२०८१ मंसीर १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलपहिलो महिला ‘ब्रेस्ट अंकोसर्जन’ डा. बानीरा

पहिलो महिला ‘ब्रेस्ट अंकोसर्जन’ डा. बानीरा


चिकित्सा विज्ञानमा सर्जरीमा पुरुष प्रभुत्व भएको क्षेत्र मानिन्छ । चुनौतीपूर्ण र कठिन भएकाले सर्जरीमा बढी पुरुषहरु हावी देखिन्छन् । त्यसैले कमै मात्र महिलाहरु सर्जरीमा आफ्नो करिअर बनाउन चाहन्छन् । नेपालमा महिला सर्जनहरुको संख्या औलामा गन्न सकिने छ । तर, थोरै सही केही विशिष्ट विषय विज्ञता भएका महिला सर्जनहरु पनि नेपालमा छन् । कन्सल्ट्यान्ट ब्रेस्ट अंकोसर्जन डा. बानीरा कार्की युवापुस्ताकी उदीयमान सर्जन हुन् । उनी नेपालकी पहिलो महिला ब्रेस्ट क्यान्सर सर्जन पनि हुन् ।

पाकिस्तानको प्रतिष्ठित किङ एडवर्ड मेडिकल युनिभर्सिटीकी उत्पादन उनले भारतको टाटा मेडिकल सेन्टर, जर्मनीको रोबर्ट कोच करङकेहउसलगायतका ठाउँबाट फेलोसीप गरिकी छन् । काठमाडौंमा प्रमुख अस्पतालहरुबाट सेवा दिइरहेकी डा. कार्की काठमाडौंको बानेश्वरकी हुन् । वि.सं. २०३९ सालमा जन्मिएकी उनी बुवा मुरारीबहादुर कार्की र आमा शकुन्तलाका चार सन्तानमध्ये माइली हुन् । उनका बुवा सरकारी जागिरे थिए भने भने आमा सामाजिक अभियन्ता थिइन् ।

पढेलेखेका अभिभावक भएकाले बानीरा र उनका भाइबहिनीहरुको पढाइ राम्रो शैक्षिक वातावरणमा भयो । बानीराको शिक्षादीक्षा सेन्ट मेरिज स्कुलमा भएको हो । त्यतिबेला अहिलेजस्ता ग्याजेटको जमाना थिएन्, बालबालिकाहरु धेरैजसो परिवार र साथीभाइसँग अट्याचमेन्ट रहन्थे । ‘स्कुलबाट फर्केपछि सबै जना मिलेर बाहिर गएर खेल्थ्यौं,’ उनले बाल्यकालका स्मरण सुनाइन्, ‘त्यो फरक जमाना थियो । अब अहिलेको मान्छे फरक छ । मोबाइल, ल्यापटपले नै सबै समय लिन्छ ।’ डा. बानीरालाई बाल्यकालको रमाइलोपना, मस्ती, फ्यामिली फ्रेण्ड सर्कल अहिले खुबै मिस हुन्छ ।

सेन्ट मेरिजको उत्कृष्ट शैक्षिक वातावरणले उनको अध्ययनशील स्वभावमा पान लगाउँदैं गयो । ‘स्कुल जीवन त लाइफको सबैभन्दा रमाइलो समय हो । एकदमै केयर फ्री भनेर सम्झन्छु,’ उनी भन्छिन्, ‘कम उत्तरदायित्व, त्यतिबेला पढ्नुपर्ने एक मात्रै दायित्व हुन्थ्यो । अहिले सोच्दा त्यो लाइफको एउटा वेस्ट टाइम, वेस्ट मुमेन्टजस्तो लाग्छ ।’ जति बढ्यो त्यति थपिदैं जाने जिम्मेवारी, व्यस्तता र तनावलाई उनले राम्ररी अनुभव गरेकी छन् ।

स्कुल जीवनमा उनको अधिकांश समय पढाइमै बित्यो । उनलाई अतिरिक्त क्रियाकलापहरुभन्दा कोर्स बुक र साहित्य किताबहरुमा बढी रुचि थियो । त्यही कारण अरु खेलकूद मैदानमा हुँदा उनी लाइब्रेरी हुन्थिन् । कोर्स बुकहरुमा उनलाई गणित मनपर्ने विषय थियो । स्कुल जीवनदेखि नै डा. बानीरा डाक्टर बन्न चाहन्थिन् । ‘त्यही भएर होला म धेरै म्याथ र बाइलोजी पढ्थें,’ उनले भनिन् । पढाइ राम्रो भएकाले बुवाआमाले पनि उनको सपनामा रंग भरिदिए । सन् १९९९ मा उनले सेन्ट मेरिजबाट एसएलसी उत्तीर्ण गरिन् ।

त्यहीबेला उनका बुवाको विराटनगरमा सरुवा भयो । त्यही कारण उनको थप उच्च शिक्षा धरानको दिल्ली पब्लिक स्कुलबाट अगाडि बढ्यो । घोपा क्याम्पको दिल्ली पब्लिक स्कुलबाट सन् २००१ मा उनले प्लस टु सकिन् । प्लस टु सकेपछि उनी आफ्नो डाक्टर बन्ने लक्ष्यलाई केन्द्रमा राखेर तयारी गर्न थालिन् । यही क्रममा पाकिस्तानमा एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाइन् । सन् २००२ मा उनी एमबीबीएस अध्ययनका लागि पाकिस्तान गइन् । पाकिस्तानको काइदे—इ—आजम मेडिकल कलेजमा एमबीबीएस अध्ययन सुरु भयो ।

पाकिस्तानको एमबीबीएस पढाइ टफ थियो । किनभने, त्यहाँ पास हुने संख्या एकदमै कम हुन्थ्यो । अर्कोतर्फ काठमाडौंजस्तो खुला वातावरणमा हुर्किएकी उनले पाकिस्तानमा एडजस्ट गर्नुप¥यो । ‘त्यो ठाउँले मलाई इन्डिपेन्डेन्ट महिला बनायो,’ उनी भन्छिन्, ‘त्यहाँ गइसकेपछि न मम्मी, न ड्याडी जे गर्ने सबै आफै हो ।’ विस्तारै त्यहाँको संस्कृति पनि बुझ्दै गएपछि उनलाई सहज लाग्न थाल्यो ।

डा. बानीरा पाकिस्तान पढ्दा साथीहरुसँग

पाकिस्तान इन्टर्नसीप समेत गरेर एमबीबीएस ६ वर्षको हुन्छ । उनले पाँच वर्ष एमबीबीएस र एक वर्ष इन्टर्नसीप गरेर ६ वर्ष पाकिस्तानमा बिताइन् । एमबीबीएस पढेकै ठाउँमा इन्टर्नसीप गर्नुपर्ने नियम भएकाले उनले त्यही इन्टर्नसीप गरिन् । सन् २००८ मा उनी इन्टर्नसीपसमेत सकेर काठमाडौं फर्किइन् । नेपाल फर्केर मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरिन् ।

डा. बानीरा नेपाल फर्कने बेला उनका साथीहरुले पाकिस्तानमै एमडी/एमएस गर्न सुझाएका थिए । तर, ६ वर्ष पाकिस्तानमा बिताएपछि उनलाई धेरै त्यहाँ बसिररहन मन थिएन । साथीहरुको कर गरेपछि उनले एक पटक पाकिस्तानमै जनरल सर्जरीमा विशेषज्ञताका लागि जाँच दिइन् । सर्जरीमा छात्रवृत्ति पाएमात्रै पाकिस्तान पढ्छु भन्ने शर्तमा उनले परीक्षा दिएकी थिइन् । सर्जरीप्रति उनको लगाव बढाइदिने काम उनको प्रोफेसरले गरेका थिए ।

‘म एमबीबीएस थर्ड एयर पढ्दा सर्जन सर प्रा.डा. जावेद इकवाल हुनुहुन्थ्यो,’ डा. बानीरा भन्छिन्, ‘उहाँ एकदमै राम्रो सर्जन । त्यतिखेर भर्खर—भर्खर ल्याप्रोस्कोपी सर्जरी हुन थालेको थियो ।’ ती प्राध्यापकले अस्टे«लियाबाट ल्याप्रोस्कोपीक सर्जरी सम्बन्धि तालिम लिएर फर्किएका थिए । डा. इकवालको सर्जरीको पढाइ र इभनिङमा वार्डहरु गएर केस हेर्न थालेपछि उनमा विस्तारै सर्जरीप्रति रुचि जाग्न थाल्यो । प्राइभेट केसहरुमा डा. बानीरा र उनका साथीहरुले गुरुलाई सहयोग गर्थे । ‘त्यो हेर्दाहेर्दै अहो मलाई पनि यस्तै क्लिन र निट सर्जरी गर्नुछ भनेर म उहाँबाट प्रेरित भएको हो,’ उनी भन्छिन् । त्यही कारण डा. बानीराले एमबीबीएस सकिदा नसकिदैं सर्जन बन्ने अठोट लिइसकेकी थिइन् ।

किङ एडवर्डमा सर्जरी गरिएका बिरामीसँग डा. बानीरालगायतको टिम

भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय उनले पाकिस्तानको लाहोरस्थित किङ एडवर्ड मेडिकल युनिभर्सिटीमा जनरल सर्जरीमा विशेषज्ञता हासिल गर्न छात्रवृत्तिमा पाइन् । छोरी ६ वर्ष परदेशमा बसेर फर्किएका कारण डा. बानीराकी आमा पुनः अध्ययनका लागि विदेश पठाउन तयार थिइनन् । तर, डा. बानीराले बुवालाई हातमा लिइन् । परिवार कन्भिन्स भएपछि उनी पाकिस्तानको पुरानो र प्रतिष्ठित किङ एडवर्ड मेडिकल युनिभर्सिटीमा प्राप्त अवसर छोप्दैं सन् २००८ मा पुनः अध्ययनका लागि पाकिस्तान गइन् ।

सर्जरीमा कमै मात्र महिला आउँछन् । यसलाई मेडिकल शिक्षाको पुरुष डोमिनेटेड विधा पनि भनिन्छ । डा. बानीरा पाकिस्तानमा पढ्दा सर्जरीमा रेजिडेन्सी गर्ने उनी एक्ली महिला थिइन् । ‘विश्वकै तथ्यांक हेर्ने हो भने सर्जरी महिलाले कम गर्छन्,’ उनी भन्छिन्, ‘मैले सर्जरीमा गर्दा म मात्र फिमेल थिए ।’ सर्जरीका चार वटा वार्डमा १६ जना रेजिडेन्ट थिए, त्यसमा बानीरा एक्ली महिला । त्यही कारण पनि उनका लागि रेजिडेन्सी अलि बढी संघर्षपूर्ण रह्यो । सुरुवाती दिनहरुमा कतिपयले उनलाई ‘तिमी सक्छौं र ?’ भन्दैं प्रश्न पनि नगरेका होइनन् । कतिले प्लास्टिक सर्जरी रोज्ने सल्लाह पनि उनलाई दिएका थिए ।

तर, सर्जरीप्रति डा. बानीराको मोह यति थियो कि उनी सबै कुराहरु झेल्न मानसिक रुपमा तयार थिइन् । सर्जरी वार्डको ड्युटी उतिकै कठिन थियो । ‘तर, त्यसले मलाई धेरै कुरा सिकायो । वार्ड सबै दायित्व लिनुपर्ने, कन्सल्ट्यान्ट आउँदा बिरामीबारेमा फरर ब्रिफिङ गर्नुपर्ने,’ उनी किङ एडवर्डको रेजिडेन्सी स्मरण गर्छिन्, ‘एकदमै कडा थियो । एकदमै धेरै केसहरु पनि आउने भएकाले मैले एक्सपोर्टिज हासिल गर्ने अवसर पाए ।’ शल्यक्रिया कक्षमा उनले कयौं रात जाग्राम बिताइन् । त्यसले उनलाई परिपक्वतासँगै राम्रो अनुभव दियो । त्यहीबीच उनले सन् २०११ मा नेपाल फर्केर डा. आरोग्य कण्डेलसँग विवाह गरिन् । त्यसपछि पुनः पढाइका लागि पाकिस्तान फर्किइन् । पाकिस्तानमा रेजिडेन्सी एकै पटक पास गर्न पनि गाह्रो हुन्छ तर उनी पहिलो प्रयासमै पास भइन् । उनको ब्याचका दुई जनामात्रै पास भएका थिए ।

धुलिखेलमा सर्जरी गर्दै डा. बानीरा

चार वर्षको रेजिडेन्सी सकेपछि डा. बानीरा सर्जनका रुपमा सन् २०१३ मा नेपाल फर्किइन् । लामो पढाइको श्रृखलापछि उनलाई केही समय ब्रेक चाहिएको थियो । त्यहीकारण उनी रेजिडेन्सी सकेर नेपाल फर्केपछि ब्रेक लिनका लागि अष्ट्रेलिया गइन् । उनका श्रीमान त्यही थिए । अष्ट्रेलियामा केही समय बिताएपछि उनी नेपाल फर्किइन् । त्यसपछि उनी वर्ल्ड ल्याप्रोस्कोपी हस्पिटल भारतमा फेलोसीप गर्न गइन् ।

नेपाल फर्केपछि उनले केही समय काठमाडौं नेशनल हस्पिटलमा काम गरिन् । त्यसपछि चितवनस्थित पुरानो मेडिकल कलेज उनले जीआईमा एमसीएच सुरु गरिन् । ‘मैले कि म ल्याप्रस्कोपी र जिआईमा सुपरस्पेसियालिटी गर्छु सोचेको थिए,’ उनले भनिन्, ‘अर्को ब्रेस्ट क्यान्सर सर्जरी थियो ।’ बाहिर जाने इच्छा थिएन, नेपालमा त्यो बेला ब्रेस्टसँग सम्बन्धिन फेलोसीप र कार्यक्रम थिएनन् । त्यही कारण उनी जीआईमा एमसीएच गर्न चितवन पुगेकी थिइन् । सन् २०१४ मा उनले पुरानो मेडिकल कलेजमा एमसीएच ज्वाइन गरिन् । झन्डै एक वर्ष अध्ययनमा चित्त नबुझेपनि उनले त्यसलाई बीचमै स्थगन गरिन् । ‘मलाई क्वालिटी एजुकेशन चाहिएको थियो,’ उनले भनिन्, ‘डिग्री मात्रै होइन ।’ त्यसपछि उनी काठमाडौं आइन्, त्यहीबीच नेपालमा महाभूकम्प भयो । लगतै, आमा बिरामी भएपछि केही समय आमाको उपचारमा बिताइन् ।

केही समयपछि ल्याप्रोस्कोपी सर्जरीमा धुलिखेलमा काम गर्ने अवसर पाएपछि डा. बानीरा धुलिखेल अस्पताल ज्वाइन गरिन् । ‘ल्याप्रस्कोपीक सर्जरीप्रति रुचि भएकाले म धुलिखेल गए,’ उनले सुनाइन्, ‘त्यहाँ म मात्र फिमेल सर्जन थिए ।’ चार वर्ष त्यहाँ काम गर्ने क्रममा जिआई युनिटमा धेरै सिक्ने अवसर पाइन् । लेक्चररका रुपमा काम गरेकी उनले त्यहाँ ल्याप्रोस्कोपीक सर्जरी गरिन्, अझ महिलाहरुको उपचारमा विशेष योगदान दिइन् । यही बेला उनले जर्मनीबाट ब्रेस्ट अंकोप्लास्टिक सर्जरीमा पनि फेलोसीप गरिन् । ब्रेस्टबाट क्यान्सर निकालेपछि ब्रेस्टलाई कसरी सेप दिनेलगायतका तालिम यसमा लिएकी थिइन् । ‘यो एकदम फाइदाजनक छ । ब्रेस्टलाई कसरी बचाउने, क्यान्सर पार्ट मात्र निकालेर स्तनलाई कसरी जोगाउने भन्ने विषय यसमा पर्छ,’ उनले थपिन् ।

जर्मनीमा फेलोसीपमा रहँदा डा. बानीरा साथीहरुसँग

नेपालमा महिला ब्रेस्ट क्यान्सर सर्जनको खडेरी रहेका बेला डा. बानीरा यसैमा थप अध्ययन अवसरको खोजीमा लागिन् । ‘एक त महिला ब्रेस्ट क्यान्सर सर्जन नै थिएनन्,’ उनले भनिन्, ‘साथै, यसमा मेरो रुचि पनि थियो । अर्कोतर्फ बिरामीहरु पनि महिला डाक्टरहरुसँग नै सहजता अनुभव गर्नुहुन्छ ।’ कुराले डा. बानीरालाई तानिरहेको थियो । ‘सो ह्वाई नट यो ब्रेस्ट क्यान्सरमै फरदर फोकस गरौं भन्ने लाग्यो,’ उनले भनिन्, ‘त्यसपछि भारतको टाटा मेडिकल सेन्टर कोलकत्तामा अप्लाइ गरें ।’

सन् २०१९ मा उनी दुई वर्षको छोरालाई छोडेर टाटामा ब्रेस्ट अंकोसर्जरीका लागि एक वर्षे फेलोसीपमा छानिएपछि उनी सन् २०१९ मा कलकत्ता गइन् । ‘त्यहाँ पनि एकदम स्पेसिफिक सेन्टर, हाई भोल्युम सेन्टर,’ डा. बानीरा भन्छिन्, ‘दिनभर काम, रातभर काम । फेरि ब्याक टु स्टुडेन्ट जस्तै भए ।’ यहीबीच कोभिड—१९ महामारी सुरु भयो । उनले कोभिड—१९ महामारीमा बिरामी सेवामा तल्लीन रहिन् । एक वर्षे फेलोसीप सक्काएपछि सन् २०२० मा नेपाल फर्किइन् ।

सन् २०२० को नोभेम्मरदेखि डा. बानीरा कन्सल्ट्यान्ट ब्रेस्ट अंकोसर्जनका रुपमा बीएण्डबी अस्पतालमा काम गर्न थालिन् । अहिले पनि उनी तीन दिन बीएण्डबीमा बिरामी हेर्छिन् । बीएण्डबी ज्वाइन गरेको तीन महिनापछि उनी नर्भिक अस्पतालमा पनि तीन दिन बिरामी हेर्न थालिन् । त्यसबाहेक उनी जावालाखेलस्थित क्लिनिक वानमा पनि बिरामी हेर्छिन् । नेशनल क्यान्सर हस्पिटलमा पनि केही समय बिरामीसँग बिताउँछिन् । चार वटा फरक—फरक सेन्टरबाट बिरामीलाई उपचार सेवा प्रवाह गरिरहेकी डा. बानीराले जावालखेलमा एडभान्स क्लिनिक नामक सेन्टर पनि संचालनमा ल्याउने तयारी गरिरहेकी छिन् ।

‘अब विस्तारै यो ब्रेस्ट क्यान्सरको फिल्डमा चेतना फैलाएर धेरै बिरामीहरुको उपचार गर्नु मेरो लक्ष्य हो,’ उनले भनिन्, ‘नेपाल ब्रेस्ट क्यान्सरको फिल्डमा योगदान दिन मन छ ।’ स्तन क्यान्सरका बिरामी अहिले पनि धेरैजसो उपचारका लागि भारत जाने गर्छन् । भारत उपचार नेपालभन्दा महंगो पनि छ । ‘ती बिरामीहरुलाई नेपालमै ट्रिट्मेन्ट दिने मुख्य उद्धेश्य हो,’ डा. बानीरा भन्छिन् ।

यी युवापुस्ताकी सर्जनलाई के कुराले खुसी दिन्छ ? भन्छिन्, ‘जब बिरामीहरु राम्रो भएर जान्छन्, त्यसले मलाई धेरै खुसी दिन्छ ।’ उनी फुर्सदको समयमा आफ्ना बच्चासँग समय बिताउन रुचाउँछन् । निरन्तर उपचार कर्ममा डटिरहन के कुराले प्रेरणा दिन्छ ? ‘हरेक दिन एउटा नयाँ दिन हो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘मैले यसमा अझ बढी अझ बढी गर्दै जानुपर्छ जस्तो लाग्छ । त्यही कुराले बढी काममा डटिरहन प्रेरित गर्छ ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #किङ एडवर्ड मेडिकल युनिभर्सिटी, #डा. बानीरा कार्की, #प्रा.डा. जावेद इकवाल, #बीएण्डबी अस्पताल, #ब्रेस्ट अंकोसर्जन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ