डा. पवन शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ हुन् । उनले भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)बाट मानसिक रोगमा विशेषज्ञता हासिल गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको सेवासँगै उनी एसिस्टेन्ट प्रोफेसरका रुपमा अध्यापनमा पनि संलग्न छन् ।
३५ वर्षीय डा. पवन प्राध्यापन र बिरामी सेवासँगै उद्यममा पनि सक्रिय छन् । उनका काठमाडौंमा केही स्टार्टअपहरुमा लगानी समेत छ । नेपालमा बढ्दो मानसिक स्वास्थ्य समस्या निराकरणमा खटिरहेका उनी अधिकांश समय बिरामी सेवामा बिरामी खटिन्छन्, त्यसबाहेक केही समय आफूले सिकेको ज्ञान हस्तान्तरणमा पनि बित्छ ।
डा. पवन वि.सं. २०४३ सालमा पाल्पाको तानसेनमा जन्मिएका हुन् । बुवा खिमनाथ शर्मा र आमा पद्म देवी शर्माका तीन सन्तानमध्ये उनी जेठा हुन् । मध्यवर्गीय परिवारमा जन्मिएका पवनकी बहिनी डा. प्रमिता कम्युनिटी मेडसिनमा एमडी गरिसकेकी छन् भने अर्की बहिनी सुस्मिता कम्युनिटी नर्सिङमा माष्टर्स गरेर सेवामा सक्रिय छन् ।
परिवारको आर्थिक अवस्था राम्रै भएकाले डा. पवनको पढाइ राम्रो स्कुलबाटै अगाडि बढेको हो । उनले बिजु बोर्डिङ स्कुलबाट कक्षा ५ सम्मको अध्ययन सकाए । त्यसपछि तानसेनस्थित होराइजन बोर्डिङ स्कुलमा कक्षा ८ सम्म पढे । उनका बुवा बुटवल बहुमुखी क्याम्पसमा जागिरे भएकाले उनले कक्षा ९ र १० भने बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलमा पढे । स्कुल जीवनमा उनी पढाइमा अब्बल थिए । उनलाई सबैभन्दा बढी मनपर्ने विषय विज्ञान थियो, अझ त्यसमा पनि बायोलोजीप्रति उनको विशेष अभिरुचि थियो ।
होराइजन बोर्डिङ स्कुलबाटै उनले वि.सं. २०५८ सालमा एसएलसी दिए । भनिन्छ, हुने बिरुवाको चिल्लो पात डा. पवनमा पनि स्कुल जीवनमै त्यो देखिन थालिसकेको थियो । उनी एसएलसीमा ९०.२५ प्रतिशत ल्याएर बोर्ड सेकेन्ड भएका थिए । बोर्ड सेकेन्ड नै भएपछि उनी थप उच्च शिग्क्षाका लागि काठमाडौं आए ।
काठमाडौंमा विज्ञान विषय लिएर प्लस टु पढ्न थाले । सन् २००४ मा उनले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजबाट प्लस टु सके । प्लस टु सकेपछि उनी केही समय एमबीबीएस इन्ट्रान्सको तयारीमा लागे । त्यसपछि उनले एमबीबीएस अध्ययनका लागि मदन पुरस्कार गुठीको छात्रवृत्ति हात पारे ।
छात्रवृत्ति पाएपछि उनी सन् २००५ मा एमबीबीएस अध्ययन गर्नका लागि कलकता मेडिकल कलेज गए । सन् २०११ मा उनले डाक्टरको पहिलो खुडकिलो एमबीबीएस उत्तीर्ण गरे । त्यसपछि केही समय त्यही इन्टर्न गरेपछि विशेषज्ञताको इन्ट्रान्स परीक्षाको तयारीमा लागे । ‘एम्सबाटै विशेषज्ञता हासिल गर्छु भनेर तयारीका लागि नयाँदिल्ली गए,’ उनले सुनाए, ‘त्यहाँ ३—४ महिना काम गर्दै तयारी गरे । तयारी नपुग्ला भनेर ४—५ महिना त पढेरै मात्र बसे ।’ उनको मेहनत परिणाम देखियो, उनले एम्समा साइक्रयाट्रिकमा विशेषज्ञता हासिल गर्ने अवसर पाए ।
‘सन् २०१२ मा एम्समा साइक्रयाट्रिक विशेषज्ञता हासिल गर्न नाम निस्कियो,’ उनले भने । सन् २०१५ मा उनले विशेषज्ञता हासिल गरे । आखिर साइक्रयाट्रिक नै किन त ? ‘यो विषय एमबीबीएसको दोस्रो वर्षदेखि नै मन परेको हो । कि साइक्रयाट्रिक कि न्युरोलोजी गर्छु भन्ने थियो,’ उनले भने, ‘भारतको ठूलो अस्पताल जीबी पन्तमा ३ महिना हाउस अफिसर भएर मैले न्युरोलोजी काम गरेको थिए । त्यसक्रममा न्युरोलोजीमा निकाल्न, अन्य प्रोसेस लामो हुने भएकोले साइक्रयाटिकतिर लागे ।’ साइक्रयाट्रिकमा फङसनल कार्य बढी हुने भएकाले पनि उनको यसप्रति बढी अभिरुचि जागेको हो ।
डा. पवनलाई विशेषज्ञता हासिल गरेपछि उनका प्रोफेसरले भारतमासँगै काम गर्न र अनुसन्धान कर्ममा सक्रिय रहन आग्रह गरेका थिए । तर, झण्डै १० वर्ष पढाइकै सिलसिलामा भारतमा बिताइसकेकाले उनलाई अझै पनि त्यही बसिरहन मन थिएन । त्यही कारण उनी विशेषज्ञता हासिल गर्ने बितिकै नेपाल फर्किए ।
उनी जतिबेला नेपाल फर्किए, त्यहीबेला नेपाल महाभूकम्पको चपेटामा प¥यो । त्यहीकारण एम्सको प्रतिष्ठित डिग्री भएर पनि उनी केही समय बिना काम बसे । तर, विस्तारै मेन्टल हेल्थका प्रोजेक्टहरुमा जोडिए । टिपियो नेपाल नामक एनजीओमा प्रोजेक्ट म्यानेजरका रुपमा काम गरे । त्यही क्रममा रामेछाप, दोलखालगायतका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम दिए । १ वर्ष प्रोजेक्ट काम गरेपछि त्यो सकियो ।
डा. पवनले त्यही बेला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साइक्रयाट्रिक लेक्चररमा जागिरको भ्याकेन्सी देखे । त्यसमा आवेदन दिए । उनको नाम निस्किहाल्यो । उनी पाटनमा लेक्चररका रूपमा काम गर्न थालेको अहिले त ६ वर्ष भइसकेको छ । अहिले उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गराउनुका साथै अस्पतालमा बिरामी पनि हेर्छन् । त्यसबाहेक चिरायु नेशनल अस्पताल, एरोगिन हेल्थ केयर र एक्पर्ट क्लिनिकमा ४ बजेपछि काम गर्छन् । जसमध्ये एरोगिन र एक्स्पर्टमा उनको अलिकति लगानी पनि छ ।
साइक्रयाट्रिक विशेषज्ञ डा. पवनलाई के कुराले खुसी दिन्छ । ‘जब बिरामीले औषधिले गर्दा होइन्, तपाईंले गरेको उपचारले ठिक भयो भन्नुहुन्छ,’ उनी सुनाउँछन्, ‘त्यसले मलाई सबैभन्दा खुसी दिन्छ ।’ उनकाअनुसार अहिले पनि नेपालमा मानसिक स्वास्थ्य समस्यालाई रोगका रुपमा ट्रिट गर्नेहरुको कमी छ । मानसिक स्वास्थ्यका बारेमा सचेतना कार्यक्रमहरु पनि जरुरी रहेको उनी बताउँछन् ।
डा. पवन मानसिक स्वास्थ्यलाई कसरी डिजिटल प्लाटफर्ममा लिंक गर्न सकिन्छ भन्नेमा लागिरहेका छन् । ‘यसको भूमिका के हुन्छ भन्ने कुरामा जोड दिएका छौँ,’ उनले भने, ‘हामीले “एम वेल प्लस’ भन्ने एप पनि तयार गरेका छौँ ।’ ‘कसैले मानसिक स्वास्थ्य कस्तो छ भनेर जाँच्नसमेत मिल्छ,’ उनले थपे, ‘र, मानसिक स्वास्थ्यलाई फाइदा हुने शारीरिक व्यायाम पनि समाबेश गरेका छौँ ।’
अधिकांश समय बिरामी सेवामै रहने भएकाले डा. पवन खासै फुर्सद पाउँदैनन् । बिदाको दिन हुने भएकाले शनिबार पनि उनको धेरै समय रिसर्चमा बित्छ । त्यसबाहेकको बाँकी फुर्सदको समय भने सिनेमा, सिरिज हेर्ने तथा घुम्नमा खर्च गर्छन् ।
यी युवा चिकित्सकको खानपान पनि सामान्य छ । नेपाली खाना रुचाउने उनी मासुका परिकार बढी मन पराउँछन् । पहिरनमा पनि उनी खासै चुजी छैनन् । पहिला जिन्स, टिसर्ट लगाउँथे, अहिले कामको प्रकृतिअनुसार नै फर्मल हुनुपर्ने भएकोले सर्ट र पाइन्ट लगाउँछन् ।