डा. टेकेन्द्र चौलागाई । डेन्टलका युवा चिकित्सकमाझ परिचित नाम हो । नवौं तहका सरकारी चिकित्सक उनी कान्ति बाल अस्पतालका कन्सल्ट्यान्ट अर्थोडोन्टिष्टका रुपमा कार्यरत छन् । १ वर्षदेखि कान्ति अस्पतालमा बालबालिकाका मुख तथा दन्त समस्याको उपचार गर्दै आएका उनी सिर्जनशील र लगनशील युवा चिकित्सकमा पर्छन् । ३३ वर्षकै उमेरमा सरकारी सेवाको नवौं तहमा जागिरे उनी भविष्यमा यही सेवामा समर्पित रहेर बिरामीको सेवा गर्ने सोचमा छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा अर्थोडोन्टिष्टमा पिजी गरेका उनी त्यसभन्दाअघि तीन वर्ष इलाम अस्पतालमा डेन्टल सर्जनका रुपमा बिरामी सेवामा बिताए । वि.सं. २०७२ सालमा लोकसेवाको परीक्षा दिएका उनले पहिलो प्रयासमै ८ औं तहमा नाम निकाले । यही वर्ष उनी आन्तरिक प्रतिस्पर्धाबाट नवौं तहमा बढुवा भएका हुन् ।
सामान्य परिवारदेखि डेन्टल सर्जनसम्म डा. टेकेन्द्र यात्रा रमाइलो छ । वि.सं. २०४६ सालमा खोटाङमा जन्मिएका हुन्, उनी । बुवा परशुराम चौलागाई र आमा गंगादेवी चौलागाईंका ५ सन्तानमध्ये उनी कान्छा हुन् । उनका बुवा सरकारी स्कुलमा प्राधानाध्यापक थिए भने आमा गृहणी ।
टेकेन्द्रको बाल्यकाल मोरङमा बितेको हो । मोरङ रंगेलीमा उनले आफ्नो पूरै बाल्यकाल बिताए । ‘खेल्यो, पढ्यो रमाइलोसँग बाल्यकाल बित्यो,’ उनले सुनाए । रंगेलीकै त्रिभुवन माध्यमिक विद्यालयबाट उनको प्रारम्भिक शिक्षादीक्षा अगाडि बढेको हो । सानैदेखि पढाइमा अब्बल डा. टेकेन्द्रले कक्षा ८ मा मोरङ जिल्ला टप गरेका थिए । स्कुलमा उनी सदैव प्रथम हुन्थे । ‘कक्षा १ देखि कक्षा १० सम्म नै म फष्ट भएँ,’ उनले सुनाए ।
स्कुल जीवनमा उनी पढाइसँगसँगै क्रिकेट पनि खुब खेल्थे । त्यो बेला भर्खर—भर्खर पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीको चर्चा चुलिएको थियो । ‘म क्रिकेट खेल्न स्कुल गए भने सबैले ए धोनी आयो, धोनी भन्थे,’ उनी स्मरण गर्छन्, ‘म आफ्नो गाउँमा, टोलमा क्रिकेट खेलबाट समेत पपुलर थिए ।’ क्रिकेट राम्रो खेल्ने भएकाले उनले क्लबबाट समेत क्रिकेट खेले । तर, पढाइका कारण उनको क्रिकेट यात्रा लामो सयमसम्म अगाडि बढ्न सकेन ।
त्रिभुवन माविबाटै वि.सं. २०६२ सालमा उनले ७९ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरे । एसएलसीमा उनी सरकारी स्कुलतर्फबाट जिल्ला टप गरेका थिए । उनी थप उच्च शिक्षाका लागि सिर्जना ज्ञानकुन्ज उच्च मावि गए । त्यहाँ उनले बायोलोजी विषय लिएर विज्ञान पढे । वि.सं. २०६५ सालमा प्लस टु उत्तीर्ण गरेपछि उनले १—२ महिना मेडिकल इन्ट्रान्सको तयारी गरे । इन्ट्रान्स दिएपछि उनको बिडिएसमा नाम निस्कियो । बिडिएसमा नाम निस्किएपछि डा. टेकेन्द्रको परिवारको पहिलो डाक्टर बन्ने बाटो खुल्यो ।
वि.सं. २०६५ सालमा उनी बिडिएस पढ्न ए.बी. केडिया डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल वीरगन्ज गए । त्यहाँबाट उनले वि.सं. २०६९ सालमा बिडिएस उत्तीर्ण गरे । ‘म बिडिएस सक्दा २३ वर्षको थिए,’ उनले सुनाए । वि.सं. २०६९ देखि ०७१ सम्म उनले छात्रवृत्ति करारमा ७ महिना कोशी अस्पतालमा र १९ महिना हेटौडा अस्पतालमा काम गरे ।
छात्रवृत्ति करारसँगै उनी पोष्ट ग्राजुयसन (पिजी) र लोकसेवाको तयारी सँगसँगै गरिरहेका थिए । उनले पिजीका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाकिस्तानको एफसीपीएस, न्याम्ससँगै लोकसेवामा पनि नाम निकाले । उनले लोकसेवामा पहिलो प्रयासमा पहिलो नम्बरमै नाम निकाले । ‘त्यो बेला लोकसेवामा चार्म थियो । त्यही कारण पिजीलाई हापेर म लोकसेवाको जागिर गर्न थाले,’ डा. टेकेन्द्र भन्छन्, ‘पिजी विस्तारै गर्छु, जागिर नै खान्छु भनेर लागे ।’ पिजीको अवसरलाई वाइवाइ गरेर सरकारी जागिर रोजे । ‘मैले पिजीमा डेन्टलका सबै विषय पढ्ने अवसर पाएको थिए । तर, सेक्युरिटीलाई हेरेर मैले लोकसेवा छनोट गर्ने निर्णय गरे,’ उनले कारण खोले, ‘पछि पास गरेर कता जागिर खोज्नु भन्ने हिसाबले पनि लोकसेवा नै रोजे ।’ त्यसबाहेक उनले सरकारी जागिर रोज्नुको कारण परिवारका सबै सदस्य सरकारी सेवामै हुनु पनि हो ।
लोकसेवामा जागिर रोजेपछि उनको पोष्टिङ इलाम अस्पतालमा भयो । त्यहाँ उनले डेन्टल सर्जनका रुपमा तीन वर्ष बिरामीको सेवामा बिताए । लगतै उनले पिजीका लागि इन्ट्रान्स दिए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा अर्थोडोन्टिष्टमा पिजी इन्ट्रान्समा खुलातर्फ नाम निस्कियो । वि.सं. २०७५ सालमा उनी पिजी पढ्नका लागि आईओएम गए । वि.सं. २०७८ मा उनले ‘ अर्थोडोन्टिष्ट एण्ड डेन्टल फेसियल अर्थोपेडिक्स’मा पिजी सके । जसअन्तर्गत दाँतमा ब्रास्लेट लगाउने, अनुहारका हड्डी मिलाउनेलगायतका कुराहरु पर्छन् ।
भविष्यमा बढीभन्दा बढी बिरामीलाई सेवा दिने र बालबालिकाको डेन्टल समस्याका बारेमा जनचेतना जगाउने काममा सक्रिय हुने उनको योजना छ । ‘बालबालिकाका दाँतमा समस्या धेरै छ । विदेशबाट पैसा आयो त्यसको व्यवस्थापन चकलेट चाउचाउजस्ता रिफाइन डाइटहरुमा भयो । डायट्री प्याटर्न परिवर्तन भयो,’ उनी भन्छन्, ‘घरकै फाइबरयुक्त खानेकुरा खानाले पहिला—पहिला दाँतमा किरा लाग्दैन्थ्यो ।चकलेटजस्ता खानेकुराहरुले किरा लाग्ने, हड्डी विकास नहुने, नचपाउने खानेकुरा डाइटयुक्त भएपनि कुपोषण देखिनेजस्ता बालबालिकाका समस्या छन् ।’ बालबालिकाको किरा लागेको दाँत फुकाल्नुपर्ने त हो नि भनेर हेलचेक्रयाइ गर्ने कारणले समस्या थपिएको उनको भनाइ छ ।
मुख स्वास्थ्यका लागि गर्भवती अवस्थादेखि नै ध्यान दिनुपर्ने हुन्छ । गर्भवतीमा मुख फोहोर हुँदा बच्चा कम तौलको जन्मने, डेन्टल पेन हुँदा प्रिम्याचुर डेलिभरी हुनेजस्ता समस्या देखिन सक्ने उनी बताउँछन् । बच्चालाई आमाको दुध खुवाउँदैं सुताउने बानीले दुध नै मुखमा हुने भएकाले सबै दाँत कुहिने समस्या हुन्छ । ‘आमाको दुध खाइसकेपछि बच्चाको दुध कपासले पुछिदिने वा पानी खुवाइदिने गर्नुपर्छ,’ डा. टेकेन्द्र भन्छन्, ‘यो समस्या एकदमै धेरै छ ।’ त्यसबाहेक चकलेट कम दिने, दिँदा पनि खानासम्म दिनेजस्ता कुरामा ध्यान दिन उनको सुझाव छ । ‘६—७ वर्षको उमेरदेखि एक पटक डेन्टीष्ट कहाँ परीक्षण गराउनुपर्छ । दाँतको उपचार प्रिभेन्समा ध्यान दिँदा महंगो हुँदैन्,’ उनी थप्छन् ।
बालबालिकाको दाँत र मुख स्वास्थ्यमा विभिन्न कारणहरुले समस्याहरु निम्त्याएको बताउँदैं डा. टेकेन्द्र राज्यका तर्फबाट ती समस्या सम्बोधन गर्नुपर्ने जिकिर गर्छन् । त्यसका लागि पाठ्यक्रममा मुख तथा डेन्टल स्वास्थ्यलाई समेटेर स्कुल तहदेखि नै शिक्षा दिनुपर्ने उनी बताउँछन् ।
फुर्सदको समयमा साथीभाइसँग भेटघाट गर्ने डा. सोसल नेटवर्किङमा बढी विश्वास गर्छन् । त्यही कारण उनी आएको ठाउँदेखि अहिलेसम्म धेरै साथीभाइ कमाएका छन् । कहिलेकाही साथीभाइसँग घुमघाममा पनि निस्कन्छन् । खानपिनमा मम चाउमिन मन पराउने उनलाई दाँत, भात मासु बढी मन पर्छ । उनलाई क्याजुअल पोशाक मन पर्छ । अहिले दाह्री उनको पहिचान बनिसकेको छ ।