बुटवल—सेवा गर्न पाउँदा निकै आनन्द मान्ने केशव भट्टराई पछिल्लो समय आफूलाई कोभिड–१९ संक्रमितको उपचार र सेवामा पूर्ण रुपमा समर्पित गरेका छन् । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–९ मा जन्मिएका ४१ वर्षीय भट्टराई बुवाको प्रेरणाबाट सामाजिक सेवामा लागेका हुन् ।
‘मेरो बुवाको उत्प्रेरणाले नै म समाजिक सेवामा लागेको हुँ । समाजिक सेवा गर्दा आमाले पनि स्याबासी दिनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘त्यसले मलाई झन उर्जा थप्ने गर्दथ्यो । मानवीय सेवामा खटिनु मेरो लागि निकै आन्दको विषय पनि हो ।’
सामाजिक सेवाअन्तर्गत मानिसको स्वास्थ्यसँग जोडिएर सेवामा रहेका भट्टराई कोभिड–१९ महामारीमा फ्रन्टलाइनमा छन् । स्वास्थ्यकर्मी हुनुलाई नै मानवीय सेवा गर्ने अवसर मान्ने भट्टराई खुला हृदयले सेवामा खटिएका देखिन्छन् । तिलोत्तमा नगरपालिकाको जनस्वास्थ्य निरिक्षकका (छैटौं तह) रुपमा कार्यरत उनी विहानदेखि रातिसम्मै कोभिड–१९ संक्रमितसँगै हुन्छन् । उनीहरुको हेरचाह, औषधीको व्यवस्थापनसँगै हौसला दिनमा तल्लीन रहन्छन् । उनीसँग कोभिड–१९ भाइरसबाट संक्रमित भएकाहरु समेत अंगालो बेरिन आउने गरेको अनुभव छ । ‘बिरामीहरु अत्तालिएका बेला अंकमाल गर्न आउँछन् । उनीहरुलाई सान्तवना दिन पछि पर्ने कुरा आउँदैन,’ उनी भन्छन्, ‘सानो हौसलाले पनि बिरामीको प्राण भर्ने गर्दछ ।’
भट्टराई तिलोत्तमा नगरपालिकाको कोभिड–१९ फोकल पर्सन हुन् । उनी नगरपालिकाले लिएको कोभिड–१९ नियन्त्रणको मेकानिजम कार्यन्वयनका लागि डटेर खटिने स्वास्थ्यकर्मी हुन् । जनप्रतिनिधि र स्वास्थ्य सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्दा सकारात्मक नतिजा आएको उनको अनुभव छ ।
वि.सं. २०५६ सालमा बझाङ जिल्लाबाट (चौथो तह) सरकारी सेवा सुरु गरेका भट्टराईले जागिरको अवधीमा महत्वपूर्ण पुरस्कारहरु समेत प्राप्त गर्न सफल भएका छन् । २१ वर्षको कलिलो उमेरमा गोरखा दक्षिणबाहु पुरस्कारका लागि सिफारिसमा परेका भट्टराईले वि.सं.२०६५ सालमा निजामती सेवा पुरस्कार प्राप्त गरे । वि.सं. २०६८ सालमा स्वास्थ्य सेवा पुरस्कार प्राप्त गरेका उनले वि.सं. २०६९ सालमा संचालन भएको ‘न्यानो झोला’ कार्यक्रमका लागि प्रवल जनसेवाश्रीबाट विभुषित भए ।
पुरस्कार र सम्मानहरुले अझ बढी सामाजिक सेवामा लाग्न उत्प्रेरणा दिने गरेको उनी सुनाउँछन् । ‘करोडौं खर्च गरेर पनि प्राप्त हुन नसक्ने पुरस्कारहरु प्राप्त भएका छन् । यसैमा गर्व छ,’ उनी भन्छन्, ‘यस्तै पुरस्कारले निरन्तर सेवामा लाग्न प्रेरणा पनि दिइरहन्छ ।’
१४ वर्ष बझाङ जिल्लामा बसेका उनी ग्रामीण क्षेत्रको स्वास्थ्यको कहालीलाग्दो अवस्थालाई नजिकबाट अनुभूत गरेको बताउँछन् । ‘गाउँमा स्वास्थ्य क्षेत्र कहालीलाग्दो अवस्थामा थियो । म त्यहाँ रहँदा सुत्केरीहरुको अवस्था निकै पिडादायी देखे,’ अनुभव सुनाउँदै भट्टराई भन्छन्, ‘त्यहाँ छँदा पोषणसहितको ‘न्यानो झोला’ कार्यक्रम चलाइयो । यो कार्यक्रमले निकै सफलता पनि पायो ।’ बझाङका स्वास्थ्य संस्थामा रहेर काम गर्दा कामबाट गाउँलेहरु प्रभावित भएको स्मरण गर्दै उनी स्वास्थ्यकर्मी भएकोमा गर्व रहेको बताउँछन् ।
कोभिड–१९ का बिरामी अत्तालिएको देख्दा उनको मन अमिलो हुन्छ । बिरामीहरुलाई निरन्तर हौसला भरिरहन्छन् । किनभने, हौसला नै मुख्य औषधी हो भन्ने व्यवहारमा देखे र भोगेका छन् । महामारीमा फ्रन्टलाइनरका रुपमा काम गरिरहेका भट्टराई कोभिड–१९ भाइरसको जोखिमबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलहरु पालना गर्नुपर्नेमा जोड दिन्छन् । ‘जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान पु¥याउनुपर्छ । आतंकित हुनुपर्ने केही छैन्,’ कुराकानी बिट मार्नु पूर्व उनले सुझाए ।