर्न सक्दैन् र शरीरलाई अनावश्यक पदार्थ थिग्रिन थाल्छ । जसको कारण अचानक मिर्गौलाले काम गर्न छोड्छ । त्यस्तो अबस्थामा तत्काल उपचार गरेनौं भने एकेआई (एक्युट किड्नी इन्जुरी) पछि गएर दीर्घकालीन मिर्गौला रोग बन्ने सम्भावना हुन्छ ।
मिर्गौला रोगबाट बच्नका लागि स्वास्थ्य सचेतना अभियान संचालन गर्न अत्यावश्यक छ । सुगर र प्रेसर भएको मान्छे पाँच, छ वर्षदेखि नियमित औषधी खाइरहेको छ भने उसले नियमित चेकजाँच गराएर औषधी थपघट गर्नुपर्ने हुन्छ । सधैं एउटै औषधी खाएर मात्रै हुँदैन् । त्यसैगरी, खानेकुरामा पनि नुन र प्रोटिन धेरै भएको खानेकुराहरु कन्ट्रोल गर्नुपर्छ ।
मिर्गौला स्वस्थ राख्न के गर्ने ?
मिर्गौला स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकको छ । दैनिक २-३ लिटरभन्दा बढी पानी पिउने मानिसमा मिर्गौलाको रोग लाग्ने सम्भावना न्यून हुन्छ । पानीले शरीरमा भएको खराब तत्वलाई पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौला स्वस्थ्य खानामा चिनी तथा नूनको मात्रा घटाउनुपर्छ । धेरैजसो खानेकुराहरुले मिर्गौलामा नै बढी असर गर्छ । त्यही भएर पानी अर्थात् तर तरल पदार्थ धेरै खानु चिकित्सकहरुले सल्लाह दिने गरेका हुन् । पानी धेरै खादा शरीरलाई नचाहिने तत्वहरु मिर्गौलामा थेग्रिन पाउँदैन् । पानी धेरै खायो भने पखाल्दै जान्छ ।
चिकित्सकहरु चेकजाँच गरेपछि केहि समयका लागि औषधी दिएर बिरामीलाई केहि समयपछि फ्लोअपमा बोलाउँछन । तर, एक पटक चेकजाँच गरेपछि फ्लोअपमा चिकित्सकलाई नभेटी चिकित्सकको सल्लाह बिनै बिरामी आफैले औषधी किनेर लामो समयसम्म औषधी खाने समस्या हाम्रो समाजमा अझै पनि कायमै छ ।
चिकित्सकको परामर्श बिनै वर्षौसम्म औषधी खाँदा त्यही औषधीले साइड इफेक्ट गरेर मिर्गौलामा असर पुर्याएका घटनाहरु पनि बढ्दै गएको पाइन्छ । मिर्गौलाको अवस्था थाहा पाउन ३५ वर्ष उमेर पुगेका व्यक्तिले वर्षमा कम्तिमा एक पटक अनिवार्य जाँच गर्दा धेरै राम्रो हुन्छ । मिर्गौलाको परीक्षण वर्षमा एकपटक पनि गरिएन् भने मिर्गौलाको अवस्था बारेमा थाहा हुँदैन् र एक्कासी खराब भएपछि मात्र थाहा हुने हुन्छ । त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ ।
बढ्दो मिर्गौला रोग सम्बन्धी समस्यालाई नियन्त्रण गर्न अभियानकै रुपमा मिर्गौला रोग पहिचान शिविर संचालन गर्नुपर्ने सुझाब डा. हमालको छ । एक पटक विशेषज्ञ चिकित्सकबाट मिर्गौला जाँच गराउँदा २ देखि ३ हजारसम्म लाग्छ । स्वास्थ्य बिमा गराएका ब्यक्तिहरुले नजिकैको अस्पतालमा गएर सहजै मिर्गौला जाँच गराउन सक्छन् । प्रारम्भिक अवस्थामा मिर्गौलामा समस्या छ कि छैन भन्ने थाहा पाउन विशेषज्ञ चिकित्सकसँगै जाँच गराउनुपर्छ भन्ने छैन । समस्या देखिएपछि विशेषज्ञ चिकित्सकलाई देखाउँदा पनि हुन्छ ।
अझै पनि धेरैजसो मानिसहरूलाई मिर्गौलामा लाग्ने रोगको बारेमा जानकारी छैन् । जानकारी नभएकै कारण मिर्गौला खराब भइसकेपछि मात्र चिकित्सकसम्म पुग्छन् । जब ८०– ९० प्रतिशत मिर्गौला बिग्रेपछि अन्तिम अवस्थामा पुगेका बिरामीलाई डायलाइसिस अथवा प्रत्यारोपण गर्नुपर्ने विकल्प मात्रै बाँकी रहन्छ ।