डा. बाबुराम मरासिनी कुनै अपरिचित नाम हैन । करिब डेढ वर्षअघि सरकारी सेवाबाट अवकास पाएका मरासिनीको जन्म गुल्मी जिल्लामा भएको हो । वि.सं. २०१३ साउनमा जन्मिएका डा. मरासिनीले तमघासको महेन्द्र उच्च माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सुरुवात गरेका हुन् । वि.सं. २०२९ सालमा उनले सेकेण्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेका हुन् ।
एसएलसीपछिको उच्च शिक्षाका लागि उनको मनमा निकै कुराहरु खेले । गाउँमै पढ्ने वा सहर जाने । अन्ततः डा. मरासिनीको सहरमा पढ्ने कुराले जित्यो । गाउँका केही साथीहरुसँगै उच्च शिक्षाका लागि काठमाडौ प्रवेश गर्ने निर्णयमा पुगे । वि.सं. २०३० असार २८ गते घरबाट झोला भिरेर काठमाडौं आए । विज्ञान विषय पढ्ने उनको ठूलो धोको थियो ।
समाजसेवामा सानैदेखि मन जाने भएकाले पनि विज्ञान विषय पढेर भविष्यमा चिकित्सा पेशा अंगाल्ने सोच उनमा थियो । दुई दिनपछि काठमाडौं आइपुगे । बसपार्कमा ओर्लिएका मात्रै के थिए सिंहदरबार आसपासमा ठूलो आगो बलेको देखे । सबै साथीहरु दौडिएपछि उनी पनि साथीसँगै आगो बलिरहेको स्थान भद्रकालीतर्फ दौडिए । त्रिभुवन विश्वविद्यालयको फारम भर्ने अन्तिम दिन रहेछ । प्रवेश परिक्षा नलिई कसैलाई पनि भर्ना नलिने नियम लागू भएकाले विद्यार्थीहरुले कलेजहरुमा विरोध गरेका रहेछन् । सो वर्षको भर्ना हुने समय सकिएकाले उनी गाउँ नै फर्किन बाध्य भए ।
एक वर्षपछि पुनः काठमाडौं आएका हेल्थ असिस्टेन्टका लागि महाराजगन्ज मेडिकल क्याम्पसमा इन्ट्रान्स दिए । पास भएपछि त्यही हेल्थ असिस्टेन्ट अध्ययन सुरु गरे । वि.सं. ०३३ सालमा हेल्थ असिस्टेन्टको अध्ययन सकाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमा पठायो । विभागले हेल्थ असिस्टेन्टको नियुक्ति दिएर डा. मरासिनीलाई डडेल्धुरा पोष्टिङ ग¥यो । नयाँ हेल्थ पोष्टको स्थापना गर्नुपर्ने भएकाले उनलाई अवसर र चुनौती उस्तै थियो । त्यो बेलामा प्रधानपञ्च निकै शक्तिशाली हुन्थ्ये । उनले भनेको स्थानमा हेल्थ पोष्ट खोल्नुपर्ने थियो । तर, कसैको पनि दबाबमा काम नगर्नु भन्ने आदेश उनलाई स्वास्थ्य मन्त्रालयको थियो । प्रधानपञ्चले आफ्नो घर नजिकै हेल्थ पोष्ट खोल्न दबाब दिए । सिडियोको सहयोग लिन पुगे तर, सिडियो (प्रमुख जिल्ला अधिकारी) ले पनि प्रधानपञ्चले जे भन्छन्, त्यही गर्नु भन्ने सल्लाह दिए । डा. मरासिनीलाई चित्तबुझ्दो भएन । सबैलाई पायक नपर्ने देखेपछि उनले त्यो प्रस्तावलाई अस्वीकार गरे ।
मरासिनीलाई हेल्थ असिस्टेन्टमा सधैं बस्ने मन थिएन । उनले डाक्टरी विद्याका लागि एमबीबीएस पढ्नैपर्ने थियो । त्यही हुटहुटीले वि.सं. २०३५ सालमा मरासिनी बिदा लिएर काठमाडौं आएका थिए । त्यसबेला महाराजगञ्जमा एमबीबीएस अध्ययनको कुरा उठ्न थालेको थियो । एमबीबीएसका विषयमा बुझ्न गएका बेला साइरन बजाउदै चार पाँच वटा गाडी प्रवेश गरे । सो गाडीमा राजा वीरेन्द्र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन भेट्न आएका रहेछन् । त्यसबेलाका डिन डा. महिम शाह थिए । राजा वीरेन्द्रले डिनलाई सोधे, ‘कहिलेबाट डाक्टरी (एमबीबीएस)को अध्ययन थाल्नुहुन्छ ?’
राजाले डिन कार्यालयमा गएरै सोधे पनि तयारी केही थिएन । डिनले ६ महिनामा पठनपाठन सुरु गर्ने वचन दिए । त्यसको करिब ४ महिनामा एमबीबीएसका अध्ययनका लागि आवेदन माग भयो । वीरेन्द्रलाई दिएको वचनअनुसार नै ६ महिनापछि प्रवेश परिक्षा लिइयो । ८ घण्टाको प्रवेश परीक्षा, त्यो पनि असाध्यै कडा थियो । ‘विद्यार्थी थला पर्ने परीक्षा थियो । कोही पास नहुन भनेर लिएको जस्तो लाग्यो,’ डा. मरासिनी सुनाउँछन् । तर, संयोगबस उनी त्यो प्रवेश परीक्षामा एक नम्बरमा नाम निकाल्न सफल भए । चिकित्साशास्त्र अध्ययन सस्थामा रोल नम्बर १ भएका व्यक्ति हालसम्म डा. मरासिनी मात्रै हुन् । अहिले भर्ना भएकाहरुको रोल्नम्बर ४ हजार, ५ हजारबाट बढी हुँदै जान्छ ।
अध्ययनका क्रममा नै २०३६ सालको आन्दोलन सुरु भयो । त्यसले आईओएममा राजनीतिक हस्तक्षेप निकै भयो । पढाइ छाड्न पनि दबाब आयो । तर, आन्दोलनले उब्जाएका चिकित्सकले पछि कस्तो सेवा दिन्छन् भनेर बुझाएपछि दबाब दिन छाडियो । ‘बीचमा केही दिन बाँकी रहेका बेला चाहिँ पढाइ छाड्यौं,’ उनी सम्झन्छन्, ‘केही समयपछि जनमतसंग्रहको घोषणा भयो ।’
एमबीबीएस अध्ययनमा सुरुका दुई वर्ष खासै क्लिनिकल हुँदैन थियो । तेस्रो वर्षदेखि भने क्लिनिकल प्राक्टिस आवश्यक पथ्र्यो । सरकारले वीर, कान्ति, थापाथलीलाई केही सिट छुट्याउन परिपत्र ग¥यो । ठूला अस्पतालहरु नभएपछि सरकारले अमेरिकी सरकारलाई गुहार माग्यो । अमेरिकाले २ सय शैय्याका ५ वटा अस्पताल बनाइदिने बचन दियो । पढेका चिकित्सकहरु रोटेसनमा त्यहाँ जादै सेवा दिन्छन् । तर, दिपायल, धनकुटा जाने भनेपछि कसैले मानेनन् । रसिया सरकारले पनि फ्याकल्टी आफ्ना पठाउने भनेपछि त्यो पनि अस्वीकार भयो । अन्त्यमा राजा वीरेन्द्रले जापान सरकारसँग आफैले प्रस्ताव गरेपछि अहिलेको शिक्षण अस्पताल बनाइदियो ।
नेपालकै पहिलो एमबीबीएसको अन्तिम परीक्षामा बाहिरका चिकित्सक ल्याइएको थियो । भारतबाट ५ जना, क्यानडाबाट ३ जना प्रोफेसर परीक्षा लिन नेपाल आएका थिए । पहिलो ब्याचमा २२ विद्यार्थी सहभागी थिए । जसमध्ये १२ जनाले एमबीबीएस पास गरे, डा. मरासिनीले नेपालकै पहिलो एमबीबीएस ब्याच टप गरे । एमबीबीएस पास भएपछि पहिलो पोष्टिङ डोटी अस्पताल भयो । काम गर्ने सिलसिलामा राजा वीरेन्द्र त्यही अस्पताल पुगे । ‘क्षेत्रीय भ्रमणका बेला राजा अस्पतालमा अनिवार्य पुग्दा रहेछन्,’ डा. मरासिनी भन्छन् ।
राजा वीरेन्द्रले डा. मरासिनीलाई सोधे, ‘तपाईं डोटी जिल्लामा बसेको कति वर्ष भयो ?’
डा. मरासिनीले उत्तर दिए, ‘दुई वर्ष भयो महाराज ।’
तर, ज्ञानेन्द्र शाहले प्रति प्रश्न गरे, ‘तपाईंलाई स्वास्थ्य मन्त्रालयले एक महिना अघि मात्रै काजमा पठाएका होइन् ?’
डा. मरासिनीलाई धर्म संकट प¥यो । जुहारी खेल्न चाहेनन् । तर, पन्चायत सभापतिले पछाडिबाट सपोर्ट गर्दै भने, ‘डा. मरासिनी डोटी बसेको दुई वर्ष भयो सरकार ।’
दार्चुला अस्पतालको बारेमा पनि राजालाई कसैले गुनासो गरेको पाइयो । अस्पताल बनाएको पाँच वर्ष भयो तर संचालनमा आएन भनेर खबर राजा कहाँ पुगेको थियो । राजा आफै गएर सो अस्पतालको अवस्था हेरे । जनताको गुनासो जस्तै सबै अस्पताल फोहोर भवन भत्किने क्रममा देखेपछि राजा नै मरासिनीको पछाडि लागे । दुर्गम जान र आउन कसैले मानेका थिएनन् । दार्चुलाको जिल्ला अस्पताल संचालन गर्न मलाई दबाब पर्न थाल्यो । ‘त्यसबेला दार्चुला जाँदा पैसा धेरै हुने रहेछन्,’ उनले भने ।
१०० प्रतिशत नन प्राक्टिस भत्ता, १०० प्रतिशत दुर्गम भत्ता र तलब गर्दा मेरो तलब ज्ञानेन्द्र, धिरेन्द्रको जति भयो । राजाको वार्षिक भत्ता ८४ हजार थियो भने डा. मरासिनीका ५४ हजार थियो । ज्ञानेन्द्र, धिरेन्द्रको ५६ हजार थियो ।
सिडियोले कहिलेकाही बैठकहरुमा उनलाई जिस्काउँदै भन्थे, ‘प्रधानमन्त्रीले भन्दा धेरै तलब खाने को हो ?’ उनी मुसुक्क हाँस्थे । उनी सम्झन्छन्, त्यो वर्ष उनको तलब प्रधानमन्त्री मरिचमान सिंहको भन्दा पनि बढी थियो ।
सर्तअनुसार नै एक वर्षपछि कान्ति बाल अस्पताल सरुवा भयो । कान्तिमा ७ वर्ष बसेर काम गरेका उनी माथि क्रमसः राजनीति हुन थाल्यो । ०४७ पछि उनले पनि स्वास्थ्य मन्त्रालयको कामप्रति असहमति जनाउन थाले । निजी मेडिकल कलेज धेरै खुल्ने भएपछि उनले गुणस्तरको कुरा गर्दै आवाज उठाउन थाले त्यो कुरा स्वास्थ्य मन्त्रालयलाई पाच्य भएन । सरकारले एउटा पनि कलेज खोल्न नसक्ने निजीले ७ वटा कसरी खोल्न सक्छ भन्ने आधारसहितको प्रश्न गरे ।
थप अध्ययनको क्रममा एमपीएच पढ्न बैंकक गए । अध्ययन सकेर स्वदेश फर्किएपछि काभे्रमा पोष्टिङ् गरियो । त्यहाँ साढे दुई वर्ष बसेपछि उनलाई सुरक्षित मातृत्व कार्यक्रम हेर्ने उद्धेश्यले परिवार कल्याण महाशाखामा सरुवा गरियो । त्यस बेला आमाहरुको मृत्यु व्यापक थियो । त्यसलाई रोक्न मुलुकका पाँच जिल्लाबाट नमुना कार्यक्रम संचालन गरेको उनी सम्झन्छन् । तर, त्यहाँ लामो समय बस्न दिइएन् । राजनीतिक दाउपेचका कारण उनलाई पुनः तालिम केन्द्रमा पठाइयो । वि.सं. २०६० सालमा नयाँ कार्यक्रम सुरु भएको रहेछ, जुन स्वास्थ्यमा व्यापक सुधार गर्ने भन्ने थियो । दाताहरुले स्वास्थ्य र शिक्षाबाट सुरु गर्ने भनेपछि एक हजार पेजको डकुमेन्ट सचिव कहाँ पुग्यो ।
तत्कालीन स्वास्थ्य सचिव लोकमानसिंह कार्की थिए । कार्कीले महाशाखा प्रमुखदेखि महानिर्देशकसम्मलाई बोलाएर डकुमेन्ट पढी उचित सुझाव दिन आग्रह गरेका थिए । तर, कसैले पनि नमाने पछि डा. मरासिनीको खोजी भएको थियो । सचिवको सहयोग भए एक महिना भित्र सुझाव दिने वचन डा. मरासिनीले दिए । तोकिएको समयमा नै उनले उक्त डकुमेन्टअनुसार सल्लाह दिए । सल्लाहअनुसार नै निकै कार्यक्रमहरु सुरु भए । दाताले दिएको रकमको सही सदुपयोगले बाल मृत्युदर, मातृ मृत्युदर घट्यो । स्वास्थ्यका सुचकहरु त्यही समयदेखि उकालो लागेको हो । त्यही कामले १२ वर्ष स्वास्थ्य मन्त्रालय बसे डा. मरासिनी । उनले त्यस बीचमा १३ सचिव १४ मन्त्रीसँग काम गर्ने अवसर पाए ।
१२ वर्षपछि उनलाई स्वास्थ्य मन्त्रालयले निर्देशक भन्दै स्वास्थ्य सेवा विभागमा पठायो । महाशाखा नतोकिएका कारण समस्या आएपछि पुनः स्वास्थ्य मन्त्री विद्याधर मल्लिक र स्वास्थ्य सचिव प्रवीण मिश्रले सल्लाह गरेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिए । मरासिनीले जिम्मेवारी सम्हालेसँगै देशका केही ठाउँमा महामारी सुरु भयो । रौतहटमा हैजा, विराटनगरमा जण्डिस, जाजरकोटमा फ्लुले सयौं मानिसको मृत्यु हुन पुग्यो । जाजरकोटमा जस्तो अप्रेशन कोभिडमा पनि नभएको उनी बताउँछन् । त्यसबेला स्वास्थ्य मन्त्रालयले ३० टोली चिकित्सक पठाएको थियो । ‘घण्टा—घण्टामा हेलिकप्टरमा चिकित्सक ओसार—पसार गर्नुपथ्र्यो,’ उनले त्यो अवस्था सम्झिए । जाजरकोट, विराटनगर र रौतहटको समस्या समाधान भयो तर लगतै भूकम्प गयो ।
डा. मरासिनीले महामारी नियन्त्रणका लागि प्रस्तावसहित स्वास्थ्य मन्त्रालय पुगे । ‘मलाई नचलाउनोस् सहज रुपमा काम गर्न दिएको खण्डमा महामारी हुन दिन्न्,’ उनले भनेका थिए । स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रस्तावलाई उचित ठानेपछि काममा कुनै अवरोध आएन केही ठाउँमा हैजा देखिन थालेको थियो तर, सहज रुपमा त्यसलाई नियन्त्रण गर्न उनको नेतृत्व सफल देखियो । डा. मरासिनी २०७३ साउनमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशकबाट सेवा निवृत्त भएका हुन् । बालरोग विशेषज्ञ डा. मरासिनी अहिले प्राइभेट प्रायक्टिस गर्छन् ।