आकर्षक जिउडाल । मोहित पार्ने रुप । कन्फिडेन्ट स्वभाव । हेर्दा कुनै सिनेमाको हिरोइनजस्तै देखिन्छिन्—अमृता मोक्तान । गठिलो आकर्षक शारीरिक वनावटकी उनी सहरमा बुलेट वाइकमा हुँइकिने थोरै युवतीहरुमा पर्छिन् । ‘जिम ट्रेनर’का रुपमा सक्रिय उनी व्यवसायी मात्रै होइनन्, राम्रो पेन्टर पनि हुन् ।
ती सबैभन्दामाथि २९ वर्षीया अमृता पेशाले नर्स हुन् । बिरामी सेवामा तल्लीन रहनुपर्ने यी नर्सका आनीबानी र कामकाज अनौठा छन् । आर्टसमा स्नातक पढ्दा—पढ्दैं बाटोमा हिडिरहेका नर्सहरुको पहिरनबाट मोहित भएर नर्स बनिन् उनी । नर्ससँगै थपिए व्यवसायी, जिम ट्रेनर, मोडलजस्ता फरक—फरक भूमिका । यी सबै भूमिका फिट उनी ‘भर्सटाइल’ छविकी छन् ।
अमृताको जीवन जीउने आफ्नै शैली छ । त्यही शैलीले त उनलाई यति धेरै भूमिकामा फिट बनाएको छ । नत्र सर्लाहीको एक मध्यवर्गीय किसान परिवारमा जन्मिएकी उनी यति धेरै फरवार्ड हुने नै थिइनन् । ‘म सर्लाहीको भएपनि सिरहाको मामाघरमा हुर्किएकी हुँ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको चिया गफमा उनले सुनाइन्, ‘हजुरआमा हजुरबुवासँग हुर्किएकी हुँ । एकदमै सामान्य किसानका छोराछोरीजस्तै ।’ गोपालबहादुर मोक्तान र अनिता लामाका एक्ली छोरी हुन्, अमृता ।
उनको प्रारम्भिक स्कुलिङ पनि सिरहामै भएको हो । उनले त्यहाँको स्थानीय स्कुलबाट कक्षा ७ सम्म अध्ययन गरिन् । त्यसपछि सर्लाहीको हरिपुर स्कुलबाट उनले एसएलसी दिइन् । श्री महावीर जनता उच्च माध्यमिक विद्यालयबाट उनले वि.सं. २०६३ सालमा एलएलसी उत्तीर्ण गरेकी हुन् । त्यसपछि अमृता उच्च शिक्षाका लागि काठमाडौं आइन् ।
काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजबाट प्लस टु उत्तीर्ण गरिन् । मोडलिङप्रति रुचि भएकी उनी सन् २००९ मा मिस टिन तामाङमा पनि सहभागी भइन् । पहिलो प्रयासमै उनले मिस टिन तामाङको उपाधि पनि जितिन् । यसले अमृतामा काम गरेपछि सबै कुरा सकिन्छ भन्ने कन्फिडेन्ट बढायो । मदन भण्डारीबाटै प्लस टु सकेपछि उनी त्यही कलेजमा आर्टसमै स्नातक पढ्न थालिन् ।
स्नातक तह दोस्रो वर्ष पढ्दै गरेका बेला उनको आकर्षण नर्सिङ पेशाप्रति भयो । ‘बाटोमा नर्सहरु हिडिरहेको देख्दा मलाई उनीहरुको ह्वाइट पोशाकले निकै आकर्षित गथ्र्यो,’ उनले नर्सिङ किस्सा खोलिन्, ‘सेतो ड्रेस, बिरामीको सेवा, अस्पतालजस्ता कुराहरुले मलाई नर्स पढ्नका लागि प्रेरित ग¥यो ।’ घरपरिवारलाई जानकारी नदिएरै उनी नर्सिङको इन्ट्रान्सका क्लासहरु लिन थालिन् ।
इन्ट्रान्स दिइन् । नाम पनि निस्कियो । ‘इन्ट्रान्स पास भएपछि बल्ल मैले घरमा सुनाए,’ उनले भनिन्, ‘पहिलो पटक मैले सानो मामुलाई सुनाए । उहाँले घरमा कुरा गरिदिन्छु भन्नुभयो ।’ उनकी सानीआमाले घरपरिवारलाई कन्भिन्स गर्ने जिम्मा लिइन् । त्यो समयमा नर्सिङ पेशाप्रतिको आकर्षण उत्तिकै थियो ।
‘नर्स भनेपछि लाहुरे आएर विवाह गरेर लैजान्छ भन्ने एक खालको कन्सेप्ट छ नि त,’ उनले हाँस्दैं सुनाइन्, ‘त्यो टाइममा नर्सिङ फेसन नै थियो ।’ धेरै परिवारहरुमा छोरीलाई नर्सिङ पढाएपछि बाहिरबाट पीआर भएकाहरु आएर लैजान्छन भन्ने सोचाइ पनि थियो । उनको घरपरिवार पनि नर्सिङ पढेपछि छोरीको घरपरिवार सेटल हुन्छ भन्नेमा थियो । त्यही कारण नर्सिङ पढन सहजै अनुमति दिए ।
बालुवाटारस्थित गुणराज पाठक मेमोरियल नर्सिङ कलेजमा उनी पिसीएल नर्सिङमा भर्ना भइन् । सन् २०१४ मा त्यहाँबाट उनले पिसिएल नर्सिङ उत्तीर्ण गरिन् । पिसिएल नर्सिङ उत्तीर्ण भएपछि उनले दुई वर्ष पोखराको कास्की सेवा अस्पतालमा बिरामीको सेवामा बिताइन् । त्यसपछि अल नेपाल हस्पिटलमा एक वर्ष काम गरिन् ।
त्यसपछिका ४ वर्ष मेडिसिटी अस्पतालमा बिरामी सेवामा सक्रिय भइन् । ‘मेडिसिटीका सबै विभागहरुमा काम गरे,’ उनले सुनाइन्, ‘म नर्सिङमा आफ्नो रुचिले गएको मान्छे, मैले आफ्नो सतप्रतिशतमात्रै होइन्, थाउजेण्ड प्रतिशत दिएर काम गरे ।’ त्यही कारण मेडिसिटीमा काम गरेकामध्येमा अमृता राम्रो नर्समा गनिन्छन् । तर, प्राइभेट सेक्टरमा राम्रो काम गर्नेलाई प्रेरित गर्ने र उर्जा दिने संस्कृतिको अभाव भने उनले महसुस गरेकी छन् ।
कोभिड—१९ मा उनी फ्रन्टलाइनमा रहेर बिरामी सेवा तल्लीन रहिन् । ‘दिन रात नभनी बिरामी सेवा खटियौं,’ उनले महामारीको कहालीलाग्दा दिनबारे सुनाइन्, ‘हाम्रो धर्म नै बिरामी बचाउने हो । त्यसमा डराएर पछि हट्ने कुरा भएन ।’
नर्सिङसँगसँगै उनी मोडलिङ र पेन्टिङमा पनि सक्रिय रहिन् । तर, नर्सका लाइफ । राति डयुटी परेका दिन सकेर फर्केपछि दिनभर सुतेर बिताउँथिन् । ‘काम ग¥यो, घर आएर सुत्यो,’ उनले भनिन्, ‘त्यसले हेल्दी लाइफ भएन भन्ने अनुभूति भयो । एक्ससाइजहरु पनि पुग्दैन्थ्यो ।’ त्यहीकारण उनी सुकेधारास्थित ‘अल्फा फिटनेस’मा जिम ज्वाइन भइन् ।
फिटनेसमा ज्वाइन गरेको तीन महिनाजति भएको थियो । अमृताको आँखा फिटनेससँगैको खाली ठाउँमा प¥यो । उनलाई त्यहाँ राम्रो क्याफे चल्न सक्छ भन्ने लाग्यो । त्यो ठाउँ प्रयोग गरेर पैसा कमाउन सकिने कुरा जिम धनीलाई सुनाइन् । अमृतालाई जिम धनीले क्याफे खोल्न मन भए खोल्न अनुमति दिए ।
त्यही ठाउँमा ५ महिनाअघि अमृताले ‘अल्फा क्याफे’ खोलिन् । यसबाट उनको परिचय स्टार्टअप व्यवसायीका रुपमा थपियो । जागिरबाट बचेको समय जिम, क्याफे, मोडलिङ र पेन्टिङमा बिताउन थालिन् । त्यसपछि उनले नर्सिङको पढाइ पनि अगाडि बढाउन आवश्यक ठानिन् ।
क्याफेको व्यवस्थापन र इन्ट्रान्स तयारीलाई समय दिन ४ महिनाअघि मेडिसिटी अस्पतालको जागिर वाइवाइ गरिन् । अहिले उनी पूर्णकालीन रुपमा क्याफे सञ्चालक तथा जिम ट्रेनरका रुपमा समेत काम गर्न थालेकी छन् । ‘म आफै दुई घण्टाजति फिटनेस गर्छु,’ उनले भनिन्, ‘अल्फा र अर्को एक जिममा पनि ‘लेडी ट्रेनर’का रुपमा काम गर्छु ।’
त्यसबाहेक दिउँसोतिर राम्रो प्रोजेक्टमा उनले मोडलिङ पनि जारी राखेकी छन् । ‘सन् २००९ मा मिस टिन तामाङ भएदेखि नै मैले राम्रो प्रोजेक्टहरुमा काम गरिरहेकी छु,’ उनले भनिन्, ‘केही विज्ञापन एवं म्युजिक भिडियोका काम गरेकी छु ।’ पछिल्लो पटक उनले कजिला र समयवाचका लागि पनि मोडलिङ गरेकी छन् ।
‘जीवन कति बहुमूल्य रहेछ नर्स भएपछि थाहा पाएँ’
झण्डै ८ वर्ष नर्सिङ पेशामा बिताएकी अमृता चार महिनादेखि पूर्णकालीन व्यवसायी र जिम ट्रेनरका रुपमा सक्रिय छन् । जसलाई उनी नर्सिङ पेशाबाट अल्पकालीन विश्राम मान्छिन् ।
यी ८ वर्षमा उनले नर्सका रुपमा धेरै अनुभव संगालेकी छिन् । हाकिम नर्सहरुको रुढ व्यवहार उनलाई उति मन परेन् । ‘उहाँहरु सिनियरहरुले प्रेरणा दिनुपर्ने, माया गर्नुपर्ने ठाउँमा हेप्ने बानी हुन्छ,’ उनी अनुभव बाँड्छिन्, ‘सिनियर नर्स भएपछि रुढ व्यवहार देखाउँछन् ।’ नर्सका अधिकारका जति झ्याली पिटे पनि माथिल्लो तहका नर्सहरुबाटै तल्लो तहमा काम गर्ने नर्सहरुले सम्मान नपाएको गुनासो उनको छ ।
ओभरटाइम, तलबलगायतका विषयमा सिनियर नर्सहरुले बोलेमा अस्पताल व्यवस्थापनहरुले सुन्न बाध्य हुने उनी बताउँछिन् । इच्छाले पढेकाहरु आफ्नै सेल्फ मोटिभेसनमा काम गर्छन्, त्यो राम्रो हो,’ उनी भन्छिन्, ‘बिरामी निको भएर जाँदा पाउने माया र आर्शिवादले सबै दुःखहरु भुलिन्छ ।’ जब बिरामी अस्पतालबाट खुसी भएर फर्कन्छ अमृताजस्ता नर्सहरुको जीवनमा त्यो खुसी प्रेरणा बनेर सेवामा तल्लीन रहन उर्जा भर्छ ।
नर्सका रुपमा काम गर्दा जीवनको महत्व र रोगलाई नजिकबाट चिनेको उनले बताइन् । ‘अहिले म यति हठ्टाकठ्टा छु, रोगले एकैछिनमा गलाइदिन सक्छ,’ उनले भनिन्, ‘त्यसैले जीवन कति बहुमूल्य छ भन्ने मेडिकल फिल्डमा काम गर्नेलाई अनुभव हुन्छ ।’