डा. उषा कार्की रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ हुन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा काम गर्दा सन्तान जन्माउन नसकेर दुःखी बनेका धेरै महिलाहरुको पीडा उनले अनुभूत गर्न पाइन् । त्यही कारण उनमा निःसन्तान हुने स्वास्थ्य समस्या निवारणमा काम गर्ने हुटहुटी भयो । त्यही कारण भारतको बैग्लोरस्थित गुणशिला फर्टिलिटी सेन्टरमा एक वर्षे फेलोसिप गर्न गइन् ।
भारतबाट ‘रिप्रडक्टीभ मेडिसिन’मा उच्चस्तरको एक वर्षे फेलोसिप गरेर स्वदेश फर्किइन् । स्वेदश फर्किएर नेपालीहरुको निःसन्तान समस्याको उपचारको तल्लीन छन् । काठमाडौंको नक्साल नारायणचौरस्थित वात्सल्य आईभिएफमा विशेषज्ञ चिकित्सकका रुपमा उनी प्रजनन र निः सन्तान स्वास्थ्य समस्या रहेका बिरामीहरुको उपचारमा सक्रिय छन् । भन्छिन्, ‘निःसन्तानको समस्या भोगिरहेका दम्पत्तिलाई राम्रो उपचार दिने र सकेसम्म उनीहरुको काखमा सन्तानको खुसी भरिदिने उद्देश्यले काम गरिरहेकी छु ।’
विशेषज्ञता हासिल गरेर स्वदेशी भूमीमा कर्म गर्ने लक्ष्यका साथ काममा डटिरहेकी ३६ वर्षीया डा. उषा भविष्यमा यही क्षेत्रमा राम्रो गर्ने योजनामा छन् । वि.सं. २०४२ सालमा सिन्धुलीमा मध्यवर्गीय परिवारमा उनको जन्म भएको हो । बुवा लोकबहादुर कार्की सरकारी इन्जिनियर थिए भने आमा विमला कार्की घरायसी काममै सक्रिय थिइन् । लोकबहादुर र विमलाका तीन सन्तानमध्ये उनी माइली हुन् । उनका एक दाजु र एक भाइ छन् ।
बुवा जागिरको सिलसिलामा काठमाडौंमा बस्थे । त्यहीकारण उनले आफ्ना सन्तानहरुलाई पनि काठमाडौं शिक्षादीक्षा दिए । आफै इन्जिनियर भएकाले लोकबहादुरले सन्तानहरुको शिक्षादीक्षामा पनि विशेष ख्याल गरे । उनीहरुलाई राम्रो स्कुलमा पढाए ।
डा. उषाको शिक्षाको प्रारम्भ ललितपुरको आइजे पाइनर स्कुलबाट भएको हो । त्यही स्कुलबाट उनले सन् २००१ म फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुन् । स्कुल जीवनमा उनको गणितभन्दा विज्ञान विषय बढी रुचि थियो ।
सन् २००१ मा उनी आईएस्सी पढ्नका लागि काठमाडौँ युनिभर्सिटी (केयु) गइन् । सन् २००३ मा उनले उनले आईएस्सी उत्तीर्ण गरिन् । पढाइमा उत्कृष्ट भएकाले उनका आमाबुवाले छोरीलाई डाक्टर बनाउने सपना देखेका थिए । बुवाआमाको सपनामा पनि उनी खरो उत्रिइन् । ‘डाक्टर बन्ने मेरो आफ्नै सपना चाहिँ भन्दिन्,’ हालैको एक दिउँसो हेल्थआवाजसँग उनले भनिन्, ‘तर, मेरो घरका सबैजना डाक्टर पेसामा लागे । बुवाआमाको मलाई डाक्टर बनाउने सपना थियो । त्यही सपनाले मलाई डाक्टर बन्न प्रेरित गरेको हो ।’
एमबीबीएसका पढ्नका लागि काठमाडौं युनिभर्सिटीको इन्ट्रान्समा उनले नाम निकालिन् । इन्ट्रान्समा नाम निस्किएपछि सन् २००३ मा उनी एमबीबीएस पढ्नका लागि केयुअन्तर्गतको काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना भइन् । सन् २००९ मा उनले एमबीबीएस उत्तीर्ण गरेर बुवाआमाको छोरीलाई डाक्टर बनाउने सपना पूरा गरिन् । त्यसपछि किस्ट मेडिकल कलेजमा र अल्का अस्पतालमा केही वर्ष बिरामीको सेवामा बिताइन् ।
केही समय बिरामीको सेवामा बिताएपछि डा. उषा विशेषज्ञता हासिल गर्ने तयारीमा लागिन् । काठमाडौं युनिभर्सिटीमै पिजीको इन्ट्रान्समा नाम निकालेपछि उनको विशेषज्ञता हासिल गर्ने ढोका खुल्यो । सन् २०१६ मा उनी पिजी गर्नका लागि काठमाडौं मेडिकल कलेजमै भर्ना भइन् । तीन वर्षमा त्यहीबाट उनले गाइनोमा एमडी गरिन् ।
‘एमडी सकेपछि केही वर्ष काम गरे,’ युवा प्रजनन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा भन्छिन्, ‘काठमाडौँ उपत्यका बहिर गएर पनि कम गरे ।’ यो अवधिमा उनले डेढ वर्ष नेपाल मेडिसिटी अस्पतालमा स्त्री रोग विशेषज्ञका रुपमा बिताइन् । काम गर्दागर्दै उनको प्रजनन र फर्टिलिटीमा काम गर्ने रुचि बढ्यो । ‘गाइने अब्स हेर्दा अलिअलि केसहरु हेरिन्थ्यो, प्रजनन तथा फर्टिलिटीमा अलि बढी झुकाव रह्यो,’ उनले भनिन्, ‘यसमा पढेर नै केहि गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि फेलोसिप गर्ने योजना बनाए ।’
जतिबेला डा. उषाले फेलोसिपको तयारी गरिन्, त्यतिबेला नेपालमा इनफर्टिलिटी सेन्टरसँगै जनशक्ति पनि निकै अभाव थियो । अहिले पनि इनफर्टिलिटीमा काम गर्ने विशेषज्ञता हासिल गरेको जनशक्ति औलामा गन्न सकिने मात्रै छ । त्यही कारण उनी भारतको बैग्लोरस्थित गुणशिला फर्टिलिटी अस्पतालमा एक वर्षको फेलोसिप गर्न गइन् । त्यहाँबाट ‘रिप्रडक्टीभ मेडिसिन’मा एक वर्षे फेलोसिप सकेपछि उनी नेपाल फर्किइन् ।
निःसन्तानको उपचार आफ्नो विशेषज्ञता खर्चिन थालेकी डा. उषा भविष्यमा यही क्षेत्रमा अघि बढ्ने योजना बनाएकी छन् । ‘काम मात्र नभएर ज्ञान र सीपलाई ब्ल्यालेन्स गर्दै अघि बढ्ने योजना छ,’ उनले भनिन्, ‘मैले हासिल गरेको विशेषज्ञताले केही नेपालीलाई मात्र सुखी दिन सकेमा त्यो उपलब्धि हुनेछ ।’
डा. उषा नेपालमा निःसन्तानको समस्याका कारणबारे गहिरो अनुसन्धानको अभाव भएको बताउँछिन् । ‘अध्ययन चाहिँ भैरहेको छ, गहिरो अध्ययन हुन सकेको छैन,’ उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले यो समस्या १८ प्रतिशत देखाएको छ ।’ उनकाअनुसार निःसन्तानको समस्या प्राइमरी र सेकेण्डरी छ, एउटा बच्चा नै नबस्ने अर्को बसेपछिको समस्या हुने । निःसन्तानको समस्या विश्वमा मात्र नभई नेपालमा पनि बढ्दो क्रममा रहेको उनी बताउँछिन् । ‘यसका लागि विशेष अस्पताल र विशेषज्ञ हुनु आवश्यक छ,’ उनले थपिन्, ‘अनुसन्धान र जनशक्ति धेरै नै आवश्यक छ ।’
सामान्य जीवनशैली
डा. उषा बिरामीबाहेकको समय घरायसी काममा बिताउँछिन् । उनको जीवनशैली पनि सामान्य छ । उनी घरमै पाकेको खानेकुरा खान्छिन् । बाहिरको प्रायः खादिनन् । उनलाई नेपाली खाना नै मन पर्छ ।
मेन्टल र फिजिकल फिटनेसमा फिट रहनका लागि आवश्यक व्यायामहरु गर्छिन् । ‘फिजिकल फिटनेसलाई खानपिन र व्यायाम चाहिन्छ,’ उनी भन्छिन्, ‘सकेसम्म गर्छु । मेन्टल हेल्थका लागि आफूलाई खुसी राख्न प्रयास गर्छु ।’ तनावमुक्त हुनका लागि गीत संगीत सुन्छिन् ।
पहिरनमा पनि उनी उति चुजी छैनन् । उनलाई पश्चिमी पहिरनभन्दा नेपाली पहिरन नै मनपर्छ ।
समय मिलेका आफ्नो विषयको किताब पढ्छिन् । बढी समय प्रेरणा दिने खालको भिडियो हेर्नमा बिताउँछिन् । फिल्म भने खासै हेर्दिनन् । आफ्नो क्षेत्रमा नयाँ कुरा के—के आएको छ भनेर हेर्ने, सिक्ने, वेबमिनार एटेन्ड गर्नेमा उनको धेरैजसो समय बित्छ ।
इन्डोर प्लान्टहरुमा उनको रुचि छ । परिवारसँग बस्न पाउँदा खुसी लाग्ने उनी व्यवसायिक रुपमा प्राप्त सफलता पनि खुसी हुन्छिन् । ‘आफूले उपचार गरेको बिरामी ठिक भयो, उसले खुसी व्यक्त गर्छ भने त्यो जस्तो खुसी केही लाग्दैन् रहेछ,’ कुराको बिट मार्दै उनले सुनाइन् ।