१ बैशाखबाट नेपालकै अग्रणी वात्सल्य आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले भक्तपुरमा शाखा संचालन गर्दैछ । भक्तपुरको गठ्ठाघरबाट सेवा दिने अन्तिम तयारीमा रहेको वात्सल्यले सबै तयारीलाई पूरा गरिसकेको छ । नयाँ शाखा संचालनको अवसर पारेर वात्सल्यले भक्तपुरबाट झण्डै १२ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएको ‘आईयुआई’ निःशुल्क रुपमा बिरामीलाई गरिदिनेछ । ४ सयभन्दा बढी निःसन्तानहरुको जीवनमा खुशी ल्याउन सफल वात्सल्यले भक्तपुर शाखामा सेवालाई थप गुणस्तरीय र सहज रुपमा उपलब्ध गराउने जनाएको छ ।
वात्सल्य भक्तपुर नेतृत्व युवा फर्टिलिटी विशेषज्ञ ३९ वर्षीया डा. लता श्रेष्ठले गर्ने भएकी छन् । भारत हैदरावादको हेगडे हस्पिटल एण्ड फर्टिलिटी सेन्टरबाट प्रजजन रोगमा एक वर्ष फेलोसीप गरेर फर्किएकी उनी यसअघि झण्डै ८ वर्ष स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा कार्यरत थिइन् । ‘स्त्री तथा प्रसुति रोग विशेषज्ञ रुपमा काम गर्दा धेरै दम्पत्तीहरु निःसन्तानको समस्या लिएर आउनुहुन्थ्यो,’ डा. लता भन्छिन्, ‘त्यो अवस्था मलाई पनि अलिक तनावपूर्ण लाग्थ्यो ।’
स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा केन्द्रीत रहेर उनले केही समय काम गरिन् । ‘बच्चा जन्माइदिँदा त्यो बच्चाको परिवारको मान्छेहरुको अनुहार देखिने खुशीले मलाई निकै आनन्दित बनाउँथ्यो,’ उनी अनुभव सुनाउँछिन्, ‘तर, कतिपय जोडी आमाबुवा बन्न नपाएर तनावग्रस्त अवस्था पनि मैले पाए । त्यस्ता जोडीलाई आमाबुवा बन्न मद्धत गर्न पाउनु झनै ठूलो काम लाग्यो ।’

त्यही कारण डा. लताले निःसन्तान दम्पत्तीहरुको अनुहारमा खुसी फर्काउने योजनाका साथ भारतबाट सन् २०२३ को सुरुमै फेलोसीप पूरा गरेर स्वदेश फर्किइन् । त्यसपछि उनी काठमाडौं आएर निःसन्तान दम्पत्तीहरुको उपचार हुने सेन्टरको खोजीमा थिइन् । त्यही क्रममा उनको भेट नेपालकै अग्रणी आईभीएफ वात्सल्यका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रशान्त सुवेदीसँग भयो । प्रशान्तले आफूहरुले भक्तपुरमा सेन्टर सुरु गर्न लागेकाले त्यसको मेडिकल नेतृत्व लिइदिन आग्रह गरे । ‘म यस्तै राम्रो सेन्टरबाट धेरै मानिसहरुलाई सेवा दिने मौका कुरिरहेकी थिए,’ उनले भनिन्, ‘उहाँको प्रस्तावपछि म खुसी भए ।’ डा. लताले बढीभन्दा बढी निःसन्तान जोडीहरुको उपचारमा आफूलाई सक्रिय राख्ने योजना बनाइरहेकी छन् ।
झापाको भद्रपुरमा जन्मिएकी हुन्—डा. लता । लिलाप्रसाद श्रेष्ठ र भगवती श्रेष्ठका तीन छोरीमध्ये उनी जेठी हुन् । उनका बुवाआमा दुवै जना राष्ट्रिय वाणिज्य बैंकका जागिरे थिए । त्यसकारण छोरीहरुलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने उनीहरुलाई राम्रोसँग थाहा थियो । घरको ठूली छोरी भएकाले पनि लतामा सानैदेखि राम्रो पढ्नुपर्छ भन्ने भावना थियो ।
डा. लताको प्रारम्भिक शिक्षा विदुर इंग्लिस बोर्डिङ स्कुलबाट भएको हो । ‘घरको ठूलो छोरी हुँ । बुबाआमाले सानैदेखि तिमीहरु राम्रोसँग पढ्नुपर्छ । आफ्नो खुट्टामा उभिनुपर्छ भनेर हौसला दिनुहुन्थ्यो,’ उनले आफ्नो बाल्यकाल स्मरण गरिन् । डा. लताको पढाइमा देखिएको लगनशीलता उनका अन्य दुई बहिनीहरुले पनि अनुशरण गरे । भनिन्छ ‘हुने विरुवाको चिल्लो पात’ डा. लता पनि स्कुल जीवनदेखि नै कक्षामा सधैं फष्ट हुन्थिन् । स्कुल जीवनमा अंग्रेजी, साहित्य, कथा वाचन उनलाई खुबै मन पर्थे । ‘निबन्ध लेख्ने, आर्ट गर्ने, नाच्नेजस्ता कुरामा जिल्लास्तरीय प्रतियोगिताहरुमा भाग लिन्थें,’ उनले सुनाइन्, ‘मैले धेरै पुरस्कारहरु पनि पाएको छु ।’

उनले कक्षा ५ र ८ मा जिल्लास्तरीय परीक्षा पनि टप गरिन् । वि.सं. २०५६ सालमा विदुर इंग्लिस बोर्डिङबाटैं उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी हुन् । लताले एसएलसीमा पूर्वाञ्चल विकास क्षेत्र टप गरेकी थिइन् । त्यसपछि थप उच्च शिक्षाका लागि उनी काठमाडौं आइन् । काठमाडौंको तीनकुनेस्थित भिएस निकेतनबाट उनले सन् २००२ मा प्लस टु अध्ययन सकिन् ।
उनका बुवाले सानैदेखि डाक्टर वा इन्जिनियर बन्नुपर्छ छोरी भनेर प्रोत्साहन गरिरहन्थे । परिणाम, डाक्टर बन्ने सपना लताको मनमा गड्यो । ‘म सानोमा पनि डाक्टर बनेर खेल्न रुचाउँथे अरे,’ उनले आफ्नो डाक्टरी यात्राबारेको किस्सा खोलिन्, ‘यो पेशाबाट समाजमा सकारात्मक सेवा प्रदान गर्न सकिन्छ । अन्तिम अवस्थासम्म पनि सेवा गर्न मिल्ने भएकाले डाक्टर बन्ने निर्णय गरें ।’
डा. लताको डाक्टरी यात्राको औपचारिक सुरुवात भने सन् २००४ मा भएको हो । उनी एमबीबीएस इन्ट्रान्स पास गरेपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा त्यही वर्ष एमबीबीएस अध्ययनका लागि भर्ना भइन् । सन् २००९ मा उनको डाक्टर बन्ने सपना पूरा भयो । उनले एमबीबीएस अध्ययन पूरा गरिन् । त्यसपछि डा. लता पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा सेवा गर्न गइन् । त्यहाँ केही समय सेवारत रहेपछि उनले विशेषज्ञता हासिल गर्ने योजना बनाइन् ।

विशेषज्ञता हासिल गर्नका लागि उनी सन् २०१२ मा फिलिपिन्सको मनिला गइन् । मनिलास्थित जोस आर. रेज मेमोरियल मेडिकल सेन्टर (जेआआरएमएमसी)बाट स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरिन् । ‘त्यहाँ ४ वर्षमा एमडी सकेर सन् २०१६ मा नेपाल फर्किए,’ उनले भनिन् । सन् २०१६ मा नेपाल फर्केर उनले ६ महिना नर्भिक अस्पतालमा काम गरिन् । त्यसपछि झापाको विर्तामोडको विर्ता सिटी हस्पिटल गइन् । विर्ता सिटी अस्पतालमा उनले बिरामी सेवामा ६ वर्ष बिताइन् । त्यही रहँदा उनले निःसन्तान दम्पत्तीहरुको पीडा बुझ्न पाइन् । त्यसपछि सन् २०२२ मा भारत हैदरावादको हेगडे हस्पिटल एण्ड फर्टिलिटी सेन्टरमा गएर एसिस्टेड रिप्रोडक्टीभ टेक्नोलोजी (एआरटी)मा फेलोसीप गरिन् ।