२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलप्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने सर्जनको कथा

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने सर्जनको कथा


कहिल्यै नदेखेको सपना पनि कहिलेकाही अप्रत्यासित रुपमै पूरा भइदिन्छ । त्रिवि शिक्षण अस्पतालका चर्चित मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले सपनामा पनि कहिल्यै सोचेका थिएनन् कुनै दिन प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सर्जरी गरौला भनेर । तर, त्यही भइदियो । २१ फागुन २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सर्जरी गर्ने टिमको नेतृत्व गर्ने जिम्मेवारी उनैले पाए ।

फुर्सद हुने बितिकै जन्मथलो पुगिहाल्ने डा. ज्ञवाली गुल्मीमा हेल्थ-क्याम्प चलाइ रहेका थिए । जतिबेला प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए । उनी हतार—हतार काठमाडौं फर्किए । ‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरौला भन्ने त ड्रिम मै थिएन्,’ डा. ज्ञवाली भन्छन्, ‘यो त ड्रिमभन्दा बाहिरको कुरा हो । हामी सफल भयौं । त्यसैमा सबैभन्दा धेरै खुशी लागेको छ ।’

मुलुकको कार्यकारी प्रमुखको स्वदेशमै भएको सफल मिर्गौला प्रत्यारोपणले डा. ज्ञवालीलाई मात्रै होइन्, सिंगो त्रिवि शिक्षण अस्पताललाई आम भरोसाको केन्द्रका रुपमा स्थापित गर्यो । देशमा मात्रै होइन्, यो प्रत्यारोपणले देशबाहिर पनि चर्चा बटुल्यो । सबैभन्दा महत्वपूर्ण त के भने नेपालमै प्रधानमन्त्रीजस्तो हाइप्रोफाइलको मिर्गौला सफल प्रत्यारोपणले मुलुकका स्वास्थ्य संस्थामाथि सर्वसाधारणको विश्वास बढाइदियो । त्यो कर्ममा सबैभन्दा अग्रपंक्तिमा देखिए-प्रा.डा. ज्ञवाली ।

डा. ज्ञवाली गुल्मीको लिम्घामा जन्मिएका हुन् । उनका बुवा मेजर रामचन्द्र ज्ञवाली र आमा लक्ष्मी ज्ञवालीले पहाडी जिल्लाको मध्यवर्गीय किसान परिवारमा उनलाई हुर्काए । आम किसानका छोराछोरीजस्तै डा. ज्ञवालीको पनि बालापन बित्यो । ‘गुल्मीको पहाडी गाउँको केटा हुँ । गाउँले अरु बच्चाजस्तै गरी मेरो बाल्यकाल पनि सामान्य रुपमा बितेको हो,’ उनी आफ्नो बाल्यकाल स्मरण गर्दै भन्छन्, ‘धुलोमा खेल्ने, गाइगोरु, बाख्रा चराउने, गुच्छा खेल्ने, कपडाको बल बनाएर भलिबल खेल्ने र स्कुल जाने कामहरु मेरो बाल्यकालका ड्युटी थिए ।’ त्यो बेलाको वातावरण कस्तो थियो भने घरमा आएर पढ्न थाल्यो भने बाबुआमाले गाली गर्थे र भन्थे, ‘पढ्ने त स्कुलमा हो । घर आएपछि काम गर्नुपर्छ ।’

त्यो बेलाको गाउँको परिवेश त्यस्तो भएपनि उनका बुवा रिटायर्ड इण्डियन आर्मी थिए, देश—विदेश देखेका र शिक्षाको महत्व बुझेका । आफूले परदेशमा रहँदा दुःख खेप्नु परेकाले पनि हुन सक्छ, उनले सधैं आफ्ना सन्तानको पढाइलाई प्राथमिकतामा राखे । ‘जति गरिब भएपनि बच्चाहरुलाई पढाउनुपर्छ भनेर सधैं भनिरहनुहुन्थ्यो,’ उनी सम्झन्छन् । गाउँमा उनका बुवालाई मेजर भन्थे, अहिले पनि उनी गाउँ जादा धेरैले मेजर बुवाले पढ्नुपर्छ भनेर भन्नुहुन्थ्यो भन्दै सम्झिरहन्छ।

डा. ज्ञवालीको शिक्षादीक्षा पनि स्थानीय स्कुलमा भएको हो । उनले आफ्नो गाउँमा हाई स्कुल नभएकोले कक्षा ८ देखि जनसहयोग माध्यमिक विद्यालय भार्सेमा छात्रावासमै बसेर पढे । त्यहीबाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । सानो छँदा उनको खास विशेष रुची केही थिएन । उनका दाजु चिकित्सक हुने क्रममा थिए । अहिले उनका दाजु प्रा. डा. काशीराज ज्ञवाली स्टार अस्पताल सानेपामा नाक, कान र घाटी रोगका विशेषज्ञ छन् । उनका बुवामा चाहना थियो—एक छोरा डाक्टर भयो, अर्को छोरा इन्जिनियर भइदिए हुन्थ्यो भन्ने । तर, त्यसो हुन सकेन ।

एसएलसी पास भएर वि.सं. २०३५ सालमा काठमाडौं आएका उनका लागि सबै नौलो थियो । त्यो बेला उच्च शिक्षा पढ्नका लागि काठमाडौंका सबै कलेजहरुले इन्ट्रान्स लिन्थे । उनले इन्जिनियरिङ, मेडिसिन, कृषि र विज्ञानका लागि प्रवेश परीक्षा दिए । ४ वटा कलेजमा जॉच दिएको चार वटैमा नाम निस्किएछ । ‘मलाई धेरै कुरा थाहा थिएन, काठमाडौंमा पहिलो पटक आएको थिए,’ उनी भन्छन्, ‘दाजु म त इन्जिनियर हुने हो, इन्जिनियरिंगमा भर्ना गरिदिनुहोस है भनेको थिए ।’

दाजुले उत्तर दिएछन्, ‘हुन्छ । म तलाई इन्जिनियरिङमै भर्ना गरिदिन्छु ।’ त्यो बेला शैक्षिक सत्र माघमा सुरु हुन्थ्यो । साउनमा प्रवेश परीक्षा दिएका । साउनदेखि माघसम्म के गर्ने ? दाजुले उपाय सुझाइदिए, ‘अघिल्लो ब्याचसँग क्लास जादैं गर । माघबाट तलाई सजिलो हुन्छ ।’ दाजुको उपाय उनलाई ठीक लाग्यो ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सफल भएपछि प्रशन्न मुद्रामा टिमका साथ डा.ज्ञवाली

सिनियर ब्याचसँग कलेज जान थाले । फिजिक्स, क्यामेष्ट्रीज, बायोलोजी पढ्ने । इन्जिनियरिङ पढिरहेको छु भनेर उनी मख्ख थिए । त्यो खुशी धेरै दिन टिक्न सकेन । तीन महिनापछि जब उनी एकदिन महाराजगन्ज क्याम्पसको पहेलो भवनको पर्खालमा बसेर साथीहरुसँग चिया खाएर गफ गर्दै थिए । त्यही बेला उनको बोर्डमा आँखा गयो । त्यहाँ लेखिएको थियो—चिकित्साशास्त्र अध्ययन संस्थान । उनी झल्यास्स भएर सोचे, ‘ओहो ।’ इन्जिनियरिङ पढ्न गएको ठान्ने उनलाई दाजुले तीन महिनादेखि चिकित्सा शास्त्र अध्ययन संस्थानमा पो पठाइरहेका रहेछन् ।

साँझपख घर फर्किए । दाजुसँग रोइकराइ गरे । तर, भर्ना सक्किसकेकाले केही गर्न सकिने अवस्था थिएन । डा. ज्ञवाली त्यसपछि दाजुको इच्छालाई शिरोधार्य गर्दै हेल्थ असिस्टेन्ट (एचए) पढ्न थाले । महाराजगन्ज क्याम्पसबाट उनले वि.सं. २०३९ सालमा हेल्थ अस्टिटेन्टको अध्ययन सके । डा. ज्ञवाली एचए सकेपछि पहिलो पटक काम गर्नका लागि कर्णाली प्रदेशको हुम्ला गए । त्यसपछि उनले कर्णालीका अन्य जिल्ला जुम्ला, मुगु र कालिकोटमा काम गरे । ‘मैले पूरा २ वर्ष कर्णाली अञ्चलमा काम गरे,’ उनले सुनाए । कर्णाली अञ्चलमा दुई वर्ष काम गरेपछि उच्च शिक्षाका लागि प्रयास गर्न थाले ।

त्यो बेला विभिन्न देशहरुले छात्रवृत्ति उपलब्ध गराउथे । त्यसको परीक्षा दिनका लागि काठमाडौं आउनुपथ्र्यो । डा. ज्ञवाली सम्झन्छन्, ‘परीक्षा दिन आउने बेलामा हुम्लामा हिउँ परेको थियो, त्यो बेला फ्लाइट पनि थिएन । हुम्लाबाट पैदल हिडेर १३ दिनमा म सुर्खेत पुगे । त्यहाँबाट नाइट बस चढेर काठमाडौं आए ।’ काठमाडौं पुग्दा छात्रवृत्तिका लागि आवेदन दिने अन्तिम दिन भैसकेको थियो ।

अन्ततः उनले वि.सं. २०४२ सालमा चिकित्सा शिक्षा पढने अवसरसहितको सोभियत संघको टिकट पक्का गरे । छात्रवृत्तिमा रसियाको रोस्टोभ स्टेट युनिभर्सिटीबाट सन् १९९२ मा डक्टर अफ मेडिसिन (एमडी) गरे । पढाइमा देखिएको अब्बलताले उनीसहित एक जना नाइजेरियन विध्यार्थी पोष्ट ग्राजुयट अध्ययनका लागि छानिए । ‘त्यहाँ राम्रो पढ्नेलाई पोष्ट ग्राजुयसनका लागि छानिन्छ, म र एक जना नाइजेरियनसँगै पोष्ट ग्राजुयसन पढ्नका लागि छानियौं । मैले पोष्ट ग्राजुयसन पनि निःशुल्क पढन पाए ।’ सन् १९९५ मा उनले जनरल सर्जरीमा ३ वर्षको पोष्ट ग्राजुयसन सके ।

रसियामा पोष्ट ग्राजुयसन सकेपछि डा. ज्ञवाली वि.सं. २०५२ सालमा नेपाल फर्किए । नेपाल फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसरका रुपमा जागिर गर्न थाले । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा टिचिङ असिस्टेन्टका रुपमा पनि काम गर्न थाले । केही वर्षपछि लेक्चरर भए । लेक्चरर हुँदा उनी मिर्गौला प्रत्यारोपणबारे पढ्न सिंगापुर गए । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलबाट युरोलोजी एण्ड किड्नी ट्रान्सप्लान्टमा सन् २००३ मा फेलोसीप पूरा गरे । त्यहाँबाट फर्केपछि सन् २००८ मा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भयो । त्यो बेला शिक्षणमा मिर्गौला युनिट थियो, जसको प्रमुख सर्जन प्रा.डा. भोलाराज जोशी थिए । उक्त युनिटमा अन्य सर्जनहरुमा प्रा.डा. गुणकुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. उत्तमकुमार शर्मा थिए, यस्तै अहिलेका सर्जन डा. पवन चालिसे एमसिएचका पहिलो वर्षका विद्यार्थी थिए । मिर्गौला प्रत्यारोपण सुरू गरेपछि उनले सन् २०१० मा चिकित्सा अध्ययन संस्थाबाटै माष्टर्स इन पब्लिक हेल्थ (एमपीएच)को पढाइ पूरा गरे ।

विश्वका युरोलोजीका हस्तीहरूसँग डा. ज्ञवाली

त्रिवि चिकित्सा अध्ययन संस्थानमै उनको अध्यापन करिअर पनि अगाडि बढ्दै गयो । असिस्टेन्ट प्रोफेसर, एशोसियट प्रोफेसर हुँदै उनी अहिले त्रिवि अध्ययन संस्थानको प्रोफेसर तथा युरोलोजी विभागका संस्थापक विभागीय प्रमुख छन् । भक्तपुरस्थित शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रका निर्देशकका रुपमा पनि डा. ज्ञवालीले हालै जिम्मेवारी सम्हालेका छन् ।

प्रा.डा ज्ञवाली युरोलोजी सोसाइटीका संस्थापक महासचिव र पूर्व अध्यक्ष पनि हुन् । यस्तै, उनी नेपाल प्रत्यारोपण संघका संस्थापक कोषाध्यक्ष र त्रिवि शिक्षण अस्पताल महाराजगन्जको युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जरी विभागका संस्थापक प्रमुख पनि हुन् । उनले दर्जनौं एमएस र एमसिएचका विद्यार्थीहरुको थेसिस गाइड गरेका छन् भने उनका दर्जनौ लेख तथा सोधपत्रहरु स्वदेश तथा विदेशका मेडिकल जर्नलका प्रकाशित भएका छन् ।

शिक्षण अस्पतालमामा मिर्गौला प्रत्यारोणमा ९८ प्रतिशत सफलता छ । यसको कारण के हो ? ‘म भन्न सक्दैन्, सायद सीपको कुरा हो कि ?,’ उनी आफै प्रश्न गर्छन्, ‘सर्जनको हात, बिरामी सेलेक्सन गर्ने प्रक्रिया, औषधि चलाउने प्रक्रियाजस्ता कारणले होकि । म यही नै कारणले ९८ प्रतिशत पुग्यौं भनेर भन्न त सक्दैन् । सबै चीज मिलेर यस्तो रिजल्ट आएको होजस्तो लाग्छ ।’ जे भएपनि शिक्षणको मिर्गौला युनिटले सफलता हात पारिरहेको छ ।

खानपिनका साैखिन

डा. ज्ञवालीले सन् १९९० मा रसियामै लभ म्यारिज गरेका हुन् । उनकी श्रीमती डा. तातीयाना ज्ञवाली रसियन हुन् । उनी १९९९ देखि नेपालमै गाइनोकोलोजिष्टका रुपमा कार्यरत छन् । उनका दुई छोरा छन्, एक छोरा भर्खरै नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबीबीएस सकेर इन्टर्नसीप गर्दैछन् । अर्का छोरा पनि बायोलोजी विषय लिएर प्लस टु पढ्दैछन् ।

यी मिर्गौला प्रत्यारोपण सर्जन फुर्सदमा के गर्न रुचाउँछन् ? भन्छन्, ‘फुर्सदमा म कि किताब पढ्छु, कि साथीहरुसँग बसेर रमाइलो गर्छौ, कि त सुत्छु ।’ डा. ज्ञवाली आफ्नै विषयसँग सम्बन्धित रिसर्च आर्टिकलहरु बढी पढिरहेका हुन्छन् । उनी कमेडी शो हेर्न पनि मन पराउँछन् । सोसल मिडियामा पनि समय बिताउँछन् । सोसल मिडियामा उति लेख्दैनन्, पढ्छन् मात्रै । त्यसबाहेक फुर्सद हुनेबितिकै उनी गुल्मी पुग्छन् । वर्षमा एक दुई पटक निःशुल्क हेल्थ क्याम्प पनि गर्छन् ।

खानपिनमा उनको निकै शोख छ । उनलाई जो कसैले बनाएको खानेकुरा मन पर्दैन् । आफै पनि उनी खाना मिठो पकाउँछन् । उनलाई सबैभन्दा मनपर्ने खानेकुरा खसीको सेकुवा हो ।

खेलकूदमा पनि उनको रुचि छ । कर्णालीमा एचएका रुपमा बस्दा उनले कर्णालीबाट राष्ट्रिय भलिबल प्रतियोगिता खेलेका थिए । आफ्नो स्वास्थ्यका लागि उनी ब्याडमिन्टन खेल्छन् । तर, दुई वर्षदेखि त्यो पनि छुटेको उनी बताउँछन् । त्यसो भए अहिले फिटनेस के भइरहेका छ त ? भन्छन्, ‘अप्रेशन थिएटरमा उभिदा, हस्पिटलका वार्डहरुमा हिंडदा पुगिरहेको छ । फिटनेशका लागि भनेर मर्निङ वाक गर्ने, हिड्ने, दौडने समयले पनि भ्याएको छैन्, मन ले पनि त्यो कुरा मान्दैन् ।’

उनी अलिकति फुर्सद पाउने बितिकै आराम गर्न रुचाउँछन् तर ऊनको एउटा यस्तो बानी छ कि उनी कसैको दवावमा काम गर्न रुचाउदैनन् । जतिसुकै ठूलो पदस्थ ब्यक्ति पनि उनकोमा जचाऊन जॉदा अन्य साधारण बिरामीको पालो मिचेर देखाउन पाऊॅदैन । उनी भन्छन्, ‘यदि कसैले उनका बिरामी, बिध्यार्थी र कर्मचारीको विषयमा अन्याय कुरा गर्यो भने असह्यै भएर आऊछ र जस्तोसुकै प्रतिवाद गर्नपनि तयार रहन्छन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ