पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा उमेरले ७ दशक काट्नै आँटे । करिब ३७ वर्ष त उनले आम नागरिकको स्वास्थ्य उपचार र हेरचाहमै बिताए । लामो समय बिरामीसँगै बिताएका प्रा.डा. थापालाई उमेरको ६७ औं वर्षमा पनि पेसागत विश्रामको चाहना र थकान भने छैन । ‘सरकारी सेवाबाट रिटायर्ड भएको हो, बिरामीको सेवाबाट होइन्,’ उनले भने । उनले पहिलेजस्तो रात, दिन नभनी बिरामी त हेर्दैनन्, सरकारीबाट निवृत्त भएपछि पनि निजी स्वास्थ्य संस्थामार्फत निश्चित समय तोकेर बिरामीलाई सेवा दिइरहेका छन् । उनले भेटेका बिरामी स्वास्थ्यमा जटिलता आउनासाथ उनैलाई खोजिहाल्छन् ।
सामुदायिक क्षेत्रका सेती गंगा सामुदायिक र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, सरकारी क्षेत्रका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सेवा दिएका प्रा.डा. थापाले फेवासिटी अस्पतालमार्फत निजी क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा योगदान पु¥याइरहेका छन् । तीनै क्षेत्रबाट समान सेवा दिएका थापालाई चिन्ने बिरामी अहिले पनि प्रतीक्षामै हुन्छन् । ‘डाक्टरले जाँच गर्दा ४ चरण अपनाउनुपर्छ; कानले सुन्ने, आफ्नै हातले छाम्ने, आँखाले हेर्ने र प्रविधिको प्रयोग गर्ने,’ यी लामो दौडका चिकित्सकले सुनाए ।
डाक्टरले बिरामीबाट सुनेर, बिरामी छामेर र आँखाले हेरेर पनि जटिलताबारे बुझ्न सक्ने भएकाले यो प्रक्रियालाई उनी ‘सोसियल मेडिसिन’ भन्छन् । डाक्टर बिरामीका लागि प्रिय हुने उपाय नै सोसियल मेडिसिन भएको उनको तर्क छ । बिरामीका घरायसी पक्ष, रोजगारी, पारिवारिक, आर्थिक अवस्था, व्यक्तिगत तनाव, स्वास्थ्य जटिलता आदिबारे डाक्टरले सुनेपछि बिरामीमा विश्वास बढ्ने उनको बुझाइ छ । नयाँ पुस्तालाई सोसियल मेडिसिनमा जोड दिन उनी सुझाव दिन्छन् । आधुनिक प्रविधिको रिपोर्टमा मात्र पूर्ण भर पर्दा बिरामीको मर्म बुझ्न नसकिने भएकाले निकटता र विश्वास नबढ्ने उनको निष्कर्ष छ ।
प्रा.डा. थापाले जिल्ला अस्पताल मुस्ताङबाट वि.सं. २०४१ सालमा सरकारी स्थायी सेवा प्रवेश गरेका थिए । त्यहाँ २ वर्ष बिताएका उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सरुवा भयो । वि.सं. २०४६ देखि २०५० सम्म मेडिकल अधिकृत भएर सेवा गरेका थापाले २०५१ देखि २०५५ सम्म भने एमडी अध्ययनमा समय खर्चिए । उनले त्रिभुवन शिक्षण कलेजबाट इन्टरनल मेडिसिनमा एमडी गरे । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २०६४ देखि २०७१ सम्म मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट २०७२ सालमा निवृत्त भएपछि चिफ कन्सल्टेन्ट फिजिसियन प्रा.डा. थापाले गण्डकी मेडिकल कलेजमा डेढ वर्ष मेडिसिन विषय अध्यापन गरेका थिए ।
प्रा.डा. थापाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपतिको जिम्मेवारी सम्हाल्ने सौभाग्य प्राप्त गरे । उनी भन्छन्, ‘वि.सं. २०७३ फागुनदेखि संस्थापक उपकुलपति भएर काम गर्ने अवसर प्राप्त भयो, ४ वर्षे कार्यकालमा ६ वटा विषयमा अध्यापनको वातावरण मिलाइएको छ । नियम, नियमावली बनेका छन्, अध्यापनको आधार तयार भएको छ, एमबिबिएस स्वीकृति प्राप्त भएको छ, २ ब्याज एमडी पढ्दै छन् भने तेस्रो ब्याजको तयारी भइरहेको छ । अब अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिमा चासो दिनुपर्छ । प्रतिष्ठानले अनुसन्धनात्मक पक्षमा जोड दिनुपर्छ, डिएम र एबिएसको तयारीमा अबका भिसी जुट्नुपर्छ, यसको अर्थ तत्कालै भइहाल्नुपर्छ भन्ने होइन ।’ मुटुरोग, स्नायु, अङ्ग प्रत्यारोपणसम्बन्धी सेवा विस्तारमा प्रतिष्ठानले कदम चाल्नुपर्नेमा उनको जोड छ ।
उनी पोखरा लायन्सको अध्यक्ष बने भने पोविवि सभा सदस्य थिए । चिकित्सक संघ गण्डकी प्रदेश अध्यक्षसमेत भएका थापाले शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । पोखरामा सरकारी सेवामा रहेका डा. थापा शुक्लागण्डकीमा साप्ताहिक क्लिनिक चलाउँथे । त्यसैबेला प. नारायण पोखरेलमार्फत महायज्ञ सञ्चालनबाट अर्थ संकलन गरी सेतीगंगा सामुदायिक अस्पताल स्थापना गरियो । उनले शुक्लागण्डकीवासीलाई निजी क्लिनिकको सेवा सेतीगंगामार्फत दिन थाले । सेतीगंगा सामुदायिक अस्पताल नै अहिलेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बनेको प्राडा थापा बताउँछन् ।
एसएलसीबाट एमडीसम्म नै छात्रवृत्तिमा अध्ययन गरेका थापा आफ्ना बुबाको कामको प्रेरणाबाट डाक्टर बनेको बताउँछन् । उनका बुबा भारतको आसामस्थित तेल कम्पनीमा कार्यरत थिए । तनहुँको आफ्नै गाउँको निर्मल प्राविमा १ देखि ५ सम्म अध्ययन गरेका उनले ६ देखि ८ सम्मको अध्ययन आसामको विद्यालयमा गरेका थिए । बुबाको निधनपछि थापा तनहुँ फर्किए । एसएलसी तनहुँको खैरनी माविबाट वि.सं २०२९ मा उत्तीर्ण भएका उनी एसएलसी बोर्डमा तेस्रो भएका थिए । त्यसपछि उनले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट प्रमाणपत्र तहमा जीव विज्ञान अध्ययन गरे । एमबिबिएसका लागि भने कोलम्बो प्लान्टअन्तर्गत भारतको राजेन्द्र मेडिकल कलेजमा छात्रवृत्ति पाएको उनले बताए ।
प्राध्यापन तथा प्रत्यक्ष व्यावहारिक रुपमा सहभागी गराएर आफूले जानेको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिएको उनको भनाइ छ । उनी आफूले चिकित्सक भएर काम गर्न सुरु गरेको समयको तुलनामा अहिले धेरै प्रविधि भित्रिएकाले रोग निदान र उपचार छिटो र वैज्ञानिक भएको बताउँछन् । पोखरामा सर्व फार्मेसी खोलेका थापाले एमडी सकेपछि सिर्जनाचोकमा फेवासिटी अस्पतालको स्थापनामा अग्रसर भए । वि.सं. २०५७ सालमा स्थापित सोही अस्पताल आफ्नै जग्गामा नागढुंगामा सरेको छ जहाँ अहिले पनि उनले सेवा दिइरहेका छन् । फेवासिटी अस्पतालबाट बिरामीलाई सेवा र स्वास्थ्यकर्मी तथा कर्मचारीलाई रोजगारी मिलेको छ ।
उनले पछिल्लो समय डाक्टरको सेवा व्यापारीकरण भएकोजस्तो महसुस गर्छन्, यसलाई सेवामुखी बनाउनैपर्ने उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकालाई सहुलियत दिनेदेखि सरकारी निकायमार्फत निशुल्क गराउने गरेको सम्झँदै उनी उपचार सहज हुनुपर्ने बताउँछन् ।
त्रिवि शिक्षण कलेजमा डाक्टरमाथि दुव्र्यवहार भएको आफ्नै आँखाले देखेका थापा उनी आफू भने त्यस्तो दुव्र्यवहारमा कहिल्यै नपरेको बताउँछन् । सेवा अवधिमा कहिलेकाहीँ बिरामीका आफन्त अबुझजस्तो, बिरामी कृतघ्न हुने गरेको उनको भोगाइ छ । उनले विभिन्न ठाउँमा शिविरमा पुगेर पनि सेवा दिएको सम्झन्छन् । त्यसरी शिविरमा पुगेको ठाउँ सम्झँदै ‘तपाईंको गाउँ गएको थिएँ नि’ भन्दा बिरामी निकट र खुसी भइहाल्ने गरेको अनुभव उनले सुनाए । आफूले उपचार गर्ने क्षमताभन्दा बाहिरका केसलाई उनले रेफरसमेत गर्ने गरेका थिए । रेफर गरिएका बिरामीको समेत उनले फ्लोअप गर्ने गरेको स्मरण गरे ।