‘ड्रिम कम ट्रू’ ।’ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को एमबीबीएसमा प्याथोलोजी विषयमा युनिभर्सिटी टप गरेपछि डा. सरिशा श्रेष्ठलाई अहिले यस्तै अनुभूति भइरहेको छ । डाक्टरीमा स्पेसलाइज्ड गर्दा गोल्ड मेडल हासिल गर्ने सपना बुनेकी उनलाई त्यो सफलता एमबीबीएसमै प्राप्त भयो ।
नहोस् पनि किन उनको छवि नै त्यस्तै छ । ‘टपर छवि’ । ‘एकेडेमिक ओरेन्टेड चाइल्ड’ बनेर हुर्किएकी उनी स्कुल जीवनमा पनि सधैं फष्ट भइन् । त्यतिमात्रै होइन्, कुनै समय ‘इन्ट्रोभर्ट’ स्वभावकी डा. सरिशा सार्वजनिक मन्चमा प्रतिभा प्रस्तुत गर्ने मिस नेपाल प्रतियोगितामा सहभागी भएर यसै महिना ‘मिस नेपाल अर्थ’ नै भइन् । ‘मिस नेपाल अर्थ’सँगै ‘मिस कन्फिडेन्ट’ उनकै पोल्टामा प¥यो । गोल्डेन एयर मानिने २५ वर्ष पुगेकी उनलाई यी दुई सफलताले थप गोल्डेन अनुभव गराइरहेका छन् ।
एमबीबीएसतर्फ प्याथालोजी विषयमा त्रिवि टप गरेको गोल्डमेडल र मिस नेपाल अर्थको ताज दुवै सुन्दर उपहार भएका छन् । असार महिनामै प्राप्त दुवै सफलतामा उनी कस्तो महसुस गर्दैछिन् । भन्छिन्, ‘एकदमै नै खुसी छु । किनभने, म २५ वर्ष पुगे, २५ जनवरी मेरो वर्थ डे हो । २५ वर्षलाई गोल्डेन एयर भन्दोरहेछ,’ उनी खुसी साट्छिन्, ‘दुई वटा गोल्ड एकै महिनामा पाइसकेकी छु । एउटा गोल्डमेडल, एउटा गोल्डेन ताज । आफूलाई एकदमै लक्की पनि ठान्छु ।’
डा. सरिशाको जन्म ललितपुरको पुल्चोकमा भएको हो । बुवा राजकिरण श्रेष्ठ र आमा संगीता जोशी श्रेष्ठका दुई सन्तानमध्ये उनी जेठी हुन् । सरिशाका बुवाका आफ्नै व्यवसायमा संलग्न छन् भने उनकी आमा शिक्षिका हुन् । त्यही कारण उनीहरुले छोरीहरुलाई उत्कृष्ट वातावरणमा शिक्षादीक्षा दिए । सरिशाको शिक्षादीक्षा सेन्ट मेरिज स्कुलबाट भएको हो । उनी सानैदेखि ज्ञानी स्वभावकी थिइन् ।
‘बाल्यकालदेखि म अलि एकेडेमिक ओरेन्टेड चाइल्ड थिए । पढाइमा नै आनन्द खोज्थे,’ उनले बाल्यकालबारे भनिन्, ‘त्यही कारण धेरैजसो समय पढाइमा बित्थ्यो ।’ सानो छँँदा अन्तरमुखी स्वभावकी भएकाले उनको साथीभाइको घेरा पनि सानो थियो । अतिरिक्त क्रियाकलापमा पनि उनी अन्तरमुखी भएका कारण त्यति सक्रिय थिइनन् ।
डा. सरिशा पढाइमा अब्बल भएकाले सधैं स्कुलमा फष्ट हुन्थिन् । ‘ममा टपर मेन्टालिटी नै थियो । त्यही कारण हरेकजसो परीक्षामा म फष्ट हुन्थे,’ उनले सुनाइन् । स्कुल जीवनमा उनलाई सबैभन्दा मनपर्ने विषय कम्प्युटर साइन्स थियो । त्यसबाहेक विज्ञान र अंग्रेजी पनि उनलाई मनपर्ने विषय थिए । टेक्नो लभर भएकाले कक्षा ८ पढ्दासम्म उनको सपना कम्प्युटर इन्जिनियर बन्ने थियो ।
भनिन्छ, सपना र जीवनको लय जति बेला पनि परिवर्तन हुन सक्छ । यो कुरा डा. सरिशाको जीवनमा पनि लागु हुन्छ । जब उनी कक्षा ९ मा पढ्दै थिइन् । उनको एकदमै मिल्ने साथीकी आमाले ‘ब्रेन ट्युमर’ का कारण ज्यान गुमाइन् । ‘म उसको दुःखको सहयात्री बने । त्यतिबेला मलाई बिरामी मात्र होइन्, उसको नजिक भएकाहरुका जीवनमा डाक्टरले कति ठूलो भूमिका खेल्न सक्दोरहेछ भनेर थाहा भयो,’ उनले जीवनमा आइपरेको संयोगको कथा खोलिन्, ‘त्यहीबेला मैले म पनि डाक्टर बन्छु भन्ने अठोट गरे ।’
उनले सेन्ट मेरिजबाट सन् २०१२ मा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि उनी डाक्टर बन्ने सपनामा पहिलो पाइला चाल्दै थप उच्च शिक्षाका लागि माइतीघरस्थित सेन्ट जेभियर्स कलेज गइन् । त्यहाँ उनले बायोलोजी विषय लिएर प्लस टु अध्ययन गर्न थालिन् । कलेज जीवनपछि उनको जीवनको दायरामा पनि केही फराकिलो बन्न थाल्यो । उनलाई लाग्न थाल्यो—पढाइमात्रै सबैथोक होइन् रहेछ, आफूले पढेको कुरा जीवन व्यवहारमा पनि उतार्न आवश्यक छ । त्यसपछि उनी अतिरिक्त क्रियाकलाप तथा सामाजिक कामहरुमा पनि अग्रसर रहन थालिन् । यो अवधिमा उनी विभिन्न क्लबहरुमा आवद्ध भएर काम गरिन् ।
सन् २०१४ मा उनले सेन्ट जेभियर्सबाट प्लस टु सकिन् । त्यसपछि एमबीबीएस इन्ट्रान्स दिइन् । इन्ट्रान्समा नाम निस्किएपछि उनी आफ्नो डाक्टर सपना पूरा गर्नका लागि किष्ट मेडिकल कलेजमा एमबीबीएस पढ्न थालिन् । किष्टमा रहँदा उनी रोटरी क्लबलगायतका विभिन्न संस्थामा आवद्ध भएर सामाजिक काममा अग्रसर रहिन् । त्यहीबेला उनले सहयात्री संस्था पनि स्थापना गरिन् । किष्टबाट उनले सन् २०१९—२० मा आफ्नो सपनाको डिग्री एमबीबीएस उपाधि हासिल गरिन् । एमबीबीएस उपाधिसँगै उनले प्याथालोजी विषयमा विश्वविद्यालय टप गरेर गोल्डमेडल पनि हात पारिन् ।
हामीले उनलाई सोध्यौं आखिर टप गर्ने फर्मुला के हो ? ‘एमबीबीएस धेरै कठिन नै छ । यसमा एकदमै डेडिकेसन र हार्डवर्क आवश्यक पर्छ,’ उनी मुस्कुराउँदै सुनाउन थालिन्, ‘प्याथालोजी विषय त्यस्तो विषय हो, जुन सबै विषयको टुक्रा—टुक्राजस्तो छ तर एकदमै एक्सटेन्सीभ । त्यसमा सर्जिकल, मेडिसिनलगायतका सबै कुराहरु पर्छन् । यो एकदमै गाह्रो विषय पनि हो ।’ त्यही कारण डा. सरिशाले प्याथालोजीका लागि अझ विशेष तयारी गरेकी थिइन् । त्यही तयारीको परिणाम मान्छुपर्छ—उनले गोल्डमेडल नै पाइन् ।
डा. सरिशाकाअनुसार एमबीबीएका पहिलो दुई वर्षमा बढी मेहनत आवश्यक पर्छ । कलेजबाहेक त्यो बेला उनी दैनिक ५—घण्टासम्म पढाइमा बिताउँथिन् । पढाइमा रुचि हुँदा त्यसले तनाव नहुने उनको अनुभव छ । ‘निरन्तर पढिरहँदा तनाव त अलिअलि भैहाल्छ । तर, त्यसमा पनि आफूलाई कसरी बीचमा रेष्ट दिने राम्रो निन्द्रा, खानपान, रेष्ट, परिवारसँग समय बिताएर वा साथीभाइसँग कुराकानीजस्ता कुराहरुमा ध्यान दिनुपर्छ,’ उनी भन्छिन्, ‘योगा, मेडिटेसनजस्ता कुराहरुले पनि यसमा फाइदा गर्छ ।’
डा. सरिशा यो सफलताको प्रमुख कारण आफ्नो लगाव र भाग्यसँगसँगै आफ्ना बुवाआमाको समर्पणलाई मान्छिन् । ‘आमाबुवालाई प्राउड बनाउन सके,’ उनी भन्छिन्, ‘यो कुराले आनन्द दिएको छ ।’ डा. सरिशा सर्जरी वा डर्माटोलोजीमा पिजी गर्न चाहन्छिन् । एमडीमा गोल्डमेडल ल्याउने सपना बुनेकी उनको त्यो सपना एमबीबीएसमै पूरा भयो । ‘टियु गोल्डमेडल मेरो सपना थियो । एमडीमा म ल्याउँछु भनेर सोचेकी थिए,’ उनले भनिन्, ‘त्यो भनेको हाम्रो फिल्ड अफ स्पेसियालिटी पनि हो, जिन्दगीभरि त्यही प्रायक्टिस गर्ने हो । त्यही कारण म त्यसमा गोल्डमेडल ट्राइ गर्छु भन्ने सोच्दै थिए । तर, त्यो सपना अहिल्यै नै पूरा भयो ।’
मिस अर्थको ताज
इन्ट्रोभर्ट डा. सरिशाको अर्को ठूलो उपलब्धि मिस अर्थको ताज हो । कलेज जीवनमा प्रवेश गर्नुअघि अन्तरमुखी स्वभावकी भएकाले उनले कहिल्यै पनि मिस नेपालमा सहभागी हुने सोचेकी थिइनन् । तर, प्लस टु पछि भने उनका जीवनका आयामहरु फेरिएका थिए । त्यही फेरिएका आयाम र सोचहरुले उनलाई मिस नेपालको मञ्चमा पु¥याएका हुन् । ‘प्लस टुमा जब म अतिरिक्त क्रियाकलापमा सहभागी हुन थाले । अनि, मैले हरेक कुरा एक्सपिरियन्स गर्न हिच्किचाउनु हुँदैन र आफूलाई कहिल्यै पनि डाउट गर्नु हुँदैन् भन्ने सिके,’ उनले आफूमा आएका बदलावबारे भनिन् ।
त्यही कारण डा. आफ्नो फैलावटलाई बढाउँदैं गइन् । ‘कस्तो हुँदारहेछ मिस नेपालको अनुभव पनि बटुलौ भन्ने सोचका साथ भाग लिएकी हुँ,’ उनले थपिन्, ‘पूर्व मिस नेपालहरुले गर्नुभएको काम पनि मेरो लागि ठूलो प्रोत्साहन हो ।’ उनको मिस नेपाल अनुभवले पनि एउटा फरक क्षेत्रमा सफलता दिलायो ।
‘लाउड इन क्राउड’ व्यक्तित्वलाई मिस नेपाल अर्थका छानिने भएकाले आफूले त्यो उपाधि जितेको उनी बताउँछिन् । ‘म आफ्नो विचारमा एकदमै फोकस छु । त्यही कारण पनि म भूमिका लागि छानिए सायद,’ उनले थपिन् । मिस नेपाल अर्थका रुपमा उनी अन्तर्राष्ट्रिय एरिना ‘मिस अर्थ’मा सहभागिता जनाउनेछिन् । त्यसका लागि आवश्यक तयारीमा उनी जुटिसकेकी छन् ।
यी सुन्दरी मिस अर्थ भविष्यमा मोडलिङ, चलचित्रजस्ता ग्ल्यामरस इन्डष्ट्रीमा भन्दा पनि आफ्नो चिकित्सक करिअरमा नै फोकस हुने बताउँछिन् । मिस नेपालले दिएको लाइमलाइटलाई सदुपयोग गरेर समाजका लागि योगदान दिने योजना पनि उनको छ । नीति निर्माण, वातावरणजस्ता क्षेत्रमा पनि उनलाई केही गर्न मन छ ।