सिनामंगलस्थित १०० शैय्याको होप अस्पतालको कमाण्ड ३० वर्षीया डा. दीपा खनालले सम्हालिरहेकी छन् । १ फागुनबाट सञ्चालनमा आएको होप अस्पतालको मेडिकल नेतृत्व यी युवा चिकित्सकको काँधमा छ । विशेषज्ञ चिकित्सकसहित एक सय बढी कर्मचारीसँगै अस्पतालका हुने सबै किसिमका चिकित्सा गतिविधीको निगरानी उनकै जिम्मामा छ । यसबाहेक अस्पतालमा सेवा विस्तारलगायतका नयाँ योजना र जनशक्ति परिचालन पनि उनले नै गरिरहेकी छन् ।
‘हामीले भर्खरै अस्पताल सञ्चालनमा ल्याएका छौं,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग मेडिकल निर्देशक डा. दीपाले भनिन्, ‘अस्पतालका सबै कुराहरु व्यवस्थित गर्न लागिरहेका छौं । सुरुवाती जनशक्ति व्यवस्थापनको अलि चुनौती छ । यसलाई हल गर्नतिर लागिरहेकी छु ।’ अहिले अस्पतालमा पेडियाट्रिक, जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, हाडजोर्नी तथा नसा रोग, इएनटी, जनरल सर्जरी, छाला तथा यौनलगायतका सबैजसो विशेषज्ञ सेवा सेवाहरु सञ्चालनमा छन् । ८ वटा आईसीयु बेडबाट आईसीयु सेवासमेत अस्पतालले दिइरहेको छ ।
३० वर्षकै उमेरमा अस्पतालको मेडिकल नेतृत्वजस्तो गहन जिम्मेवारी सम्हालिरहेकी डा. दीपालाई कस्तो अनुभव भइरहेको छ ? ‘युवापुस्ताले चुनौती लिनका लागि तयार हुनुपर्छ । मैले पनि यो चुनौती लिएकी छु,’ उनले सुनाइन्, ‘परिवारबाट पनि यसमा मलाई पूर्णतयाः सहयोग छ ।’ उनका श्रीमान डा. सीमेन्द्र झा पनि छाला रोग विशेषज्ञ हुन् । डा. झालगायत उनका परिवारका अन्य सदस्यले पनि उनलाई थप सहयोग छ ।
‘टर्सरी लेभल’को हस्पिटलको युवा उमेरमै मेडिकल नेतृत्व सम्हालिरहेकी डा. दीपा पेशाले बाल रोग विशेषज्ञ हुन् । गोरखाको भीमसेन गाउँपालिकामा जन्मिएकी हुन्, उनी । बुवा ठाकुरप्रसाद खनाल र आमा गीता खनालका तीन वटा सन्तानमध्येमा दीपा माइली हुन् । उनको हजुरबुवा पुस्ता कृषिमा संलग्न थियो ।
बुवा ठाकुरप्रसाद भनेपछि पर्यटन क्षेत्रमा सक्रिय भए । उनले ट्राभल एण्ड ट्रेकिङ व्यवसाय गरिरहेका छन् । दीपाको क, ख, रा को श्रीगणेश भने स्थानीय जागेश्वर माध्यमिक विद्यालयबाट भएको हो । सानैमा पढाइभन्दा गायन र नृत्यमा बढी रुचि दिन थालेपछि उनी बुवाआमाले काठमाडौं ल्याए । होस्टेलमा बसेर इमाडोलस्थित स्टार एकेडेमीबाट २ कक्षासम्म अध्ययन गरिन् । त्यसपछि उनी थप शिक्षाका लागि पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुल गइन् ।
स्कुलमा उनलाई अतिरिक्त क्रियाकलाप मन पर्थे । ‘म गीत गाउन, नाच्न बढी मन पराउँथे,’ उनी सुनाउँछिन्, ‘मलाई रमाइलो गर्न मन पथ्र्यो ।’ स्कुलमा उनलाई गणित र विज्ञान विषयमा बढी रुचि थियो । स्कुल पढ्दैंबाट उनले डाक्टर बन्ने सपना देखेकी थिइन् । किन ? ‘मेरो परिवारमा कोही पनि डाक्टर हुनुहुन्थ्यो,’ डाक्टर सपनाको कारण खोल्छिन्, ‘केही समस्या प¥यो भने कसलाई सोध्ने, के गर्ने भन्ने समस्या हुन्थ्यो । एक जनाले पढ्यो भने सजिलो भयो । म राम्रै विद्यार्थी भएकाले पनि त्यो मेरो सपना बन्यो ।’
भानुभक्त मेमोरियल स्कुलबाटै उनले वि.सं. २०६३ सालमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि उनी क्याम्पियन कलेजमा प्लस टुमा विज्ञान विषय पढ्न थालिन् । वि.सं. २०६६ सालमा विशिष्ट श्रेणीमै प्लस सकिन् । प्लस टु सकेपछि उनी आफ्नो सपना पूरा गर्ने बाटोमा तत्लीन भइन् । एमबीबीएसको इन्ट्रान्सका लागि तयारी कक्षाहरु लिइन् । कडा मेहनतको प्रतिफल उनले पाइन् । उनको काठमाडौं विश्वविद्यालयको एमबीबीएसको इन्ट्रान्समा नाम निस्कियो ।
त्यसपछि उनी एमबीबीएस अध्ययनका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भइन् । सन् २०१४ मा उनले काठमाडौं युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरिन् । काठमाडौं मेडिकल कलेजबाटै इन्टर्न पनि सकिन् । त्यसपछि झण्डै एक वर्ष उनले उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल बाँसबारीमा मेडिकल अधिकृतका रुपमा काम गरिन् ।
डा. दीपा त्यसपछि थप विशेषज्ञता हासिल गर्नका लागि एमडीको इन्ट्रान्सको तयारीमा जुटिन् । काठमाडौं युनिभर्सिटीको पिजीको इन्ट्रान्समा नाम निस्कियो । पेडियाट्रिकमा एमडी गर्नका लागि उनी सन् २०१७ मा काठमाडौं मेडिकल कलेजमा भर्ना भइन् । पेडियाट्रिक नै किन त ? भन्छिन्, ‘मेरो अगाडि ¥यांकमा नै नाम निस्किएको थियो । अरु विषयहरु पनि पढ्न पाउँथे । तर, मलाई बालबालिकाहरुप्रति एकदमै रुचि थियो ।’ डा. दीपाकाअनुसार एमबीबीएस पढ्दैदेखि आफूलाई मनपर्ने विषय थाहा भइसक्छ । उनलाई बालबालिकाहरुसँग रमाइलो लाग्थ्यो, त्यही कारण पेडियाट्रिक उनको रोजाइमा परेको हो ।
सन् २०२० मा डा. दीपाले पेडियाट्रिकमा विशेषज्ञता हासिल गरिन् । बाल रोग विशेषज्ञ बनेपछि उनी ह्याम्स अस्पतालमा काम गर्न थालिन् । एक महिनादेखि उनी होप हस्पिटलमा मेडिकल निर्देशकको भूमिकामा छन् । ‘आफ्नै फिल्ड भएकाले केही राम्रो गरौं भनेर लागिरहेकी छु,’ उनले भनिन्, ‘मेरो परिवारका सदस्यहरुको पनि साथ र सहयोग छ ।’ अब अस्पतालमा उपकरण थप्नेदेखि भौतिक संरचना, जनशक्ति व्यवस्थापनका कामहरुको उनको जिम्मा आइपुगेका छन् ।
‘सम्पूर्ण सेवा उपलब्ध गराउने गरी हस्पिटललाई अगाडि लैजान्छौं,’ उनले भनिन्, ‘त्यसबाहेक मलाई एउटा कार्डियाक सेन्टर अस्पतालमा बनाउन मन छ । किनभने, गंगालाल र मनमोहनबाहेक अरु कार्डियाक सेन्टरहरु यहाँ छैनन् ।’ कार्डियाक बृहत क्षेत्र भएकाले त्यसका लागि आवश्यक स्रोत र जनशक्ति जुटाउनुपर्ने भएकाले केही समय लाग्ने उनले सुनाइन् । त्यसबाहेक जनशक्तिको सन्तुष्टिलाई पनि उनले जोड दिएकी छन् ।