काठमाडौं—उपल्लो डोल्पामा डोल्पो बुद्ध गाउँपालिकामा सिङमिङ भन्ने गाउँ छ । जहाँ पुग्नका लागि सदरमुकाम दुनैबाट चार दिन पैदल यात्रा गर्नुपर्छ । यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा र विद्युतजस्ता आधारभूत पूर्वाधारबाट अझै यो ठाउँ विमुख छ । विं सं. २०५३ सालमा डा. ग्याल्छेन गुरुङ जन्मदा त्यहाँ सामान्य स्कुल नै थिएन् । कर्मा गुरुङ र सानमु गुरुङको तेस्रो सन्तानका रुपमा जन्मिएका हुन्, ग्याल्छेन । उनका १० दाजुभाइ दिदीबहिनीहरुको पालनपोषण कृषि र उनका पिताले गर्ने क्याराभानमा मै निर्भर थियो ।
उनका बुवा कर्मा भेडाको उन, छुर्पी, घ्युको ब्यापार तिब्बतमा लगेर बेच्थे । त्यहाँबाट खुद्रा सामान र नुन ल्याएर स्थानीयलाई बेचबिखन गर्थे । ‘परिवार पनि एकदमै ठूलो भएकाले खानलाउन जेनतेनले पुग्थ्यो । बुवा निकै मेहनेती हुनुहुन्थ्यो,’ ग्याल्छेन आफ्नो बाल्यकाल सम्झन्छन् । उनका दुई दाजु लामा गए ।
घरमा बच्चाहरु धेरै भएपछि ग्याल्छेनलाई पनि काठमाडौंको एक गुम्बामा लामा पठाइयो ।
‘लामा निकै गाह्रो हुँदोरहेछ,’ उनले भने, ‘सबै आ—आफ्नो ख्याल आफै गर्नुपर्ने भएकाले मलाई गाह्रो लाग्यो ।’ कतिपय उनका साथीहरु लामा जीवन बिताउन नसकेपछि फर्केर घर गए । झण्डै ६ वर्षको उमेरमा काठमाडौं लामा पठाइएका उनी एक वर्ष लामा बसे । त्यही क्रममा रानाग रिम्पोचे (डोल्पो बुद्ध) ले स्कुल खोल्ने चर्चा चल्न थाल्यो । ग्याल्चेनकी सानीआमा निकट व्यक्ति गुरुलाई चिन्दथे ।
त्यहीबाट डोल्पो बुद्धले सुरु गर्न लागेको ‘स्नोल्याण्ड स्कुल’मा उनको नाम सिफारिस भयो । उनका दाइले उनलाई भन्थे, ‘तँ लामा बस्ने कि स्कुल पढ्ने ?’ गुम्बा बस्दा उनले ड्रेस लगाएर विद्यार्थीहरु स्कुल गइरहेको देख्थे । त्यो दृश्य उनका लागि सुन्दर सपनाजस्तै थियो । त्यही कारण ग्याल्छेनको दाइलाई उत्तर हुन्थ्यो, ‘मलाई स्कुल जान मन छ ।’ ग्याल्छेनको पढ्ने सपनालाई नजिकबाट देखेकी उनकी सानीआमाले त्यही कारण उनको नाम पढ्नका लागि सिफारिस गरेकी थिइन् ।
सिफारिस स्वीकृत भएपछि सन् २००२ मा ग्याल्चेनको स्कुल पढ्ने सपना रिम्पोचे डोल्पो बुद्धको विशालनगरस्थित स्कुल स्नोल्याण्डले पूरा गरिदियो । उनी गुरुकै रेखदेखमा स्नोल्याण्डमै पढे बढे । विपन्न बालबालिकाहरुका लागि डोल्पो वुद्धले सुरु गरेको यो स्कुलका ग्याल्छेन पहिलो ब्याचका विद्यार्थी भए । उनको ब्याचमा १० जना विद्यार्थी थिए । त्यहीबाट उनले सन् २०१२ मा फस्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरे ।
एसएलसीपछि गुरु डोल्पो बुद्धले नै उनको उच्च शिक्षाका लागि संयोजन गरिदिए । आईभीडब्लुआर संस्थाको सहयोगमा उनले हिमालय ह्वाइट हाउसमा विज्ञान विषय लिएर प्लस टु पढ्न सुरु गरे । ‘स्कुलमा म जहिले पनि फष्टमा वा सेकेण्ड हुन्थे,’ उनले सुनाए, ‘कलेजमा अरु स्कुलबाट आउने एक्स्ट्रा अडिनरी होलान लाग्थ्यो ।’ तर, उनले आफ्नो मेहनत बढाए । सन् २०१४ मा ह्वाइट हाउस कलेजबाट फष्ट डिभिजनमै प्लस टु उत्तीर्ण गरे । स्कुल र कलेजमा ग्याल्छेनको पढाइसँगसँगै म्युजिक र पेन्टिङमा पनि रुचि थियो ।
डाक्टर बन्ने सपनादेखि यथार्थतासम्म
उनी जन्मदा गाउँमा सिटामोल समेत पुगेको थिएन । त्यही विकट गाउँमा जन्मिएको केटाका लागि डाक्टर देख्नै नसकिने सपना थियो । अझ डोल्पाजस्तो विकटको किसान परिवारका लागि डाक्टर सुनौलो कल्पना मात्रै बन्न सक्छ । ग्याल्छेन पनि गाउँमा रहँदा कहिल्यै यो सपना देख्न सकेनन् । त्यसो भए उनले कहिले डाक्टर बन्ने सपना देखे ? स्कुल पढ्दै गर्दा ग्याल्छेनसँग एक स्वयंसेवी विदेशी महिला ठोक्किइन् । जो उनलाई स्नेहपूर्ण व्यवहार गर्थिन । घर छोडेर हिडेको केटालाई आमा समान माया दिएकाले तिनलाई ग्याल्छेन ‘आमा’ सम्बोधन गर्छन् । तिनै फ्रान्सेली गाउमे मार्टिन ग्याल्छेनको क्षमता र व्यवहारबाट प्रभावित भएकी थिइन् ।
कक्षा ८ मा पढिरहेका बेला उनै मार्टिनले एक दिन सोधिन्, ‘तिमीलाई के बन्न मन छ ?’ ग्याल्छेनले मार्टिनलाई निस्फिक्री उत्तर दिए, ‘म डाक्टर बन्न चाहन्छु । तर, मलाई डाक्टरबारे धेरै कुरा थाहा थिएन, यतिकै भनिदिएको थिए ।’ तर, समय गति र भाग्यको खेल कसको बसमा हुन्छ र ?
ग्याल्छेन कक्षा १० मा पढिरहेका थिए । त्यही बेला एकदिन मार्टिनको इमेल आयो । सुरुमा उनी इमेल पाएपछि कसको होला भनेर अचम्ममा परे । तर, जब फोटो देखे, ‘मार्टिन आमा’को इमेल भन्नेमा पक्का भए । मार्टिनले इमेलमा उनलाई ‘के गरिरहेका छौं’ भनेर सोधेकी थिइन् । उनले आफ्नो हालखबर लेखेर प्रतिउत्तर पठाए ।
ग्याल्छेन एसएलसी दिएर गाउँ गए । ‘एसएलसी सकेपछि जब गाउँ गए, त्यहाँको स्वास्थ्य अवस्थाले सबैभन्दा बढी द्रवीभूत बनायो,’ उनले सुनाए, ‘हेल्थ फ्यासिलीटी थिएन । जसका कारण बच्चा जन्माउन नसकेरै गर्भवतीहरु मृत्यु हुन्थ्यो ।’ त्यही यथार्थकाबीच उनले डाक्टर बन्ने अठोट लिए । तर, त्यो अठोट पूरा गरिदिने कसले ? तर, श्वास बाँकी रहेसम्म आश बाँकी रहन्छ भनिन्छ । ग्याल्छेनले पनि डाक्टर बन्ने अठोट त्यतिकै मार्न पनि सकेनन् ।
त्यसको केही समयमै उनी काठमाडौं फर्किए । मार्टिन पनि नेपाल आएकी थिइन् । उनले ग्याल्छेनलाई छुट्टै भेटेर सम्पूर्ण अवस्थाको जानकारी लिइन् । त्यतिबेला पनि ग्याल्छेनले आफूलाई डाक्टर पढ्ने ठूलो रहर भएको सुनाए । उनले गाउँमा आफूले देखे, भोगेका कारुणिक दृश्यहरु सिनेमाझै प्रस्तुत गरे । डाक्टर बन्न पाए थोरै भएपनि आफूले त्यहाँका लागि काम गर्न सक्ने उल्लेख गरे ।
मार्टिनले भनिन्, ‘ठीकै छ । पढ्दैं गर, चिन्ता नगर ।’ प्लस टु सकिएपछि मार्टिन पुनः ग्याल्छेनलाई भेट्न नेपाल आइन् । उनले सहयोगमा तत्परता देखाएपछि ग्याल्छेनले एमबीबीएसका लागि इन्ट्रासको तयारी थाले । मार्टिन, अष्ट्रेलियन आईएनजिओ आईजीडब्लुआर ग्याल्छेनको एमबीबीएस अध्ययनका लागि संयुक्त रुपमा सहयोग गर्न तयार भए । ग्याल्छेनले पनि एमबीबीएस इन्ट्रान्समा नाम निकाले ।
सन् २०१४ को अन्तिमतिर उनी गण्डकी मेडिकल कलेजमा एमबीबीएस पढ्न थाले । सन् २०१७ मा उनले एमबीबीएस उत्तीर्ण गरे । डा. ग्याल्छेनले एक वर्ष इन्टर्नसमेत गण्डकी मेडिकल कलेजमै गरे । उनी एमबीबीएस पढ्दा वि.सं. २०७२ मा कलेजको स्टुडेन्ट अफ द इयर पनि भएका थिए । अहिले डा. ग्याल्छेन सिभिल सर्भिस अस्पतालको इमर्जेन्सीमा मेडिकल अधिकृतमा रुपमा कार्यरत छन् । उनले केही समयअघिमात्रै डोल्पो वुद्ध गाउँपालिका ४ वटा ठाउँमा हेल्थ क्याम्प र जनचेतना अभिवृद्धिका कार्यक्रमहरु चलाए । उनी रोट्याक क्लब पोखरामा आवद्ध भएकाले त्यहाँबाट मनाङ र मुस्ताङमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामाग्री वितरणमा अग्रसरता लिइरहेका छन् ।
सपना नै देख्न नसकिने ठाउँ र परिवेशबाट आएर चिकित्सक बनेका हुन्, उनी । यसको पहिलो श्रेय ग्याल्छेन गुरु डोल्पो बुद्धलाई दिन्छन् । त्यसबाहेक उनलाई माया गर्ने मार्टिन, आईजीडब्लुआरलाई श्रेय दिन्छन् । दुर्गममा फुलेका कमल डा. ग्याल्छेन सुरुमा आफू स्थापित हुन चाहन्छन्, त्यसपछि गाउँमै फर्किएर स्वास्थ्य सेवामा टेवा पु¥याउन चाहन्छन् । भन्छन्, ‘सुरुमा त आफै स्थापित हुनुप¥यो । त्यसपछि गाउँमै गएर सेवा पु¥याउनेछु । गाउँका लागि नै मैले केही गर्नुछ ।’ डा. ग्याल्छेनको भविष्यमा इन्टरनल मेडिसिन वा अर्थोमा विशेषज्ञता हासिल गर्ने रहर छ ।